२०७७ माघ १२, साेमबार

img-responsive

०९:५९:५६

 

बजारीकरण नहुँदा जडिबुटी कृषक मारमा, ठूला व्यापारीलाई लाभ

गोठालो खबर
वाई राज विष्ट , २०७७ मङ्सिर २१, आइतबार ,०६:५४:PM  
img-responsive

भोजपुर , २१ मंसिर। भोजपुर तिम्माका जडीबुटी कृषकले उत्पादित बस्तुले उचित मुल्य नपाएको बताएका छन् । पकेट क्षेत्र घोषणा भएपछि यहाँ विभिन्न जातका बहुमुल्य जडीबुटीको उत्पादन भएपनि बजार मुल्य थाहा नपाउदा उनीहरु समस्यामा परेका हुन् । जडीबुटीको बजार मुल्यको विषयमा ज्ञान नहुँदा विचौलियाले त्यसको लाभ लिने गरेको कृषकहरुको भनाइ छ । सरकारले जडीबुटीको मुल्य तोकिदिएमा बिक्री वितरणमा सहजता हुने कृषकहरु बताउँछन् । 

स्थानीयबासी जडीबुटी व्यवसायी मानबहादुर राईले भने,‘हामीले धेरै बहुमुल्य जडीबुटीको खेती गरिरहेका छौँ, उत्पादन पनि राम्रो छ तर बजार मुल्यको ज्ञान नहुँदा समस्या छ, मेरो बुझाईमा हामी कृषकले बिक्री गरेको बस्तुबाट ३२ प्रतिशत मात्र लाभ पाउछौँ भने ६८ प्रतिशत  लाभ ठूला व्यापारीले लिने गरेको अवस्था छ,यसको निराकरण सरकारबाट हुन आवश्यक छ ।’

टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका अधिकांश कृषकहरुले चिराइतो, सतुवा, सेतक चिनी, शक्ती गुम्वा, पदम चाल, वन मुला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोड सल्ला, विखुम्बा लगाएत जडीबुटीको खेती गर्दै आएका छन् । यहाँका एक जना कृषकले ६२ मनसम्म चिराईतो उत्पादन गर्दै आएका छन् । अर्का स्थानीय जडीबुटी व्यवसायी खेमराज राउतले भने,‘ मैले करीब ४० रोपनी क्षेत्रफलमा चिराइतो लगाएत अन्य जडीबुटीको खेती गरिरहेको छु, विगतका वर्षमा मैले ६२ मनसम्म चिराइतो उत्पादन गरेको छु, त्यस अवस्थामा मैलै प्रतिमन रु. पाँच हजारमा विक्री गर्न बाध्य भए त्यसबाट आफ्नो लगानी नै उठाउन गाह्रो छ, यस वर्ष प्रतिमन रु. १२ हजारमा बिक्री गरे त्यो पनि मेहनतको आधारमा कम नै हो, सरकारले मुल्य निर्धारण गरी दिए राम्रो हुने थियो ।’

किसानहरुको समस्यालाई सरोकारवाला पक्ष समक्ष पु¥याउने लक्ष्यका साथ स्थानीय संगम जडीबुटी उद्योगले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम मार्फत उनीहरुले आफ्नो गुनासो पोखेका हुन् । साथै उनीहरुले आफ्नो क्षेत्रमा धेरै प्रजातीका जडीबुटी पाउने भएपनि पहिचान गर्न गाह्रो भएको तथा सो सम्बन्धी ज्ञानको अभावले त्यस्ता प्रजातीका जडीबुटीको खेती गर्न समस्या भएको बताएका छन् । स्थानीयले उत्पादन गरेका बस्तुको भण्डारण तथा ग्रेडिङ गर्ने प्रविधि नहुँदा पनि उचित मुल्य पाउन नसकेको व्यवसायीहरुको भनाइ छ । 

जडीबुटीको संकलन तथा भण्डारणका लागि सरकारबाट व्यवहारिक ज्ञान तथा भण्डारण केन्द्रको स्थापना गर्न सके किसानलाई केहि राहत हुने स्थानीय जडीबुटी ब्यवसायी संगम राईले बताउनुभयो । उत्पादित बस्तुले उचित मुल्य नपाउनुमा किसानको पनि केहि कमजोरी रहेको उनको भनाइ छ । व्यवसायी राईले भने,‘बजार मुल्यमा समस्या छ, हामी किसानले उचित मुल्य नपाएको सत्य हो, मैले २०७० सालबाट जडीबुटी खेती गरिरहेको छु, यसबाट मलाई के थाहा भयो भने हामी कृषकले पनि बस्तुको संकलन तथा भण्डारण गर्दा कमजोरी गरिरहेका रहेछौँ, उचित ढंगले व्यवस्थापन गर्न नसक्दा पनि राम्रो मुल्य लिन सकेका छैनौ, सरकारको तर्फबाट भण्डारण केन्द्र स्थापना गरिदिए हामीलाई धेरै सहजता हुने थियो।’
मुल्यमा गिरावट आएपछि पछिल्लो समयमा जडीबुटीको उत्पादनमा पनि केहि कमी आएको व्यवसायी राईले बताए । मुल्यमा घटबढ हुँदा उत्पादनमा पनि असर परेको उनको भनाइ छ । ‘विगतका वर्षको तुलनामा उत्पादन पनि कमी हुँदै गएको छ, गत वर्ष जिल्लाबाट दुई हजार मन चिराइतो बाहिर गएको थियो तर मुल्यमा गिराबट आएपछि कृषकहरु निरुत्साहित भएका छन्, यस वर्ष करीब १५ सय क्विन्टल हाराहारीमा मात्र उत्पादन भएको छ, सतुवाको पनि उत्पादन त्यस्तै छ, वर्षेणी घट्ने क्रममा छ, यस वर्ष त्यही १० क्विन्टल जती गाँना र दुई लाख जति विरुवा बाहिर निकासी भएको तथ्याङ छ’। व्यवसायी राईले भने । 

जडीबुटीको उत्पादन भएपनि बजारीकरणमा केहि कठिनाई रहेको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ । यसको लागि सरकारको उच्च तहबाट भारत लगाएत अन्य देशसंग  पहल आवश्यक देखिएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए । भोजपुरको माथिल्लो भेगमा जडीबुटीको प्रशस्त सम्भावना रहेकोले यसको विस्तार गर्दै किसानलाई सकेको सहयोग गर्ने उनको भनाइ छ । प्रमुख घिमिरेले भने,‘बजारको मुल्य थाहा नपाउदा कृषक मारमा छन्, त्यसको लाभ ठूला व्यापारीले लिदै आएका छन्, यसको लागि सरकारको उच्च तहबाट नै पहल हुन आवश्यक छ, हाम्रो तहबाट मात्र बजारीकरणको समस्या हटाउन सम्भव छैन् ।’ 

भोजपुर जिल्लाको माथिल्लो भेग तिम्मा, किमालुङ, हेलौछा, मझौले, सुन्तले लगाएतका ठाँउमा यी बाहेकका अन्य धेरै प्रजातीका जडीबुटी पाउने भएपनि पहिचान गर्न समस्या हुने गरेकोले सरकारले यसको खोजी गर्नु पर्ने व्यवसायीहरुको सुझाब छ । 

टेम्केमैयुङ गाउँपालिका– १ तिम्माका स्थानीय व्यवसायी संगम राईको जडीबुटी फर्म । व्यवसायी राईले  आफ्नो ‘संगम जडिबुटी नर्सरी उद्योग’ मा रु.३५ लाख लागतमा साढे दुई रोपनी क्षेत्रफलमा सतुवाको खेती गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com