२०७७ फागुन १७, साेमबार
०४:४२:४४
परासी, १३ माघ । नवलपरासी प्रहरीले अवैध कारोबारमा संलग्न २ वटा गाडी सहित ४४ लाख ६५ हजार मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छली नेपाल ल्याउँदै गरेको अवस्थामा उक्त अवैध मालमान सहितको गाडी बरामद गरेको हो ।
जिल्लाको बर्दघाट नगरपालिका वडा नं. ४ बाडीपीडितस्थित भित्री सडकमा पर्किङ्ग गरिरहेको अवस्थामा लु.अ. ९२३१ नं. को वान टेस्ट कारलाई चेक जाँच गर्दा उक्त करमा भन्सार छली भारतबाट ल्याएका मोटरपार्टस् फेला पारी गाडी सहित इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए । उक्त मोटर पार्टस्का सामानको मूल्य ८४ हजार, वानस्टेट गाडी ३० मूल्य गरी ३० लाख ८४ हजार बराबरको रहेको केसीले बताए । बरामद सामान र गाडी आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।
त्यस्तैगरी भारतबाट भन्सार छली अवैध रूपमा लु १ ज ४२७९ नं. को पिकअपमा राखि ल्याउँदै गरेको १०४ प्याकेटमा ४१६ पिस टायल सरावल गाउँपालिका वडा नं. ७ मोजरैया स्थितबाट सीमा प्रहरी चौकी महेशपुरको प्रहरी टोलीले गाडी र गाडी चालक सहित नियन्त्रणमा लिएको छ। उक्त टायलको मूल्य १ लाख २४ हजार ८ सय र पिकअप गाडीको मूल्य ९ लाख गरी जम्मा १० लाख २४ हजार ८ सय मूल्य बराबर जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी राजु लामाले जानकारी दिए । बरामद टायल, गाडी र गाडी चालकलाई आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाइएको छ।
यस्तै भारतबाट भन्सार छली अवैध रूपमा ल्याउँदै लुकाई छिपाई राखेको अन्दाजी २ लाख २७ हजार ४ सय ३४ मूल्य बराबरको थान कपडा, धानियाको बीउ, गरम मसला, लगायतका मालसामान इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं. ७ ज्यामिरेभार स्थितबाट बरामद गरेको डिएसपी लामाले बताए । उक्त बरामद सामान आजै आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाइएको छ । प्रहरीले भारतबाट भन्सार छली अवैध रूपमा ल्याई लुकाई छिपाई राखेको अन्दाजी १ लाख ९ हजार १ सय मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
विभिन्न पार्टपुर्जा, थाल ढोकाको कब्जा, चिनी, सुर्तीलगायतका मालसामान सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरबाट बरामद गरेको हो । उक्त बरामद सामान आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाइएको छ।
भारतबाट अवैध रूपमा ल्याउँदै गरेको अन्दाजी १९ हजार ६ सय मूल्य बराबरको ४९ गोटा ९९८ केजी० जिउँदो ब्रोइलर कुखुरा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. १६ हकुईबाट बरामद गरेको छ । उक्त बरामद कुखुरा आवश्यक कारबाहीको लागि महेशपुर पशु क्वारेन्टाईनमा बुझाइएको प्रहरीले जनाएको छ ।