२०७७ माघ १२, साेमबार

img-responsive

११:११:३१

 

कृषिप्रधान देश नेपालमै उपेक्षित हुन्छन् कृषकहरू; सर्लाहीका उखु किसानहरुले पाएको सास्ती

सर्लाहीको किसानको मुद्दा सर्लाहीको मात्र हैन यो सिङ्गो नेपालको मुद्दा हो।

गोठालो खबर
गोठालो खबर -३ २०७७ पुस ११, शनिबार,१०:१९:PM  
img-responsive

काठमाडौ ११ पुस। विश्वसामु नेपालले आफूलाई चिनाउने माध्यम मध्य सगरमाथाको देश, गौतम बुद्धको देश मात्र नभएर कृषिप्रधानको देश पनि भनेर चिनाइन्छ । विश्वले नेपाललाई कृषिप्रधान देश नेपाल भनेर पनि चिन्लान् तर यही कृषि प्रधान देशमै कृषकहरूको उपेक्षा गरिन्छ, किसानहरू ठगिन्छन्, कृषकहरूलाई अपमान गरिन्छ भन्ने थाहा हुँदा अन्तराष्ट्रिय जगतमा कस्तो सन्देश जाला? उसै त दाल भात तरकारीका लागि मात्र नभएर पानी समेत विदेशबाट आयत गरेर खाने नेपालले यस विषयलाई त्यति महत्त्व नराख्ला तर यो देश कृषि प्रधान देश हो भन्दा आफूलाई विश्वसामु कृषिप्रधान देश भनेर चिनाउन खोज्नेलाई भने पक्कै लज्जाबोध हुनु पर्ने हो । नत्र भने कृषिप्रधान देशमा कृषकले सम्मान पाउनु प¥यो, उसको जायज मागहरूको सरकारले पुरा पनि गर्नु प¥यो ।

सर्लाहीका उखु किसानहरूले काठमाण्डौं स्थित माइतीघरको सडकमा विगत १४ दिन देखि उखु मिल बाट पैसा पाउनु पर्ने माग गर्दै सरकारलाई गुहार्दै आएका छन् । उनीहरूको उखुको पैसाको माग गर्न आन्दोलन नै गर्नु परेको यो पहिलो वर्ष भने हैन । आफ्ना उखुको पैसा पाउन नसके पछि राज्यसंग गुहार माग्नु परेको दोस्रो वर्ष भयो । गत वर्ष पनि सोही माग राखी तिनै किसानहरू यसरी नै धर्ना दिएका थिए । २०७६ साल पुस १८ गते पाँच बुँदे सम्झौता गरी सर्लाही फर्केका थिए । तर आज सम्म न उखु मिलले उनीहरूको पैसा दिए न त सरकारले गरेको सम्झौता नै पुरा गरे । गत वर्ष उधारो सम्झौता गरेको कारण यो वर्ष भने पैसा नपाईकन जिल्ला नफर्कने भन्दै करिब २०० किसानहरू पुसको जाडोमा समेत धर्ना दिएर बसेका छन् ।

नागरिकको अभिभावक राज्य नै हो । झन् यस्तो संवेदनशील विषयमा राज्य नै उनीहरूको हितमा कार्य गरेर किसानको प्रोत्साहन गर्नु पर्ने हो । सरकाले नै बुझ्नु पर्ने हो कि किसान भनेको देशकै प्राण धान्ने खम्बा हो । हरेक कुरो आयत गरेर आफ्नो आवश्यकता पुरा गर्ने नेपालको अर्थतन्त्र मात्र हैन किसानलाई दह्रो बनाउन सके वैदेशिक व्यापार घाटा समेत घटेर आत्मनिर्भर हुन सकिन्छ । किसानलाई उपेक्षा गरेर झुक्याउनको साटो आफै पहलकदमी चालेर उनीहरूको मागको सम्बोधन गर्नुपर्ने सरकारले किसान, मजदुर र उत्पादनको बाहकलाई नै उपेक्षा गरेको हो कि भन्ने भान गराउने सरकारको चरित्र विडम्बनापूर्ण नै छ । गत वर्षको पुस १८ गते उखु किसान र सरकार बिच भएको सम्झौता कार्यान्वयन हुन नसकेको कारण सरकार लाचार छ भन्ने प्रमाणित भएको आन्दोलित किसानहरू बताउँछन् । 

क्षमता, सिप, दक्षता भएकाहरूलाई राज्यले नै उपेक्षा गर्नु भनेको देश समृद्धितिर उन्मुख नभएको उनीहरूको तर्क छ । उनीहरूको प्रश्न छ, “सरकार व्यास्त छ, उ संग फुर्सद नै छैन तर सरकार के गर्छ? सरकार कसको लागि व्यस्त रहन्छ?” सरकार नागरिकको पक्षमा हुनु पर्ने, किसानको पक्षमा हुनु पर्ने र सरकारले प्रत्याभूति गराएको कुरो जनताले, किसानले अनुभूति गर्नुपर्ने उनीहरू बताउँछन् । 

