२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:३५:०३

 

"हामीले व्यापारीहरूको लागत घटाउने र छिटो निकासी पैठारी हुने वातावरण बनाएको छौं": प्रमुख खत्री

गोठालो खबर
बलिराम यादव , २०७८ वैशाख ९, बिहीबार,०७:४४:AM  
img-responsive

लालबहादुर खत्री बितेको कार्तिक १२ गतेदेखी सुख्खा बन्दरगाह (ड्राईपोर्ट) कार्यालय वीरगंजको प्रमुखको कार्यभार सम्हालेका छन् । उनी आएको कात्तिक महिनामा सुख्खा बन्दरगाह कार्यालय वीरगंजले पाएको लक्ष्यभन्दा १.५३ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । नेपाल सरकारको भन्सार विभागले ३ अर्ब ६ करोड ४८ लाख राजश्व सङ्कलन गर्न लक्ष्य दिएकोमा सुख्खा बन्दरगाह कार्यालय वीरगंजले ३ अर्ब ११ करोड १६ लाख राजश्व असुली गरेको छ । यस्तै सुख्खा बन्दरगाह कार्यालय वीरगंजले मंसिर महिनाको लक्ष्यभन्दा ३.६ प्रतिशत कम राजश्व संकलनमा गरेको छ । नेपाल सरकारको भन्सार विभागले मंसिर महिनाको राजश्व सङ्कलन गर्न ३ अर्ब ७ करोड ६१ लाख लक्ष्य दिएकोमा सुख्खा बन्दरगाह कार्यालय वीरगंजले २ अर्ब ९६ करोड ५४ लाख मात्रै राजश्व सङ्कलन गरेको छ । 

यस्तै पौष महिनामा पाएको लक्ष्यभन्दा १.७ प्रतिशतले कम राजश्व असुली गरेको छ । भन्सार विभागले ३ अर्ब २४ करोड ४३ लाख राजश्व सङ्कलन गर्न लक्ष्य दिएकोमा सुख्खा बन्दरगाह कार्यालय वीरगंजले ३ अर्ब १८ करोड ९० लाख राजश्व सङ्कलन गरेको छ । 

यस्तै सुख्खा बन्दगाह कार्यालय वीरगंंजले माघ महिनाको लक्ष्यभन्दा १३.८ प्रतिशत कम राजश्व सङ्कलन गरेको छ । भन्सार विभागले ४ अर्ब ४२ करोड ३० लाख राजश्व सङ्कलन गर्न लक्ष्य दिएकोमा सुख्खा बन्दरगाह कार्यालय वीरगंजले ३ अर्ब ८१ करोड २६ लाख मात्रै राजश्व सङ्कलन गरेको छ । यस्तै विभागले फागुन महिनामा दिएको लक्ष्यभन्दा सुख्खा बन्दरगाह कार्यालय वीरगंजले १०.९ प्रतिशत कम राजश्व सङ्कलन गरेको छ । भन्सार विभागले ४ अर्ब ४१ करोड ७८ लाख राजश्व सङ्कलन गर्न लक्ष्य दिएकोमा सुख्खा बन्दरगाह कार्यालय वीरगंजले ३ अर्ब ९३ करोड ६० लाख राजश्व सङ्कलन गरेको छ । यस्तै अर्थ मन्त्रालयको भन्सार विभागले यस कार्यालयलाई चैत्र महिनामा दिएको लक्ष्यभन्दा २२.७९ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । भन्सार विभागले ३ अर्ब ९७ करोड १४ लाख राजश्व सङ्कलन गर्न लक्ष्य दिएकोमा सुख्खा बन्दरगाह कार्यालय वीरगंजले ४ अर्ब ८७ करोड ६६ लाख राजश्व सङ्कलन गरेको छ । यी ६ महिनाको अवधिमा सुख्खा बन्दरगाह कार्यालय वीरगंजले पाएको लक्ष्यभन्दा १.०१ प्रतिशत कम राजश्व असुली गरेको तथ्याङ्कले देखाएको छ । अर्थात सुख्खा बन्दरगाह कार्यालय वीरगंजले ६ महिनाको लक्ष्यभन्दा ३० करोड ६२ लाख राजश्व कम असुली गरेको छ । यो सहित सुख्खा बन्दरगाह कार्यालय (ड्राईपोर्ट)बाट हुने कारोबारको विषयमा केन्द्रित रहेर सुख्खा बन्दरगाह कार्यालय वीरगंजका प्रमुख लालबहादुर खत्रीसंग गोठालो खबरको लागि बलिराम यादवले गरेको कुराकानीको सम्पादित अंशः 

प्रश्न: वर्तमान समयमा सुख्खा बन्दरगाह (ड्राईपोर्ट) कार्यालय वीरगंजबाट हुने कारोबारको अवस्था कस्तो छ ?

