२०७७ फागुन १७, साेमबार

img-responsive

०४:१६:०३

 

कविता :फेरिएका कखरा!

कविता :फेरिएका कखरा!

गोठालो खबर
गोठालो खबर -३ २०७७ मङ्सिर २०, शनिबार,०९:१२:AM  
img-responsive

फेरिएका कखरा!

     आमा,
मैले पढेका विद्यालय आजकाल स्कुल भएछ,
कखरा फेरिएर नयाँ भएछ।
कपुरि क आजकाल कप्टि भएछ,
खरि ख बिग्रेर खत्तम भएछ,
गाईगोडे कुहिएर होला गन्हाउन थालेछ,
घर जस्तो घ त सारै घटिया भएछ,
ङ बिमारि भएर होला ङिच्च परेछ,
सबै कखराहरू फेरिएर नयाँभएछ ।

  बुबा आजकाल त,
मैले सानै देखेको चरिचुच्चे त खुब चाकडि गर्दो रहेछ,
छाता छ छलकपट गर्दो रहेछ,
डाडु ज पनि सारै जाली रहेछ,
खुट्टा झारेर बसेको झ झेलि रहेछ,
साँच्चै १ कखरा फेरिएर नयाँ भएछ ।

  हेर त दिदी,
ओठ काटेको ट पनि निको भएर टिकटक गर्न थालेछ,
सबैलाई मिलाउने कण्ठमिला ठ ठग्न थालेछ,
डाङ्डुङ्गे ड साह्रै डरपोक भएछ,
बाह्र वर्ष भयो क्यार कुकुर पुछ्रे ढले ढुड्ग्रो बङ्ग्याएछ,
पत्याउनै गाह्रो लाग्ने गरि
कखरा फेरिएर नयाँ भएछ।

  दाजु,
थाहा छ तिमिलाईरु
कोदालि खन्ने त अझै तड्पिरहेछ,
घोसे मुन्टो लगाउने थ त झन् थप्पड हान्न थालेछ,
कत्ति दयालु द दादागिरि गर्दो रहेछ,
ध ले पहिला त काँधमा लौरि मात्र बोकेको थियो,
अब त धम्कि नै दिन थालेछ,
सँधै निहुरिने न नसक्नुको भएछ,
लौन कखरा फेरिएर नयाँ भएछ ।

बाजे,
धर्म गर्ने पाटि प आजकाल पापि भएछ,
फ को छोरि बढेर फेसबुक चलाउँछे,
बाटुलो थियो ब बुढो भएर होला बकबास भएछ,
भकारि जत्रो भ खियर भकुण्डो भएछ,
राम्रो थियो म तर धेरै पढेर मूर्ख भएछ,
पुरै कखरा फेरिएर नयाँ भएछ।

   बज्यै,
बुढो य अझै यज्ञ गरि रहेछ,
खाँबे र बम पड्काउँदैछ रकेट बनेर,
हात भाँचिएको ल लाठि बोक्तैछ निको भएर,
तलथोप्लि व वकिल भएछ,
हे बरै, कखरा फेरिएर नयाँ भएछ ।

  हेर साथि,
मोटो श साह्रै शंका गर्छ,
पेट काटेको ष निको भएर षड्यन्त्र गर्छ,
त्यहि षड्यन्त्रले होला पतलो स संकटमा छ,
हलो जोत्ने ह हत्यारा बनेको छ,
क्षेत्रिको हिम्मत क्षति भएको छ,
तर्साउने त्रको त्रास बढेको छ,
ज्ञानी ज्ञ कोठा भित्रै सडेको ।
ञ र ण मात्रै चुपचाप छन्,
तर, नेपालको राजनीति झैँ,
कखरा फेरिएर नयाँ भएछन् ।

-संग्राम किराँती
      भोजपुर ।

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com