२०७७ माघ ७, बुधबार

img-responsive

०९:०४:३३

 

त्रिवि उपकुलपति बास्कोटाको एक बर्षको कार्यकालका उपलब्धि सार्बजनिक

उपकुलपतिको पन्ध्र बुँदे कार्ययोजना : एक वर्षमा कति पुरा भए?

गोठालो खबर
गोठालो खबर -३ २०७७ मङ्सिर २८, आइतबार ,१२:००:AM  
img-responsive

कीर्तिपुर, २८ मंसीर। त्रिवि उपकुलपति कार्यालयले वर्तमान उपकुलपतिको एक वर्षे कार्यकालमा भएका उपलब्धीहरुको विवरण सार्बजनिक गरेको छ । आगामी दिनमा “त्रिभुवन विश्वविद्यालय हाम्रो बनाउँ यसलाई सबै मिली राम्रो” मूलमन्त्रका साथ अगाडि बढ्न सम्बन्धित सबैलाई विशेष आग्रह गर्दै उपकुलपति बास्कोटाले आफ्नो कार्यकालको पहिलो वर्षका उपलब्धीहरु सार्बजनिक गरेका हुन् ।  

त्रिविमा नयाँ नेतृत्व आएसंगै विश्वविद्यालयमा के कस्ता उपलब्धिहरु हासिल भए भन्ने सम्बन्धमा सरोकारवालाहरूमा उत्सुकता हुनु स्वभाविकै भएको र नेतृत्वले पनि आफ्नो कार्ययोजना अनुसार भएका र हुन नसकेका कामहरुको जानकारी जनसमुदायमा उपलब्ध गराउनु आफ्नो दायित्व भित्र पर्ने भएकाले विवरण सार्बजनिक गरिएको बताइएको छ । त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपतिको रुपमा २०७६ कार्तिक १७ गते प्रधानमन्त्री एवं त्रि.वि. का कुलपतिज्यूबाट नियुक्त भई बास्कोटाले कार्तिक १८ गते पदवहाली गरेका थिए । 

सार्बजनिक गरिएको विवरण अनुसार बास्कोटा नियुक्त हुँदा आर्थिक वर्ष शुरु भएको चार महिना बितिसकेको भएता पनि विश्वविद्यालय सभाबाट आ. व. २०७६–७७ को नीति तथा कार्यक्रम एवं बजेट पारित भएको थिएन । सो नीति तथा कार्यक्रम र बजेट पारित गर्ने काम पदबहाली गरेको २५ औं दिनमा सम्पन्न गरेको उल्लेख गरिएको छ । त्यस्तै पदबहाली गरेको ४५ औं दिनमा त्रिविको ४५ औं दिक्षान्त समारोह आयोजना गरी ७० हजार बढि विद्यार्थीलाई दीक्षित गरेको पनि उपलब्धीमा उल्लेख गरिएको छ । 
 

गत वर्ष नै पौषको दोस्रो सातामा शिक्षाध्यक्ष र रजिष्ट्रारको पदावधि सकिएको र नयाँ रजिष्ट्रारको नियुक्ति केही दिनमा नै भए पनि शिक्षाध्यक्षको नियुक्तिमा तीन महिना ढिलाई हुन गएकोमा  कार्ययोजनालाई अन्तिम रुप दिन र सो अनुसार अगाडि बढ्न केही ढिला हुन गएको पनि जनाइएको छ । पदाधिकारी नियुक्तिले पूर्णता पाएको ३ दिन पछि कोभिड १९ महामारीका कारणले ४ महिनाभन्दा बढी बन्दाबन्दी, त्यसपछिको निषेधाज्ञा, त्यसपछि हालसम्म पनि कतिपय कर्मचारीहरु तथा शिक्षकहरु कोभिड १९ कै संक्रमणमा परेका कारणले एक पछि अर्को गर्दै शाखा, विभाग, महाशाखाहरु बन्द गर्नु पर्ने बाध्यताले कार्ययोजना अनुसार अगाडि बढ्न असहज भएको पनि उल्लेख गरिएको छ । अर्कोतर्फ विश्वविद्यालयकै केही असन्तुष्ट पक्षहरुले आआफ्ना समस्याहरु वार्ताबाट समाधान गर्नुका सट्टा त्रि.वि. मा तालाबन्दी, आगजनी र तोडफोड जस्ता कार्यहरु गर्ने तथा पदाधिकारीलाई निषेध गर्ने जस्ता अशोभनीय विरोध कार्यक्रम गर्नाले विभिन्न चरणमा गरी झण्डै २ महिनासम्म कार्यालयमा बसी काम गर्न नपाएको र बहुमूल्य समय विभिन्न चरणमा विभिन्न पक्षसँग वार्ता गर्नमा नै व्यतित गर्नु परेको पनि उल्लेख गरिएको छ ।  