लालबहादुर खत्री: कोरोना महामारी (कोभिड–१९) को कारण अन्य नाकाहरू जस्तै यहाँ पनि असर परेको छ । तर यो नाकाले अन्य देशहरु (तेस्रो मुलुक)को पनि व्यापार हेर्ने भएकोले खासै असर परेको छैन । अन्य मुलुकहरूबाट हुने कारोबार निरन्तर भइनै रहेको छ । 

प्रश्न: सुख्खा बन्दरगाह (ड्राईपोर्ट)  कार्यालय वीरगंजद्वारा आयात निर्यात हुने कस्ता कस्ता कारोबार बढी हुन्छ ? बताइदिनुस् न ।

लालबहादुर खत्री: ड्राईपोर्ट भन्सार कार्यालय भनेको सुख्खा बन्दरगाह कार्यालय पनि हो । हाम्रो देश भू–परिवेष्टित राष्ट्र भएको हुनाले समुन्द्रसंग जोडिएको छैन । संमुन्द्रसंग नजोडिएको हुनाले विदेश (तेस्रो मुलुक)बाट जति पनि मालसामान आउँछ र नेपालबाट जति पनि मालसामान अन्तर्राष्ट्रिय व्यापार अन्तर्गतका ती नाकाहरूमा जान्छन् त्यसको आयात र निर्यातको सम्पूर्ण विवरण यो कार्यालयमा हुन्छ र त्यसैको आधारमा भन्सार असुली गर्ने भएको हुनले यो कार्यालयले ठुलो सङ्ख्यामा जस्तै केराउ, मकै, गाडीहरू, इलेकट्रोनिक्स, ईलेक्ट्रिक्स सामानहरू, औद्योगिक कच्चा पद्धार्थहरु, फलाम आदी आयात गर्ने गर्दछ । त्यही अनुसारको आफ्नो क्षमता बमोजिमको नेपाली उत्पादनलाई तेस्रो मुलुकमा पनि पठाउने गर्दछ ।   

प्रश्न: सुख्खा बन्दरगाह (ड्राईपोर्ट)बाट हुने पहिलेको कारोबारको अवस्था र तपाई आईसकेपछिको अवस्थामा के फरक छ ?

लालबहादुर खत्री: समय अनुसार भन्सारमा सुधार हुने प्रक्रिया भई नै रहन्छ । अगाडी पनि कस्टममा हुने व्यापार सहजीकरणको लागि सम्बन्धित  जति पनि अप्ठ्यारा स्थितिहरू: जस्तै कानुनी अड्चनहरू, प्रकृयासंग सम्बन्धित अड्चनहरू त्यो सबै बाँधा र अड्चनहरू सुधार हुँदै गएको थियो र अहिले पछिल्लो दिनमा पनि हामी झन् व्यापारलाई सहजीकरण गराएका छौं र आशिकुँडाको प्रयोग गरेका छौ । 

आशिकुँडाको प्रयोग गरेपछि अटोमेशन एउटा औद्योगीकरणको आधारमा र सबै काम विद्युतीय माध्यमबाट सम्पन्न हुने व्यवस्था मिलाएर कस्टमभित्रका प्रक्रियालाई सुधार गरेका छौं । यसले व्यवसायीहरूको लागत घट्ने र छिटो छरितो रूपमा निकासी पैठारीको व्यापार हुने अपेक्षा गरेका छौं । 

प्रश्न: ठेकेदार र कर्मचारीको मिलेमतोमा तौल घटाएर बढी मालसामान लोड गरी गाडी पास हुने गरेको आरोप लाग्ने गरेको छ, यसमा के भन्न चाहनुहुन्छ ?

लालबहादुर खत्री: यस्तो कुरा मैले सुनेको छैन । अब होला कुनै ठाउँमा मान्छेहरूले बदमासी गर्दैनन् भने छैन । तर जहाँसम्म यो कार्यालयको कुरा छ यहाँ त्यस्तो खालको कुनै पनि गतिविधि हुन सक्ने सम्भावना छैन । किन भने हामीले यहाँ यस्तो किसिमको व्यवस्था मिलाएका छौँ जहाँ सम्बन्धित व्यापारीहरूले आफूले ल्याउने सामान र पठाउने सामान घोषणा गर्छ र त्यो घोषणा गरेको सामानको परिणाम, मूल्य सबै घोषण गरेर स्वयम निष्कासन प्रणाली अन्तर्गत अथवा अटोमेशनको आधारमा स्वयम घोषणा गर्ने प्रणाली छ जुन प्रणालीको अनुसार व्यापारीले पेस गर्छन् र त्यसलाई चेकजाँच गरेर मात्रै हामीले पठाउने गरेको हुनाले शङ्का गर्ने कुनै ठाउँ छैन । हुन सक्ला कहिलेकाहीँ मान्छेले गलत काम गरेर आफ्नो निजी स्वार्थ पुरा गर्ने प्रयास गर्न सक्ला । तर यहाँ त्यस्तो हुन्छ भने भन्न सक्ने अवस्था छैन । सुख्खा बन्दरगाहमा त्यस्तो आधार र कुनै घटना पनि घटेको अहिले पाइएको छैन ।

