२०७७ चैत २९, आइतबार

img-responsive

१२:३०:३५

 

समसामयिक टिप्पणी, "त्रिविको साखः जोगाउने प्रयास खोई?"

गोठालो खबर
गोठालो खबर २०७७ फागुन २०, बिहीबार,०६:४९:AM  
img-responsive

समसामयिक टिप्पणी 

त्रिविको साखः जोगाउने प्रयास खोई? 

त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अन्तरगतका सम्पूर्ण परीक्षा सञ्चालन हुने केन्द्रहरूमा अनिवार्य सी.सी. क्यामेरा जडान गर्ने व्यवस्था मिलाउने निर्णय गरेर त्रिविको परीक्षा सञ्चालनसम्बन्धी गिर्दो साखः जोगाउने प्रयास थालेको छ । यो निर्णयसंगै यसै वर्षको चैत्र २० गतेदेखि परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्धारको सम्पूर्ण दृष्य आउने गरी कम्तीमा डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने सी.सी. क्यामेरा जडान हुने भएको हो । त्रिविको परीक्षाको गुणस्तरबारे पटक पटक प्रश्न उठिरहेको बेला यस प्रकारको निर्णयले त्रिविको परीक्षा प्रणालीमा सुधारको अपेक्षा गरिएको छ । 

त्रिवि परीक्षा नियन्त्रण कार्यालयभित्र हुने अनियमितता रोक्न भने केन्द्रीय परीक्षा समिति अझै असफल देखिन्छ । गत वर्ष मात्रै चार लाखमा गोल्ड मेडल बेचेको समाचार बाहिर आएपछि भ्रष्टाचार गरेको ठहर सहित विशेष अदालतले परीक्षा नियन्त्रण कार्यालयकै कर्मचारी र घुस खुवाउने शिक्षक समेतलाई दोषी करार गरेको थियो । उत्तरपुस्तिका साटफेर गरेको मुद्दामा तानिएका कर्मचारीहरू अझै निलम्बित अवस्थामा मुद्दा खेपिरहेका छन् । यस्तो अवस्थामा त्रिवि परीक्षा नियन्त्रण कार्यालयको विभिन्न संकाय र अध्ययन संस्थानका परीक्षासम्बन्धी गोप्य भनिएका काम गर्ने गोप्य शाखाहरुभित्र बसेर गरिने कालो धन्दाका काम कारबाहीहरू कहिले पर्दाफास हुने हुन्? गोप्य शाखाहरू कहिले खुल्ला र पारदर्शी शाखामा रूपान्तरण हुने हुन्? परीक्षा सञ्चालनको क्रममा हुने अनियमिततालाई सी. सी. क्यामेरा जडान गरेर रोक्न खोजेको त्रिविले आफ्नै कार्यालय परिसरभित्र गोप्य शाखाहरूबाट हुने अनियमितता रोक्न भने कहिले सी.सी. क्यामेरा जडान गर्ने होला? त्रिविले पछिल्लो समय बाहिर देखाउन मात्र प्रविधिको प्रयोग गर्दैछ कि वास्तवमै सुधारको प्रयास थालेको हो? सबैको नजर अब त्यतातिर मोडिनु जरुरी छ । 

त्रिविमा बेथितिको चाङ् नै रहेको हामी सबैसामु घाम जतिकै छर्लङ्ग छ । त्रिविको सार्वजनिक प्रशासनद्वारा प्रवाह हुने सेवाको गुणस्तर ज्यादै खस्केको छ । परीक्षा प्रणालीमा भद्रगोलको अवस्था छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खु परिसरमा सेवाग्राहीहरूको भिडभाड थामिनसक्नु देखिन्छ । एक्काइसौं शताब्दीको सूचना प्रविधिको युगलाई त्रिविले आत्मसात् गर्न सकेको छैन । परम्परागत ढड्डा पल्टाउने प्रथाको कारण त्रिविमा महँगो सेवा शुल्क तिरेर पनि सेवा पाउन महिनौं कुर्नुपर्ने बाध्यता छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयको काम कारबाहीलाई अब प्रविधिमैत्री बनाउने कि नबनाउने? यसमा बारम्बार गुनासोहरू आउने गरे पनि सुनुवाइ गर्ने संयन्त्र नहुँदा लाखौं विद्यार्थीहरू पीडित हुनुपरिरहेको छ । देश संघीयतामा गएको पाँच वर्ष बितिसक्दा पनि त्रिविको परीक्षा नियन्त्रण कार्यालय किन संघीयताको मोडलमा सेवा प्रवाह गर्न चाहँदैन? अझै पनि दूर दराजबाट प्रमाणपत्रहरू लिन काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य किन हुँदैन? त्रिवि समय सापेक्ष आफूलाई रूपान्तरण गर्न किन चाहँदैन? त्रिविले केन्द्रीयताको निरन्तरताद्धारा दूर दराजका जिल्लाहरूबाट आउने विद्यार्थीहरूलाई ढिलासुस्ती, अनियमितताबाट कहिलेसम्म पीडित बनाइराख्छ? आम विद्यार्थीहरूको पीडा बुझेर पनि पदाधिकारीहरूलाई किन त्यसले अलिकति पनि महसुस हुँदैन? हजारौं सूचना प्रविधिका विद्यार्थी उत्पादन गर्ने त्रिभुवन विश्वविद्यालय भने परम्परागत सेवा प्रवाहको ढर्राले कहिल्यै माथि उक्सिन सकेको देखिँदैन । त्रिविले वास्तवमै सेवा प्रवाहमा सुधार नचाहेको हो कि गर्न नसकेको हो? यो गम्भीर प्रश्न खडा भएको छ । 

अहिले सेमेस्टर प्रणालीको भद्रगोललाई त्रिविले कसरी व्यवस्थापन गर्दै जान्छ, भौतिक रूपमा कक्षा सञ्चालन हुन नसक्दा प्रविधिको प्रयोगले भर्चुअल कक्षाहरू सञ्चालन गरेको त्रिविले त्यसको सफलता कति प्रतिशत रह्यो? भनेर खोइ समीक्षा गरेको ? विगतको समीक्षाबाट नै त्रिविको भविष्य कता मोडिँदैछ भनेर हेर्न सकिन्न र? अनि सेमेस्टरको अन्त्यमा हुने परीक्षाहरू समयमा हुन सकेका छैनन् भने समयमा परीक्षाफल प्रकाशन हुन सकेको छैन । हरेक संकाय र अध्ययन संस्थानको डीन कार्यालयहरूमा रहेका परीक्षा नियन्त्रण महाशाखाहरूले कसरी सम्हालिरहेका छन्? सेमेस्टर प्रणालीको प्रभावकारिता त्यसैले निर्धारण गर्नेछ । 

त्रिविको पठन पाठनको गुणस्तरीयतामा प्रश्न चिन्ह उठ्ने गरेको धेरै भएको छ । पुराना प्राध्यापकहरूलाई आंशिक प्राध्यापकहरूले विस्थापित गरिरहेका छन् । राजनीतिक भर्ती केन्द्र बनेको त्रिविले राजनैतिक आडमा भर्ना गरेका आंशिक प्राध्यापकहरूको शिक्षण गुणस्तरीय छैन भन्ने गुनासो पनि त्यतिकै उठेको छ । स्थायी पदपूर्तिको लागि लिइने त्रिवि सेवा आयोगको परीक्षा र परीक्षाफल प्रकाशनमा पनि पछिल्लो समय प्रश्न चिन्ह खडा भइरहेको छ । सर्वोच्च अदालतमा २०७३ सालतिर परेको मुद्दामा हालै मात्र गणित र गणित विज्ञान विषयको उपप्राध्यापक पदमा प्रश्न पत्र सार्ने उमेद्धारलाई उत्तीर्ण गराई स्थायी उपप्राध्यापकमा नियुक्ति गरेको पाइएको समाचार बाहिर आएको छ । यस अघि कर्मचारी भर्ना प्रक्रियामा पासलाई फेल, फेललाई पास पारेर नतिजा प्रकाशन भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट दश जना कर्मचारीहरू निलम्बन भई हाल मुद्दा विचाराधीन रहेको छ । लोक सेवा आयोगको प्रतिनिधि समेत सदस्य रहने गरी लिइने परीक्षा समेत शंकाको घेरामा पर्नु दुर्भाग्यपूर्ण भएको छ । कर्मचारी र पदाधिकारीहरूको आफन्त भर्ती केन्द्रको रूपमा रहेको त्रिविमा निष्पक्ष र पारदर्शी तरिकाले सेवा आयोगको परीक्षा सञ्चालन हुनुपर्ने सर्वसाधारणका छोराछोरीहरूको अपेक्षामाथि जिम्मेवार पदमा बस्नेहरूबाट कुठाराघात गर्दै आएको पाइएको छ । यसले सिङ्गो त्रिभुवन विश्वविद्यालयको साखः गिराउनेबाहेक कोही कसैलाई फाइदा पुगिरहेको छैन तर पनि त्रिवि सेवा आयोगले निष्पक्ष र पारदर्शी परीक्षा प्रणाली सुरुवात गरेर आम सर्वसाधारणलाई विश्वास दिलाउन सकिरहेको छैन । त्रिविको गिरेको साखःलाई माथि उठाउन त्रिवि सेवा आयोगको परीक्षा प्रणालीमा पनि निष्पक्षता, पारदर्शिता अपनाउन जरुरी देखिन्छ । 

चार चार वर्षमा पदाधिकारीहरू परिवर्तन हुने बाध्यता त्रिविमा पनि छ । अघिल्लो पदाधिकारीहरूले सुरु गरेका राम्रा कार्यहरूलाई समेत पछिल्ला पदाधिकारीहरूले आत्मसात् नगर्ने, अपनत्वको भावनाले नहेर्ने र फेरी नयाँ नयाँ कार्यहरूमा सुरुवात गर्ने हुँदा त्रिविमा ठोस रूपमा पदाधिकारीहरूले उपलब्धि हासिल गरेको प्रमाण देखाउन सकेको पाइँदैन । ठुला ठुला काम गरेको भाषण गर्ने तर सामान्य काम कारवाहीहरुलाई व्यवस्थित नगर्ने परिपाटीले त्रिविभित्र मसलन्द समस्याहरूले माकुराको जालोजस्तो जेलेर सबैलाई राखेको पाइन्छ । समस्या तल छन् तर पदाधिकारीहरू तल्लो तहका निकाय र कर्मचारीहरूको कुरा सुन्न र उनीहरूलाई कामप्रति प्रोत्साहन गर्न चाहँदैनन् । चिल्ला गाडीमा दगुर्न र माथिल्लो ओहदामा आसीनहरूको चाकडी र सेवामा नै सबै व्यस्त हुने परम्पराले संस्थागत सुशासन र हित कहिल्यै पनि गर्न सक्दैन । त्रिविमा तहगत भ¥याङ्ग यति फराकिलो छ कि नाम मात्र सुनेका पदाधिकारीहरूलाई कार्यकक्षमा भेट्न र आफ्ना कुरा राख्न तल्लो तहका कर्मचारीहरूले कुनै अवसर नै पाउँदैनन् । जबसम्म तल्लो तहबाट सुधारको सुरुवात हुँदैन, तबसम्म माथिल्लो तहमा सुधार गरेको भनेर देखाउन सम्भव हुँदैन । यो कुरा प्राज्ञिक मर्यादाको शिखरमा पुगेको अनुभूति गरिरहेका कुनै पनि पदाधिकारीको मनमा पसेको देखिँदैन । त्रिवि एउटा प्राज्ञिक संस्था भएको र यसमा सबै तह तप्कामा प्राज्ञिक नेतृत्व रहने हुँदा कर्मचारीभन्दा पनि शिक्षकले जिम्मेवार भएर संस्थाको साखः जोगाउन लाग्नुपर्ने देखिन्छ । व्यवहारिक रूपमा हेर्ने हो भने त्रिविका कर्मचारीहरूले सेवा प्रवाहमा कार्यकुशलता देखाउन सक्नुपर्ने हुन्छ भने जिम्मेवार पदाधिकारीहरूले नीतिगत निर्णयहरू लिन र कार्यान्वयन गर्न सक्नुपर्ने हुन्छ । त्रिवि नेतृत्वले आफूले गरेका प्रयासहरूमा पृष्ठपोषण प्राप्त गर्नका लागि यसको आवधिक समीक्षा गर्न जरुरी छ ।  

दुई दुई वर्षमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन विगत वर्षहरूदेखि नै हुन नसकेको अवस्था छ । निर्वाचनको मुख्य माग गरेर त्रिवि उपकुलपतिको कार्यालयमा महिना दिनदेखि रिले अनसनमा रहेका विद्यार्थीहरूको मागलाई नेतृत्वले सम्बोधन गर्न सकेको छैन । प्राध्यापक, विद्यार्थी, कर्मचारीहरूको आन्दोलन एकैसाथ उठ्यो भने नेतृत्वलाई त्यसको व्यवस्थापन गर्न जटिल हुन सक्छ । त्यसैले शान्तिपूर्ण वार्ताको माध्यमबाट समस्याहरू समाधानमा तदारुकता देखाउन नेतृत्वले ढिला गर्नुहुँदैन । नेतृत्व क्षमतामा प्रश्न उठ्ने बित्तिकै त्रिविको सार्वजनिक छवि धुमिल हुन जान्छ र भएको साखः पनि गिर्ने अवस्था आउन सक्छ । त्रिविको साखः बचाउन देश विदेशबाट वा विश्वविद्यालयभन्दा बाहिरबाट त कोही पनि आउँदैन होला नि? वहालवाला रहेका पदाधिकारीहरू र नेतृत्वले नै संस्थाको साखः बचाउनु पर्ने होइन र? 

त्रिविमा हरेक वर्ष चार लाखको हाराहारीमा विद्यार्थीहरू पढ्ने गर्छन् । औषतमा ५५ हजारभन्दा बढिलाई वार्षिक रूपमा त्रिविले उच्च शिक्षा हासिल गरेको उपाधि प्रदान गर्दै दीक्षित गर्ने गर्दछ । अन्य विश्वविद्यालयहरूको तुलनामा त्रिविको शैक्षिक उत्पादन संख्यात्मक रूपमा धेरै भए पनि गुणस्तर दिनप्रतिदिन खस्किँदै गएकोमा सरोकारवालाको ध्यान पुग्न जरुरी छ । सिङ्गो संस्थाको आन्तरिक सुशासन व्यवस्थापनमा नेतृत्वले तत्काल कदमहरू चाल्नुपर्ने देखिन्छ । देशकै उच्च शिक्षा अध्ययनको करिब ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको त्रिभुवन विश्वविद्यालयले विश्वमै आफ्नो साखःलाई जोगाई राख्ने हो भने राष्ट्रिय स्तरमा पनि आफ्नो साखःलाई बचाउन सक्नुपर्दछ । अन्यथा त्रिवि भित्रको बेथिति र भद्रगोलको चाङ् क्रमशः पर्दाफास हुँदै जान सक्छ । यसले त्रिविमा पनि ‘बाहिर बाहिर टाइफिटिङ्ग, भित्रभित्र जुम्राको मिटिङ’ भन्ने नेपाली उखान चरितार्थ हुन सक्छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com