२०७७ माघ १२, साेमबार
११:४६:२१
अन्तर्वार्ता : आर्थिक समुन्नतिको लागि बेरोजगारलाई पालिकामै रोजगारी दिँदैछौ : अध्यक्ष मनोज गुप्ता
मनोज कुमार गुप्ता पर्साको लागी नयाँ नाम भन्ने पक्कै पनि होइन । बुवा योगेन्द्र प्रसाद र आमा बिध्या देवी कनुईनको दाम्पत्य जीवनबाट २०४० माघ २७ गते जन्मेका मनोज गुप्ता अहिले पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष हुन् । २०५५ सालमा वीरगंजस्थित त्रिजुद्ध मा.वि.बाट एस.एल.सी. उत्तीर्ण गरी प्रवीणता तहसम्मको अध्ययन पुरा गरेका गुप्ता चार बहिनी मध्येको एक्लो जेठो छोरा हुन् । अध्यक्ष गुप्ताका हजुर बुवा प्रह्लाद प्रसाद चिनी मिल कारखानाको प्राविधिक कर्मचारी हुँदै रिटायर भएर तत्कालीन पञ्चायत व्यवस्थामा २०२६ साल देखी २०४२ सालसम्म १८ वर्ष तत्कालीन गाविस सम्झौताको प्रधानपञ्च भई समाजसेवा गरी राजनीति संन्यास लिए । त्यसपछि उनका बुवा योगानन्द प्रसाद पनि कानुन अध्ययन गरी २०४९ सालसम्म सोही गाविसको प्रधानपञ्च भई समाज सेवा गरे । त्यसपछि लामो समयपछि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा परिवेश गरी २०७४ सालमा भएको स्थानीय तहको चुनावमा तत्कालीन माओवादीबाट जिल्लाकै एकल बहुमत प्राप्त गरी मनोज गुप्ता गाउँपालिकाका अध्यक्ष भए ।
यसरी कहिल्यै पराजय नभएर हजुर बुबाको पाला देखी नै राजनीतिमा उनको घरपरिवारले पर्सामै इतिहास कायम गरेको छ । बुवा र हजुर बुवाको निर्देशनमा क्याम्पस पढ्ने बेला देखी गाउँका व्यक्तिहरूको विभिन्न समस्यामा सहभागी हुँदै समाजसेवा गरेको लगनशीलतालाई देखेर आफूलाई पनि जनताले राजनीतिमा खिचेको अध्यक्ष गुप्ता बताउँछन् । विधार्थीकालबाटै समाजसेवा र टायल मार्बल, आलमुनियम जस्ता विभिन्न व्यापार गर्दै पुर्खाको शान र जनताको सेवा गर्ने उद्देश्यले आफू राजनीति यात्रा तह गरेको गुप्ताको भनाई छ । उनै अध्यक्ष गुप्तासंग गाउँपालिकाको विकाससंग जोडिएको समसामयिक विषय बारे गोठालो खबरका वीरगंज संवाददाता बलिराम यादवले गरेको कुराकानीको सम्पादित अंश :
प्रश्न : छिपहरमाई गाउँपालिकाको समग्र विकासको अवस्था कस्तो छ ?
सबै क्षेत्रको समग्र विकासमा लागेका छौं। पालिकाको पाँच वटै वडामा सडकको अवस्था एकदमै दयनीय थियो, त्यो सबै वडामा ३० फिटको हाईवे बाटो बनाई सकेका छौं । स्वास्थ्य क्षेत्रमा बर्थिङ्ग सेन्टर थिएन, अहिले तीन वटा बर्थिङ्ग सेन्टर पनि सञ्चालन गरिसकेका छौं । यस्तै हरेक क्षेत्रमा तीव्र गतिमा विकास निर्माणको कार्य भइरहेको छ ।
प्रश्न : तपाई जनप्रतिनिधि भएर आएको झन्डै साढे तीन वर्ष बित्न लाग्यो, उहीबेलादेखी हालसम्म मुख्य गरी के के काम गर्नु भएको छ ?