प्रश्न: केही हप्ता पहिला आईसीपीबाट धान बोकेको जाँचपास भएको एक ट्रकमा १ करोड भन्दा बढीको अवैध कपडा बरामद भएको थियो । ड्राईपोर्टबाट हुने कारोबारमा त्यस्तो घटना सार्वजनिक मात्रै नभएको तर कर्मचारी र ठेकेदारको मिलेमतोमा यहाँबाट पनि त्यस्तो कारोबार हुने गरेको आम मानिसको भनाई छ नि ?   

लालबहादुर खत्री: त्यस्तो प्रमाण पाएको खण्डमा हामीले कर्मचारीलाई कारबाही गर्छौं । यहाँका कुनै पनि कर्मचारी त्यस्तो कार्यमा लागेको हुँदैनन् । यहाँबाट ठुलो स्केलको तेस्रो मुलुकमा गर्ने अन्तर्राष्ट्रिय व्यापार हुने भएकोले छिटपुट, सानोतिनो खालको व्यापार गर्ने सम्भावना छैन । यहाँको प्रणालीले नै त्यो कुरालाई रोकेको छ । त्यसकारण ठेकेदार र कर्मचारी मिल्दैमा सबै काम गर्न सकिन्छ भने सम्भावना छैन । यहाँको भन्सार प्रणाली, निकासी पैठारीको जस्तो खालको संयन्त्र छ त्यसले त्यस्तो खालको कामलाई निरुत्साहन, दुरुत्साह गर्दछ । साना भन्सार अथवा म्यानुअल रूपमा गर्ने अरू साना मुख्य कस्टममा त्यस्तो खालको समस्या हुन सक्ला । त्यो भनेको व्यापार गर्ने मान्छेको कमजोरी हो भन्सार प्रणालीको कारणले हैन। यद्यापी यहाँ त्यस्तो गलत कारोबार भएको देखियो भने दोषी कर्मचारी वा जोसुकैलाई कारबाही गर्छौं । 

प्रश्न: तपाई यहाँ आएर जिम्म्वेवारी समलेसंगै केही समस्या वा बेथिति पाउनु भयो वा केही समस्याहरु नै थिएनन् ? 

लालबहादुर खत्री: म कात्तिक महिनामा आएको हो । यहाँको समस्या बुझेर बिग्रेको ठाउँमा सुधार गर्दछौँ । जस्तै कार्यालय व्यवस्थापनको ठाउँ थिएन । अर्को कर्मचारीहरूको आवासको व्यवस्थापनको काम गर्दछौं । यहाँ भित्रको विभाग क्षेत्रमा करार भएको हुन्छ कि यो महिनामा यो विभागले यति राजश्व उठाउने । त्यही सहमती अनुसार प्रत्येक पानाको लाइन-लाइन हेरेर कामहरू गरिरहेका छौँ । तसर्थ हाम्रो बुद्धि विवेकले भ्याएसम्म र हामीले समय र साथ दिएसम्म यो कार्यालयलाई राम्रो कसरी बनाउने ?  भन्ने मै ध्यान केन्द्रित गरेका छौं। यो कार्यालयमा एकदमै ठुलो स्केलमा व्यापार बढेको छ तर व्यवस्थापन गर्नको लागि पर्याप्त ठाउँ छैन । त्यसको लागि नयाँ घर बनाइदिन अनुरोध गर्ने गरेका छौं । वास्तवमा हामीलाई यो कार्यालयको कसरी प्रगति होस् भन्ने चिन्ता लागेको छ । यो कार्यालयमा भएको विकृति विसङ्गतिलाई नियन्त्रण गरी गलत काम गर्ने मान्छेलाई कारबाही गरी तह लगाउने एजेण्डा अनुसार हामी कार्य गर्दछौं । 

प्रश्न: ड्राईपोर्टबाट व्यापारी र कर्मचारीको मिलेमतोमा अवैध कारोबार हुन्छ भन्ने सुनिन्छ नि ? 

