२०७७ चैत २९, आइतबार
०१:१६:३०
- सुवास विभास
भोजपुर
आज एउटा बिहेको निमन्त्रणा कार्ड टेबुलमा छ मेरो नाममा लेखिएको । म त्यो मुढमा छुइन हतार हतार त्यो कार्ड पल्टाएर हेरूँ ।
कामको थकान । शरीर अलि भद्दा महसुस छ । दिमाग पनि सदा भन्दा अलि बढी नै थकित भएको महसुस छ ।
विनय, तिमी अचेल कति परिवर्तन भएको ? अरूहरूले मेरो बारे यस्तो प्रतिक्रिया दिन थालिसकेका थिए । मलाई पनि म सदा झैँ छुइन भन्ने महसुस त भइरहेकै थियो ।अरूको प्रश्नले त्यसमा झन् पुस्ट्याइँ दिन्थ्यो । हिजोको चन्चले, छटपटे अनि कुरा नगरी एक छिन पनि रहन नसक्ने म, आकाशको जुन तारा नै गफले झारुँला झैँ गर्ने म, गाउँ भरीकाले अल्लारे भन्ने म अहिले गुपचुप हराउँदा अनौठो लाग्नु मैले अस्वाभाविक ठानिन ।
म कसरी यति धेरै परिवर्तन भएँ म आफैमा अस्पष्ट छु । तर पनि मेरो परिवर्तनको सुरुवात त्यहीबाट भएको हुनुपर्छ जहिले देखि मैले गाउँमै एउटा पसल सञ्चालन गर्न थालेँ । सुरुमा मलाई पसलमा रहन एकदम गाह्रो भयो । कति पटक पसल छोड्न खोजेँ । पसल बेच्न खोजेँ । पटक पटक मेरो स्वभावको पुनरावृत्ति भइरहन्थ्यो ।
क्रमशः बित्ने समयसँगै मलाई व्यापारी नै बनायो समयले । मेरो दायाँ बायाँ पैसा, को सँग कति लिनुपर्ने ? कुन पसलबाट कति सामान मगाउनु पर्ने ? ग्राहकलाई कसरी खुसी पार्ने ? आज कति आम्दानी ? आज कति खर्च ? कस कसको उधारो छ ? को को उधारो खाएपछि पसलमा आउन छाड्यो ? मेरो दिमाग यिनै कुराले भरियो । मैले आफ्नो स्वभावमा पूर्णतः परिवर्तन ल्याएँ ।
मेरो टेबलमा एउटा कार्ड पल्टिरहेकै छ । मेरो मानसिकता अझै पनि त्यो कार्ड हेर्न तयार छैन । फेरि अर्को घाटा लाग्ने भयो विवाहले । मेरो व्यापारिक दिमागले त्यही भन्दै थियो । मेरो व्यापारिक दिमागले त्यसो भन्नुमा अर्को पिडा थियो ! यसपालि धेरै विवाहमा धेरै खर्च भइसकेको थियो ।
मैले कार्ड तानेँ र पढेँ
"ओ ऽऽ सीताको बिहे............."।
म झस्किए । अस्वाभाविक बने । तर सम्हालिए केही नभए जस्तो । तर भित्रभित्रै अदृश्य पीडा बोध भयो । मनमा असन्तुष्टि छायो । मनले भन्दै थियो - "उनी त मेरी मान्छे हो । मेरो मुटुको टुक्रा हो । अरूसँग बिहे किन ? कसरी र ?"
