२०७७ माघ १२, साेमबार

img-responsive

०९:३८:२१

 

भोजपुरको मुन्दुम ट्रेल शिलान्यास

गोठालो खबर
वाई राज विष्ट , २०७७ मङ्सिर २२, साेमबार,०५:०१:PM  
img-responsive

भोजपुर, २२ मंसिर ।
नेपाल सरकारको घुम्नैपर्ने १०० पर्यटकिय गन्तव्य भित्र पर्न सफल भोजपुरको मुन्दुम ट्रेलको शिलान्यास गरिएको छ । 
भोजपुरको पाँचधारेबाट सिलिचुङ डाँडासम्मको करीब ५८ किलोमिटर पदमार्ग मध्ये  पहिलो  चरणमा १२ किलोमिटरमा पदमार्ग निर्माणको काम थालनी गरिएको हो । एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काले सोमबार शिलान्यास गरेका हुन् ।

प्रदेश सरकारको ३५ प्रतिशत, स्वीस सरकारको ३५ प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत गरी रु. ९९ लाख २२ हजार ७८४ लागतमा पहिलो चरणको पदमार्ग निर्माणको काम थालनी गरिएको गाउँपालिकाले जनाएको छ ।

छिमेकी जिल्ला खोटाङसंग जोडिएको मैयुङ क्षेत्र  पर्यटकिय पदमार्ग ‘मुन्दुम ट्रेल’ का रुपमा विकास गर्न कामको  थालनी गरिएको हो । पदमार्गमा जाने आन्तिरिक तथा वाह्य पर्यटकको सुविधालाई ध्यानमा राख्दै संरचनाहरु निर्माण गरिने जनाइएको छ ।

किराँत राईहरुको संस्कार,सस्कृतिसंग जोडिएका विभिन्न टिपिकल खानाको व्यवस्था गरिने जनाइएको छ । पर्यटकहरुको पदमार्गमा सहजयात्राका लागि विभिन्न जानकारी मुलक वोर्डहरुसमेत राखिने पदमार्ग निर्माण समितिका अध्यक्ष पावीहाङ राईले जानकारी दिए । अध्यक्ष राईले भने,‘ आन्तरिक तथा बाह्य पर्यटकको सहजताको लागि पदमार्ग निर्माणको काम थालनी गरिएको छ, प्राकृतिक स्वरुपलाई यथावत राख्दै सिमेन्टको प्रयोग नगरी स्थानीय श्रोत साधनको प्रयोग गरेर पहिलो चरणको पदमार्गको निर्माणको काम शुरु भएको छ ।’

पदमार्गको लागि रु. दुई करोड लागत मध्ये पहिलो चरणमा रु. ९९ लाख बराबरको हुनेछ भने दोश्रो चरणमा चिया घर निर्माण, खानेपानी, शौचालय, विश्राम स्थल निर्माणसंगै पर्यटकहरुको लागि खाना बस्नको लागि अन्य संरचना निर्माण हुने अध्यक्ष राईले जानकारी दिए । ‘पहिलो चरणको काम शुरु भयो, यस बजेटले १२ किलोमिटर मदमार्ग निर्माण हुनेछ, त्यसपछि बाँकी बजेटले अन्य संरचनाहरु निर्माण हुनेछन्।’ अध्यक्ष राईले भने।

मुन्दुम ट्रेलको विकासले गाउँपालिकालाई आर्थिक विकासमा टेवा पुग्ने गाउँपालिकाले जनाएको छ । पर्यटकिय क्षेत्रको विकासमा गाउँपालिकाले प्राथमिकताका साथ काम अघि बढाएको गाउँपालिका उपाध्यक्ष इन्द्रवती राईले बताइन् । उपाध्यक्ष राईले भनिन्,‘गाउँपालिकाले यहाँका सम्भावनालाई पहिचान गरेर आफ्ना गतिविध वढाएको छ, गाउँपालिकालाई प्रदेश १ को पहिलो उज्यालो पालिकाको रुपमा घोषणा गर्न सफल भएका छौँ, अब पर्यटकिय क्षेत्रको विकासमा जुटेका छौँ यसले यहाँको आर्थिक विकासमा टेवा पुग्नेमा हामी आशाबादी छौँ ।’

कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले पर्यटकहरुको सहज आवागमनका लागि होटल व्यवसायको विस्तारमा ध्यान दिनुपर्ने धारणा राखे । हावापानीको हिसाबले हिमालमा जस्तो ठण्डा र तराई जस्तो गरम नहुने सन्तुलित हावापानी र दृश्यावलोकन गर्न सकिने प्रमुख पदस्थल भएको उक्त पदमार्ग क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन र पर्यटनलाई व्यावसायिकरण गर्न यो पदमार्गले सहयोग पु¥याउने गाउँपालिका अध्यक्ष धु्रवराज राईले बताए ।

यहाँको डाँडाबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंघा, कुम्भकर्ण लगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमश्रृङ्खलाको दृश्यालोकन गर्न सकिन्छ ।पदमार्ग निर्माणको काम डेढ वर्षमा सम्पन्न हुने मुन्दुम पदमार्गका टिम लिडर हिराबाबु थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com