२०७७ माघ ७, बुधबार
१०:३६:५५
कवि ज्यू
कवि ज्यू,
तपाइको कवितामा
गोरी र पातली साली अनि सालीको ओठमा लाली मात्र छ,
तर सालीको लाली सरिको ओठको गाली त छैन नि
कवि ज्यू
तपाइको कवितामा, देश छ देश प्रेम खै ?
माया छ मन खै?
फूल छ डाली छुटेछ,
खेत छ आलि छुटेछ,
यो त खै कस्तो पो भयो हौ,
जागिर बिनाको सरकारी जस्तो,
नुन बिनाको तरकारी जस्तो ।
कतै बातमा तुक नपुगेको जस्तो,
अमिलोमा चुक नपुगेको जस्तो ।
कवि ज्यू,
ढाकर बोक्ने भरियाको कविता लेखिनु पर्छ,
त्यो भारीको पीडा कवितामा देखिनु पर्छ,
खकन र नाम्लाहरूको वेदना भेटिनु पर्छ,
थाप्लाको चोट कवितामा लेखिनु पर्छ,
अनि पो कविता,
होइन भने के कविता, होइन र ?
कवि ज्यू,
तपाईँको कवितामा प्रेमबाट माया छुटेको लेखिनु पर्छ,
मकैसँगै घुन भुटेको भेटिनु पर्छ,
दिन दाहाडै चेलीको इज्जत लुटेको देखिनु पर्छ,
ऐनासँगै स्वप्न फुटेको भेटिनु पर्छ,
तपाइको कविताले पहरा रुनु प¥यो,
लोकलाई छुनु प¥यो,
सतहमा होइन,
गहिराइमा हुनु प¥यो,
अनि पो कविता
नत्र भए के कविता होइन र ?
-संग्राम किराँती
(भोजपुर)