२०७८ वैशाख २९, बुधबार

img-responsive

१२:५२:४९

 

कविता: अहिंसा

गोठालो खबर
गोठालो खबर २०७७ चैत २८, शनिबार,०८:४१:AM  
img-responsive

=========

अहिंसा

एक दिन बोलाए एक घनिष्ठ मित्रले

गरेँ खुब खातिरदारी दुवै दम्पतीले ।

म आउने थाहा पाई बिच बाटोसम्म लिन आए

घरमा अर्धाङ्गिनीलाई सुग्घर सफाइमा लगाए ।।

 

मेरा मित्र आउँदै छन् भनी गाउँमा झ्याली पिटाए

ताजा फलफूल मिठाइ जोड्न छोरालाई खटाए ।

गुन्द्रुक मनपर्ने उनलाई भनी गोलभेँडा लिन पठाए

नरम भात खुवाउन चामल बासमती मगाए ।।

 

मासको दाल कटहर सब्जी गाईको घिउ झिकाए

एकराते दही भैंसीको दुध भात कुकरमा पकाए । 

टाढाबाट आएका मेरा बाल सखा भनी

छरछिमेक गाउँका भद्रभलाद्मीलाई बोलाए ।।

 

आँगन पिँढी फलैँचामा गाउँलेलाई बसाए

पिँंढीको बिचमा दुर्ईटा कुर्सी लगाए ।

जब पाउ राखौं आँगनमा सबैले फूल बर्साए

दुवै कर जोडी गरेँ प्रणाम ताली सबैले बजाए ।।

 

दिँदै अपव्याख्या मेरो परिचय उनले गराए

समाजसेवी दानवीरका तक्मा बिल्ला भिराए

आफू जस्तो साधारण व्यक्तिलाई पनि

ठुला महान् त्यागी युगपुरुष भनी चिनाए ।।

 

बोल्दा बोल्दै मित्रले केही बोल्न अह्राए

प्राणी हिंसा र दुर्व्यसनीमा बोल्न बाध्य बनाए ।

“मानव जाति सर्वोत्तम हो पाइएको भाग्यले

गरौँ सत्कर्म पाइने जन्म जन्मान्तरको पुण्यले ।।

 

छाडौँ हत्याहिंसा गरौँ रक्षा प्राणी मात्रको

त्यागौँ मांस भक्षण छाडौँ धूम्रपान मद्यपानको ।

गरौँ सेवा दीन दुःखीको उठाऔँ जो छ गिरेको

बनाऔँ समाज पोखौँ सिप हुन्छ उन्नति देशको” ।।

 

थियो चल्दै भाषण बुलावा आयो भान्साको

घण्टा एक इन्तजार मित्रकी धर्मपत्नीको ।

पित्तले टल्कने औंखरा हातमा थियो उनको

खडा थिइन् रातो पहिरनमा लाग्थ्यो स्वर्गपरी हो ।।

 

गरी बिदा गाउँलेलाई लाग्यौँ भान्सा दुवै मित्र

धोई मुख हातगोडा फेरि लुगा पस्यौँ भित्र ।

चौका थियो सफा त्यहाँ सजाइएको थाली

मित्राणी पर्खिरहेकी थिइन् दालभात हाली ।।

 

गर्दै मिठामिठा कुरा बस्यौँ दुवै मित्र जिम्न

विषय उठ्यो भान्सामा मुर्दा आउँछ आउँदैन ।

साथी छक्क परे मुर्दा त मसान पो जान्छ

के भन्नुहुन्छ कसले मसानमा बसी खान्छ ।।

 

मुस्कुराउँदै भनेँ त्यसो भए यो मसान होइन ?

यहाँ मुर्दा जले माफ गर्नुस् भात मैले खाइनँ ।

हाम्रो वार्ता चल्दै थियो मित्राणी भन्न लागिन्

भुजा चिसो भइसक्यो भन्दै कराउन थालिन् ।।

 

मेरो जवाफ नपाउन्जेल खान थाल्ने हैन

मित्र अझै टोलाउँथे सकिनँ केही बुझ्न ।

“यार यस भान्सामा पाकेको छ कहिल्यै मासु ?

कसैको छोरा मर्दा कति झरे होलान् आँसु ।।

 

सोच्नुहोस् फरक के छ त्यही हो रगत मासु

सानो चोट लाग्दा पनि थाल्छन् बग्न आँसु ।

पशुको र मानवको शरीर फरक नै के छ र ? 

हामी बोल्छौँ भाषा बुझ्छौं व्यवहार हाम्रो तर.. ।।

 

रगत मासु पोल्ने ठाउँ मसान नै हुन्छ है

म त खान्नँ मसानमा बसी माफ दिनुस् है ।

यत्ति भन्दै उठ्न थालेँ साथी छक्क परे

दिक्दारी हुँदै खिन्न मानी बर्बर आँसु झारे ।।

 

कति श्रद्धा गरेँ मैले मेरा घर मित्र आउँदा

भाग्यमानी सम्झेको थिएँ धेरै दिनमा पाउँदा ।

मेरो सानो कसुरले उनको पाहुनाई भएन

सम्झन्थेँ महान् आफूलाई आज इज्जतै रहेन ।।

 

अब आजैदेखि घरको चुलो भत्काइदिन्छु ,

लिप पोत गर प्रिय मुर्दा पन्छाइदिन्छु ।

नगर्न मेरै जस्तो गल्ती सबलाई सुझाव दिन्छु

”अहिंसा परमो” धर्म भन्ने मूल मन्त्र लिन्छु ।।

 

हर्ष थापा

 का.प. पनौती २, दारिम्बोट

हाल महालक्ष्मी नगरपालिका वडा नं.१, इमाडोल

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit