२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:४६:१६

 

राजनीतिको नयाँ कोर्स प्रारम्भ

गोठालो खबर
गोठालो खबर २०७८ वैशाख ६, साेमबार,०९:३७:AM  
img-responsive

                                                                                                                  — श्रीराम खाइजु 

राजनीतिको नयाँ कोर्स प्रारम्भ 

आज राजनीतिको दुई मोहरीको (ध्रुव) चर्चा उत्कर्षमा छ । पहिलो हिजो भएको सर्वदलीय बैठकले एमसिसि पास गराउन ओली र देउवा सहमत भएको । दोस्रो कुम्भ मेलाबाट श्री ५ लेखाएर नेपाल छिर्दै गरेको पूर्व राजाको सवालमा । दुवै प्रसङ्ग हेर्दा दूरको सम्वन्धपनि नभएजस्तो भएपनि आजको परिवेशले अन्तरसम्बन्धित बनाएको छ । किनकि सत्ताको म्युजिकल चियरवाट हैरान भएका केपी वली एमसिसि मार्फत विपक्षीहरुको समीकरणको घ्याम्पा फुटाएरै भएपनि सत्ता लम्ब्याउने दाउमा छन् । राजावादीहरू भ्रष्टाचार, अनाचार (कूविचार) तथा यहाँ चलेको राजनीतिक खिचातानीलाई व्यवस्थाकै असफलताको तक्मा भिराएर राजतन्त्र पुनर्स्थापित गराउने दाउमा छन् । यतिनैखेर भारतले आफ्नो भूमिमा चलेको एउटा धार्मिक सांस्कृतिक पर्वमा ज्ञानेन्द्र शाहलाई बोलाई श्री ५ लेखाएर त्यसमा मोदीले समेत मञ्च सेयर गरेर नयाँ सन्देश दिन खोजेका छन् त्यसैले टाढाको देखिएपनि आपसी सम्बन्धमा गाढापन देखिन्छ । 

सामन्त गोयलसंगको अपवित्र गठबन्धनको प्रमाण सार्वजनिक भएसंगै (यद्यपि उनीहरू उक्त पत्रलाई सक्कली नभएको भन्दैछन्) आत्तिएका प्रधानमन्त्री केपी ओलीले आफू मात्र विदेशी दलाल होइन अरुपनि विदेशी दलाल नै हो नपत्याए एमसिसि मा जाँचेर हेर... भन्ने प्रकारले राष्ट्रवादी मनस्थितिमाथि एउटा गम्भीर चुनौती खडा गरेका छन् । त्यो उनका क्षणिक बठ्याइँ मात्र होइन निरन्तरको राजनीतिक चतुर्याई पनि हो ।

निःसन्देह पनि राजनीतिमा तासको सुरथकै चक्कीले मात्रै तुरुपको काम गर्छ भन्ने छैन कैलेकाहिँ पानको वा चिरीको चक्कीलेपनि हुकुम कायम गर्छ । त्यस्तै केपीले लामो समयदेखि पेन्डिङ्गमा रहेको एमसिसिलाई अघि सारेर राजनीतिक वृत्तमा नयाँ समीकरण र नयाँ आयाम थप्ने प्रयत्न गरे । देशघातसंग उनको सम्बन्ध होइन उनको सम्बन्ध केवल सत्ता कसरी लम्ब्याउने र विपक्षीलाई कसरी चक्मा दिने भन्ने मात्रै हो । 

स्वार्थको माथापच्चिमा एमसिसि कुनैपनि हालतमा नेपालको हित रक्षा र देशको स्वार्थमा छैन । तर लगावको हिसाबले संसदमा रहेका कुनैपनि सिंगै पार्टी एमसिसिको विरोधमा देखिँदैन ।  यसले पुरातनवादी दरबारले आफू जतिसुकै विदेशको दलाली र निगाहाको अपेक्षा गरेपनि यो मामलाद्वारा “अब्बलको राष्ट्रवादी” दाबी गर्ने चौतारो प्राप्त गरेको छ । राष्ट्रियताको मामलामा पटकैपिच्छे “माछो माछो भ्यागुता...” को चक्कर सहँदै आएका आम नागरिक फेरी पनि झुकाउन सकिने आधार निर्माणमा दिल्ली दरबार र सिंह दरबारको सहकार्य भएको प्रस्टै देखिन्छ ।

