२०७७ माघ १५, बिहीबार
११:२०:५५
पोखरा, १७ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पद किस्तीमा राखेर दिन्छन् भन्ने नठान्न सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन्।
वर्तमान अवस्थामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विषयम पोखरामा आयोजित प्रवचन कार्यक्रममा बोल्दै नेता पौडेलले संसदमा दुई तिहाई भएको प्रधानमन्त्रीले संसद विघटन गरेर फेरि निर्वाचन गर्छन् भन्ने विश्वास गर्न नसकिने धारणा राखे । उनले जन निर्वाचित प्रधानमन्त्री निरंकुश भएको विश्वमा धेरै उदाहरण छन् त्यहीँ पथमा ओली गएको र निर्वाचन नगरी निरंकुश शासक बन्ने गरी अघि बढेको बताए।
विदेशीको इशारामा दुई तिहाईको आफ्नै सरकार भएको अवस्थामा प्रधानमन्त्री ओलीले संसद विघटन गरेर देशलाई अफगानिस्तान जस्तै संकटमा पार्न खोजेको आरोप लगाएका छन्।
नेपाललाई भूमरीमा पारेर अस्थिरतातिर धकेलेर स्वार्थ लिन चाहाने विदेशीको इशारामा प्रधानमन्त्री ओलीले संविधान च्यातेको सुनाए। पौडेलले नेपालमा अन्तर्राष्ट्रिय खिचातानी बढेको बताए। अन्तर्राष्ट्रिय शक्तिहरु आउँ जाउँ गरेको प्रति लक्षित गर्दैं उनले देश अस्थिरतातर्फ जान लागेको भन्दै चिन्ता व्यक्त गरे।
देशलाई अस्थिरतामा धकेलेर अफगानिस्तान जस्तै दर्दनाक अवस्थामा पुर्याउने कोसिस भएकोले यसबाट देशलाई जोगाउन प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध एक हुनुपर्ने उनले बताए। संसद पुनस्थापना नै देशलाई अफगानिस्तान जस्तो अवस्थामा पुर्याउनबाट जोगाउन सकिने भएकोले सर्वोच्च अदालतले संविधान राम्रोसँग पढ्दिन र संविधानको भावना अनुसार निर्णग गर्नुपर्नेमा उनले जोड दिए। अन्नपुर्णपोस्टबाट