मलाई एकदम पश्चात्ताप लाग्यो । वास्तवमा म व्यापार तिर लागेपछि धेरै कुरा भुलेछु । उनी, साथी सङ्गी, आफन्त सबै । कता कता आफैलाई पनि........।
यो कलकलाउँदो वैसालु उमेरलाई पनि व्यापार भित्र लुकेको पैसाले खाइसकेछ । विगतको सङ्गत कता पुग्यो? आज एउटा कोठामा हराइरहेछु । विगतका मेरो पछिको भिड छैन आज । अहिले मेरो आफन्त भन्नु त्यही एउटा पसल अनि ग्राहकहरू । तर उनीहरूलाई त के आफन्त भन्ने र ? सस्तो दिए आफन्त नत्र पराई । उधारो दिए आफन्त नत्र पराई । यस्तै यस्तै ।
तर जे भए पनि सिता मेरो प्रिय मान्छे । तर मेरो पनि कसरी भनूँ ? उनकै बिहेको कार्ड अगाडि छ ।
हाम्रो परिचय त्यतिखेर भएको थियो – जतिखेर हामी सँगै एउटा कार्यक्रममा विराटनगर गएका थियौ । सेती, पातली र सुन्दर रूपकी थिइन् तिनी । हामी चाडै एक अर्कामा नजिक भयौ । उनले मलाई मन पराइन् र मैले उनीलाई ।
उनी र मेरो घरको दूरी ६/७ घण्टाको थियो । तथापि हाम्रो भेट भइरहन्थ्यो । कारण उनी क्याम्पस पढ्न बस्थिन डेरा लिएर । म स्वयं पनि क्याम्पस पढ्थे । भेटघाट नियमित हुने कारण यो पनि थियो । तर हाम्रो क्याम्पसको पढाइको समय भने फरक थियो । म क्याम्पसबाट बाहिर निस्कँदै गर्दा उनी क्याम्पस प्रवेशको समय हुन्थ्यो ।
हामी एक अर्कालाई मन पराउँथ्यौ । हामीले हाम्रो सुन्दर संसारको परिकल्पना गरिसकेका थियौ । तर हाम्रो अलि लामो योजना थियो । हामी आ-आफ्नो ठाउँमा सफल भइसकेपछि मात्र विवाह गर्ने कुरामा सहमत थियौ ।
तर हामीले सोचे झैँ सबै कुरा भएन । उनको र मेरो सम्बन्धको व्यापक चर्चा भयो । म त्यो कुरालाई जसोतसो टार्न सक्थेँ । तर उनलाई गाह्रो भयो । उनले विवाहको लागि दबाब दिन थालिन् । म उनीसँग विवाह नगर्ने पक्षमा त थिदै थिइन । तर म आफ्नो योजनामा दृढ थिए । तत्काल विवाह गर्ने कुरालाई अस्वीकार गरे । मेरो परिवारमा दाजुहरूको समेत विवाह भएकै थिएन ।
हाम्रो भेटघाट पातलिँदै गयो । केही समय पछि उनी काठमाडौँ आफन्तको बस्दै आएको कुरा थाह पाए । मैले उनीसँग भेटघाटको अनेक प्रयास गरे तर सफल भइन । मनमा निराशा निकै बढेको थियो । तर आफूलाई सम्हाल्नु नै थियो ।
मैले जीवन चलाउनको लागि गाउँमै पसल खोल्ने बिचारमा पुगेँ । म व्यापारी बनेँ । व्यापारको व्यस्ततामा सबै कुरा बिर्सिँदै गएँ । बिर्सिए कै पनि होइन सम्झनालाई क्रमशः घटाउँदै गएँ । आफसे आफ घट्दै गयो ।
आज तीन वर्ष पछाडि उनको बिहेको कार्ड मेरो हातमा छ । म झस्किएँ । भित्रभित्रै पिरोलिएँ । सम्झनाले फेरि उकुसमुकुस भएँ ।सबै कुरा झलझली आए । म बेचैन बने । ।उनीलाई याद गरेर विगत सम्झनु बाहेक म सँग अर्को उपाय केही थिएन । । मेरो वशमा केही थिएन ,थियो त केवल उनको याद ।
उनको बिहे नि काठमाडौँ मै । म जान सक्ने अवस्था नि थिएन । यतिखेर मलाई विगतले उनको यादले चारै तिरबाट चिमोट्यो ,झस्कायो, पीडा दियो । म पसल मै एकोहोरो हराई रहेको थिएँ।
'अङ्कल ! मलाई बिस रुपैयाँको मसला दिनु न ।'
म झसङ्ग भएँ । सम्हालिन खोजे । यादलाई मार्न खोजे । तर त्यो 'बिहेको कार्ड'ले मलाई केही बिर्सनै दिएन । मैले त्यो यादसँगै आउने पीडालाई जीवन्त राख्न चाहिन । मैले मुटु मिचेरै त्यही 'बिहेको कार्ड' मा मसला पोको पारेर ग्राहकलाई दिएँ ।