करिब २०० जना उखु किसानहरू सर्लाहीबाट आएर पैसा पाउन सङ्घर्ष गर्नु परेको, घरबाट ल्याएको पैसा समेत सकिएको तापनि गत वर्ष जस्तो सरकारसंंग उधारोमा वार्ता गरेर यसपालि घर नफर्कने अठोट छ उनीहरूको । यस आन्दोलनमा ७० वर्ष नाघेका किसान पनि सरिक छन्, जो एकसरो तन्ना ओछ्याएर रोडको चिसोमा दिनभर पैसा पाउने आसमा छन् । मिलले किसानको १० हजार देखि २५ लाख सम्म पैसा बाँकी राखेको उनीहरूको भनाई रहेको छ । उखु मिलबाट सबैको एक मुष्ठ रकम करिब ९० करोड पैसा पाउन बाँकी रहेको उनीहरू बताउँछन् । उखु खेती गर्न कति किसानहरूले गाउँघर बाटै चर्को व्याजमा ऋण लिएका छन् भने कतिले बैक बाट ऋण लिएको बताए । उखु किसानको भनाई अनुसार अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवालले मिल नै बन्द गरेर बसेको, फोन गर्दा फोन पनि नउठाउने र मिलमै गएर कर्मचारीहरूसंग सोधपुछ गर्दा भोली पर्सी भन्दै हैरानी खेलाएको गुनासो गरे ।

गगन देव राय हुन् सर्लाहीका उखु किसान । उनी सत्तरी वर्षको भए । अन्नपूर्ण सुगर मिलले २०७१ सालबाटै उनको ४ लाख रुपैयाँ नदिएको बताउँछन् । उनी गत वर्ष पनि यसैगरी सोही रकम पाउन पर्ने भन्दै १६ दिन सम्म धर्ना बसेका थिए । उद्योग मन्त्रीसंगको वार्ता पश्चात् १ महिना भित्र बाँकी रकम पाइन्छ भन्ने आशामा सर्लाही फर्किएको राय बताउँछन् । तर यो वर्ष पनि गत वर्ष झैँ उखुको पैसा सरकारले दिलाईदिन्छ भन्ने आसमा कठ्याङ्ग्रिने जाडोमा दिन बिताइरहेका छन् उनी । उनले आफ्नो लगानीको पैसामा उखु खेती गरेका हैनन्, उनले २ वटा बैक मार्फत १० लाख ऋण लिएका थिए । काठमाडौमा धर्ना बस्न आएका रायको आज सम्म रु. १० हजार खर्च भइसकेको बताए । दैनिक खानाको लागि केही परोपकारी संस्थाहरूले सहयोग गरेको र राती बस्नको लागि भने सबै जनाको लागि गौशालामा १७ वटा कोठा दैनिक रु. ४०० तिर्ने गरी भाडामा लिएको उनी बताउँछन् । 

अर्का सर्लाहीका उखु किसान हुन् श्याम राउत । उनको  पनि २०७४ सालबाटै करिब रु. ६० हजार सुगर मिलले नदिएको गुनासो गरे । उखु मिलले केही समय अगाडी ३४ हजार दिएको थियो तर त्यसमा पनि पैसा झन्डै ५ सय जति कट्टाएर दिए । किन पैसा कटाएर दिएको भन्ने प्रश्न गर्दा उनको प्रश्नको कुनै जवाफ नदिएको गुनासो थियो । राउतले पनि स्थानीयहरु संग रु. १० लाख ऋण लिएर उखु खेती गरेका थिए । 

त्यस्तै सोही ठाउँका ६५ वर्षका उखु किसान नारायण रायको गुनासो उस्तै छ । उनले पनि अन्नपूर्ण सुगर मिलबाट रु. २० लाख, ४ हजार, १८६ रुपैयाँ लिन बाँकी रहेको बताए । उनले पनि उखु खेतीको लागि दुई वटा बैङ्कबाट रु २१ लाख ऋण लिएको बताउँछन् । 

सर्लाहीकै अर्का उखु किसान, रौदी महत, उनी ६२ वर्षका भए । उनको पनि सोही मिलले १ लाख २० हजार २०७४ साल बाटै नदिएको गुनासो गरे । मिलसंग पैसा माग्न जाँदा भोलि, पर्सी भन्दै आज सम्म ढाँटने काम गरेको बताउँछन् । 

अर्का उखु किसान नीराजन यादव भन्छन्,“ गत वर्ष पनि यसै गरी २२ दिन सम्म आन्दोलन ग¥यौँ । सबै उखु किसानको बाँकी पैसा १ महिना भित्र दिने सम्झौता उद्योग मन्त्रीसंग गरेका थियौँ । तर पनि हामीले पैसा पाएनौँ, मिल मालिक पनि मिलनै बन्द गरेर हिँडेका छन् । कर्मचारीहरूसंग पैसाको कुरो गर्दा कुनै जवाफ आउँदैन । मिल मालिकलाई फोन गर्दा उनले कसैको फोन नै उठाउँदैन । ज-जसले मिलको तालाबन्दि गरे, बल प्रयोग गर्न खोजे उनीहरूले चाहिं पैसा पाए तर हामी जस्ता निर्धालाई  भने उल्टै दलाल लगाएर थर्काउने, धम्क्याउने गर्छन् । राज्यले समेत हामी उखु किसानहरू लाई हेला गरे ।”

