२०७७ माघ ७, बुधबार

img-responsive

०९:४०:१३

 

मृत्युपछि डायलासिस पालो

गोठालो खबर
गोठालो खबर -१ २०७७ मङ्सिर १६, मङ्गलबार,०७:४८:AM  
img-responsive

झापा, १६ मंसिर ।  इलाम रोङ गाउँपालिकाका मौसम लिम्बूले आफ्नो डायलासिस गर्न आठ महिना कुर्नुपर्‍यो। डायलासिस गरिरहेका अर्का बिरामीको १५ दिनअघि मृत्यु भएपछि लिम्बूको पालो आएको हो। ‘धन्न पालो आयो। अलिक दिन भए पनि बाँच्ने भएँ’, उनी भन्छन्।

काठमाडौं जाने खर्च नभएकाले मेची प्रादेशिक अस्पतालमा निःशुल्क उपचार पाउने आसमा अस्पतालकै छेउमा आएर बसेको लिम्बूकी पत्नी धना लिम्बू सुनाउँछिन्। उनीहरू डायलासिस गर्नकै लागि अस्पतालनजिकै कोठा भाडामा लिएर बसेका छन्।

लिम्बू दम्पती मात्र होइन, निःशुल्क डायलासिस गर्न पालो पर्खिने मिर्गौला बिरामी ८० जना छन्। झापा जिल्लाभरिका सरकारी र निजी अस्पताल गरेर दैनिक ६० देखि ६५ जनाले मात्रै डायलासिस सेवा पाउँदै आएका छन्। मिर्गौला रोगीका लागि अत्यावश्यक उपचार भनेको प्रत्यारोपण र नियमित डायलासिस नै हो। आर्थिक स्रोत नहुनेलाई मिर्गौला प्रत्यारोपण निकै महँगो पर्न जान्छ। अर्कोतिर प्रत्यारोपण गराउन पनि सहज नहुँदा नियमित डायलासिसको विकल्प देखिँदैन।

झापाकै बिर्तामोडकी लक्ष्मी नेपालीले ७० वर्षका पतिलाई चार वर्षदेखि डायलासिस गराउँदै आएकी छन्। ‘पैसा नहुनेले डायलासिसको पालो पर्खिंदा पर्खिंदा मर्नुपर्छ’, नेपाली भन्छिन्, ‘टाढा गएर डायलासिस गराउन पालो पाए पनि परिवारको सम्पत्ति नै सखाप हुने रै’छ।’ निःशुल्क डायलासिस सेवामा पालो पाउन मिर्गौलाका बिरामीको प्रत्यारोपण गर्नुपर्‍यो या मृत्यु नै हुनुपर्ने अवस्था रहेको मेची अस्पतालका सूचना अधिकारी मनोज पोखरेल बताउँछन्। 

उनका अनुसार मेची अस्पतालमा दैनिक ९ जनाले निःशुल्क डायलासिस गराइरहेका छन्। तर, ८० जना बिरामी नाम लेखाएर पालो पर्खेर बसेका छन्। कुनै बिरामीले प्रत्यारोपण गर्‍यो वा मृत्यु भयो भने नाम लेखाएकाहरूलाई दर्ताका आधारमा डायलासिस गर्न खबर गर्ने गरिएको उनी सुनाउँछन्।

भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालका निर्देशक बालकृष्ण पोखरेल मिर्गौला रोगीको संख्या बढिरहेका कारण सबैलाई डायलासिस सेवा दिन सक्ने अवस्था नरहेको बताउँछन्। ‘हामीले पाँच वटा मेसिन बिहान साढे ५ बजेदेखि बेलुका साढे ८ सम्म चलाइरहेका छौं’, निर्देशक पोखरेल भन्छन्, ‘२५ जना बिरामीलाई सेवा दिएका छौं। तर, पालो पर्खिएर बस्नेको संख्या ५० भन्दा बढी छ।’

उनका अनुसार दैनिक २० जना निःशुल्क उपचार गर्ने र अन्य भने आपतकालीन अवस्थामा डायलासिस गराउनुपर्ने अवस्थाका बिरामी आउने गरेका छन्। मिर्गौला रोगीको चापलाई हेरेर ओमसाईले थप २० वटा मेसिन तत्काल जडान गर्न लागेको उनको भनाइ छ। नियमित डायलासिस गराइरहेकाबाहेक पनि झापामा १ सय ३० जना बिरामीले निःशुल्क उपचारका लागि पालो पर्खेर बसेका छन्। नियमित पालो नपाउनेहरूले शुल्क तिरेर डायलासिस गराइरहेका छन्।

 एकपटक डायलासिस गरेको ३ हजारदेखि ४ हजार रुपैयाँसम्म पर्छ। तर, सरकारले दिएको सुविधामा पालो पाउने हो भने डायलासिस निःशुल्क गराउन पाइन्छ। शुल्क तिरेर डायलासिस गराउँदै आएका कचनकवल गाउँपालिकाका राजेश यादव भन्छन्, ‘पालो कुर्दा पाएनौं। पैसा तिर्दा परिवार पाल्नै धौधौ छ।’ त्यसो त एक जना मिर्गौला रोगीले सामान्यतः सातामा दुईपटक नियमित डायलसिस गराउनुपर्छ।

झापाका चार अस्पतालमा जम्मा १५ वटा डायलासिस मेसिन छन्। मेचीमा तीन वटाबाट दैनिक ९, ओमसाई पाथीभरामा ५ वटाबाट दैनिक २५ देखि २६, बिर्तासिटमा ४ वटा १२ र बीएन्डसी अस्पतालमा ३ वटाबाट १५ देखि १६ जनाको डायलासिस हुने गर्छ। 

यीमध्ये सरकारी अस्पताल मेचीमा मिर्गौला रोगीले निःशुल्क डायलासिस सेवा पाउँदै आएका छन्। ओमसाई र बिर्तासिटीले सशुल्क र निःशुल्क दुवै, बीएन्डसीले सशुल्क उपचार सेवा दिने खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com