पर्सा जिल्लाको सबैभन्दा दुर्गम ठाउँ भनेकै नवगावा थियो । पहिला सदरमुकाम वीरगन्ज आउनको लागी भारतीय बाटो भएर ४० कि.मि. टाढाबाट आउनु पर्थ्यो । हामीले भिस्वादेखी जयमङ्गलापुर हुँदै सम्झौता, मिर्जापुर र तुलसी वरुवासम्म जोड्ने ३० फिटको बाटो निर्माण ग¥यौँ । त्यस्तै हरेक गाउँमा नाला तथा ढलान कार्य पनि गरेका छौं। छिपहरमाई गाउँपालिकाको करिब ६० देखी ७० प्रतिशतसम्म नाला तथा ढलान कार्य तिन वर्षमै पुरा गरेका छौ । हरेक गाउँमा व्यवस्थित ढलान र नाला निर्माणको कार्य गरिएको छ।
यस्तै प्रसूतिको बेला महिलाहरूलाई साह्रै गाह्रो हुने हुन्थ्यो, त्यसको लागी हामीले पालिकाको तीन ठाउँमा बर्थिङ्ग सेन्टर बनाएका छौं। महिलाहरूलाई प्रसूति गराउन ४० कि.मि. भारतको बेतिया जानु पर्ने थियो वा सदरमुकाम वीरगन्ज आउँदा धेरै आर्थिक खर्च पनि हुने गर्थ्यो । त्यसको लागी हामीले एम्बुलेन्स पनि खरिद ग¥यो । तसर्थ तीन वटा बर्थिङ्ग सेन्टर स्थापना गरेका छौं। चौथोको लागि पनि बजेट छुट्याई सकेका छौं । त्यसको निर्माण कार्य जारी छ ।
तसर्थ हाम्रो गाउँपालिकामा भौतिक पूर्वाधार विकास निर्माणको कार्य धेरै सम्पन्न भइसकेको छ । यस वर्षभित्र पाँचै वडामा बर्थिङ्ग सेन्टर पनि स्थापना भईहाल्छ ।
प्रश्न : यहाँको पालिकामा सडकको अवस्था अझै पनि दयनीय छ, कति वर्षभित्र सुधा गरीसक्ने लक्ष्य राख्नुभएको छ ?
मनोज कुमार गुप्ता : करिब २०/३० वर्ष देखि नभएको काम तीन वर्षमा हुने सम्भावना कमै हुन्छ । तैपनि ६०/७० प्रतिशत जति काम गरिसकेको छु । अहिले हामी संग एउटा बजेट अझै पनि अगाडी संचालन बाँकी नै छ । त्यो अवधिभर ९० प्रतिशत बाटोघाटोको काम पुरा गरिसक्छौं। यद्यापी अहिले पनि बाटोघाटो टुटेको फुटेको अवस्था छैन । हाम्रो गाउँपालिका अन्तर्गत भएको ओरिया खोलाको पानीले प्रत्येक वर्ष बाटोघाटोमा क्षति पु¥याने गर्दछ । त्यो भएर अलि पछाडि परेका छौं, नत्र भने अहिलेसम्म सबै वडामा सडकको पूर्ण रूपले सुधार भैसकेको हुन्थ्यो ।
प्रश्न : पालिकामा भएको बेरोजगार युवा तथा महिलाहरूलाई रोजगार बनाउन के कस्तो योजना ल्याएर कार्यान्वयन हुँदैछ ?
