२०७७ फागुन १३, बिहीबार

img-responsive

१०:५४:५६

 

कोभिड महामारीमा अग्रपंक्तिमा खटेका चिकित्सक, नर्स र सफाइकर्मी सम्मानित

गोठालो खबर
बलिराम यादव , २०७७ माघ २२, बिहीबार,०१:२०:PM  
img-responsive

वीरगंज । कोरोना भाइरसको महामारीमा अग्रपंक्तिमा खटिएका ३५ जनालाई नगवा युवा समाजले सम्मान गरेको छ । समाजका अध्यक्ष अजय पासवानको सभापतित्वमा भएको कार्यक्रममा बिहीबार  चिकित्सक, नर्स, सफाईकर्मी लगायतका ३५ जनालाई सम्मान पत्रले सम्मान गरिएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले वीरगंज महानगरपालिका र स्वास्थ्यकर्मी लगायत विभिन्न व्यक्तिहरूले कोरोना नियन्त्रण गर्न चालेको सकारात्मक कदमकै कारण महामारी नियन्त्रण गर्न सफल भएको बताए । कोरोनाको हटस्पट बनेको वीरगंजमा स्थानीय प्रशासनको समन्वय र अन्य सामाजिक सङ्घ संस्थाहरूको सहयोगमा कोरोना भाइरसलाई नियन्त्रण गर्न सकिएको उनले बताए । 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर सरावगीले वीरगंज महानगरको जिम्मेवारी नभएको कामलाई पनि जिम्मेवारी पूर्वक गर्दै विपत् विरुद्धको लडाइँमा अहोरात्र खटेको दाबी गरे । महामारीको बेला अस्पताल तथा क्वारेन्टाईनमा खटिएका चिकित्सकहरूको जोखिम भत्ता पनि सरकारले नदिएको भन्दै दुःखेसो पोखे । 

कोरोना महामारीको बेला व्यवस्थित क्वारेन्टाईनको व्यवस्थापन गर्नुको साथै ७०४ जनाको घरघरमा गएर कोरोनाको उपचार तथा रोग प्रतिरोधात्मक क्षमता बढाउन विभिन्न औषधी पनि दिइएको उनले बताए । विपतको बेला अनुसशासनहिनताका कारण महामारी नियन्त्रण गर्न नसकिने बताउँदै उनले विपत् सम्बन्धी समाजमा अनुशासनबारे जनचेतना फैलाउन युवाहरूलाई आग्रह गरे ।कोरोना महामारी नियन्त्रण गर्न चिकित्सकदेखि सरसफाइकर्मी सम्मको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै उनले महानगरपालिकाले पनि आगामी दिनमा उनीहरूलाई सम्मान गर्ने उद्घोष गरेका थिए । 

कार्यक्रमका विशिष्ट अतिथि एवम् पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कोरोना जस्तो भयावह महामारीको बेला युवाहरूले खेलेको भूमिका पृथ्वी नारायण साह जस्तै अतुलनीय रहेको बताए । उक्त महामारीको बेला आफ्नो ज्यान, घरपरिवार सबै त्यागेर विभिन्न बाँधा अड्चनको बाबजुद पनि अहोरात्र खट्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी, समाजसेवी लगायतको भूमिका इतिहासमै स्थापित भएको उनले बताए । 

त्यस्तै वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले कोरोनाको ताण्डव उत्कर्षमा पुगेको बेला महामारी नियन्त्रण गर्न अहोरात्र खट्ने योद्धाहरूलाई धन्यवाद दिँदै अस्पताल तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई पनि सम्मान गरेकोमा आयोजकप्रति आभार व्यक्त गरेका थिए । 

विश्व महामारीको रूप लिएको कोरोना भाइरसको महामारीको बेला वीरगंजमा अग्रपंक्तिमा खटिएका प्रभु हस्पिटलका निर्देशक डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा, डा. महेश्वर कुर्मी, डा. घनश्याम यादव, डा. रञ्जित कुमार चौरसिया, नेपाल इण्डो हस्पिटलका प्रशासन प्रमुख हिमांशु शेखर, नगवा युवा क्लबका वरिष्ठ सल्लाहकार रामबाबु पासवान, डा. एकलाखु रहमान, डा विरेन्द्र महतो, डा. राधा भट्टराई अर्याल, डा. राजेश साहलगायतलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो । 

कार्यक्रममा सम्मानित हुनेहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे तथा अन्य अतिथिहरूले सम्मान पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यार्थी नेता शिभम साहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com