त्यस्तै अर्का पीडित हुन् मायाँ शङ्कर प्रसाद यादव । उनी भन्छन्, “हामी सबैको साँवा व्याज गरेर अन्नपूर्ण सुगर मिलसंग करिब ९० करोड उठाउन बाँकी छ । मेरो मात्र उठाउन २५ लाख बढी छ । एक पटक रु.१० लाखको चेक दिएको थियो, त्यो पनि बाउन्स गराइदियो । पछि उजुरी गरे, त्यस पश्चात् त्यो पैसा चाहिं पाएँ । तर बाँकी पैसा पाएको अत्तोपत्तो छैन । यस पटक हामीले उद्योग मन्त्री लेखराज भट्टलाई भेट्यौँ । तर मन्त्रीले उल्टै उखु मिलले पैसा नदिएको प्रमाण मागे । हामीले पनि प्रमाण दियौँ । त्यस पश्चात् आन्दोलन छाड्नुहोस्, तपाईहरूको पैसा फिर्ता गर्ने प्रक्रियामा छ भन्नु भयो । मिलको १० कि. मि. वरिपरिको सबै उखु किसानहरुले सोही मिललाई मात्र दिनु पर्ने नियमले हाम्रो यो गति बनायो । हामीले अन्यत्रै पैसा दिने मिलमा उखु बिक्री गर्न पाएनौँ । यसमा सरकार नै दोषी छ । सरकारले पनि यस्तो सिन्डिकेट लाउन मिल्छ ?” यस पटक भने उधारो सम्झौता नगर्ने, बाँकी पैसा भुक्तानी नगरे सम्म सर्लाही नफर्कने उनको अठोट छ ।

धर्नामा भेटिए सर्लाहीकै सांसद श्याम साह । सर्लाहीका उखु किसानका समस्यालाई समाधानको लागि के-के पहलकदमी गर्नु भयो भन्ने गोठालो खबरको प्रश्नको जवाफ दिँदै सांसद साहले भने, “म उखु किसानहरूसँगै छु र मेरो साथ पनि उहाँ उखु किसानसंगै छ । उखु किसानको समस्या राष्ट्रिय स्तरमै बहस हुँदा समेत यसको समाधान हुन नसक्नु भनेको माथि सम्मै यसको कनेक्सन छ भनेर बुझ्नु पर्छ । माथि सम्म मिलोमातो नहुँदो होस त यो समस्याको समाधान भइसक्थ्यो । कमिसनको चक्करले नै यो समस्याको समाधान हुन सकेको छैन तथापि उहाँहरुको हरेक समस्याहरुसंग आफूसंगै रहेर लड्ने छु । अहिले पनि यो समस्या समाधानको लागिरहेको र यसको सहजीकरण गरिरहेको छु ।”

नेपालको इतिहासमा लामो समयबाट जात, धर्म, भूगोल र कामको आधारमा विभेद भोग्नु परेको नेपाली समाज यही कारणले गरिबीमा समेत पेलिनु परेको तीतो यथार्थ छ । सरकारको तथ्याङ्कले जे बोले पनि नेपाली नागरिकहरू निरपेक्ष गरिबिको रेखामुनि नै रहनु परेको अवस्था छ । सदियौँ देखि विभेद भोग्दै आएका नेपाली नागरिक बिच पेसा र श्रममा  समेत विभेद र उपेक्षाका कारण गौरवका साथ काम गर्ने वातावरण छैन । विभेद र उपेक्षाको नमुना स्वरूप उखु किसानहरूको जायज मागलाई राज्यले समेत पुरागर्न नसकेको अवस्थालाई लिन सकिन्छ । राज्यले नै किसानहरूको साथ, सहयोग, हौसला प्रदान गरेर देशकै अर्थतन्त्र मजबुत बनाउन लाग्नु पर्नेमा सरकार जिम्मेवारीबाटै पन्छिएर उदासीनता देखाई रहेको छ । सरकारले आश्वासन बाहेक नागरिकले अनुभूति हुने किसिमले कार्य गर्न नसकेको प्रस्ट भएको छ ।

राजनीति दाउपेच, पद र प्रतिष्ठाको लडाइँमा उखु किसानहरूको मुद्दा ओझेलमा पर्दैछ । धर्नामा बसेका एक युवकको अनुसार,“ हाम्रो लागि साउदी र मलेसिया भन्दा अर्को विकल्प रहेन । आफूले जानेको र सकेको यही देशमा केहि गर्न खोज्यो, उल्टै राज्यबाटै विभेद सहनु पर्छ भने हाम्रो विकल्प के त?, सर्लाहीको किसानको मुद्दा सर्लाहीको मात्र हैन यो सिङ्गो नेपालको मुद्दा हो । हामी बेसहाराले अब देश छाड्नु बाहेक अर्को उपाय छैन ।”

 

 

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com