२०७७ चैत २९, आइतबार
१२:१५:५०
भोजपुर, १६ चैत। भोजपुरको पौवादुङमा गाउँपालिकाका–६ ठुलोदुम्माका एक युवाले खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा दिएका छन् । स्थानीय युवा सरोज चामलिङ राईले करिब ५ लाख मूल्य बरावरको जग्गा वडा कार्यालयलाई निःशुल्क दिएका हुन् । राईले आफ्नो आमा रणमति राईको नाममा रहेको ४ रोपनी जग्गा वडा कार्यालयलाई पास गरिदिएको जानकारी दिए ।
राईले भने,‘ आफ्नो क्षेत्रको विकासको लागि विभिन्न खालको समाजसेवाको काम गर्दै आएको छु । खेलमैदान निर्माणको लागि हाम्रो स्वामित्वमा रहेको जग्गा वडा कार्यालयलाई पास गरिदिएका हौँ, यसले वडाको खेल क्षेत्रको विकासमा टेवा पुग्ने आशा लिएको छु ।’ गाउँपालिकाको ८ लाख र वडा कार्यालयको ३ लाख गरी ११ लाख लागतमा खेल मैदान निर्माण गर्ने लक्ष्य रहेको वडाध्यक्ष दिपक साम्पाङ राईले जानकारी दिए ।
गाउँपालिकाले खेल क्षेत्रको विकासको लागि लिएको लक्ष्यलाई पुरा गराउन स्थानीय युवाले निः शुल्क जग्गा दिएको प्रति वडा कार्यालयले धन्यवाद दिएको छ । वडाध्यक्ष राईले भने,‘ खेलकुदको विकास लागि उहाँले पु¥याउनु भएको योगदान अतुलनीय छ, खेल मैदान निर्माणले युवाहरूलाई खेलकुदमा लाग्न जागरूक गराउनेमा हामी आशावादी छौँ ।’
एक वडा एक खेलमैदानको अभियान अन्तर्गत सबै वडामा खेलमैदान निर्माण भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । स्थानीय सरकार सञ्चालनमा आएपछि पूर्वाधार निर्माणले तीव्रता पाएको अध्यक्ष राईको भनाइ छ । अध्यक्ष राईले भने, ‘स्थानीय सरकार सञ्चालनमा आएपछि हामीले पूर्वाधारको विकासमा जोड दिएका छौँ, अहिले हामीले एक वडा एक खेल मैदान बनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ। हामीले लिएको लक्ष्यलाई पुरा गराउन स्थानीयले निःशुल्क रूपमा जग्गा दिएर सहयोग गर्दै आउनुभएको छ, उहाँहरूको यो साथलाई म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु ।’