२०७७ चैत २९, आइतबार

img-responsive

०१:१४:१२

 

बौद्धिक चोरीमा त्रिविका निवृत्त प्राध्यापकदेखि आंशिक शिक्षकसम्म; दुई वर्षसम्म अनुसन्धान कार्यमा प्रतिबन्ध लगाउने त्रिवि कार्यकारी परिषद्को निर्णय

गोठालो खबर
गोठालो खबर २०७७ चैत १४, शनिबार,०४:१८:PM  
img-responsive

कीर्तिपुर, १४ चैत्र। त्रिवि कार्यकारी परिषद्ले अर्काको लेखबाट अनाधिकृत साभार गरी आफ्नो नाममा प्रकाशन भएका लेखहरूमा बौद्धिक चोरी रहेको भन्दै निवृत्त प्राध्यापकदेखि आंशिक शिक्षकसम्मलाई कारबाही गर्ने निर्णय गरेको छ । त्रिवि महेन्द्र मोरङ क्याम्पस, विराटनगरका अवकाश प्राप्त प्राध्यापक डा. परशुराम मिश्र समेतले विभिन्न जर्नलहरूमा प्रकाशित गरेका अनुसन्धान लेखहरूमा अनाधिकृत रूपमा साभार गरेको भन्ने उजुरी परेपछि छानबिन गरी कारबाहीको निर्णय गरेको छ । 

छानबिनको लागि गठित समितिले प्रा.डा. परशुराम मिश्रसहित लेखक रहेका विभिन्न ११ वटा जर्नल लेखहरूमा अनाधिकृत रूपमा साभार गरी बौद्धिक चोरी गरेको भेटेको थियो । सो प्रतिवेदनले उक्त कार्यमा संलग्न सात जनाको नाम किटानी गरेको छ । जसमा रा.रा. बहुमुखी क्याम्पस, जनकपुरमा कार्यरत उपप्राध्यापक श्री हरेराम मिश्र, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरमा केमेस्ट्री विभागमा कार्यरत उपप्राध्यापक श्री जनक अधिकारी, श्री विमल कुमार कन्थ र आंशिक शिक्षक श्री रोहित कुमार देव, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरानमा कार्यरत उपप्राध्यापक श्री युवराज साहु, त्रिविसंग आबद्धता नरहेका श्रीमती कल्पना मिश्र र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरबाट अवकाशप्राप्त प्राध्यापक डा. परशुराम मिश्र रहेका  छन् । 

कार्यकारी परिषद्ले छानबिन समितिले प्रस्तुत गरेका ११ वटै लेखहरूलाई पुनः ट्राक गर्ने, प्रा.डा. परशुराम मिश्र लगायत सो कार्यमा संलग्न सबैलाई आइन्दा यस्तो कार्यमा संलग्न नहुन सचेत गराउने गरी कारबाहीको निर्णय भएको छ । 

यसैगरी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरमा आंशिक शिक्षकका रूपमा संलग्न श्री रोहित कुमार देवलाई आगामी दुई वर्षसम्म कक्षा सञ्चालनमा संलग्न नगराउने गरी कारबाही गरिएको छ भने प्रा.डा. परशुराम मिश्र लगायत यस कार्यमा संलग्न सबैलाई आगामी दुई वर्षसम्म त्रिविका विद्यार्थीहरूको सुपरिवेक्षण, थेसिस गाइड लगायतका अनुसन्धानात्मक क्रियाकलापहरू गर्न प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । यो कारबाहीसँगै आंशिक शिक्षक देवको दुई वर्षसम्म त्रिविमा अध्यापन गर्ने बाटो बन्द भएको छ । त्यस्तै उपप्राध्यापकहरू जनक अधिकारी, विमल कुमार कन्थ र युवराज साहु लगायतले दुई वर्षसम्म त्रिविका विद्यार्थीहरूको सुपरिवेक्षण गर्ने, थेसिस गाइड गर्ने लगायत अनुसन्धानात्मक कार्यमा प्रतिबन्धको सामना गर्नुपरेको छ । 

यस्तै गरी अनाधिकृत रूपमा प्रकाशन गरिएका उपरोक्त लेखहरूलाई त्रिवि सेवा प्रयोजनका लागि मूल्याङ्कन नगर्ने र सोबारे अन्य विश्वविद्यालयहरूलाई समेत जानकारी दिई मूल्याङ्कन नगर्न अनुरोध गर्ने निर्णय भएको बताइएको छ । यसबाट त्रिवि सेवा आयोगमा बढुवा प्रयोजनका लागि ती उपप्राध्यापकले यी लेखहरू पेश गरेमा मूल्याङ्कन प्रक्रियामा सहभागी नहुने भएका हुन् । 

त्रिवि शिक्षाध्यक्षको कार्यालयबाट उजुरीउपर छानबिनको लागि गत माघ ४ गते प्राध्यापक डा. रामचन्द्र बस्नेतको संयोजकत्वमा प्रा.डा. निरञ्जन पराजुली र उपप्राध्यापक डा. भानुभक्त न्यौपाने समेत रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । सो समितिले छानबिन गरी बौद्धिक चोरी पुष्टि हुने प्रमाणसहित प्रतिवेदन दिएपछि कार्यकारी परिषद्को गत चैत्र ४ गतेको बैठकबाट कारबाहीको निर्णय भएको हो । आगामी दिनमा त्रिविमा कार्यरत प्राज्ञहरूबाट हुनसक्ने बौद्धिक चोरीलाई निरुत्साहित गर्न त्रिवि कार्यकारी परिषद्को यो निर्णयले सबैलाई सचेत गराउने देखिन्छ । 

त्रिवि कार्यकारी परिषद्को २०७७ चैत्र ४ गतेको निर्णयको पूर्णपाठ हेर्न डाउनलोड गर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com