यस्तैगरी कोभिड १९ को महामारीका कारण विश्वविद्यालयका सम्पूर्ण शैक्षिक कार्यक्रमहरु पठनपाठन, परीक्षा, अनुसन्धान सबै नै अवरोध हुन गई एक शैक्षिक सत्र नै खेर जाने स्थिति सृजना भएको हुँदा बैकल्पिक विधिबाट कक्षाहरु सञ्चालन गरी शैक्षिक पात्रोमा नकारात्मक असर पर्ने स्थितिलाई यथाशक्य न्युन गरी अगाडि बढ्नुको अन्य कुनै विकल्प नदेखिएको हुँदा विश्वविद्यालयको सारा उर्जा उपयुक्त बैकल्पिक विधिको पहिचान, व्यवस्थापन तथा परिचालन गरेर कक्षाहरु सञ्चालन गर्नेतर्फ केन्द्रीत गर्नुपरेको हुँदा  अपेक्षाकृत कार्यहरु सम्पन्न गर्न नसकेको पनि उल्लेख गरिएको छ । यहि प्रकोपका कारणले सरकारबाट प्राप्त हुने अनुदानलाई वृद्धि गर्न नसकिएकोले अपेक्षा राखे अनुसारका उपलब्धीहरू पूरा हासिल गर्न नसके तापनि त्यसतर्फ उन्मुख रहेको जनाइएको छ । 

उपकुलपति बास्कोटाले २०७६ मंसिर १३ गते सम्पन्न विश्वविद्यालय सभामा विश्वविद्यालयले अगाडि सारेका १५ सुत्रीय त्रि.वि. सुधार योजना सार्बजनिक गरेका थिए । सोही योजना अनुसार के कस्ता कामहरु भएर उपलब्धी हासिल भए भनेर निम्न अनुसार उपलब्धीहरु सार्बजनिक गरिएको छ :

(१) त्रि.वि. को भौतिक पूर्वाधारमा भएका सुधारः 

क) त्रि.वि. कीर्तिपुरको हाताभित्रको जीर्ण सडकलाई मर्मत सुधार गरिएको । सडक पेटी र सौर्य ऊर्जाको वत्ति राख्ने काम प्रक्रियामा रहेको । 

ख) त्रि.वि. केन्द्रीय कार्यालयको कम्पाउण्ड पर्खाल त्रि.वि. को विशेष अनुरोधमा काठमाडौं महानगरपालिकाको सहयोगमा बोलपत्र आव्हान गरी निर्माण प्रक्रिया थालनी हुने चरणमा पुगेको । 

ग) त्रि.वि. का वहुवार्षिक योजना अन्तर्गत निर्माण थालिएका– सवै कार्यहरू वन्दावन्दीको कारणले केही ढिला भए तापनि सुचारु भई रहेको, केही सम्पन्न भएको । 

