२०७७ फागुन १३, बिहीबार

img-responsive

०९:५३:०९

 

सर्वोच्चले आफ्नो गरिमा कायम राख्दै निर्णय गर्ने नेता सिंहको विश्वास

गोठालो खबर
गोठालो खबर -१ २०७७ फागुन ३, साेमबार,०६:१९:PM  
img-responsive

पोखरा, ३ फागुन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तानशाही शासन तन्काउन निर्वाचनको घोषणा गरेको बताएका छन् । काँग्रेस प्रतिनिधिसभा विघटन विरुद्ध गरेको देशव्यापी प्रदर्शनको क्रममा कास्कीमा आयोजित विरोध सभामा बोल्दै नेता सिंहले ओलीले नहुने निर्वाचनको मिति घोषणा गरेको बताएका हुन् ।

‘उनले तानशाही शासन तन्काउन हुनै नसक्ने चुनाव घोषणा गरे। शासन लम्बाउन कसैलाई प्रलोभनमा फसाउन सकिन्छ कि भनेर उनले चुनावको चाल चलेका हुन्,’ सिंहले भने । 

उनले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे । ‘प्रतिनिधिसभा विघटनको मुद्दा अहिले सर्वोच्च अदालतमा छ । अब न्यायमूर्तीहरुले न्याय दिँदा संविधानको व्यवस्था र भावनालाई हेरेर दिनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘हिजो राजा ज्ञानेन्द्रले शाही आयोग गठन गरे। त्यो बेला अदालतले त्यसलाई असंवैधानिक ठहर गर्‍यो । अहिले पनि असंवैधानिक ठहर गर्ने विश्वास छ। हिजो पनि सेटिङको कुरा थियो, आज पनि छ । तर सर्वोच्चले आफ्नो गरिमा कायम गर्ने गरी निर्णय गर्नेछ ।’

पुर्नवहाली भयो भने नेपालको राजनीतिक नेपालकै हातमा रहने तर विघटन सदर भयो भने मुलुकमा शक्तिकेन्द्रहरूको चलखेल बढ्ने उनको भनाइ छ ।

उनले संसदीय व्यवस्थाको सुन्दर पक्ष चेक एन्ड ब्यालेन्स भएको भन्दै कार्यपालिकाले व्यवस्थापिका माथि प्रहार गर्दा न्यायपालिकाले सच्चाउनुपर्ने उनको भनाइ थियो । उनले संविधान मिचेका ओलीले चुनाव गराउँछ भनेर पत्याउँछ भने त्यसलाई रामराम मात्र भन्न सकिने बताए । ‘संविधान मिच्ने ओलीले निर्वाचन गराउँछन् भनेर पत्याउनेलाई रामराम मात्र भन्न सकिन्छ।  नेकपाले जनताको मतको अवमूल्यन गरेको छ,’ उनले भने, ‘मै कानून हुँ, मै संविधान हुँ भन्ने ओलीको एक दिन राजा ज्ञानेन्द्रको झैँ हालत हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com