२०७७ माघ १५, बिहीबार
१०:१९:२८
काठमाडौ, १८ पुष। आज एक कार्यक्रम गरी उदयपुर—काठमाण्डौ सम्पर्क समितिले समायोजन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । कोटेश्वरको गौरीशङ्कर पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व गैर भौगोलिक प्रदेश नं. १ का अध्यक्ष महेन्द्र राईले गर्नु भएको थियो भने, कार्यक्रमको प्रमुख अतिथिमा पूर्व मन्त्री एवं जसपाका वरिष्ठ नेता अशोक राई, विशेष अतिथिमा जसपा नेता राज किशोर यादव रहनु भएको थियो । समायोजित उदयपुर—काठमाण्डौं सम्पर्क समितिमा अध्यक्षमा चन्द्र तामाङ चयन हुनु भएको छ भने उनको नेतृत्वमा ९५ जनाको उदयपुर—काठमाण्डौं समिति गठन भएको छ । नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई जसपाका नेता ईश्वर रिजालले शपथ ग्रहण गराउनु भएको थियो ।
समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अशोक राईले विगतमा अधिकारका लागि लडेका आन्दोलनकारी शक्तिहरू अहिले जसपा गोलबन्द भएर रहेको बताए । सङ्घीय समाजवादी पार्टी गठन गर्दै गर्दा काँग्रेस, कम्युनिस्ट पुरातन पार्टीहरूले मधेसीको पार्टी, जाती वादी पार्टी, जातीय राज्य खोज्ने पार्टी भन्दै खिसिट्युरी गर्ने गरेको स्मरण गर्दै आज तिनै पुरातन पार्टीहरू सङ्कटको भुमरीमा फस्दै गएको बताए । जसपाले नै सबैको निकास खोज्ने र पुराना पार्टीहरू विचार, सिद्धान्तमै ७० वर्ष पुरानो भैसकेका र पुरातन वादी,पश्चगामी पार्टीहरू भएकोले उनीहरूबाट समस्याको समाधान खोज्नु मूर्खता हुने बताउनु भयो । केपी ओलीले आफ्नो पद जोगाउन संसद विगठन गरेको आरोप लगाउनु भयो । संविधानको मर्म विपरीत संसद विगठन गरिएको असंवैधानिक कदमको विपरीत काँग्रेसले चुनावमा जाने मनसाय राख्नु वाल सुलभ भएको र पुनः भ्रष्टाचारमा लिप्त हुँदै कमिसन कुम्ल्याउन उद्यत रहेको बताउनु भयो । जसपाले नै काँग्रेस र नेकपाकै एउटा झुण्डलाई ओलीको असंवैधानिक कदमको विरुद्ध सडकमा तानेको तर्क राख्नु भयो । प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमको विरुद्ध पहिलो चरणको विरोध कार्यक्रम सकिएको र अव दोस्रो चरणको आन्दोलन चाडै सुरु गर्ने समेत बताउनु भयो ।
नेता राज किशोर यादवले जसपा अव कसैको पछाडि लागेर हैन आफै यो देशको नेतृत्व दिनु पर्ने धारणा राख्नु पर्ने भयो । विगतमा अन्य पार्टीहरूले गरेको कुकर्महरूको विरुद्ध पनि जसपाले ऐतिहासिक निर्णय लिनु पर्ने र संविधानको पुनर्लेखन गर्नु पर्ने बताउनु भयो । कसैलाई अधिकार दिँदा देश टुक्रिन्छ भन्ने बुझाई गलत भएको बरु उल्टै राष्ट्रियता मजबुत हुने उहाँको तर्क थियो । अहिलेको संविधानले मधेसी, आदिवासी जनजाति, महिला र दलितहरूको लागि अधिकार सही ढङ्गले दिन नसकेको धारणा समेत राख्नु भयो । अधिकार सहितको संविधानको लडाई लड्दा अझै पनि कयौं नेता जेल जीवन बिताउन परेको बताउनु भयो । हिजो ज—जसका लागि हालको संविधान प्यारो थियो, आज तिनै व्यक्तिहरू सडकमा आएर हामी मरेका छैनौं, हामी यहाँ छौ भन्दै छन् । हिजो संविधान बनाउँदा तिमिहरू कहाँ थियौ? भनेर सोध्नु पर्ने बताउनु भयो। झन्डै २/३ को सरकारले समेत यो देशमा निकास दिन नसकेको करण अब देशको जिम्मेवारी जसपाले लिनु पर्ने बताउनु भयो ।
उदयपुर—काठमाण्डौं सम्पर्क समितिको समायोजन कार्यक्रममा जसपाका नेताहरू क्रमशः किराँत सम्पर्क समितिका अध्यक्ष अधिराज राई, जसपा नेता एवं गैर भौगोलिक प्रदेश नं. १ का इन्चार्ज गोपाल राई, स्वतन्त्र प्राध्यापक सङ्घका अध्यक्ष प्रेम राई, जसपा नेता घनश्याम कटुवाल, नेता सिद्धान्त राई, जसपा केन्द्रीय सदस्य रेखा यादव, जसपा केन्द्रीय कारिणी सदस्य सुशीला श्रेष्ठ, नेता विश्वराज राईले सम्बोधन गर्नु भएको थियो । समायोजन कार्यक्रमलाई गैर भौगोलिक प्रदेश नं. १ की सम्पर्क समितिका उपाध्यक्ष विष्णु मायाँ थापाले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमलाई युवा नेता चिरञ्जीवी बुढाथोकीले सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रमलाई समापन गर्दै गैर भौगोलिक प्रदेश नंं १ का अध्यक्ष महेन्द्र राईले यस प्रदेश अन्तर्गतका सबै सम्पर्क समितिहरूलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । समायोजन कार्यक्रममा जसपाका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । साथै यसै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि आउनु भएको कार्यकर्ताहरु तथा स्वतन्त्र व्यक्तिहरू जसपामा प्रवेश गरेका थिए । नव प्रवेशिहरुलाई नेता अशोक राईले खादा र टीका लगाएर पार्टी प्रवेश गराउनु भएको थियो ।