घ) भूकम्पबाट क्षति पुगेका भवनहरू र नयाँ निर्माण गर्नु पर्ने पूर्वाधारहरूको NRA मार्फत करिव १४ करोड विस्तृत योजना वनाई गर्न मन्त्रालयबाट स्वीकृत गराई Exim बैकको अन्तिम स्वीकृतिको लागि केन्द्रीय कार्यालयमा अध्ययनको क्रममा रहेको । ख। अतिथि आवास–गृह तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि अन्तर्राष्ट्रिय छात्राबास (International Hostel) बनाउन बजेटमा रकम विनियोजन गरिएको । त्रि.वि.सेवा आयोगको भवन बनाउनेतर्फ प्रकृया अगाडि बढिरहेको । 

(२) प्रविधि मैत्री विश्वविद्यालयः 

क) त्रि.वि. IT Centre लाई विस्तार गरि २५ MMPS क्षमताबाट ३०० MMPS क्षमता वृद्धिको काम अन्तिम चरणमा पुगेको । 

ख) त्रि.वि. का सबै निकायहरू, शिक्षक, विद्यार्थी तथा कर्मचारीहरूलाई त्रि.वि. कै Main domain मार्फत् Email ID निर्माण गरी करिव १ लाख ६० हजारलाई वितरण गरिसकिएको र यसै अनुरूप NREN सँग सम्झौता गरी पहिलो चरणमा १७५ निःशुल्क जुम प्राप्त गरी तत्काल अनलाइन विधिवाट कक्षा सञ्चालन गरिएको र तत्पश्चात् Microsoft Team सँग सम्झौता गरी यसैमार्फत् हालसम्म कक्षा सञ्चालन भइरहेको, 

ग) शिक्षक, कर्मचारीलाई प्रविधिमैत्री बनाउन हालसम्म विभिन्न चरणमा करिव ६००० शिक्षक र ५०० कर्मचारीहरूलाई तालिम दिई सकिएको र यो क्रम निरन्तर चलिरहेको । 

घ) त्रि.वि.का सबै निकायलाई सूचना प्रविधिमैत्री बनाउने योजनास्वरुप त्रि.वि. का सबै डीन कार्यालयहरु, क्याम्पसहरु, केन्द्रीय विभागहरु, स्कूलहरु, कार्यक्रमहरु लगायत अध्ययनअध्यापन कार्य र त्यसको व्यवस्थापनमा संलग्न १२४ निकायलाई आर्थिक सहयोग उपलब्ध गराएर ती निकायलाई सूचना प्रविधिमैत्री बनाउन सहजीकरण गरिएको । यसका निमित्त नेपाल सरकार/विश्वविद्यालय अनुदान आयोग मार्फत विश्वबैंकसँगको आर्थिक सहयोगमा ११ करोड रूपैया वितरण भईरहेको । 

ङ) अनलाइन प्रविधिबाट अध्यापन कार्य सञ्चालन गर्दा शिक्षण विधिमा देखा परेका कमी कमजोरीमा सुधार ल्याउन शिक्षकहरूलाई अनलाइन लर्निङ प्लेटफर्म मुडलको तालिम शुरु गरिएको । 

च) त्रि.वि. को प्रशासनिक चुस्तताका लागि विश्वविद्यालयको अनुरोधमा नेपाल सरकारबाट Office Automation Software प्राप्त गरीसकिएको र जडान (Installation) को क्रममा रहेको । 

छ) त्रि.वि. को "Web Site" परिमार्जन गरि बढी सूचनामूलक बनाइएको र अझै परिमार्जन गर्ने क्रम चलिरहेको ।

ज) लाखौंको संख्यामा रहेका अन्तराष्ट्रिय इ–जर्नल र इ–पुस्तकहरु त्रि.वि. केन्द्रीय पुस्तकालयमार्फत् शिक्षक तथा विद्यार्थीहरूको TU-email id प्रयोग गरी विद्युतीय प्रविधिमार्फत् प्राप्त गर्न सकिने व्यवस्था गरि सकिएको, हाल त्रि.वि.का सबै शिक्षकहरु र ३०,००० भन्दा बढी विद्यार्थीहरुको पहुँचमा पुग्ने व्यवस्था मिलाइसकेको र यो संख्यालाई माग अनुसार क्रमशः थप गर्दै लैजाने व्यवस्था गरिएको । यसैगरी भारतको National Digital Library of India का सामग्रीहरू पनि अनलाइन मार्फत् हाम्रा email id user हरूलाई निःशुल्क उपलव्ध गराउने प्रक्रियाको थालनी गरिएको । विद्युतीय सामग्री उपयोग गर्न गराउन पुस्तकालयको जनशक्ति, शिक्षक र कर्मचारीको लागि तालिम शुरु गरिएको । 

