२०७७ माघ १५, बिहीबार

img-responsive

११:०९:०२

 

भोजपुरमा ४५ लाख लगानीमा सतुवाको नमूना खेती

गोठालो खबर
वाई राज विष्ट , २०७७ पुस ९, बिहीबार,०४:०२:PM  
img-responsive

भोजपुर, ८ पुस । स्वदेशमा सम्भावना नदेखेर धेरै युवाहरु दिनप्रति दिन विदेश पलायन भइरहेका छन् । युवाको मोह विदेश तिर भएको वेला भोजपुर तिम्माका संगम राईले भने जडीबुटी खेतीबाट समाजमा उदाहरणीय काम गरिरहेका छन् । उनले आफ्नै रु.४५ लाख लगानीमा सतुवा तथा अन्य विभिन्न जडीबुटी खेती गरेर सफल उद्यमीका रुपमा स्थापित भएका हुन् । व्यवसायबाट बार्षिक रु. १५ लाख सम्म आम्दानी गरिरहेको व्यवसायी राईको भनाइ छ । व्यवसायी राईले भने,‘मैले जडीबुटी खेतीबाट राम्रो आम्दानी गरिरहेको छु, जडीबुटीको  विक्रीबाट रु. १५ लाखसम्म आम्दानी हुन्छ, स्वदेशमा व्यवसायिक बन्न सके विदेशको भन्दा धेरै आम्दानी गर्न सकिन्छ ।’

राईले संगम जडीबुटी उद्योग दर्ता गरेर विगत १० वर्षदेखि जडीबुटी खेती गरिरहेका छन्  उनले करीब पाँच रोपनी क्षेत्रमा ३५ हजार सुतवाको नर्सरी लगाएका छन् । नर्सरीमा उत्पादन भएको सतुवा हाल प्रतिकेजी दश हजारमा विक्री हुने र विरुवा प्रति गोटा २० रुपैया देखी १०० रुपैया सम्ममा विक्री हुने कृषक राईको भनाइ छ ।

उनले एक वर्षमा दुई लाखसम्म सतुवाको विरुवा बाहिर पठाउँदै आएको बताए । राईले भने,‘अहिले बजारमा सतुवाको माग धेरै छ, मैले वर्षमा दुई लाख बढी विरुवा अन्य ठाउँमा पठाउदै आएको छु, विगतमा प्रतिकेजी रु.२२ हजार सम्ममा विक्री हुने गरेको सतुवाको मुल्य केहि वर्ष अघिबाट घटेको छ, यसपाली प्रति केजी दश हजारसम्म विक्री हुने भइरहेको छ भने सतुवाको विउ प्रतिकेजी रु. एक लाखमा विक्री हुन्छ ।’

उनको सफलतापछि तिम्माका अधिकांश स्थानीय यस तर्फ आकर्षित छन् ।  उनले व्यवसायमा लाग्ने अन्य कृषकलाई आफूले सिकेको ज्ञान दिएर व्यवसायिक बन्न प्रोत्साहन गर्दै आएका छन् । स्थानीयले उत्पादन गरेका जडीबुटीलाई संकलन गरेर बजारसम्म पु¥याउनको लागि सहयोग समेत गर्दै आएको राईको भनाइ छ ।

तिम्माका ६५ बढी घरपरिवारले सामान्य रुपमा तिराइतो, लोड सल्ला, सतुवा बिखुम्वा लगाएतको खेती गरिरहेका छन् । त्यहाँका स्थानीयले उत्पादन गरेको जडीबुटी बजारीकरणको जिम्मा समेत राईले नै लिने गर्नु भएको छ  । उत्पादित बस्तु आफ्नै घरबाट विक्री गर्न पाउदा स्थानीय पनि खुसी छन् ।
स्थानीयबासी खेमराज राउतले भने,‘हाम्रो क्षेत्रमा अधिकांश स्थानीयले सामान्य रुपमा भएपनि विभिन्न खाले जडीबुटी लगाएका छन्, सरकारले जडीबुटीको बजारीकरणमा खास ध्यान नदिएको भएपनि संगम जडीबुटी उद्योगले उत्पादित बस्तुलाई आफै खरिद गरेर बजारीकरणमा सहयोग गर्दै आएको छ, यसले पनि हामीलाई व्यवसायमा लाग्न टेवा मिलेको छ, उत्पादन भएको जडीबुटी उहाँले नै घरमा नै आएर खरिद गरिदिनु हुन्छ ।’

व्यापार व्यवसायमा प्रतिपस्पर्धा हुँदा एकले अर्कालाई असहयोग गरेका धेरै उदाहरण भएपनि सम्पूर्ण स्थानीयलाई साथ सहयोग गर्दै व्यवसाय गरिरहेका राई समाजमा उदारणीय पात्र बनेको वडाध्यक्ष नर बहादुर राईले बताए ।

वडाध्यक्ष राईले भने,‘ संगम जी जडीबुटी खेतीका लागि उदाहरणीय पात्रका रुपमा स्थापित हुनु भएको छ, उहाँको कामलाई देखेर धेरै जडीबुटी खेतीमा लाग्नु भएको छ, वडा कार्यालयले पनि जडीबुटीको खेतीको विषयमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाईरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com