२०७७ फागुन १६, आइतबार
०३:५५:५०
परासी,९ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले खोप स्वास्थ्य सामाग्री मात्र नभै खोप राजनीतिक सामाग्री पनि भएको बताएका छन् । आइतवार पश्चिम नवलपरासीको बर्दघाटमा पञ्चनगर स्वास्थ्य चौकीको निर्माणाधीन भवनको शिलान्यास गदै मन्त्री त्रिपाठीले यस्तो बताएका हुन ।
पैसा दिएर पनि कतिपय मुलुकहरूले अहिले कोरोना खोप नपाएको अवस्थामा नेपालले प्राप्त गर्नु चानचुने कुरा नभएको बताए । आन्तरिक तथा प्रक्रियागत रूपमा धेरै मिहिनेत गरेर मात्र खोप नेपालले प्राप्त गरेको त्रिपाठीले बताए । मन्त्री त्रिपाठीले आजै मात्र दश लाख डोज खोप नेपाल भित्रिएको बताउँदै फागुन २३ गतेबाट ६० वर्ष उमेर समूह माथिका सबैलाई कोरोना खोप लगाउनका लागि तथ्याङ्क सङ्कलन भइरहेको समेत उनको भनाई थियो ।
मन्त्री त्रिपाठीले खोप सबै नागरीकलाई पुर्याउने सबै पालिकामा निर्माण हुनलागेका ५,१० र १५ शय्याका आधारभूत अस्पतालहरूको कामलाई पूर्णता दिने र स्वास्थ्य क्षेत्रमा रहेका कर्मचारीहरूको सन्तोषजनक मिलान गर्ने कामलाई विशेष जोड दिएको जानकारी दिए । उनले एक फरक प्रसङ्गमा मन्त्री त्रिपाठीले अहिलेको राजनीति रामलीला जस्तो भएको व्यङ्ग गर्नु भएको गरेका छन् । पहिले गिरिजा बाबु र शेरबहादुर देउवाले गरेजस्तैगरी फेरी पनि उही कहानी दोहरिएको मन्त्री त्रिपाठीले बताए । २ करोड ४३ लाख ९२ हजार २ सय ९२ रुपैयाँ को लागतमा निर्माण हुन लागेको पञ्चनगर स्वास्थ्य चौकी दुई तले रहने छ । जसमा पहिलो तलामा १४ वटा र दोस्रो तलामा ६ वटा कोठाहरू निर्माण हुने गरी स्टिमेट गरिएको छ । भवन निर्माणको जिम्मा किराँतेश्वर कन्स्ट्रक्सन एण्ड ड्रिलिङ कम्पनी प्रा.लि.ले पाएको छ । १५ महिना मा निर्माण सम्पन्न गर्ने गरी आयोजना सम्झौताको भएको छ।
बर्दघाट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाईँको अध्यक्षता भएको कार्यक्रममा वडा नम्वर ८ का वडाध्यक्ष कविराज आचार्य संविधान सभा सदस्य विक्रम खनालले बर्दघाट नगरपालिकाकी उप–प्रमुख मायादेवी पौडेल, प्रमुख प्रशासकीय अधिकृत मेधराज पाध्य लगायतले आ–आफ्ना धारण राखेका थिए ।