(३) अनुसन्धान कार्यलाई प्राथमिकताः 

क) चालु आर्थिक वर्षमा विश्वविद्यालयले अनुसन्धान कार्य सञ्चालन गर्न अठार करोडभन्दा बढी रकम विनियोजन गरिएको छ । यो रकम गतवर्षको तुलनामा २ करोडभन्दा बढी रहेको छ । विशवविद्यालयका सबै निकायको आन्तरिक स्रोतको केही अंश अनुसन्धानका लागि छुट्याउने व्यवस्था मिलाएको छ । साथै विशिष्ट अनुसन्धान innovative research कार्यका लागि पनि रकमको व्यवस्था गरिएको छ । यसका लागि छिटै प्रकृया अगाडि बढाउन समिति गठन भइसकेको छ । 

ख) त्रि.वि.का चार अनुसन्धान केन्द्रहरू मार्फत्अनुसन्धान कार्य सञ्चालन गर्न विश्वविद्यालयकै पहलमा गत वर्ष नेपाल सरकारबाट UGC मार्फत् प्राप्त २ करोड रूपैयाबाट विशेष अनुसन्धान कार्य चलिरहेको छ भने यो वर्ष अनुसन्धान केन्द्रहरू मार्फत् नै अनुसन्धान कार्य सञ्चालन गर्न विश्वविद्यालयकै विशेष पहलमा रकम बढाएर १५ करोडमा पु¥याइएको छ । विश्वविद्यालय अनुदान आयोगबाट उक्त रकम निकाशा हुने वित्तिकै अनुसन्धान कार्य द्रुततर गतिमा अगाडि बढ्ने छ । 

ग) धेरै सरकारी क्षेत्रहरुबाट गैर सरकारी संस्था (NGO/INGO) मार्फत् आफ्ना अनुसन्धान कार्यहरु गराइरहेको सन्दर्भमा नेपाल सरकारका सबै मन्त्रालय, योजना आयोग, प्रहरी तथा नेपाली सेनामा आ आफ्नो मातहतका अध्ययन अनुसन्धान कार्यहरू गैर सरकारी संस्था मार्फत् गरिने कार्यलाई स्थगित गरी सबै अनुसन्धान कार्यहरू G to G मार्फत् त्रि.वि. बाट गराउने सम्बन्धमा पत्राचार र छलफलसँगै आवश्यक प्रक्रिया अगाडि बढिरहेको । विश्वविद्यालयको विशेष पहलमा केही योजनाहरू प्राप्त पनि भई सकेको । 

घ) विगत लामो समयदेखि निस्कृय अवस्थामा रहेको त्रि.वि. “अनुसन्धान विकास तथा समन्वय परिषद्लाई” शिक्षाध्यक्षको अध्यक्षतामा सकृय तुल्याई त्यसै मातहतमा IRC समेत गठन गरि सकिएको । त्रि.वि. को अनुसन्धान नीतिलाई सहजीकरण गर्दै धेरै शिक्षकहरूलाई अनुसन्धानमा आकर्षित गर्न एक कार्यदल गठन गरि काम अगाडि बढाइएको । सबै अनुसन्धान कार्यलाई एकद्वार प्रणाली अन्तर्गत अभिलेखीकरण गर्ने योजना बनाइएको । 