काँग्रेस आफ्नो सरकारको पालामा सम्झौताको प्रारम्भ भएकोले एमसिसि छोड्न नसक्ने, एमाले प्रारम्भ देखिनै विदेशी स्वार्थमा आफ्नो रोटी सेकाउने बानी परेको र हालसालैपनि संसदबाट अनुमोदन नहुँदै अर्वौ रुपैयाँ एमसिसिको नाममा खर्च गरिसकेकोले त्यसको विरोध गर्न नसक्ने, माओवादी करिब १६ बर्षे खुल्ला राजनीतिक डबलीमा विदेशीको सहारा बिना सत्ता प्राप्ति र निरन्तरता असम्भव प्राय देखेकोले छोड्न नसक्ने ...! अनि देशको स्वार्थमा होस् वा नहोस् त्यसको विपक्षमा बोल्ने मुखमा अदृश्य बुजो सबैतिर देखिन्छ । जहाँसम्म जसपाको कुरो छ त्यसमा पनि संस्थागत निर्णयमा बाधा यी नै कारणले हो भन्दा अत्युक्ति हुँदैन । अर्थात् राष्ट्रघाती एमसिसि संसदवाट सर्वसम्मत .... !?

तर औँसीको रातमा पनि जुनकिरीको बत्ती नियाल्ने ताकत प्रकृतिले दिएको हुन्छ रे त्यस्तै नेपाल र नेपालीको हित रक्षार्थ आवाज उठाउने युवा जगत राष्ट्र र राष्ट्रिय स्वाधीनताको संरक्षण आवाज बुलन्द गर्न सचेतताका साथ सडकमा देखिन थालेका छन् । किनकि राष्ट्र हितको मामलामा अत्यन्तै गम्भीर प्रकारको सङ्कट हो । त्यसैले पराधीनता नचाहने स्वाभिमानीहरूले यतिखेर बलियो एवं भरपर्दो मियोको खोजीमा भौँतारिएका छन् । कोही नपाएपछि भर्खरै भारतीय जोगीको हातबाट राष्ट्र विरोधी इसारा लिएर आएका ज्ञानेन्द्रलाई कथित राष्ट्रवादको पगरी लगाएर नयाँ गल्ती गर्ने र जानाजान झुक्किने तरखरमा देखिन्छ । त्यसैले आफूलाई अग्रगामी भन्ने तमाम देशका शक्तिहरू मिलेर कथित नक्कली राष्ट्रवादका दुवै अनुहारहरूको पर्दाफास गर्दै मुकाबिला गर्ने हिम्मत निकाल्दै देश र जनता सक्कली राष्ट्रवादको पहिचान गराउँदै संघर्षको मैदानमा उत्रनुपर्ने देखिन्छ ।

आन्दोलनका अनगिन्ती अवयवहरूले देखाएको छ, नेपाली जनता स्वाधीनतालाई प्राण भन्दा प्यारो ठान्दछन् । तर हरेकपटक स्वाधीनताको नारामा त्यही पराधीनताको चेतना बोकेको कुपात्रहरूले उराल्ने र स्वाधीनताको गला घोट्नको लागि मौकाको पर्खाइमा संधै बाटो ढुकी बस्ने नेपालले ब्यहोरेको यथार्थ हो । त्यसैले सदा सर्वदा झुक्किएका नेपाली जनता पुनः आफूलाई कसैले नझुकाओस् भन्नेमा सचेत छन् । बाँकीलाई सचेत बनाउने हाम्रो जिम्मेवारी हो । 

२००७, २०१७, २०३६,२०४६ लगायत नेपाली सत्ताको संरचनागत रूपान्तरण भएका जति पनि आन्दोलनहरू छन् ती सबैमा भारतको कुनै न कुनै स्वार्थ गाँसिएको र उनीहरूको सहयोग वा सदासयता कायम रहेको देखिन्छ । तर नेपालमा जोसुकैले जतिसुकै आरोपित गरोस् तर ईमान्दार सर्वेक्षणमा जनयुद्ध नै त्यस्तो आन्दोलन हो जसलाई भारतले प्रयोग त के आन्दोलनको आकार उद्देश्य र त्यसको असरको मामलामा समेत अनुमान गरेको थिएन । तैपनि आंशिक सफल भइसकेपछि विभिन्न कपोलकल्पित आरोप लाउँदै भारतीय स्वार्थसंग गाँसेर यहाँको यत्रो बलिदानसंग खेलबाड गरिरहेका छन् । जो नेपाली स्वाधीनताको आन्दोलन र तमाम नेपालीहरूको सृजनशील उपलब्धिको खिलाफमा छ ।

