२०७७ माघ ७, बुधबार

img-responsive

०९:२१:१९

 

चितवनको माडीमा सामूहिक जडीबुटी घाँसखेती अलपत्र

गोठालो खबर
गोठालो खबर २०७७ मङ्सिर १९, शुक्रबार,०३:३५:PM  
img-responsive

सन्जय चौधरी , चितवन 

चितवन, मंसिर १७ । चितवनको माडीमा गरिएको सामूहिक जडीबुटी घाँसखेती अलपत्र परेको छ । २ वर्ष पहिले सुरु गरिएको खेतीबाट स्थानीय लाभान्वित हुन सकेका छैनन् । सुगन्धित तेलका लागि बिरुवा हुकाईएपनि प्रशोधनको काम हुन नसक्दा खेतीप्रतिनै स्थानीय निराश छन् । सार्वजनिक निजी साझेदारी (पिपि मोडेल) मा गरिएको खेतीमा प्रदेश सरकारले ५० लाख लगानी गरेपनि स्थानीयले एक रुपैयाँ आम्दानी गर्न पाएका छैनन् । माडी नगरपालिका वडा नम्बर १ को पाण्डवनगरमा ५ जना र द्रोपतिनगरमा ३४ जनाको नम्बरी जग्गा सामूहिक खेतीलाई दिइएको छ । यस्तै स्कुलको साढे ३ विघा र अन्य प्रतिजग्गा र नदी उकासका जग्गा उपयोग गरिएको छ ।

दुबै गाउँको करिब २४ विघा जग्गामा गरिएको सामूहिक खेतीबाट हालसम्म किसानले कुनै मुनाफ लिन पाएका छैनन् । स्थानीय तुलबहादुर नेपालीको साढे २ विघामा पनि जडीबुटी खेती छ । केही किसानले मुनाफा नपाएपछि गोद्धकदेखि पाण्डवनगर जाने धार्मिक मार्ग आसपासको खेतीमा आगो लगाएर नष्ट गरिदिएका छन् । लेमनग्रास, सेफ्टोनेला, तामेरोजा, क्यामोमाइल जातका जडीबुटी घाँसको खेती गरिएको छ । एक पटक रोपेपछि ५ वर्षसम्म उत्पादन लिन सकिन्छ । तेल निकालिसकेको घाँसबाट जैविक मल बनाउन पनि सकिन्छ । यो घाँस प्रशोधन गरेर सुगन्धित तेल निकाल्न सकिन्छ । वाष्पिकरण विधिबाट मेसीनले सुगन्धित तेल निकाल्छ । यो मेसीनलाई करिब ३५ लाख पर्छ । मेसीन नहुदा प्रशोधनको कामनै अलपत्र छ । सुगन्धित तेल औषधि, कस्मेटिक तथा ट्वाइलेटरी काममा प्रयोग गर्न सकिन्छ । प्रदेश सरकार, स्थानीय र एग्रीटेक मल्टिनेशनल प्रालिबीच सम्झौता गरेर सामूहिक खेती सुरु भएको थियो । वर्षेनी चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने हात्ती, गैडा, चित्तल, बँदेलका कारण बाली जोगाउनै समस्या भएपछि केही वर्ष यता पाण्डवनगर, द्रोपतिनगरमा खेती हुनै छाडेको थियो । यो रेवा नदीको डुबान क्षेत्र पनि हो । सुगन्धित तेलका लागि गरिने घाँसखेती जनावरले नखाने तर आम्दानी लिन सकिने देखेरै किसान उत्साहीत बनेका थिए । तर, सोचेजस्तो नभएपछि किसान चिन्तित छन् । 

द्रोपतिनगर–पाण्डवनगर जडीबुटी खेती समूहका अध्यक्ष धनबहादुर गुरुङले बेलैमा घाँस नकाट्दा लाखौँ आम्दानी गुमेको बताउनुहुन्छ । उहाँका अनुसार सुरुको ६ महिनामा र त्यसपछि हरेक ३ महिनामा घाँस काटेर प्रशोधन गर्नुपर्ने हुन्छ ।

सुगन्धित तेलको प्रतिलिटर २५ सय देखि ४५ सय रुपैयाँ पर्छ । “प्रशोधन गर्ने मेसीन छैन भन्दै घाँस काट्न एग्रीटेकले चासो दिएको छैन”, उहाँले भन्नुभयो, “बेलैमा घाँस नकाट्दा खेर गैरहेकोे छ ।” उहाँका अनुसार लकडाउनका बेला काटिएको केही घाँस प्रशोधनमा नलैजादा त्यसै खेर गएको बताउनुहुन्छ । करिब ७ महिना पहिले काटिएको घाँसलाई शुक्रनगरमा लगेर प्रशोधन गरिएको थियो । त्यसपछि घाँस काटिएको छैन । “२–३ महिनामा नकाटे तेल कम आउँछ, पात छिप्पिए पछि काम लाग्दैन”, उहाँले भन्नुभयो, “बारी पुरै हरियाली छ, काट्ने कि नकाट्नेमै अलमलमा छौँ ।” सामूहिक खेती गर्नुपहिले ससाना गरा सम्माएर,  खोल्साखोल्सी पुरेर चक्लाबन्दी गरिएको थियो । त्यही बेलाको करिब ५ लाख ऋण ट्याक्टरलाई अझै तिर्न नसकिएको उहाँको भनाई छ । सिरु घारी र बाँझो जमिनमा लहलहाउँदो घाँस हुर्किएका छन् । बारीनै सुगन्धले भरिपूर्ण छ । तर, किसान प्रफुल्लित छैनन् । जडीबुटी घाँसखेतीबाट मुनाफा नपाएपछि केही किसानले कागति खेती गर्ने योजना बनाइरहेका छन् । “एग्रीटेकबीचको सम्झौता रद्ध गर्न चर्को दबाब छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “किसानलाई हतोत्साही हुन नदिन उहाँहरु फिल्डमा चाडै आउनुपर्छ ।”

\जडीबुटी घाँसखेतीलाई स्थानीय सरकारले चासो नदिएको आरोप पनि लागेको छ । माडी–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल मानव वन्यजन्तु द्वन्द न्यूनिकरणका लागि सञ्चालित सामूहिक खेती अलपत्र हुन नदिन लबिङ भैरहेको बताउनुहुन्छ । जनावर र बाढीको चेपेटामा परेका यी वस्तीबाट बसाईसराई बढ्दो छ । द्रोपतिनगरमा ३६ र पाण्डवनगरमा ४२ घरधुरी छन् । स्थानीयले उत्पादन गर्ने जडीबुटी घाँसलाई प्रशोधन गरेर तेल निकाल्ने र बजारीकरण गर्ने गरी एग्रीटेक संस्थासँग सम्झौता भएको किसानहरु बताउँछन् ।

एग्रीटेक मल्टिनेशनल  प्रालिका कार्यकारी निर्देशक डम्बरबहादुर गुरुङ काम अधुरो भएको स्वीकार गर्नुहुन्छ । उहाँले समुदायकै राम्रो आयस्रोत बनाउने गरी खेती गरेकाले निराश नहुन आग्रह गर्नुभयो । उहाँले मेसीन छिटै आउने दाबी गर्नुभयो । 
 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com