ङ) Collaboration Research का लागि विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग त्रि.वि. अल्मुनाई मार्फत् सहकार्य गर्न पत्राचार गरिएको र कतिपय संस्थाहरुबाट सहकार्यका लागि उत्सुकता प्रकट पनि गरिएको । 

(४) निश्चित शैक्षिक पात्रोः 

क) विगत ८ महिनादेखि विश्वविद्यालयमा भौतिक उपस्थितिमा प्रत्यक्ष कक्षाहरू सञ्चालन हुन नसकेको अवस्थामा पनि शैक्षिक पात्रोलाई महामारीबाट पुग्न सक्ने क्षतिलाई न्यूनिकरण हुने गरि वैकल्पिक शिक्षण विधि अपनाइ कक्षा सञ्चालन/परीक्षा सञ्चालन सुचारु गरिराखेको र गर्ने क्रममा रहेको । 

ख) आगामी शैक्षिक सत्रदेखि यसलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्दै एकरूपता कायम गर्नका लागि प्रक्रियालाई अगाडि बढाइएको । 

(५) परीक्षा प्रणालीमा सुधारः 

क) हाम्रो परीक्षा प्रणालीको "Data Base" पुरानो प्रविधिमा आधारित रहेकोमा यसलाई आधुनिक प्रविधि अनुरूप EMIS प्रणालीमा रूपान्तरण गर्ने कार्य लगभग ९०% पुरा भएको । निकट भविष्यमा नै सबै परीक्षा सम्बन्धी फारमहरू अनलाईन विधिबाट भर्ने प्रक्रियालाई थालनी गर्न र तत्काल Transcript उपलव्ध गराउने गरी सबै व्यवस्था मिलाउन तदारुकताका साथ काम अगाडि बढेको । 

ख) हाम्रो Grade Point र transcript मा नै विविधता देखिएको हुँदा त्यसलाई एक रूपता दिन गठन गरिएको कार्यदलले आफ्नो सुझाव प्रस्तुत गरिसकेको । त्यसलाई अन्तिम रूप दिई कार्यान्वयनमा लगाउन प्रक्रिया अगाडि बढिरहेको । 

ग) त्यसैगरी कार्य दलले दिएको सुझाव अनुसार Credit Transfer को समुचित व्यवस्था गर्न नीति निर्माण गर्न प्रक्रिया अगाडि बढिरहेको । 

घ) विगतमा ११ जनासम्म परीक्षा सह–नियन्त्रकको नियुक्ति गर्ने गरिएकोमा मितव्ययितालाई ध्यानमा राखी उक्त संख्या घटाएर ७ (उपत्यका बाहिर ४+केन्द्रमा ३) मा सीमित गरिएको । 

ङ) परीक्षाको नतिजा सकेसम्म छिटो प्रकाशन गर्न तालिका बनाई तालिका अनुसार ताकेता गर्न परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिईसकिएको ।

च) परीक्षा नियन्त्रण कार्यालय र डीन कार्यालयबाट लिइने परीक्षाहरूमा सामञ्जस्यता कायम गर्न र परीक्षाको खर्चमा देखिएको विविधतालाई एकरूपतामा ल्याउन एक कार्यदल गठन गरि अध्ययन प्रक्रियालाई अगाडि बढाइएको । 

(६) बजारमुखी स्वरोजगारमूलक जनशक्ति उत्पादनः 

क) राष्ट्रनिर्माणमा आवश्यक पर्ने दक्ष एवं बजारमुखी स्वरोजगारमूलक जनशक्ति उत्पादन गर्ने कार्यका निमित्त राष्ट्रिय योजना आयोगसँग समन्वय गरी अन्तरक्रिया अगाडि बढाइएको । 

ख) प्राविधिक शिक्षालाई प्राथमिकता दिने त्रि.वि. को नीति अनुरूप त्रि.वि. का क्याम्पस नभएको प्रदेशमा मात्र नेपाल सरकारको माग अनुसार क्रमशः प्रदेश नं. २, ५, र ७ मा इन्जिनियरिङ्ग क्याम्पस र प्रदेश नं. १, २ र ५ वा ७ मा NATHM द्वारा सञ्चालन हुने पर्यटन शिक्षा अध्यापन हुने क्याम्पसको सम्भाव्यता अध्ययनको कार्य भइरहेको । 