नेपालमा साँचो राष्ट्रवादको जगेर्ना गर्ने र देशलाई परनिर्भरताको चुंगलवाट मुक्ति दिलाउने नै हो भने हाल सम्म रहेका नक्कली राष्ट्रवादीहरुको सक्कली अनुहार उतार्दै आन्दोलनको विकल्प छैन । र त्यसको नेतृत्व लोकतान्त्रिक आन्दोलनमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका वरिष्ठ नागरिकहरूबाट भयो भने सबैभन्दा उत्तम हुन्छ । त्यसको लागि निम्न कुरामा ध्यान दिन्न सक्दा उपर्युक्त नै होला ।

  • नाकाबन्दी काण्ड र चुच्चे नक्सा काण्डबाट अरूलाई सराप्दै राष्ट्रवादी कहलिएका कथित “देशवेचुवा राष्ट्रवादी” केपी वली प्रति जनतामा रहेको राष्ट्रवादको बिल्ला हटाएर जनतालाई साँच्चिकै देशप्रति मायाँ ममता जगाउँदै देश बनाउने राष्ट्रवादको नमुना देखाउने योजना बनाउन नयाँ पुस्ता अघि सर्नु आवश्यक छ । जसमा हालसम्म राष्ट्रघाती कलङ्क नलागेका नेताहरूको सम्लग्नतापनि हुन सक्छ ।
  • राजतन्त्रले राष्ट्रियताको संरक्षण गर्ने भ्रम पाल्ने युवाहरूलाई त्यसबाट मुक्त बनाउन पञ्चायतकालीन सयौं राष्ट्रघाती संधीसन्धि सम्झौताहरूमा दरबारको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नताको प्रमाण जनसमक्ष ल्याउने र युवाहरूलाई दरबारको आफ्नो स्वार्थको निम्ति देश बेच्न तयार हुने कथित परिवारभित्र सीमित महेन्द्रीय राष्ट्रवादबारे प्रशिक्षित गरिनु पर्छ ।
  • राष्ट्रघातकमा कहीँ कतै संलग्नता नदेखिए पनि सदा सर्वदा राष्ट्रघातीको आरोप खेपिरहेका मधेसी, दलित, जनजाति समुदाय, प्रचण्ड, डा. बाबुराम, उपेन्द्र, रोहित, चित्रबहादुर विप्लव लगायत नेताहरूले यतिखेर आफूलाई सत्ता स्वार्थबाट पर राख्दै देश र जनताको पक्षमा एमसिसि विरुद्धमा नारा उठाउँदा सापेक्ष रूपमा सही नै रहन्छ ।
  • लामो समयदेखि केपी वरिपरि फन्को मारेको सत्ता राजनीतिलाई यतिखेर राष्ट्रवादी वा अराष्ट्रवादी मियो को रूपमा स्थापित गर्दा आन्दोलनले नयाँ निकास प्राप्त गर्ने र सार्थक निष्कर्षमा पुग्ने देखिन्छ । 
  • इतिहासमा सर्वदा स्वतन्त्र रहेको तर राणातन्त्रको अन्त्य पश्चात् संधै आफ्नो भन्दा अरूको भर परेर हिँड्ने बानिपरेको नेता र नीतिको कारणले देशले आजको दुर्दशा भोग्नु परिरहेको यथार्थलाई जति चाँडो हामीले बुझाउन सक्छौँ, त्यति नै कम क्षतिमा धेरै उपलब्धि प्राप्त गर्न सक्छौँ । त्यसैले देशमा आफूलाई वैकल्पिक भन्ने शक्तिहरूले काँग्रेस भित्रका राष्ट्रवादीहरू, एमाले भित्रका राष्ट्रवादीहरू, जसपा भित्रका राष्ट्रवादीहरू, र विवेकशील साझा, र अन्य सार्वजनिक जीवन व्यतीत गर्ने आम पेसाकर्मी बुद्धिजीवीहरू लगायतलाई गोलबद्ध गर्दै राष्ट्रवादी आन्दोलनले केपी ओली फाल्न सकेमा उनीभित्रको अराष्ट्रिय तत्त्वलाई आम जनताले चिरकालसम्म सम्झने र देशले स्वाधीनताको उन्मुक्त स्वास पनि फेर्नेछ ।
  • केहीलाई मित्रहरूलाई यतिन्जेलको केपीको प्रतिगमन विरोधी आन्दोलन र उनलाई सत्ताच्यूत गर्ने अभियान छायाँमा पर्ने चिन्ता पनि देखिन्छ । तर अग्रगामी राजनीतिको मोहरी नै यस्तो हुँदो रहेछ कि सिधा सापट बाटोमा हिँडाउनै मुस्किल । प्रतिकृयावादीहरु आफ्नो अपराध लुकाउन एकपछि अर्को तिकडम चल्दै जान्छन् त्यसलाई माथ गर्न अर्को कार्यनीतिको अवलम्बन नगरी निकासै निस्कँदैन । त्यसैले यतिखेर बल्ल बल्ल बन्न खोजेको काँग्रेस, माओवादी, जसपाको समीकरण बिर्सेर सबै भित्रका राष्ट्रवादी र सबैभित्रका अराष्ट्रवादीहरु बिचमा ध्रुवीकरण गरी राष्ट्रवादी अभियान चलाउनु नै तमाम प्रकारका प्रतिकृयावादीहरुको विरुद्धको नयाँ मोर्चा बन्न पुग्छ, त्यसैको बलमा नै समायानुकुल निकास निस्कन्छ र एमसिसि पक्ष वा गैर एमसिसि आधारभूत रूपमा नै कित्ताकाट गर्नेछ ।
