२०७७ माघ १२, साेमबार

img-responsive

१०:३२:१७

 

जसपाको भोजपुर—खोटाङ काठमाण्डौं सम्पर्क समिति संयुक्त समायोजन सम्पन्न

गोठालो खबर
गोठालो खबर २०७७ पुस २६, आइतबार ,०१:०४:AM  
img-responsive

काठमाडौ, २६ पुष। शनिवार एक कार्यक्रम गरी जनता समाजवादी पार्टी नेपाल, भोजपुर—खोटाङ काठमाण्डौं सम्पर्क समिति संयुक्त समायोजन ललितपुरको यालखीम पार्टी प्यालेसमा सम्पन्न गरेको छ । उक्त समायोजन कार्यक्रममा सयौंको संख्यामा जसपाका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । शनिवार समायोजित खोटाङ—काठमाण्डौं सम्पर्क समितिमा रवीन्द्र राज राईको अध्यक्षतामा ३७ सदस्यीय कमिटी गठन गरिएको छ भने भोजपुर—काठमाण्डौं सम्पर्क समितिमा सरोज साङपाङ राईको अध्यक्षतामा १७ सदस्यीय सम्पर्क समिति गठन गरिएको छ । नव गठित पदाधिकारी एवं सदस्यहरुलाई जसपा नेत्री रेखा यादवले शपथ खुवाउनु भएको थियो। 

 

शनिवार समायोजित कार्यक्रममा गैर भौगोकि विशेष प्रदेश १ का अध्यक्ष महेन्द्र राईले कार्यक्रमको सभापतित्व गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथिको रूपमा जसपा कार्यकारिणी सदस्य हेमराज राई रहनु भएको थियो । समायोजन कार्यक्रममा जसपाका नेता मदन राई, ईश्वर रिजाल, गोपाल राई, अन्जनी कुमार राई, परिवर्तन भट्टराई, राजन मुकारुङ, रेखा यादव, धिरेन्द्र सुब्बा, डा. कृष्ण कुमार राई, टेकलाल लिम्बु, रिता राई, अधिराज राई, देवराज राई, राकेश राई लगायत अन्य नेताहरूको उपस्थिति रहेको थियो । 

समायोजित कार्यक्रममा नव गठित सदस्यहरूलाई शुभकामना तथा कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेता मदन राईले गाउँ—गाउँमा गएर राजनीतिक जागरण गर्नु पर्ने भन्दै दिन दिनै गाउँ खाली हुँदै गएको चिन्ता समेत व्यक्त गर्नु भयो । पुराना पार्टीहरूको शासन, राजा राणाको शासन मन नपरेर जसपा पार्टीको गठन गर्नु परेको र यही पार्टीले नै समानता, संघीयता, लोकतन्त्रलाई स्थापित गर्नु पर्ने मत जाहेर गर्नु भयो । पुराना ढर्राका पार्टीहरुले झैँ  शैली रहने हो भने यो पार्टीले पनि जनताको अपेक्षा पुरा गर्न नसक्ने भएको हुँदा शैली र संस्कार परिवर्तन गर्नु पर्ने मत राख्नु भयो । उपभोग मुखी हुनको साटो उत्पादन मुखी हुनुपर्ने र सेलिब्रेटी हुनको साटो काम गर्नु पर्ने उहाँको तर्क रहेको थियो । 

अर्का जसपा नेता हेमराज राईले समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको दर्शन, सिद्धान्त, विचार र कार्यक्रमको बारेमा चर्चा गर्नु भयो । संघीयताको बहु चरित्र हुने भएको हुँदा यस पार्टीका जुनसुकै समितिहरूमा समावेशिता र महिलाहरूको सहभागितालाई जोड दिनु पर्ने तर्क गर्नु भयो । पहिचान सहितको संघीयताले मात्र सिङ्गो आकाश र धर्ती समेट्ने उहाँको धारणा रहेको थियो । 

त्यसैगरीअर्का वक्ता जसपा नेता ईश्वर रिजालले गैर भौगोलिक सङ्गठनहरूको उद्देश्यको बारेमा चर्चा गर्नु भएको थियो । कांग्रेस र कम्युनिस्टको विकल्पको रुपामा जसपालाई हेर्न नहुने र मेहनतमा विश्वास गरेर ठोस कार्य मार्फत जनताको विश्वास जित्दै देशको बागडोर अव जसपाले नै गर्नु पर्ने भनाइ रहेको थियो । यसको लागि देशभरको सङ्गठन लगायत गैर भौगोलिक ७४ वटै समितिहरूलाई क्रियाशील बनाई सङ्गठन सुदृढीकरणमा लाग्नु पर्ने बताउनु भयो । त्यसै गरी जसपा नेता गोपाल राईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी अधिकार बिना नै संसद भङ्ग गरेर निर्दोष जनता र देशलाई बन्धक बनाएको बताउनु भयो । 

समायोजन कार्यक्रमलाई अन्य जसपा नेताहरू क्रमशः राजन मुकारुङ, राकेश राई, डा. कृष्ण कुमार राई, देवराज राई, रिता राई, अधिराज राई आदीले सम्बोधन तथा नव निर्वाचित समितिलाई कार्यकालको शुभकामना दिनु भएको थियो । अन्तमा समायोजन कार्यक्रमका सभापति एवं १ नं. प्रदेश विशेष प्रदेशका अध्यक्ष महेन्द्र राईले मन्तव्य राख्दै कार्यक्रमको समापन गर्नु भएको थियो । समायोजन कार्यक्रमलाई गैर भौगोलिक प्रदेश १ का सह-सचिव कटक राईले स्वागत मन्तव्य राख्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com