२०७७ चैत २९, आइतबार

img-responsive

१२:२३:४०

 

२०७८ सालको सार्वजनिक बिदाको सूची प्रकाशित; कर्मचारीलाई खाजा खाने समय आधा घण्टा मात्र

गोठालो खबर
गोठालो खबर -३ २०७७ चैत ९, साेमबार,०८:३५:PM  
img-responsive

काठमाडौ, ९ चैत्र । नेपाल सरकारले २०७८ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि सार्वजनिक, पर्व एवम् सट्टा बिदा, कार्यालय समय र खाजा समय निर्धारण गरी सोमवार राजपत्रमा प्रकाशन गरेको छ । आगामी वैशाख महिनादेखि सबै कार्यालयहरूले खाजा समय आलोपालो गरी आधा घण्टा मात्र व्यवस्था गर्नुपर्ने पनि सूचनामा जनाइएको छ । 

वर्षभरिका ५२ शनिवार सहित नयाँ वर्ष वैशाख १ गते, रक्षाबन्धन भाद्र ६, छठ पर्व कार्तिक २४ गते, माघी पर्व माघ १ गते र महाशिवरात्रि फागुन १७ गते र फागु पूर्णिमा चैत्र ३ गते हिमाली र पहाडी जिल्लाहरूमा र तराईका २१ जिल्लाहरूमा चैत्र ४ गते बिदा दिने गरी मुलुकभर सार्वजनिक बिदा हुने पर्व बिदाहरू राखिएको छ । तराईका २१ जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर रहेका छन् । 

यसैगरी सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र सार्वजनिक बिदा हुने पर्वहरूमा जेठ १२ गते किराँत राई, याक्खा, सुनुवार, लिम्बु जातीको उभौली पर्व चण्डी पूर्णिमा, भाद्र १४ गते गौरा पर्व, इस्लाम धर्मावलम्बीहरूको इद उल फित्र र ईद उल अजहा पर्व, पौष ४ गते किराँत जातिको उँधौली पर्व, योमरी पुन्हि ज्यापू दिवस (धान्य पूर्णिमा), इसाई धर्मावलम्बीहरूको पर्व किरागरा डे पौष १० गते, तमू ल्होसार पौष १५ गते, सोनम ल्होसार माघ १९ गते, हिमाली आदिवासी शेर्पाहरूले मनाउने ग्याल्पो ल्होसार फागुन १९ गते र सिरुवा पावनीको दिन झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरी जिल्लाहरूमा पर्व बिदा दिइएको छ । 

यसैगरी माघ २३ गते वसन्त पञ्चमीमा शिक्षण संस्थाहरूलाई सार्वजनिक बिदा दिइएको छ भने महिला कर्मचारीहरूको लागि मात्र बिदा हुने पर्वहरू हरितालिका तीज भाद्र २४ गते र जितिया पर्व बनाउने महिला कर्मचारीहरूको लागि मात्र असोज १३ गते बिदा दिइएको छ । 

काठमाडौ उपत्यकामा मनाउने जात्रा बिदाहरूमा गाईजात्रा भाद्र ७ गते, इन्द्रजात्रा असोज ३ गते, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा हुने दिन र घोडेजात्रा चैत्र १८ गते परेका छन् । 

यस वर्षको दशैं बिदा फूलपातीको दिन असोज २६ गतेदेखि असोज ३० गते एकादशीसम्म र तिहार बिदा कार्तिक १८ गते लक्ष्मी पूजाको दिनदेखि कार्तिक २१ गते भाइटिकाको भोलिपल्टसम्म दिइएको छ । 

यसैगरी मुलुकभरि सबैलाई हुने सार्वजनिक दिवस बिदाहरूमा विश्व मजदुर दिवस वैशाख १८ गते, गणतन्त्र दिवस जेठ १५ गते र राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते यस पटक शनिवार परेका छन् । संविधान दिवस असोज ३ गते र अन्तर्राष्ट्रिय महिला दिवस फागुन २४ गते भने सार्वजनिक बिदा परेका छन् । यस्तैगरी अपाङ्गता भएका कर्मचारीहरूका लागि मात्र डिसेम्बर ३ तारिखमा पर्ने अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मंसीर १७ गते नेपाल भित्रका सम्पूर्ण अपाङ्गता भएका कर्मचारीहरूका लागि बिदा दिइएको छ । 

यसैगरी मूलकभर सबैलाई दिइने सार्वजनिक जयन्ती बिदाहरूमा बुद्ध जयन्ती जेठ १२ गते परेको छ भने सम्बन्धित धर्मावलम्बीहरूका लागि मात्र दिइने जयन्ती बिदाहरूमा किराँत धर्माबलम्बीहरुले मनाउने फाल्गुनन्द जयन्ती कार्तिक २५ गते परेको छ भने गुरु नानक जयन्ती नेपाली सिख धर्मावलम्बीहरुले मनाउने मंसीर ३ गते परेको छ । 

सरकारले सार्वजनिक गरेको बिदाको विवरणमा राष्ट्रिय रूपमा मनाइने तर कार्यालयहरू खुल्ने प्रकृतिका दिवसहरू भनेर जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, निजामती सेवा दिवस भाद्र २२ गते, राष्ट्रिय एकता दिवस पौष २७ गते र सहिद दिवस माघ १६ गतेलाई जनाइएको छ । 

यसैगरी विदेशस्थित नेपाली नियोगहरूले सम्बन्धित मुलुकका सार्वजनिक बिदाहरूलाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले व्यवस्थापन र समायोजन गर्ने व्यवस्था राखिएको छ । 

सरकारले अस्पताल, रोपवे, टेलिफोन, प्रहरी, अध्यागमन, थाना, चौकी, फायर ब्रिगेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक आदि रोजाना र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयहरूले सार्वजनिक बिदाको दिनमा समेत कामकाज गर्नुपर्ने हुँदा त्यस्ता कार्यालयहरूमा दैनिक काम नरोकिने गरी सार्वजनिक बिदाका दिन काम गरेबापत प्रचलित कानूनको रित पु¥याई सट्टा बिदा बस्न सक्ने व्यवस्था गरेको छ । 

कार्यालय हाजिर हुने र छुट्ने समय नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरूमा वैशाख १गतेदेखि कार्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत्र मसान्तसम्म बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने र कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निर्धारण भएको छ । शुक्रवार सरकारी कार्यालयहरू बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म खुल्ने जनाइएको छ । साथै खाजा समय कार्यालयको सेवा प्रवाहमा बाधा नपर्ने गरी आलोपालो मिलाई सम्बन्धित कार्यालयले आधा घण्टाको समय तोक्न सक्ने व्यवस्था पनि राजपत्रमा प्रकाशित सूचनामा जनाइएको छ । 

सार्वजनिक बिदा प्रकाशित राजपत्र डाउनलोड गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com