२०७७ मङ्सिर १६, मङ्गलबार

img-responsive

११:५८:०७

 

कविता; जीवन: तास र आस

img-responsive
गोठालो खबर -३ २०७७ कात्तिक २६, बुधबार,०८:३४:AM  
img-responsive

कविता
जीवन: तास र आस

अतीत ,वर्तमान र भविष्यलाई
शून्य आकाशको टालोमा
रहरहरूले बेरेर
जीवनलाई तास बनाई
चाहनाहरूले पछार्छु
आसहरूले बजार्छु फाटेको जीवन टालटुल गर्न
सधैँ आस जाग्छ
'यो हात त मै जित्छु कि !'

जीवन निरन्तर चलिरहन्छ
आस निरन्तर बलिरहन्छ
जीवनको आस
तास बनेर पल्टिरहन्छ , बदलिरहन्छ
जग्गा हारिन्छ
घर हारिन्छ
तर आस हारिँदैन
आफै हारिसक्दा पनि
सधैँ झिनो आसले ब्युँताउँछ
आस एउटा मक्किएको त्यान्द्रोमा पनि अडिन्छ
डुब्न लागेको घाममा पनि हुन्छ
त्यही आसले मन सम्हालिन्छ
र सधैँ बलिरहन्छ आस
'यो हात त मै जित्छु की !'

अनवरत अनवरत
अथक अथक
आसहरू जन्मिरहन्छ, चलिरहन्छ
समयले उसलाई अस्थिर पञ्जर बनाउँछ
तर आस मर्दैन
आस टेर्दैन
आस अनवरत जन्मिरहन्छ
जन्मलाई सार्थकता दिन
मान्छे पलमा कैयौँ चोटि मर्छ
कैयौँ चोटि ब्युँतिन्छ आसमै
आस मक्किएको टालोमा पनि हुन्छ
सडेको धागोमा पनि हुन्छ
जुठो रोटीमा पनि हुन्छ
हो त्यही आसहरूले
टालिएको, पालिएको, भरिएको
थोत्रो थोत्रो कुम्लो
त्यही आसको चोयोले बुनिएको
थोत्रो थोत्रो डोको हो
'मेरो जीवन !'

सुवास विभास
टक्सार भोजपुर । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com