२०७७ चैत २९, आइतबार
०१:३६:४१
काठमाण्डौँ, २३ चैत्र। जनता समाजवादी पार्टी, शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिको विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
ललितपुरको बालकुमारी स्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिवार सम्पन्न भएको उक्त प्रशिक्षण कार्यक्रममा सातै प्रदेशका इन्चार्ज तथा अध्यक्षहरूलाई प्रशिक्षण दिइएको थियो । पार्टीका वरिष्ठ नेता माननीय राजेन्द्रप्रसाद श्रेष्ठको प्रमुख आतिथ्य एवम् शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामीको अध्यक्षतामा भएको कार्यक्रममा शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका इन्चार्ज दानबहादुर विश्वकर्मा विशिष्ट अतिथि रहेका थिए भने खसान राष्ट्रिय समितिका इन्चार्ज राजन केसी, ताम्सालिङ राष्ट्रिय समितिका अध्यक्ष कृष्ण तामाङ लगायत अतिथि रहेका थिए ।
वास्तविक शिल्पी पहिचान स्थापित गर भन्ने मुख्य उद्देश्यका साथ संचालित कार्यक्रमको प्रशिक्षण राजेन्द्र श्रेष्ठ र दानबहादुर विश्वकर्माले दिएका थिए । शिल्पी समुदायको उत्पत्ति विकास र सो समुदायको ऐतिहासिक राज्य रजौटाहरू रहेका तथ्य प्रमाणहरू समेत पेस गर्दै यो समुदाय दलित हैन शिल्पीनै भएको प्रशिक्षक विश्वकर्माले जिकिर गरे । साथै उनले शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिको सांगठनिक विषयमा समेत व्याख्या गर्दै प्रशिक्षार्थीहरूलाई प्रष्ट पारेका थिए ।
प्रशिक्षण कार्यक्रमको संचालन शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका मुख्य सचिव डि.वी. नेपालीले गरेका थिए भने समितिका उपाध्यक्ष साजन घतानीले उपस्थित नेता तथा कार्यकर्तालाई स्वागत गरेका थिए । प्रशिक्षण कार्यक्रम समापन पश्चात् समितिको बैठक समेत बसेको छ । बैठकले आगामी वैशाख महिनाभित्र सातै वटा प्रदेशमा प्रशिक्षण भेला गर्ने निर्णय पनि गरेको छ ।