मनोज कुमार गुप्ता : अबको हाम्रो मुख्य उद्देश्य नै हो बेरोजगारलाई रोजगार बनाउने । अहिले पालिकामा भएको बेरोजगारहरूको डाटा सङ्कलन हुँदैछ । बेरोजगार, खाना नपाएका र बाहिर नगएकाहरूलाई पनि गाउँघरमै तालिम दिएर नेपाल सरकारको ५३० रुपैयाँको स्केल अनुसार गाउँघरमै काम गराई खाने पुग्नेगरी रोजगारी दिने तयारीमा छौं।
सामाजिक विकासतर्फको बजेटमा महिलाहरूलाई रोजगार बनाउन पहिला जुन तालिम दिन्थे, त्यो तालिममा मात्रै सीमित हुन्थ्यो । अर्थात तालिम लिने, भत्ता लिने र मिठाईको डब्बा लिई घर जाने गर्थे। तसर्थ यस कार्यक्रममा प्रतिफल नदेखिएपछि मैले त्यो कार्यक्रममा लगानी नै रोके । अहिले हामी गाउँपालिका स्वंसेवक योजना २० क्षेत्रमा छुट्टाएको छौं । कक्षा ८ र १० सम्म पढेका महिलाहरू पनि घरमै बसेका छन् । त्यस्ता महिलाहरूलाई शिक्षा सम्बन्धी तालिम दिएर गाउँघरमा भएका अशिक्षित पुरुष तथा महिलाहरूलाई शिक्षा दिने योजना छ । यस्तै राजगिरी मिस्त्री, काठ मिस्त्री, ईलेक्ट्रिसियन, थरी थरिका माछा पालन गर्ने व्यवसाय, विभिन्न तरकारी उत्पादन गर्ने कृषकहरूलाई तालिम गराएर गाउँपालिका भित्रै रोजगार दिएर आर्थिक समुन्नति गराउने योजना बनिसकेको छ । गाउँ सभाबाट एक महिनाभित्रै पारित गर्छौ ।
प्रश्न : ग्रामीण भेगमा पर्ने यहाँको पालिकामा अधिकांश मानिस कृषि पेसा मै आबद्ध छन्, कृषकको जीवनस्तर उकास्न के योजना छ ?
मनोज कुमार गुप्ता : हाम्रो गाउँपालिकामा सिंचाई गर्ने धेरै नै कठिनाइ थियो । एक त नदीको खोला र अर्को भारतीय नहरले कहीँ पनि सिंचाई गर्ने पानीको सुविधा थिएन । पहिलाका जति स–साना पैनीहरू थिए, त्यो सबै विस्थापित भइसकेको थियो । तर म जनप्रतिनिधि भएर आइसकेपछि प्रतिदिन २ देखी ३ लाख लिटरसम्मको सौर्य सिंचाई प्रणाली जडान गरिसकेका छु । जसमा वैकल्पिक ऊर्जाबाट ६० प्रतिशत अनुदान, गाउँपालिकाबाट ३० प्रतिशत र १० प्रतिशत कृषकबाट अनुदान लिएको छु । तसर्थ अहिले हामी सिँचाइलाई व्यवस्थित पारेका छौं। शस्त्र अनुदान अन्तर्गत आउने कृषकको बजेटमा हामीले समय समयमा विभिन्न सिपमुलक तालिम दिने गरेका छौं। हामीले साना किसान भन्ने कार्ड पनि लागु गरेका छौं। गाउँपालिका भित्र १ विगाहभन्दा कम खेत भएका किसानहरू कति रहेका छन् भन्ने बारे जान्न १६१० वटा साना किसान कार्ड पनि बनाएका छौं र १६१० किसानलाई १०१ समूहमा बाँडफाँड गरेका छौं। अब आउने दिनमा यी समूहमार्फत ट्र्याक्टर, धान काट्ने र रोप्ने मेसिनहरू निःशुल्क उपलब्ध गराउने छौं । एक/दुई कट्ठा मात्रै खेत भएका किसानलाई अर्ग्यानिक मल पनि वितरण गरेका छौं, ताकी उसले घरपरिवार खाने गरी आफ्नै बारीमा तरकारीले पुगोस् ।
प्रश्न : गाउँपालिका अन्तर्गतका केही गाउँ बर्सेनि डुबानमा पर्ने गर्दछ, त्यसको दीर्घकालीन उपाय बारे के गर्नु भएको छ ?
मनोज कुमार गुप्ता : ओरिया खोलाको कारण केही गाउँ डुबानमा पर्ने गर्दछ । म जनप्रतिनिधि भएर आएपछि ओरिया खोलामा बोल्डिङ्ग तटबन्ध गर्ने योजना तयार पारेका थिए । हाम्रो पालिकाको वडा नं. १ देखी भारतीय सीमानासम्म ३२ करोडको प्रोजेक्ट थियो । ऊर्जा मन्त्री वर्षमान पुन भएको बेला सो योजनाको डिपिआर तयार गर्न केन्द्र सरकारले प्रदेश सरकारलाई पत्राचार ग¥यो कि यदि प्रदेश सरकारसंग बजेट छ भने डिपिआर बनाउने काम सुरु गरोस्, नभए मन्त्रालयसँग माग गरोस् । तर प्रदेशबाट विभेद गरियो । किन भने म तत्कालीन माओवादी पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुँ । उति बेला पटक पटक म प्रदेश सरकारको कार्यालयमा दौडे तर पनि त्यो काम हुन सकेन । अब ३२ करोडको बजेट लाग्ने सो क्षेत्रमा काम गर्न त गाउँपालिकाको बजेटले पुग्दैनन् नि । त्यस कारण बर्सेनि जनधन लगायत खेती योग्य जमिनको क्षति बेहोर्नु परिरहेको छ ।
प्रश्न : यहाँ जनप्रतिनिधि भएर आइसकेपछि शिक्षा र स्वास्थ्यमा के कस्तो परिवर्तन भएको छ ?
मनोज कुमार गुप्ता : विद्यालयमा बच्चाहरूलाई बस्ने कक्षाकोठा, डेस्क, बेन्चको अभाव थियो, भुईँमा पलास्टर थिएन । यी सबै समस्या समाधान गरें । पुरानै काठको कालो पाटीमा लेख्ने प्रवृत्तिलाई हटाएं। विद्यालयमा विभिन्न कोठा तथा चर्पीहरू निर्माण गरियो। शिक्षकको अभाव भएकोले गुणस्तरीय शिक्षाको लागी दक्ष जनशक्तिको रूपमा गाउँपालिकाबाट निजी स्रोतमा १५/१६ जना शिक्षक भर्ना गरियो । प्रत्येक विद्यालयमा व्यवस्थापन समिति गठन गरियो। १६ देखी २० वटा दरबन्दी पहिलाकै रहेछन्, त्यसमा कतिपयको नियुक्ति भइसकेको छ र कतिपय नियुक्ति प्रक्रियामा छन् । यद्यापी अब पालिकामा भएको स्वयंसेवकहरूले गाउँ टोलमा गई सानो–सानो बालबालिकाहरूलाई शिक्षा दिने, निरक्षर महिलाहरुलाई र युवा तथा जेष्ठनागरिकहरूलाई पनि हस्ताक्षर गर्ने र केही पढ्न सक्ने वातावरण बनाएको छु ।
अहिले हाम्रो गाउँपालिकामा दुई वटा प्लस टु सञ्चालनमा छ र क्षेत्र भरिमा प्रथम मेरै गाउँपालिकामा प्राविधिक शिक्षा पनि सञ्चालन भइसकेको छ । कक्षा ८ सम्म मात्रै पढेर छोरीहरू घरमै बस्ने जुन बानी थियो त्यो हटाउन र छोरीहरूको मनोबल बढाउन पर्सा जिल्लामा सबैभन्दा अगाडी अर्थात सुरुमा मैले नै साइकल वितरण गरेको थिएँ । जसले छोरीहरू पनि कक्षा ९, १० र प्लस टु पढ्ने तर्फ आकर्षित भएका छन् ।
यस्तै जिल्लामा मात्रै नभई प्रदेश र देशैमा समेत कसैले लागु गर्न नसकेको ‘छोरी पालिका स्वर्ण योजना’ लागु गरेको थिएँ। त्यसमा २० हजारको बिमा लागु गरिएको छ। १६ वर्ष कटेपछि उच्च शिक्षामा लगानी गर्न रु. २ लाखको बिमा सुरुवात गरेको छु । अहिले साढे तिन सयको हराहरीमा बिमा भइसकेको छ । यो वर्ष पनि २ सय देखी २ सय २० जनाको डाटा संकलन भइसकेको छ ।
त्यस्तै पालिकामा भएको विभिन्न स्वास्थ्य चौकी मर्मत सम्भार गर्दै विभिन्न औषधीको व्यवस्था गरिएको छ । अन्य पालिकामा औषधी सकिए पनि हाम्रो पालिकामा सधैँ स्टक बाँकी राखेको हुन्छौं । पहिला पहिला स्वास्थ्य चौकी त्यति व्यवस्थित थिएन । कर्मचारीहरू १०, १२ बजे आउने अनि एक/दुई घण्टा मात्र बसेर जाने गर्थे । तर म आएदेखि कर्मचारी समयमै आउने जाने वातावरण बनाउनुको साथै महिला र पुरुषको लागि छुट्टै कोठा बनाएको छु । कतिपय महिलाहरू प्रसूति, गर्भवतीको समयमा मृत्यु पनि हुने गर्थ्यो । त्यस कारण दुई वर्ष पहिला गाउँपालिकामै बर्थिङ्ग सेन्टर स्थापना गरी अनुभवी र दक्ष कर्मचारीको भर्ना गरे । गाउँपालिका स्तरमा उपचार हुन नसक्ने बिरामीलाई सदरमुकाम लग्न एम्बुलेन्स पनि राखिएको छ । जसमा रु. १२ सयमा शुल्कमा सदरमुकाम पुर्याएर घर ल्याउने गर्छ ।
ज्वरो, रुघा खोकी जस्ता सामान्य बिरामा पनि सदरमुकाम जाँदा रु १५ सय देखि २ हजारसम्म एक दिनको खर्च हुन्थ्यो । त्यसको लागि एम.बि.बि.एस. डक्टर नियुक्त गरेका छौं । आउँदो वर्षसम्म पाँच वटै वडामा बर्थिङ्ग सेन्टर स्थापना गरेर हरेक वडामा एम.बि.बि.एस. डक्टरको पनि सुविधा घरदैलोमा ल्याउँछौं ।
प्रश्न : कमिसन खाने र कार्यकर्ता पाल्ने जस्ता कामलाई मात्रै बढवा दिएको पनि आरोप लाग्ने गर्छ नि ?
मनोज कुमार गुप्ता : हामी राजनीतिसँग जुटेको व्यक्ति हो । जति राम्रो काम गरे पनि विपक्षीले त आरोप लगाई नै रहन्छ । तर मेरो गाउँपालिकामा ३ वर्षको अवधिमा न बोर्डमा विवाद छ, न जनताबाट विवाद छ । रह्यो कुरा उपभोक्ताको । उपभोक्ता समिति बनाउँदा अध्यक्ष बन्ने एक जना मात्रै हो तर बैठकमा १०/१५ जना भन्छन् मै अध्यक्ष हुँ । अध्यक्ष बन्ने हो एक जना अनि भन्ने धेरै भएपछि अलिकति चुनौती भएको छ । तर यहाँले भने जस्तै केही छैन । सबै काम जनमुखी नै हुँदै आएको छ ।
प्रश्न : आधुनिक शिक्षाको लागि शैक्षिक संस्थामा के कस्तो प्रविधि र पूर्वाधारको व्यवस्था गर्नु भएको छ?
मनोज कुमार गुप्ता : बालबालिकाहरूलाई कालो पाटी भन्दा पनि डिजिटल माध्यमबाट शिक्षा दिने योजना थियो तर कोरोना भाइरसको कारण योजना रोकिएको छ । अहिले भर्खरै विद्यालयहरू सञ्चालन भएको छ । त्यसमा पनि चुनौती नै छ । आउने दिनमा प्राविधिक शिक्षा सञ्चालन गर्ने नै छौं।
प्रश्न : यहाँको पालिकामा भएको स्थानीय स्रोत साधनलाई पहिचान गरी परिचालन गर्दा के कस्तो आय आर्जन गर्ने सम्भावना देख्नु भएको छ ?