लालबहादुर खत्री: व्यापारमा स्वयम घोषणा गर्ने प्रणाली छ। हामीले स्वयम घोषणा गरेर उनीहरूले घोषणा गरेको आधारमा हामीले जाँचपास गरेको प्रणाली अन्तर्गत रहेकोमा कुनै गल्तीको कारणले केही व्यापारीहरूले बदमासी गर्न सक्छन् तर सबै व्यापारी त्यस्तै नै गर्छन् भनेको होइन । एक/दुईटा कुनै व्यापारी हुन सक्छन् जसको कारणले सबैको बदनामी हुन्छ । त्यस्तो आकलझूक्कल हुँन सक्ला । तर यहाँ बढीजसो ट्रेनबाट नै ढुवानी र कारोबार हुन्छ । ठुल–ठुला कन्टेनरहरूलाई लोड गरेर तिनीहरू सिलबन्द गरेर यहाँ आउने गर्दछ । त्यसकारण तपाईँले भनेको जस्तो हुने ठाउँ छैन । अब भोलि कसलाई के हुन्छ भने कुनै ठेगान छैन । यद्यापी सुख्खा बन्दरगाहबाट भइरहेको कुनै पनि गलत कार्य वा बदमासी गरिरहेको यदि कसैलाई जानकारी छ भने हामीलाई जानकारी र सजग गराइदिनु भयो भने हामी वहाँहरूप्रति कृतज्ञ हुन्छौं । राज्यको कुनै पनि निकायमा कुनै किसिमको बदमासी हुँदै छ भने त्यसको बारेमा जानकारी गराई गलत कार्यलाई निरुत्साहन गर्नमा मद्दत गर्नुपर्छ । 

प्रश्न: यहाँ आएदेखि तपाइको कार्यालयले पाएको लक्ष्य अनुसार कतिको राजश्व उठेको छ ?

लालबहादुर खत्री: साउनदेखि नै लक्ष्य अनुसारको राजश्व सङ्कलन हुँदै आएको छ । असार मसान्तसम्म पुग्दा यो वर्षको राजश्व कति संकलन भयो भन्ने पुरा तथ्यांक आउछ । 

प्रश्न: तेस्रो मुलुकबाट खास गरी के-के मलासमानहरू बढीमात्रामा आयात भइरहेको छ ?

लालबहादुर खत्री: सबै भन्दा बढी केराउको आयात भएको छ । त्यसपछि मकै, फलाम, गाडी, तयारी पोशाक बढी आयात भएको छ । नेपालमा यसको माग बढी भएकोले यी सामानहरूको आयात बढेको हो । 

प्रश्न: सुख्खा बन्दरगाह (ड्राईपोर्ट) भित्रको दुइटा ट्रेनको लिक प्रयोग विहीन छ, त्यो कहिले प्रयोगमा आउँला ?

लालबहादुर खत्री: यो ईन्टरमोडेल यातायात विकास समितिको कार्य क्षेत्र अधिकार भित्र पर्ने भएको हुनाले कहिलेसम्म मर्मत सम्भार गरी बनाइसक्ने भने कुरा वहाँहरूलाई नै थाहा होला । यो भन्दा अगाडी वहाँहरू धेरै पटक आएर २/३ पटक आएर यहाँको समस्याबारे जानकारी समेत लिनु भएको छ । यसलाई बनाउन आगामी आर्थिक वर्षमा वहाँहरूले केही बजेट छुट्टाएर चाँडै नै काम पुरा गर्नुहुन्छ जस्तो मलाई लाग्छ । 

प्रश्न: प्रयोग विहीन ट्रेनको लिक कारण व्यापार व्यवसायमा कस्तो समस्या हुने गरेको छ ? 

लालबहादुर खत्री: धेरै ट्रेनहरू आएको बेला मालसामान भित्राउन समस्या हुन्छ । सबै रेल्वे लिङ्कहरू अपरेसन भएको भए यो भन्दा बढी व्यापार हुन्थ्यो र बढी व्यापार भएपछि राजश्व पनि बढी नै उठ्थ्यो होला । रेल्वे लाइन छिटोभन्दा छिटो सञ्चालनमा आउनु प¥यो भने हामीले सम्बन्धित निकायलाई आग्रह पनि गरेका छौँ । कस्टम सम्बन्धी जति पनि पूर्वाधार छन् यी सबै पूर्वाधारहरू वाणिज्य मन्त्रालय अन्तर्गत ईन्टरमोडेल यातायात विकास समितिको कार्य क्षेत्र भित्र पर्छ । आगामी आर्थिक वर्षमा यो समस्या समाधान हुन्छ भने वहाँहरूप्रति हाम्रो विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit