२०७७ माघ १५, बिहीबार
११:४९:१२
काठमाडौं, २६ पुस । नापी कार्यालय ललितपुरमा तत्काल कार्यरत कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनामाथि अख्तियारले मुद्दा दायर गरेको छ ।
ललितपुरको हरिसिद्धिमा रहेको कोड्कु नामको सार्वजनिक खोला एवं सो खोला आसपासको सरकारी र सार्वजनिक जग्गा कर्मचारीहरूको मिलेमतोमा नक्सा बनाई प्लटिङ्ग गरी बिक्री वितरण गर्न लागेको सुचनाको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा राष्ट्रसेवक कर्मचारीहरू र यूरो हाउजिङ्ग डेभलपर्स कम्पनीले मालपोततथा नापी कार्यालय ललितपुरका केही भ्रष्ट कर्मचारीहरूको मिलेमतोमा गैरकानूनी र प्रत्यक्ष संलग्नतामा ललितपुर जिल्ला साविक हरिसिद्धि गा.बि.स. वडा नं. १ को आठ रोपनी बाह्र आना तीन पैसा दुई दाम सरकारी जग्गा हिनामिना गरेको पुष्टि हुन आएको थियो ।
तत्काल नापी कार्यालय ललितपुर र मालपोत कार्यालय ललितपुरका कर्मचारीहरु, यूरो ल्याण्ड डेभलपर्स प्रा.लि.,यूरो हाउजिङ्ग डेभलपर्स प्रा.लि. र काठमाडौं हस्पिटल प्रा.लि.का संचालक समेतका आरोपीहरू १७ जनामाथि कानुन बमोजिम सजायको मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन्।