२०७७ माघ ७, बुधबार

img-responsive

१०:१५:१९

 

भोजपुरमा बाघखोर–खम्बुखा सडक निर्माणको काम तिव्र

गोठालो खबर
वाई राज विष्ट , २०७७ पुस २३, बिहीबार,१०:४१:PM  
img-responsive

भोजपुर,२३ पुस । बाघखोर–तिम्मा खम्बुखा सडक स्तरउन्नतिको काम अन्तिम चरणमा पुगेको छ । भोजपुरको रिङ रोडको रुपमा विकास हुँदै गरेको सो सडकको संघिय सरकारको दुई करोड लागतमा गत अशोज महिनाबाट स्तरउन्नतिको काम थालिएको हो । सडकलाई वर्षातको समयमा समेत यातयात सञ्चलान गर्ने गरी चौडा गर्ने, बढी हिलो हुने ठाउँमा ग्रावेल गर्ने, ग्याविन भर्ने लगाएतका काम भईरहेको छ ।

साघुँरो कच्चीबाटो त्यसमाथी वर्षातको समयमा हिलाम्य बनेर यातायात सेवा अवरोध हुँदा वषौँ देखी सास्ती भोग्दै आएका स्थानीय सडक स्तरउन्नती हुन थालेपछि खुसी भएका छन् । 

हिउँदको समयमा जसोतसो यात्रा गर्दै आएका यस क्षेत्रका स्थानीय वर्षातको समयमा भने यातयात सेवाबाट बन्चित हुँदै आएका थिए । करीब ८ किलोमिटर क्षेत्र भोजपुर नगरपालिकाको भू–भाग पर्ने भएपनि नगरपालिकाले वेवास्ता गर्दा टेम्केमैयुङ १ तिम्माका मानिसहरुले समेत समस्या भोग्नु परेको स्थानीयको गुनासो छ । 

स्थानीय उपेन्द्र राउतले भने,‘ यस क्षेत्रका हामीले वषौँदेखी सडकको समस्या भोग्दै आएका छौँ, आठ किलोमिटर सडक नगरपालिका क्षेत्रमा पर्ने भएपनि हालसम्म नगरपालिकाले एक रुपैयाँ पैसा लगानी गरेको छैन, यस क्षेत्रमा मानिसको बसोबास छ भन्ने समेत नगरलाई थाहा छैन होला, तर अव भने वडा कार्यालयको पहलमा केन्द्रबाट बजेट विनियोजन भएपछि स्तरउन्नतिको काम भईरहेको छ यसले हामीलाई राहत पुगेको छ ।’
सडक स्तरउन्नतीले विगतका दिनमा कष्टकर यात्रा गर्दै आएका स्थानीयलाई राहत पुग्ने वडा कार्यालयले जनाएको छ । साथै वडा कार्यालयले स्थानीयको आवश्यकतालाई ध्यानमा राख्दै केन्द्र, प्रदेश सरकारसंग पहल गरेर सडक विस्तार लगाएत अन्य विकास निर्माणका काम गर्दै आएको जनाएको छ । 

वडाध्यक्ष नरबहादुर राईले भने,‘भोजपुर सदरमुकामसंग सहज पहँुच बनाउने यो सडकको स्तरउन्नति गरिरहेका छौँ, सडकलाई १२ महिना नै सञ्चालनमा ल्याउने हाम्रो लक्ष्य छ, भोजपुरको रिङ रोडको रुपमा विकास भईरहेको यो सडकलाई सेती बगरसम्म विस्तार गर्नका लागि गाउँपालिकाले पनि रु. एक करोडको बोलपत्र आह्वान गरेर काम गर्ने तयारी गरेको छ ।’

वडामा आउने थोरै बजेटमा पनि सरोकारवाला निकायसंग समन्वय गरेर स्वास्थ, शिक्षा, कृषि, सडक विस्तार लगाएत काममा वडा कार्र्यालयले गरिरहेको कामको स्थानीयबासीले प्रसंशा गर्दै आएका छन् । टोल वस्तीसम्म कृषि सडक विस्तारमा वडा कार्यालयले भूमिका खेलीरहेकोले स्थानीय उत्पादनलाई भोजपुर बजारसम्म लैजान विगतका दिन भन्दा केहि सहज भएको स्थानीय बताउँछन् । सडकलाई १२ महिना सञ्चालन हुने तवरबाट विस्तार गरिनु पर्ने उनीहरुको भनाइ छ । 

स्थानीयबासी देवेन्द्र राउतले भने,‘सडक विस्तार भएसंगै हाम्रो जिवनस्तरमा समेत परिवर्तन भएको छ, घण्टौँसम्म डोकोमा बोकेर यहाँका कृषिजन्य उपजलाई बजारसम्म लैजानु पर्ने अवस्था थियो अहिले घर दैलोबाट नै बजार लैजान पाएका छौँ, सडक विस्तार लगाएत अन्य क्षेत्रमा वडा कार्यालयले खेलिरहेको भूमिकाप्रति हामी खुसी छौँ ।’

कामलाई तोकिएको समय अगावै सक्ने लक्ष्यका साथ काम भईरहेको निर्माण कम्पनी यु डी विल्डर्सले जनाएको छ । सडक स्तरउन्नतीको काम गत असोजमा सम्झौता भएको थियो भने यहि चैत्र महिनामा सक्नु पर्नेछ । 

जिल्लाको महत्वपूर्ण रिङ रोडका रुपमा विकास भईरहेको गाउँपालिका क्षेत्रको करीव ७५ किलोमिटर क्षेत्रमा विस्तार हुने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए । सो सडकले वडा नं– १ तिम्मा, २ छिनामखु, ४ अन्नपूर्ण, ४ नागी, ५ खावा, ६ र ७ कोट, ८ गोगने र ९ लेखर्कलाई सडक पहँुचमा जोड्ने अध्यक्ष राईले बताए । 

अध्यक्ष राईले भने,‘‘महत्वपूर्ण सडकका रुपमा रहेको छ, अहिले तिम्मा खण्डमा करीब ९ किलोमिटर खण्डमा काम भईरहेको छ,  त्यसको धेरै जसो भू–भाग भोजपुर नगरपालिकाको पनि पर्छ, हाम्रो क्षेत्रमा सडक विस्तारको लागि हालसम्म तीन करोड बजेट लगानी गरिसकेका छौँ । यस वर्षपनि एक करोड बजेट विनियोजन गरेका छौँ ।’
 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com