२०७७ चैत २९, आइतबार

img-responsive

०१:२८:४७

 

अन्तर्वार्ता- ताजा जनादेशको नाममा केपीतन्त्र लाद्ने खेल हुँदैछ; संविधानको रक्षा गर्ने राष्ट्रपति नै रक्षक नभएर भक्षक भए: नेता शशी कपुर

नेकपको आपसी लडाइँमा काँग्रेस पनि साक्षी देखिएको छ ।

गोठालो खबर
बलिराम यादव , २०७७ पुस २१, मङ्गलबार,०९:२०:AM  
img-responsive

अन्तर्वार्ता ;

ताजा जनादेशको नाममा केपीतन्त्र लाद्ने खेल हुँदैछ : नेता शशी कपुर

राजा महेन्द्रले २०१७ पुष ३ गते गरेको ‘कु’ कै शैलीमा वर्तमान प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी ‘कु’ गरेको जनता समाजवादी पार्टीका नेता शशि कपुर मियाँको आरोप छ । उनका अनुसार राजा महेन्द्रले पुष ३ गते र ओलीले पुष ५ गते ‘कु’ गरेको मिति मात्रै फरक छ । एकात्मक प्रणाली र एकात्मक सोचले मुलुकलाई प्रधानमन्त्रीले देश हाकिरहेको अवस्थामा मुलुकले धेरै ठुलो नोक्सान उठाउने खतरा देखिएको उनको ठहर छ । जसपाका प्रभावशाली युवा नेता एवं केन्द्रीय सदस्य समेत रहेका उनै शशि कपुरसंग संसद विघटन लगायतका विषय बारे गोठालो खबरका वीरगंज संवादाता बलिराम यादवले गरेको कुराकानीको सम्पादित अंश:  

प्रश्न :  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरी मध्यावधी निर्वाचन घोषणा गर्नुलाई यहाँले कुन रूपमा लिनुहुन्छ ?

शशी कपुर: संविधानमा व्यवस्था नभएको दफा उल्लेख गरी वर्तमान प्रधानमन्त्रीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिले तुरुन्तै सिफारिस गर्नु अलोकतान्त्रिक, गैरसंवैधानिक र निरङ्कुश लाद्ने खेल भएको छ । तसर्थ संविधानमा व्यवस्था नै नभएको दफालाई टेकेर संसद विघटन गर्नु असंवैधानिक, अलोकतान्त्रिक र गैर जिम्मेवारी भएको हाम्रो ठहर छ ।

प्रश्न: राष्ट्रपतिले संसद विघटनको सिफारिस रोक्नु पर्थ्यो भने कतिपयको मत देखिन्छ । कार्यकारी अधिकार नभएको राष्ट्रपतिलाई सरकारको सिफारिस रोक्ने अधिकार छ ?

शशी कपुर: सरकारले विधि प्रक्रिया र संविधान विपरीत गर्ने कामलाई राष्ट्रपतिले रोक्नु पर्थ्यो । राष्ट्रपति संविधानको रक्षक हो । तर अहिले रक्षक नै भक्षक भएको देखिन्छ । प्रधानमन्त्रीले संविधानको धारा ७६ प्रयोग गरेर संसद विघटन गर्नु अहिलेको संविधानले अधिकार दिएको छैन । यो कुरा राष्ट्रपतिले कानुनविद् हरुलाई बोलाएर राय सल्लाह लिई प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएकोले उक्त प्रस्ताव रोकेर फिर्ता गर्नु पर्थ्यो । तर संसद विघटन प्रस्ताव पास गरेर प्रधानमन्त्रीभन्दा बढी राष्ट्रपति दोषी देखिनु भएको छ ।

प्रश्न :  संसद विघटन भई मध्यावधी निर्वाचन घोषणाको भोलिपल्टबाटै तपाईँहरू सडकमा उत्रिनु भयो । संसद विघटन गर्ने केही संवैधानिक अधिकार होला नि ?

शशी कपुर​ : नेपाली जनताले के बुझ्नु प¥यो, नेकपाको दुई तिहाइ बहुमतबाट प्रधानमन्त्री ओली नेतृत्वको सरकार थियो । अब कुन अवस्थामा संसद विघटन गरियो त ? वहाँको पार्टीभित्रै किचलो भयो, घरभित्रै आगो लाग्यो अनि त्यो आगो सडकमा ल्याउने खेल र नेपाली जनतालाई ‘कु’ गर्ने जुन खेल खेले अन्य राजनीति दलमाथि पनि जुन ‘कु’ गर्नुभयो त्यसले गर्दा प्रतिनिधि सभा भङ्ग गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन । किन भने नेकपा अर्थात प्रधानमन्त्रीको घरको झगडा नेपाली जनतामाथि थोपार्नु ठिक होइन । राजा महेन्द्रले २०१७ पुष ३ गते गरेको ‘कु’ कै शैलीमा प्रधानमन्त्री ओलीले पनि ‘कु’ गर्नु भएको छ । राज महेन्द्रले पुष ३ गते गर्नु भयो र ओलीले पुष ५ गते गर्नुभयो । यति मात्रै फरक छ । तसर्थ अहिलेसम्म नेपाली जनताले आफ्नो अधिकारका निमित्त मधेस विद्रोह गरे, प्रजातन्त्र र गणतन्त्रको लागी पनि आन्दोलन भयो । नेपाली जनताको रगत र पसिनाले जुन उपलब्धि भयो, मधेस जनविद्रोहबाट जुन संघीयता स्थापित भएको छ, त्यो सारा उपलब्धिलाई गुमाउने खतरा देखिएको छ । नेकपको आपसी लडाइँमा काँग्रेस पनि साक्षी देखिएको छ । तथर्सः लामो समयको संघर्ष र कयौं मधेशी नौजवान हरुले दिएको रगतको बलिदानी र साहदत्तबाट प्राप्त भएको संघीयतालाई समाप्त पार्न केपी ओलीदेखि प्रचण्ड, नेपाल र काँग्रेसका नेताहरू लागेका छन् । त्यस कारण संसद विघटन भएको भोलिपल्टबाटै जनता समाजवादी पार्टी सडकमा उत्रेको हो र अझै पनि सशक्त ढङ्गले संसद विघटन विरुद्ध सडकमा उत्रेर कडा प्रतिकार गर्छाै । अहिले नेपालको ७७ वटै जिल्लामा केन्द्रीय तहका नेताहरू गएर जनतालाई जागरण गराउने अभियान अन्तर्गत एउटा आन्दोलन थालेका छौं ।

प्रश्न : राजा ल्याउन पनि देशको विभिन्न ठाउँमा प्रदर्शन हुँदै आएको छ । त्यसबिच एक्कासी संसद विघटन हुनुमा राजतन्त्र पुनः बहाली हुने त होइन नि होला ?

शशी कपुर: संसद विघटन हुनुभन्दा १ महिना अगाडी देखि नै विभिन्न जिल्लामा राजावादीहरूको जुलुस निस्केको हो । तर प्रतिनिधि सभा विघटन भएपछि राजावादीहरूको विरोध र जुलुस रोकिएको छ । त्यसले गर्दा गणतन्त्र र संघीयता समाप्त पार्नको लागी त्यस्तो हुन पनि सक्छ । प्रधानमन्त्री ओली राजासंग मिलेर लोकतन्त्र र संघीयतालाई समाप्त पर्ने खेल पनि गरेको हुन सक्ने हामीले आकलन गरेका छौ ।

प्रश्न : प्रधानमन्त्री ओलीले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्न आह्वान गरेका छन् । प्रधानमन्त्रीले भने अनुसार चुनावमा गएर ताजा जनादेश लिँदा के फरक पर्ला ?

शशी कपुर : जसपा चुनावबाट भाग्न खोजेको होइन । कुनै पनि देश विधि र प्रक्रियाबाट चल्ने हो । प्रधानमन्त्री जस्तो गरिमा पदमा बसेको व्यक्तिले विधि, प्रक्रिया र संविधान मास्न खोज्ने हो भने देशमा कसरी चुनाव हुने ? हामीले संविधान मानेका छैनौं ? संविधान बने देखि नै हामीले फरक मत राख्दै आएको छौं । नेपाली जनताले नेकपालाई पाँच वर्ष स्थायी सरकार चलाई देश बचाउन बहुमत दिएका थिए । तर दुई वर्षको कार्यकाल अहिले बाँकी नै छ, देश कोरोनाबाट मुक्त हुन सकेको छैन । बेरोजगारी समस्या उत्पन्न भएर मुलुक अहिले सङ्कटकालीन अवस्थामा पुगेको छ । अनि यसैबिच कसरी चुनाव गराउने ? प्रधानमन्त्री ओलीको वैशाखमा चुनाव गराउने नियत पनि देखिएन । किन भने प्रधानमन्त्रीले सर्वोच्च अदालत देखि अख्तियारसम्म सबै संवैधानिक निकायमा आफ्नै कार्यकर्ता भरेका छन्, अनि मुलुकमा चुनाव गराउने नियत देखिएको छ त ? अतः एकात्मक प्रणाली र एकात्मक सोचसाथ मुलुकलाई प्रधानमन्त्रीले लगिरहेको अवस्थामा मुलुकले धेरै ठुलो नोक्सान उठाउने खतरा देखिएको छ । तसर्थ नेकपाले आफ्नै पार्टीभित्र सत्ताको लोभमा लडाई गर्ने ? अनि जनता चाही भोकमरीले मर्दै छन्, औषधी नपाएर मर्दै छन्, शितलहरमा कपडा नपाएर मर्दै छन्, युवाहरू जागिर नपाएर आत्म हत्या गरी मर्दैछन् र महंगाई पनि बढ्यो । यी सबै मारमा जनता अहिले पीडित छन् । अनि त्यसैमा ताजा जनादेशमा जानु देशको लागी दुर्भाग्य हो । तथर्सः प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशको नाममा केपी तन्त्र लाद्ने खेल खेल्दैछन् । तसर्थ हामी चुनावबाट पछि हटेको होइन । जनताले मधेस आन्दोलनमा रक्तको बलिदान दिई ल्याएको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रलाई केपी ओलीले समाप्त पार्ने खेल खेलिरहेका छन् । त्यसैको विरुद्धमा हामी सडक आन्दोलनमा छौ ।

प्रश्न: संसद विघटन सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतले संसद पुनर्स्थापना गर्ला भन्ने लाग्छ ?

शशी कपुर : हामीले सर्वोच्च अदालतमाथि विश्वास गरेका छौ । तर संविधान सम्मत गर्नु पर्ने वा गरिरहँदा कहीँ न कहीँ सर्वोच्च अदालतको नियतमाथि पनि हामीले प्रश्न उठाएका छौं कि सर्वोच्चले इमान्दारिताको साथ संविधानको एक–एक शब्द र एक–एक दफामा ७६(५) (७) र ७८ मा के छ त्यो व्याख्या गरोस् । राष्ट्रपति समक्ष प्रधानमन्त्रीले बुझाएको चिठीको पनि व्याख्या होस् । तर मलाई के लाग्छ यो सारा खेल केपी ओलीले खेलेकै पक्षमा जाने अवस्था देखिरहेका छौं । लोकतन्त्रमा जनता सर्वोपरि हुन्छ । सर्वोच्च भन्दा पनि ठुलो जनता हुन्छ । हामी जनताबाटै सडक आन्दोलन गरेर प्रधानमन्त्री, राष्ट्रपतिलाई दबाब दिई संसद पुनर्स्थापित गराउँछौ ।

प्रश्न: अनि सडकमा उत्रेर सर्वोच्च अदालतलाई दबाब दिन खोज्नु भएको हो त ?

शशी कपुर : सडक आन्दोलनबाटै सर्वोच्च अदालत, राष्ट्रपति र प्रधानमन्त्रीलाई दबाब दिई संसद पुनर्स्थापित हुन्छ । हामीले सडक आन्दोलनबाट सर्वोच्च अदालत, राष्ट्रपति र प्रधानमन्त्रीलाई नैतिक दबाब दिई संसद पुनर्स्थापित गराउँछौं । किन भने संसद विघटन गरी राष्ट्रपतिले गल्ती गर्नु भयो । अब सर्वोच्च अदालतले गल्ती नगरोस भनेर हामीले सडक आन्दोलनबाट दबाब दिन्छौं ।

प्रश्न: संविधान संशोधनको मुख्य एजेन्डा सहित यहाँहरु विगतमा सरकारमा सहभागी हुनु भयो तर संविधान संशोधन गराउन सक्नु भएन । अब संविधान संशोधन गराउने आधार के छ ?

शशी कपुर : प्रदेश प्रहरी, प्रदेशमा लोकसेवा आयोग, समानुपातिक समावेसी जस्ता संघीयताका धेरै अधिकार अहिले केन्द्र सरकारमै निहित रहेको छ । मुलुक संघीयतामा गईसकेपछि प्रदेशलाई पनि अधिकार दिउन, प्रदेशलाई बलियो बनाउन भने पटक पटक हामीले भन्दै आएका छौं । त्यसै कारण हामीले पटक पटक संविधान संशोधन गराउन नेकपाको दुई तिहाइको सरकारमा सहभागी भयौं । तर संविधान संशोधनमा सरकारले ध्यान नदिएपछि हामी सरकारबाट बाहिरियौं । संविधान संशोधनमा हाम्रो भनाई के छ भने देश बाँच्यो भने हामी पनि बाच्छौँ । देश रह्यो भने संविधान संशोधन गराएर हामी आफ्नो अधिकार राख्छौं । यदि लोकतन्त्र नै समाप्त भयो भने त्यसपछि के हुन्छ ? त्यसले गर्दा अहिले पनि समय छ । जुनसुकै बिचारधाराका मान्छे किन नहोस्, पहिला सम्पूर्ण नेपाली जनता मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाऔं । त्यसपछि संविधानमा जुन छुटेका कुराहरू छन् अर्थात् हाम्रो र राम्रो संविधान कसरी नेपाली जनताले बुझ्न सक्छ भने पहल गरौं ।

प्रश्न: दुई पार्टी मिलेर बनेको जसपामा १ वर्ष नबित्दै स्थानीय तहमा अहिले देखी नै छुट्टा–छुट्टै गुट उप–गुट चलिरहेको छ । कसरी अगाडी बढ्छ जसपा ?

शशी कपुर : दुई ठुलो पार्टी मिलेर एक भएको छ । अहिले केन्द्रमा मात्रै समायोजन गर्न सफल भएका छौं। अहिले वडा देखी जिल्ला र प्रदेशसम्म समायोजन हुन बाँकी छ । केही दिन अगाडी मात्रै पर्सा जिल्लामा बसेको बैठकमा समायोजन प्रक्रियालाई यथावत् राखेर संसद विघटन विरुद्ध सशक्त आन्दोलन गरी देश र संविधान बचाउने निर्णय भएको छ । त्यसपछि पार्टीको अर्को निर्णय अनुसार हामी सबै मिलेर अगाडी बढ्ने छलफल भएको छ । देशमा नेपाली काँग्रेस र नेकपाको वैकल्पिक शक्तिको रूपमा जसपालाई निर्माण गरिरहेका छौ । सबै नेपाली जनताले देखेकै कुरा हो कि अध्यक्ष उपेन्द्र यादवजीले आफू पछाडि हटेर महन्थ ठाकुर र डा. बाबुराम भट्टराईलाई सम्मान गर्दै पार्टी एकीकरण  गर्नु भएको छ । त्यहि आधार र मूल मन्त्रमा जिल्लाका साथीहरू, केन्द्रीय सदस्य, जिल्ला कमिटीका साथीहरू अलि पछाडि हटेर भए पनि एक अरूलाई सम्मान गर्दै पार्टीलाई एक ढिक्का बनाएर लग्छौं । गुट उप–गुट राजनीतिमा सानो कुरा हो । राजनीतिमा यसले ठुलो महत्त्व राख्दैन । यद्यापी यो गुट उप–गुटलाई पनि हामी समाप्त पार्छौं। नेपाली जनता जुन अधिकारबाट बञ्चित छन् त्यो अधिकार कसरी हामीले दिलाउन सक्छौं भन्ने उद्देश्य सहित देशको वैकल्पिक शक्तिको रूपमा अगाडी बढिरहेका छौं ।

प्रश्न: अब हुने चुनावमा यहाँको पार्टीको मुख्य एजेन्डा के हुन्छ ?

शशी कपुर : नेपालमा पहिचानवादीको कुरा गर्ने सम्पूर्ण आदिवासी, जनजाति, थारु, राई, लिम्बु, मगर, मुस्लिम, दलित यी सम्पूर्ण जातजातिका व्यक्तिहरूले अहिले पनि आफ्नो अधिकार पाउन सकेका छैनन् । विभेदमा पारिएका पहिचानवादी शक्तिहरू अहिले एक ढिक्का भएका छौं । संघीयतालाई सरकारले पङ्गु बनाएर राखेको छ । अहिले पनि मधेसको अधिकार प्राप्त भएको छैन । मधेसी, आदिवासी, महिला पीडित छन् । यो सबै कुरालाई छिनोफानो गर्नको लागि जसपाले चुनावी एजेन्डा बनाएर घर-घरमा नेपाली जनतालाई बुझाउने काम गर्छ । जसको लागी अहिले देखि जनजागरण अभियान अन्तर्गत नेपाली जनतालाई घर-घरमा भई प्रतिनिधि सभा किन विघटन भयो ? जसपा पार्टीको बिचार के छ ? यो सबै कुरा लिएर गाउँ छिर्ने बेला आएको छ । केही दिनमै जन्छौं ।

प्रश्न: चुनावमा सन्तोषजनक सिट आएपछि सत्ता भोग गर्ने अनि पराजय पछि अधिकारको कुरा उठाई आन्दोलन गर्ने आरोप पनि त छ नि यहाँको पार्टीमाथि ?

शशी कपुर : जनताले लगाएको आरोपलाई म खण्डन गर्न चाहँदैनन् । तर नेपाली जनतालाई के भन्न चाहन्छ भने हामी जति पटक सरकारमा गएछौं, धेरैपटक संविधान संशोधनको लिखित सहमति गरेर गएछौं । सरकारले हाम्रो कुरा नमानेपछि सरकारबाट बाहिर पनि आएका छौं । अर्को कुरा सरकारमा हुँदा पनि हामीले सडक आन्दोलन छोडेका छैनौं । सत्ता भनेको प्रयोग गर्ने हो । अधिकारको लागि सत्ता प्रयोग गर्न हामी गएको हौं तर हामीलाई उपलब्धि नदेखिएकोले उत्पीडित, शोषित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम लगायतका जनतालाई त्यहाँ उपलब्धि नपाएपछि हामी सरकारबाट बाहिर आएर अहिले प्रतिपक्षको भूमिकामा छौं ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com