मनोज कुमार गुप्ता : हाम्रो पालिकामा जङ्गलहरू पनि छैन । खोलाहरू छन् तर सुकिसकेका छन् । जसले वर्षाको समयमा जोखिम मात्रै दिने गर्छ । आम्दानी हुने स्रोत एउटा पोखरी मात्रै छ । जसले वर्षको ८०/८५ लाख मात्रै आम्दानी हुन्छ । त्यो आम्दानीबाट निजी तर्फका शिक्षक नियुक्ति भएकाहरुलाई तलब सुबिधा दिने गरेका छौं । त्यसपछि गाउँघरका स–साना ३/४ लाखको योजनाहरूको काम गर्ने गरेका छौं। तसर्थ आम्दानी आउने पोखरी एउटा मात्रै स्रोत छ ।
प्रश्न : अब बाँकी कार्यकालसम्म गाउँपालिकाले के-के विकास निर्माणका कार्य गर्ने यहाँ को योजना छ ?
मनोज कुमार गुप्ता : सुरुमा मैले ३/४ वटा क्षेत्रमा काम गरेको थिएँ । घरबाट निस्कन सही बाटो, छोराछोरीलाई हरेक वडा प्राविधिक शिक्षा र उच्च शिक्षाको व्यवस्था गरिसकेको छु । बिरामीहरूको लागी वडामा स्वास्थ्य चौकी, बर्थिङ्ग सेन्टर र त्यस बाहेक जिल्लासम्म पु¥याउने एम्बुलेन्सको पनि व्यवस्था गरिसकेको छु ।
अबको मुख्य एजेन्डा नै बेरोजगारलाई रोजगारी दिने हो । अहिले पनि गाउँघरमा बुढा आमा बुवाहरू छोराछोरी सानै छन् । घर बाहिर गएर कमाउने स्थिति छैन । नकमाई खान पनि पुग्ने अवस्था छैन । प्लस टु पढेर पनि छोरी र महिलाहरू घरभित्रै बसी खाना बनाई खुम्चिएका छन् । त्यस्तालाई गाउँ घरमै रोजगारी दिने अबको मुख्य लक्ष्य हो । एउटा बाटोलाई मर्मत सम्भारको लागी मात्रै २/३ लाख रुपैयाँ खर्च भइरहेको छ । जबकि त्यो काम एउटा लेबरले १० दिनमा सकाउन सक्छ । तर प्राविधिक नियममा जाँदा ठुलै खर्च लाग्छ । त्यस कारण यस्ता कामको साथै अन्य धेरै क्षेत्रमा गाउँघरमा बेरोजगार भएर बसेकाहरूलाई काम दिएर रोजगारी दिन्छौ । गाउँपालिकामा दुई महिना भित्रमा ३ सय देखी ४ सयसम्म रोजगारी दिन सक्षम छौ । जसमा ६० प्रतिशत २० वर्ष देखी ४० वर्षका युवा, ३० प्रतिशत ४० देखी ५५ वर्षका पुरुषलाई र १० प्रतिशत महिलालाई रोजगारी दिन्छौ । हुन त महिलालाई ३३ प्रतिशत दिनु पर्ने हो तर १० प्रतिशतकै हिसाबले महिलाहरूले निवेदन दिएका छन् ।
तसर्थ एउटा मानिसलाई घरबाट निस्कन बाटो, स्वास्थ्य ग्यारेन्टी, शिक्षासँग पहुँच र परिवारलाई आफ्नै गाउँ ठाउँ रोजगारी भयो भने सबैले हाँसो खुसी जीवन बिताउन सक्छन् । यही योजनाले गाउँपालिकालाई समृद्ध बनाउन लागेका छौ ।