  • केही साथीहरू एमसिसिको अनुमोदन मात्रै होस् न त्यसपछि यो सरकारको ... भन्दै दाह्रा किट्दैछन् , के यदि संसदबाट अनुमोदन भएपछि आकाश खस्छ ? जसमा पुरिएर केपी ओली छटपटाउँछ ? अनुमोदन भएमा उनलाई केही पनि हुँदैन तर नेपाली जनताको स्वाधीनता गुम्छ, युगौँ युगको लागि नेपाली जनता पश्चिमेलीको उपनिवेशमा बस्नुपर्ने हुन्छ । अनुमोदन हुनुभन्दा अगाडि केही गर्न नसक्नेले अनुमोदन भइसकेपछि के गर्न सकिन्छ ? त्यसैले संसदबाट अनुमोदन नगराउन संसद बाहिर आम नागरिकसंग मिलेर बृहद आन्दोलन गर्ने र संसद भित्र सकेसम्म प्रस्ताव नै पेस गर्न नदिने, त्यो सकिएन भने संसद अवरुद्धका अवरुद्ध गरेर तबाह मच्चाइदिने । त्योपनि सकिएन भने काँग्रेसका केही सांसद, एमाले भित्रका माधव समूह, माओवादीका अधिकांश सांसद, जसपाका अधिकांश सांसद, नेमकिपा, राजमो, लगायतका सांसदहरूले विपक्षमा मत राख्ने यहाँ पार्टीका आफ्नो संसदीय दल नेताको हैसियतमा ह्विप त जारी गर्ला तर देश बेच्ने सवालमा ह्विपको उन्लंघन जायज ठहरिन्छ । तर यसको नेतृत्व धक नमानीकन बाबुराम, प्रचण्ड वा त्यो लेबलका अन्य नेताहरूले गर्न सक्नुपर्छ । जसले सडक सदनको नेतृत्व गर्ने सामर्थ्य राख्छ ।
  • यति गर्दा लोकतन्त्र धरापमा पर्ने दावा विभिन्न विधान, ऐन कानूनका ठेलीहरू देखाएर तर्क गर्न सक्लान् । लोकतन्त्र सत्ताको शक्ति दुरुपयोग गर्नेहरूको मनपरितन्त्रको लागि मात्र बनेको होइन यो त आम नागरिकहरूको आधारभूत आवश्यकताको मामलामा राज्यको दायित्व र जिम्मेवारीको मामलामा अनेकौँ कोणबाट भीषण बहस छलफल गर्ने नैसर्गिक अधिकार प्रदान गर्नको लागि बनेको उन्नत व्यवस्था हो । त्यसैले विधि विधान राष्ट्रवादीहरुले मिच्यो भन्दै गर्दा आफैले संसद भङ्ग गरी कामचलाउ सरकारको नेतृत्व गर्दै गर्दा पटक-पटक मन्त्रीपरिषद् हेरफेर गर्ने अधिकार कुन विधानमा लेखिएको छ ? काम चलाउ सरकारले रिक्त रहेका विभिन्न निकायहरूमा राजनैतिक नियुक्ति दिन पाइन्छ भनेर कुन नियम कानूनमा लेखिएको छ ? काम चलाउ सरकारले संसद नै नभएका मानिसहरूलाई पद पैसा र प्रतिष्ठा को आडमा मन्त्री नियुक्ति गर्न कुन ऐन कानूनले दियो ? विभिन्न प्रकारका सरुवा बढुवाको कुरो त्यत्तिकै चलेका छन्, भ्रष्टाचारी जोगाउँदै प्रधानमन्त्री आफै चोक चौतारो घुम्नु भनेर कुन विधि विधानले दिएको छ ? वर्षमा ३६५ दिन नै कार्यालयमा नगई सरकार चलाउने कुन ऐन कानूनले तोकेको छ ? यावत सयौं प्रश्नहरु गर्न सकिन्छ जुन प्रश्नहरूको माझमा बसेर हेर्दा सरकारले ऐन नियम कानूनमात्र होइन त्यत्रो बलिदानबाट आएको संविधानसमेत सिस्डोलको ल्यण्डफिल्ड साइडमा फालिसकेको आभास मिल्छ । त्यसैले अनैतिक अराजनीतिक धरातलमा बसेर नैतिक प्रश्न कामयावी हुन्न ।
  • यति गर्दा पार्टीहरूको नयाँ शिराबाट पुनर्जागरण हुने र नयाँ पुस्तालाई पुरानो पुस्ताको अराजनीतिक जालसाजीलाई राजनीतिको नाममा स्वार्थी घृणित कुनीतिको चपेटाबाट छुटाउन सजिलो हुने छ । राजनीति पेसा होइन, नशा हो, राजनीति आफ्नो लागि होइन दुनियाँको लागि गरिने स्वयंसेवा हो भन्ने आदर्श स्थापित गर्न सहज हुनेछ ।

