२०७७ फागुन १३, बिहीबार

img-responsive

१०:०९:५३

 

"वर्तमान राजनीतिक सङ्कट र युवाहरूको भूमिका" विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेकपाले देश, जनता र विकासको लगी पार्टी भित्र कहिल्यै छलफल गरेन, तर कुर्सी, सत्ताको लागि मात्र लडाइँ गरेर अहिले उनीहरूको स्वार्थको लागि देश र जनतालाई बन्दी बनाए : जसपा नेता परशुराम खापुङ

गोठालो खबर
गोठालो खबर -३ २०७७ फागुन ८, शनिबार,१०:५७:PM  
img-responsive

भक्तपुर, ०८ फागुन। आज एक कार्यक्रम बिच नेपाल प्रेस सोसाइटी र सङ्कल्प क्रियशनको आयोजनामा "वर्तमान राजनीतिक सङ्कट र युवाहरूको भूमिका" विषयक अन्तरक्रिया कार्यक्रम भक्तपुरको न्यातपोल पार्टी प्यालेसमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभिन्न स्वतन्त्र व्यक्तिहरू, पत्रकारहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाज र सामाजिक अभियन्ता युवाहरूको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रमको सभापतित्व रमेश ख्याजुले गर्नु भएको थियो । 

कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं जसपाका नेता परशुराम खापुङले नेपालमा राजनीतिक सङ्कट आएकोले त्यसको निराकरणको लागि युवाहरूको अहम् भूमिका हुने बताउनु भयो । यो सङ्कटसँग जुझ्न मार्गचित्र बनाएर अगाडी बढ्नु पर्ने उहाँको धारणा रहेको थियो । संसद पुनर्स्थापना भन्दा अर्को विकल्प नरहेको र अदालतले पनि जनभावनाको कदर गर्ने विश्वास जाहेर गर्नु भयो । भविष्यमा यस्तो राजनीतिक सङ्कट पुनः दोहोरिन नदिनको लागि शासकीय स्वरूप र निर्वाचन प्रणालीमा नै परिवर्तन गर्नु पर्ने उहाँको तर्क थियो । अहिले अभ्यासमा रहेको संसदीय प्रणालीले भ्रष्टाचार मात्र बढाएको कारण यसको विकल्प खोज्नु पर्ने विचार राख्नु भयो । देशभित्रको कमजोर राष्ट्रिय एकतालाई बलियो नबनाए सम्म नेपालमा व्याप्त समस्याहरू र राजनीति विकृतिहरुको अन्त्य नहुँने धारणा राख्नु भयो । संसद विघटन अघि पनि नेकपा भित्र देश, जनता र विकासको लगी पार्टी भित्र कहिल्यै छलफल नभएको तर कुर्सी, सत्ताको लागि मात्र लडाइँ गरेर अहिले उनीहरूको स्वार्थको लागि देश र जनतालाई बन्दी बनाएको बताउनु भयो । त्यसै गरी माधव नेपाल र प्रचण्डले पनि देशमा व्याप्त अशिक्षा, गरिबी, स्वास्थ्य, बेरोजगारी समस्याको बारेमा नबोलेको आरोप लगाउनु भयो । यिनै पार्टीहरूले विगतका कलकारखाना र उद्योग धन्धाहरू बेचेर खाएको र नबिकेका जतिलाई प्यारालाईज्ड गरेर राखेको आरोप लगाउनु भयो । 

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुस्कर बुढाथोकीले देशमा सङ्कटको बेला पत्रकारहरूले महत्त्वपूर्ण र रचनात्मक भूमिका निर्वाह गरेको बताउनु भयो । प्रधानमन्त्री के.पी. ओलीले संसद विघटन गरे पश्चात् पत्रकारहरूले नै सर्वप्रथम विरोध जनाएको तर उक्त मुद्दा अदालतमा प्रवेश गरेपछि भने तटस्थ भूमिकामा बसेको बताउनु भयो । राजनीतिक दल कहिले सत्ता त कहिले सडकमा पुग्ने हुँदा पत्रकारले नै रचनात्मक र असल काम तर्फ प्रेरित गर्दै समाजको वाचडगको रुपामा आफूलाई उभ्याउनु पर्ने तर्क गर्नु भयो । 

त्यसै गरी जसपा नेता श्रीराम खाईजुले उक्त कार्यक्रममा चार पृष्ट लामो कार्यपत्र प्रस्तुत गर्दै ओली सरकारले "म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न ! भ्रष्टहरूको मुखै हेर्दिन" भने पनि उनकै कार्यकालमा भ्रष्टाचारले नयाँ रेकर्ड कायम गरेको बताउनु भयो । भ्रष्टाचार घट्नुको साटो दक्षिण एसियामा भ्रष्टाचारको सूचीमा नेपाल अब्बल रहेको भन्दै ट्रान्सपेरेन्सी ईन्टरनेश्नलको प्रतिवेदन उद्धृत गर्नु भयो । ओली सरकारको कार्यकालमै नीतिगत भ्रष्टाचार बढेको, यती, ओम्नी, वाईडबडी, आय निगम जग्गा काण्ड, ललिता निवास जग्गा काण्डका अपराधीहरू प्रधानमन्त्री केपी ओलीले नै चोख्याउने गरेको प्रस्ट पार्नु भयो । 

उक्त कार्यक्रममा सजन विश्वकर्मा, जनजागरण नेपालका अध्यक्ष वी पी खनाल, जसपा नेता पञ्चलाल महर्जन, नेकपाका नेता देवेन्द्र श्रेष्ठ, सामाजिक अभियन्ता हेमराज थापा, पुन्य गौतम आदीले आफ्नो धारण राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन आशुतोषले गर्नु भएको थियो भने कार्यक्रममा सहभागीहरूलाई स्वागत पत्रकार रमिला खड्काले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com