२०७७ फागुन १७, साेमबार
०३:०४:१९
काठमाडौं, १५ माघ । ज्योति विकास बैंकको १३ औं वार्षिक साधारण सभा माघ १४ गते बुधवार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष श्री हरि चन्द्र खड्काको सभापतित्वमा सभा समापन भएको थियो ।
कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमलाई मध्यनजर गर्दै वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने पनि व्यवस्था गरिएको थियो । उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले १० प्रतिशत बोनस शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पुँजी रु. ३ अर्ब ८४ करोड ४८ लाख २३ हजार पुगेको छ ।
साथै, साधारणसभाले ज्योति विकास बैंक लि. संस्थापक शेयर धनी समूहको तर्फबाट श्री हरि प्रसाद , श्री हरि चन्द्र खड्का ,श्री सन्तोष अधिकारी तथा सर्वसाधारण शेयर धनी समूहको तर्फबाट श्री नरेश राज आचार्य र श्री ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ । बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६र७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्ध पत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर मार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढी खाताबाट करिब रु. ४६ अर्ब निक्षेप सङ्कलन गरी २३ हजारभन्दा बढी ऋणीलाई करिब रु. ३७ अर्ब लगानी गर्न सफल भएको छ ।