एमसिसि कुनै पनि हालतमा राष्ट्रसहितमा छैन भन्ने विभिन्न क्षेत्रबाट आइसक्यो, ओली राष्ट्रवादी नभएको तथ्य पनि सैयौं घटनाहरूबाट प्रमाणित भइसक्यो, राजा वा राजपरिवारले राष्ट्रियताको रक्षा गर्न नसक्ने तथ्यहरुपनि सैयौं तथ्यहरूबाट प्रमाणित नै छ । त्यसैले समग्रतामा नक्कली आश्वासनहरूको अपेक्षा तमाम युवाहरूले कुनै अपेक्षा नगरी योजनाबद्ध बहकाउमा परिवर्तनकारी नेताहरू विरुद्ध छ्यापिएको हिलो उछाल्दै बाबुराम, प्रचण्ड वा अन्य नेताहरूलाई तथानाम भन्नु भन्दा उनीहरूको आगत र विगत हेरी भएका कमजोरीलाई जस्ताका तस्तै आलोचना गर्ने र सच्याउने गर्दा देशले उपलब्धि पाउँछ । नत्र कपोलकल्पित निराधार गाली गरेर उनीहरूको चिर हरण गर्दा देशकै सबलताको आधार कमजोर हुने तथ्यलाई आत्मसाथ गर्दै उनीहरूको सकारात्मक क्रियाकलापमा आम युवाहरूलाई सचेततापूर्वक सरिक गराउने प्रयत्न गर्दा नै देशले तमाम प्रकारका समस्याहरूबाट मुक्ति पाउँछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit