२०७७ माघ १२, साेमबार

img-responsive

१०:१७:३६

 

अन्तर्वार्ता : कृषिलाई आधुनिकीकरण गरी रोजगार सृजना गर्छौँ : मेयर राजेश राय

गोठालो खबर
गोठालो खबर -३ २०७७ पुस १९, आइतबार ,०९:२५:AM  
img-responsive

राजेश राय यादव बाराको लागी मात्रै नभई प्रदेश नं. २ कै लागि नयाँ नाम भन्ने पक्कै पनि होइन । राजनीति पृष्ठभूमि भएका पूर्व सांसद बुवा राधेचन्द्र राय यादव र रुपकली देवी अहिरीनको कोखबाट जन्मेका राजेश राय यादव कलैया उप–महानगरपालिकाका नगर प्रमुख हुन् । नगर प्रमुख यादव चार भाइ र दुई बहिनी मध्येका दोस्रो सन्तान हुन् । २०२१ सालमा जन्मेका उनी २०३६ सालमा एस.एल.सी. उत्तीर्ण गरी बि.ए. सम्मको अध्ययन पुरा गरेका छन् । विद्यार्थी जीवनकालबाट नै काँग्रेस निकटको भातृ सङ्गठनमा रही राजनीति यात्रा सुरु गरेको उनी बताउँछन् । उनै नगर प्रमुख यादवसंग विकासबारे हाम्रा गोठालो खबरका संवादाता बलिराम यादवसंग गरिएको कुराकानीको सम्पादित् अंश :

प्रश्न: कलैया उप–महानगरपालिकाको समग्र विकासको अवस्था कस्तो छ ?

राजेश राय यादव: जनताको समग्र विकासका निम्ति हरेक क्षेत्रमा क्रमबद्ध तरिकाले विकास निर्माणको कार्य भइरहेको छ । विकास निर्माणको कार्यलाई गति दिन सङ्घ र प्रदेश सरकारले समन्वय नगरी सहयोग नगरेकोले जनता र आफूले सोचेको जति काम हुन सकेको छैन । तै पनि हालसम्म सबै क्षेत्रमा राम्रै विकास भएको छ । कलैया उप–महानगरपालिकामा प्रायः जसो ग्रामीण क्षेत्र पर्ने भएकोले त्यहाँ बाटोघाटोको अवस्था एकदमै दयनीय थियो तर आफू जनप्रतिनिधि भएर आएपछि खाल्टो खाल्डाखुल्डी सडकलाई मर्मत सम्भार गर्दै विभिन्न ठाउँ पक्की ढलान बनाइएको छ ।

मुख्यतः कलैयासंग जोडिएको ग्रामीण भेगका साँघुरो सडक फराकिलो गर्दै सडक र नालाको काम भएको छ । अव्यवस्थित विद्यालय, स्वास्थ्य चौकी, धार्मिक आस्थासंग जोडिएको मठ मन्दिर पनि बनाइएको छ ।

मुख्यतः शिक्षा र स्वास्थ्यमा देखिएको बेतिथिलाई सुधार गरी शिक्षा र स्वास्थ्यको पहुँचमा जनतालाई सजिलो हुने वातावरण सृजना गरेका छौ । यहाँका प्रायः जसो सबै मानिस कृषि पेसामा निर्भर रहेकोले कृषि कार्य सम्बन्धी विभिन्न ज्ञान, सिप सहित कृषि कार्यको लागी आवश्यक पर्ने सामग्रीहरू पनि वितरण गरेका छौं ।

विश्व महामारीको रूप लिएको कोरोना भाइरसको बेला पनि कलैया उप–महानगरपालिकाको चार ठाउँमा हेल्प डेस्क सञ्चालन गरी स्वास्थ्य परीक्षण गर्नुको साथै व्यवस्थित आइसोलेसन बनाएका थियौं ।

कोरोना महामारीको बेला पालिकाको प्रत्येक वडामा अति विपन्न तथा गरिब परिवारहरूलाई दाल, चामल, आलु, नुन, साबुन, तेल जस्ता राहत सामग्री वितरण गरिएको थियौं ।

प्रश्न: बाराको सदरमुकाम कलैयासंग जोड्न ग्रामीण भेगका सडकहरूको अवस्था अझै पनि दयनीय छ, कति वर्ष भित्र सुधारी सक्ने लक्ष्य राख्नु भएको छ ?

राजेश राय यादव: मुख्य सडक संघ र प्रदेश सरकारले हेर्नु पर्ने हो । पिलुवाहवा, मटियारवा र कलैया सडक खण्ड अहिलेसम्म अलपत्र छ । यो बाटो बारा जिल्लाको मुख्य बाटो हो । यो बाटो बनाउने जति हामीसंग बजेट पुग्दैन । संघ र प्रदेश सरकारले बजेट दिए मात्रै यो सडक बन्छ । पानी परेको बेला कलैयासंग जोडिएको ग्रामीण भेगका बाटो हिलाम्य हुन्थ्यो । जसले सवारी साधन मात्रै नभई पैदल यात्रीलाई पनि आवतजावत गर्न अप्ठ्यारो हुन्थ्यो । त्यस्ता सडकलाई मर्मत सम्भार गर्ने काम गरेका छौं । तसर्थ खाल्डाखुल्डी सडकमा ग्रावेल गर्ने, माटो हाली साँघुरो सडकलाई फराकिलो बनाई पक्की ढलान गरिएको छ । सदियौंदेखी पिछडिएर रहेको गाउँ रातारात उप–महानगरमा गाभियो । एकैचोटी समग्र क्षेत्रको विकास सम्भव पनि छैन । तै पनि पालिकाले पाएको बजेटअनुसार हरेक क्षेत्रमा गुणस्तरीय र दीर्घकालीन काम भइरहेको छ ।

प्रश्न: चुनावको बेला जनतासंग गरेका प्रतिबद्धता मध्ये के-के पुरा गर्नु भयो ?  के-के गर्न बाँकी छ ?