ग) त्रि.वि.बाट उत्पादन भएको जनशक्तिलाई बजारमा सहज प्रवेश दिलाउन उपभोक्ताको माग अनुरूप पाठ्यक्रम परिमार्जन गर्न अन्तक्र्रिया गर्ने योजना COVID-19 का कारणले नसकिएको । स्थिति सहज हुने वित्तिकै यो कार्यक्रम शुरु गर्ने योजना रहेको । 

(७) प्राध्यापकहरूको क्षमता अभिवृद्धि 

क) प्राध्यापकहरूको क्षमता अभिवृद्धि गर्ने योजना अनुरुप लगभग हालसम्म ६००० शिक्षकलाई प्रविधि मैत्री बनाउन तालिम दिई सकिएको, अनलाइन शिक्षण विधिको तालिम शुरु भइरहेको, 

ख) अनुसन्धानको रकमलाई बढाएर बढीभन्दा बढी शिक्षकहरुलाई अनुसन्धानमा संलग्न गराउने प्रकृया अगाडि बढाइएको । 

ग) वृत्तिविकास कार्यक्रम अन्तर्गत शिक्षक कर्मचारीलाई उच्च अध्ययन र तालिममा संलग्न गराउने कार्यक्रम महामारीको कारणले केही ढिलो हुँन गएको । 

घ) बाह्य विश्वविद्यालयसँगको Faculty Exchange Program का कार्यहरू भने महामारीको कारणले व्यवस्था गर्न नसकिएको । 

ङ) शिक्षकहरूको पदोन्नतिको लागि नियमित विज्ञापन गर्ने कार्य अन्तिम चरणमा पुगेको। प्राध्यापकहरूको मर्यादाक्रमलाई लागू गर्न, संवैधानिक अंगहरूको नियुक्तिमा प्राध्यापकहरूलाई पनि समावेश गराउन, राष्ट्रिय स्तरका विभूषण, मान–पदवीबाट विभुषित गरिने व्यक्तिहरुको नाम सिफारिसको अधिकार विश्वविद्यालय नेतृत्वलाई दिन, सरकारी स्तरका काम कार्यवाहीमा आवश्यक पर्ने विज्ञहरूको नियुक्तिमा विश्वविद्यालयका प्राध्यापकहरूलाई प्राथमिकता दिनु पर्ने जस्ता महत्वपूर्ण विषयहरू विश्वविद्यालयको लामो इतिहासमा पहिलोपल्ट त्रि.वि. सभामा नै प्रवेश गराई कुलपति तथा सह-कुलपतिको ध्यान आकृष्ट गराइएको । 

(८) क्याम्पसहरूको प्रभावकारी नियमन 

क्याम्पसहरूको प्रभावकारी नियमनको लागि अनुगमन निर्देशनालय र QAA निर्देशनालयलाई सक्रीय गरिएको, सम्बन्धन प्राप्त क्याम्पसहरूलाई नवीकरणको लागि सूचना समेत प्रकाशित गरि सकिएको र आवश्यक प्रविधिको प्रयोग गरि अनुगमन कार्यलाई अगाडि बढाउनेतर्फ कार्य योजना बनाइएको । 

(९) सरकार तथा उपभोक्ताहरूसँग समन्वय गरी पाठयक्रम परिमार्जनः 

यस सम्बन्धी गरिएका कार्यहरू बुँदा नं. ६ मा उल्लेख गरिसकिएको । 

(१०) त्रिभुवन विश्वविद्यालयलाई अन्तर्राष्ट्रियकरण गर्दै जाने : 

क) हाम्रा पाठ्यक्रमहरू कसरी विदेशी विश्वविद्यालयहरूमा सञ्चालन गर्न सकिन्छ अथवा के कस्ता कार्यक्रमहरू नेपालमा सञ्चालन गर्दा विदेशी विद्यार्थीहरूलाई आकर्षण गर्न सकिन्छ भन्ने विषयमा हामीसँग MOU गरेका विश्वविद्यालयहरू तथा विदेशमा विभिन्न शैक्षिक संस्थाहरूसँग आबद्ध रहेका नेपाली Faculty र संघ–संस्था (NRN, TU Alumni), हरूसँग समन्वय गरी विश्वविद्यालयलाई अन्तर्राष्ट्रियकरण गर्दै लैजाने पहल गरिएको । 

ख) त्यसैगरी समता स्कूल/कलेज मार्फत् हाम्रो पाठ्यक्रमहरू विदेशी विश्वविद्यालयहरूमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने बारे छलफल अगाडि बढाइएको । नेपाल सरकार र मित्रराष्ट्र चीन बीच चिनका महामहीम राष्ट्रपतिको भ्रमणको बेला गरिएको द्विपक्षीय सम्झौता अनुरूप त्रि.वि.मा एक Confucious Institute स्थापना गर्ने सिलसिलामा विश्वभाषा क्याम्पसमा स्थापनाको क्रममा रहेको । 

ग) गत साल सम्झौता गरिए अनुसार Border Mission Ltd. Singapore को सहयोगमा त्रि.वि.मा International Institute of Entrepreneurship को स्थापनाको लागि भवन निर्माणको सम्झौताको क्रममा रहेको । 

घ) “टाइम्स हायर एजुकेशन” ले यस वर्ष गरेको मूल्याङ्कनमा त्रि.वि. को गत वर्षको तुलनामा स्तर वृद्धि भई संसारका उत्कृष्ट ८०१ देखि १००० विश्वविद्यालयहरुको सूचीमा पार्न सफल भएको । त्यसैगरी Global Innovation Index मा गत वर्षको तुलनामा यस वर्ष नेपालले आफ्नो अनुसन्धान तथा नवप्रवर्तनमा विश्वमा १०९ स्थानबाट ९५ औँ स्थानमा उक्लन सफल भएको र त्यसमा त्रि.वि. कै उल्लेख्य योगदान रहेको । 

ङ) गत साल सम्झौता गरिए अनुसार Border Mission Ltd. Singapore को सहयोगमा त्रि.वि. मा International Institute of Entrepreneurship को स्थापनाको लागि भवन निर्माणको सम्झौताको क्रममा रहेको । 

(११) विद्यार्थी वर्गको लागि क्याम्पसमा खेलकुदको समुचित व्यवस्था तथा सम्बन्धन प्राप्त कलेजहरूमा १०% छात्रवृत्तिको व्यवस्था 

सबै सम्बन्धन प्राप्त क्याम्पसहरूको नियमित नवीकरण (Renew) गर्न सूचना जारी गरिसकिएको, सम्बन्धन प्राप्त कलेजहरूलाई प्रविधिमैत्री बनाउन सबै क्याम्पसहरूलाई TU को Foramat अनुसार आ– आफ्नो E-mail ID तयार गर्न निर्देशन दिई सकिएको र भोलीका दिनमा IT को प्रयोगबाटै कतिपय सूचनाहरू संकलन गर्न सकिने र नियमन गर्न बल पुग्ने र भर्ना भएका विद्यार्थीहरूको तथ्यांक संकलन गर्न सकिने र यसैको आधारमा १०% छात्रवृत्तिलाई लागू गर्न योजना तय गरिएको 

(१२) त्रि.वि. को सम्पत्ति पहिचान गर्ने, नियमन गर्ने, संरक्षण गर्ने र संस्थागत हितमा प्रयोग गर्नेः

सामान्य प्रशासन महाशाखाको तथ्यांक र यस सम्बन्धी पहिला बनेका कार्यदलहरूको रिपोर्ट संकलन गरि त्यसैको आधारमा गत त्रि.वि.सभामार्फत नै सम्माननीय प्रधानमन्त्री तथा मा. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूलाई त्रि.वि.ले उपभोग गर्दे आएको भोगाधिकारको जग्गालाई त्रि.वि. कै नाममा नामसारी गर्न पहल गरिएको, विभिन्न निकायको बाँकी बक्यौता त्रि.वि. ले असूल उपर गर्नु पर्नेलाई असूल उपर गर्न ताकेता गरिएको र भविष्यमा यसलाई अझ बढी प्रभावकारी बनाउने एक छुट्टै शाखाको स्थापना गर्ने सोचलाई अगाडि बढाइएको । 

(१३) त्रि.वि. अल्यूमुनाइलाई विश्वविद्यालयको हितमा प्रयोग गर्नेः 

यस विषयलाई बुँदा नं. १० मा उल्लेख गरिए अनुसार कार्यहरू अगाडि बढाइएको । 

(१४) सुशासनमा जोडः 

क) त्रि.वि.को नीति निर्माण, कार्यान्वयन तथा आर्थिक पारदर्शितामा जोड दिई सोही अनुसार कार्यहरू अगाडि बढाइएको । 

ख) त्रि.वि.मा बर्षेनी बेरुजु बढ्रदै गएको सन्दर्भमा लामो समयदेखि फछ्र्यौट हुन बाँकी वेरुजुलाई न्यूनिकरण गर्न र संपरीक्षण गर्न एक जना आर्थिक विज्ञ र अन्य केही लेखा परीक्षण विज्ञहरुलाई नियुक्त गरी काम द्रूततर गतिमा अगाडि बढाई सकिएको । 

ग) त्रि.वि. को अभिलेखलाई अझ व्यवस्थित गर्न सबै निकायमा सूचना प्रविधि IT को प्रयोगलाई महत्व दिई कार्य अगाडि बढाई सकिएको । 

घ) निश्चित मापदण्डको आधारमा विश्वविद्यालयमा पदाधिकारी चयन गर्ने कार्यको थालनी त्रि.वि. केन्द्रीय विभागहरूबाटै शुरु गरिएको । 

ङ) डीन, कार्यकारी निर्देशक, क्याम्पस प्रमुख, महाशाखा प्रमुखहरूसँग नियमित अन्तरक्रिया गरी समस्याको पहिचान गर्ने र त्यसको समाधान गर्ने प्रकृयाको थालनी गरिएको । 

च) सहायक डीन र सह–परीक्षा नियन्त्रकहरूको अनावश्यक दरबन्दी संख्यामा क्रमशः कटौती गर्दै आर्थिक मितव्ययितालाई जोड दिइएको । 

(१५) कानुनी रूपमा सवल त्रि.वि. :

क) विश्वविद्यालयलाई कानुनी रूपमा सबल बनाउन यसका नियम विनियमहरूको समय सापेक्ष परिमार्जन तथा संशोधन गर्न कानुनका प्राध्यापक तथा त्रि.वि. का प्रशासनविद्हरु सम्मिलित एक कार्यदल बनाई कार्य प्रारम्भ गर्न प्रक्रिया अगाडि बढाइएको ।

ख) त्रि.वि. लाई संघीयताको मर्म अनुरूप र नेपालमा बहुविश्वविद्यालय स्थापना पश्चात समय सापेक्ष पुनर्संरचना गर्नुपर्ने आवश्यकता अनुसार सबै सरोकारवाला, सरकार, अन्य विश्वविद्यालयका पदाधिकारी, शिक्षाविद्हरूसँग राय सुझाव संकलन गरी निष्कर्षमा पुग्न त्रि.वि. का शिक्षाध्यक्षको संयोजकत्वमा एक कार्यदल गठन गरी प्रक्रिया अगाडि बढाइएको । 

विस्तृतमा उपकुलपतिका एक वर्षे उपलब्धीहरु हेर्न डाउनलोड गर्नुहोस। 

 

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com