राजेश राय यादव: जनताबिच गरेको प्रतिबद्धता अनुसार नै हरेक क्षेत्रमा काम भएको पनि छ र भइरहेको पनि छ । प्रतिबद्धता अन्तर्गत नै पिच ढलानसहित फराकिलो सडक, विद्यालयको भवन, स्वास्थ्य चौकी, मठमन्दिर लगायतका विकास निर्माणको कार्य भइरहेको छ ।

मुख्यतः मूल बाटोहरू व्यवस्थित हुन सकेको छैन । ग्रावेल त गरेका छौ, तर कालोपत्रे गर्न सकेका छैनौ ।

प्रश्न: यहाँ नगर प्रमुख भएर आइसकेपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा के कस्तो परिवर्तन भएको छ ?

राजेश राय यादव: पालिकामा भएको प्रत्येक स्वास्थ्य चौकीहरूलाई व्यवस्थित तरिकाले सञ्चालनमा ल्याएका छौ । भवन भत्केको र स्वास्थ्य चौकी नभएको ठाउँमा मर्मत सम्भारसहित स्वास्थ्य चौकी बनाई सकारकारले दिएको अपुग बजेटमा हामीले उप–महानगरपालिकाबाट पनि बजेट थप गरेर विभिन्न औषधी खरिद गरी स्वास्थ्य चौकी संचलानमा ल्याएका छौं । जस कारण जनताले स्वास्थ्य सम्बन्धी विभिन्न औषधी र सेवा स्थानीय स्तर मै निःशुल्क पाइरहेका छन् ।

गुणस्तरीय शिक्षा दिलाउन सक्ने उद्देश्यले विद्यालयको भवन निर्माणको साथै भत्केको पुरानो विद्यालयका भवनलाई पनि मर्मत सम्भार गरिएको छ भने शौचालय नभएको विद्यालयमा शौचालय पनि बनाई बेन्च, डेक्स, टेबुल जस्ता पूर्वाधारको व्यवस्थापन गरिएको छ ।

यस्तै विद्यालयको बाउन्ड्री वाल पनि बनाएका छौं । श्री दुर्गा मावि, श्री त्रि–चन्द्र स्कुल, श्री पन्ना मावि, श्री मनहर्वा मा.वि. लगाएत विद्यालयहरू पूर्ण रूपले व्यवस्थित भई संचलानमा छन् । केही विद्यालयहरूमा अनलाइनमार्फत कक्षा सञ्चालन गर्न इन्टरनेट जडान गरेकाछौं। अहिले कलैयाको सबै ठाउँमा वाई फाई जडान भइसकेको छ, सुचारु हुन मात्रै बाँकी छ । यस्तै पालिकाको प्रत्येक वडामा वाई फाई जडान गरी आधुनिक शिक्षाको लागि आवश्यक पर्ने हरेक पूर्वाधार र प्रविधि व्यवस्थापन गर्ने आगामी योजना रहेको छ ।

शिक्षक संगसंगै अन्य क्षेत्रका कर्मचारीहरूको लागी अनलाइन हाजिरी गर्ने व्यवस्था गरिएको छ । दलित समुदायका बालबालिकाहरूलाई पनि शिक्षाको पहुँचसंग जोड्न विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको छौ ।

प्रश्न: पालिकामा भएको बेरोजगार युवा तथा महिलाहरूलाई रोजगार बनाउन के-के योजना ल्याएर कार्यान्वयन गरिसक्नु भएको छ ?

राजेश राय यादव: हामी कहाँ मात्रै होइन, नेपालमै बेरोजगारीको संख्या बढी रहेको छ । युवाहरूको माझमा बेमौसमी तरकारी खेती रोजगारतर्फ उन्मुख हुने आधारहरू हुन । सामूहिक खेती, पशुपालन जस्ता अन्य कृषि पेसा गर्ने युवाहरूलाई सहयोग गर्न हामी चाहँदा चाहँदै पनि कर्मचारीहरूको अभावमा सोचे जस्तो गर्न सकेका छैनौं ।

कृषि कार्यको लागी स्प्रे टंकी र पानीको मोटरहरु जस्ता विभिन्न सामग्री तथा साधनहरू वितरण गरेका छौं। कृषिलाई नै आधुनिकीकरण गरेर रोजगार सृजना गर्ने उद्देश्य रहेको छ । त्यसको लागि सब्जीमण्डी र बजार सेड बनाउने आगामी योजना रहेको छ । मुख्यतः पहिला देखी नै पिछाडीएर रहेको यो पालिकामा तीव्र गतिले काम गर्न खोज्दा पनि कर्मचारीको अभाव र आएको कर्मचारी पनि सरुवा भएर जाँदा नयाँ आउने कर्मचारीलाई कार्यपालिका बुझ्न मै ५ /६ महिना जति समय खेर जान्छ। तसर्थ कर्मचारीको अभावले पनि सोचेको र चाहेको जति काम गर्न चुनौती भएको छ ।

तैपनि कृषिसंगसंगै मोटसाईकल बनाउने, प्लम्बरको काम लगायतका सिपमूलक तालिमको आयोजना गरी युवाहरूलाई रोजगार बनाउन काम भएको छ । महिलाहरूलाई पनि रोजगार बनाउन सिलाई कटाई, बुटिक जस्ता विभिन्न सिपमूलक तालिमहरू सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com