२०७७ मङ्सिर १६, मङ्गलबार

img-responsive

११:३०:५७

 

त्रिविको ४६ औं दीक्षान्त समारोह : अनलाइन फारम भर्ने म्याद अब १० दिन बाँकी 

img-responsive
गोठालो खबर २०७७ कात्तिक २०, बिहीबार,१०:०६:PM  
img-responsive

कीर्तिपुर, कार्तिक २० । त्रिविको ५८ औं ग्रेस लिष्टमा परेका ५६ हजार ७ सय १३ विद्यार्थीहरुको लागि ४६ औं दीक्षान्त समारोहमा भाग लिने अनलाइन फारम भर्ने म्याद अब १० दिन मात्र बाँकी रहेको छ । वि.सं. २०७६ आषाढ १ गतेदेखि २०७७ साल जेठ ३२ गतेसम्म तदनुसार सन् २०१९ जुन १५ तारिखदेखि सन् २०२० जुन १४ तारिखसम्ममा सेमष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम.फिल. तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका र सोही अवधिभित्र विद्यावारिधी (पिएच.डी.) पूरा गरेका विद्यार्थीहरुको नाम ५८ औं ग्रेस लिष्टमा समावेश गरिएको छ । 

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले गत कार्तिक १ गतेदेखि आगामी कार्तिक मसान्तसम्मको लागि अनलाइनबाट दीक्षान्त समारोहमा भाग लिन इच्छुक विद्यार्थीहरुलाई अनलाइन फारम भर्ने व्यवस्था गरेको छ । दीक्षान्त समारोहमा सहभागी हुन वि.सं. २०७६ आषाढ १ गतेदेखि २०७७ साल जेठ ३२ गतेसम्म तदनुसार सन् २०१९ जुन १५ तारिखदेखि सन् २०२० जुन १४ तारिखसम्ममा सेमष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम.फिल. तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका र सोही अवधिभित्र विद्यावारिधी (पिएच.डी.) पूरा गरेका इच्छुक विद्यार्थीहरुले अनलाइनमार्फत आवेदन गर्नुपर्ने बताइएको छ । 


गत आषाढ १५ गते परेको त्रिविको ६१ औं वार्षिक दिवसको अवसरमा आयोजित त्रिवि सभाको वार्षिक बैठकले ५८ औं ग्रेस लिष्ट पारित गरेको थियो । उक्त ग्रेस लिष्टमा गतवर्ष उत्तीर्ण भएर तोकिएको समयभित्र ट्रान्सक्रिप्ट प्राप्त गरेका कुल ५६ हजार ७ सय १३ विद्यार्थीहरुको नाम समावेश गरिएको छ । जसमा व्यवस्थापन संकायका १९ हजार ६ सय १५, शिक्षाशास्त्र संकायका १४हजार ८ सय १२, मानविकी तथा सामाजिकशास्त्र संकायका ९ हजार ६ सय १५, कानुन संकायका १ हजार ९ सय १५, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका ६ हजार १ सय २६, इन्जिनियरिङ अध्ययन संस्थानका २ हजार ८ सय ४४, चिकित्साशास्त्र अध्ययन संस्थानका १ हजार ४ सय ५२, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका ३ सय ९७ र वन विज्ञान अध्ययन संस्थानका २ सय २२ विद्यार्थीहरु उत्तीर्ण भएकोले दीक्षान्त समारोहको लागि योग्य विद्यार्थीहरुको सूचीमा नाम समावेश रहेको छ । 

कसरी भर्ने फारम? 

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट तगअयलखयअबतष्यल।तगभहबm।भमग।लउ  मा राखिएको आवेदन फारम आवेदक स्वयम्ले भरी अनलाइनबाटै सोहि वेवसाइटमार्फत नै सबमिट गर्नुपर्नेछ । वेवसाइटमा गत अक्टोबर १७ तारिखदेखि अनलाइन फारम उपलब्ध छ भने त्यो आगामी नोभेम्बर १६ तारिखसम्म रहनेछ । त्यसपछि भने अनलाइन फारम स्वतः बन्द हुनेछ । अनलाइन फारम भर्दा एमआरपी साइजको फोटो, नागरिकताको प्रमाणपत्र वा पासपोर्ट र आफ्नो ट्रान्सक्रिप्टको स्क्यान गरी अपलोड गर्नुपर्नेछ । अनलाइन फारम भरिसकेपछि प्राप्त हुने इमेलमा रहेको डकुमेन्ट जस्तै प्रवेश पत्र, पास, शुल्क भुक्तानी गरेको रसिद आदि प्रिन्ट गरी दीक्षान्त समारोहमा भाग लिन जानुपुर्व परीक्षा नियन्त्रण कार्यालयमा पेश गरी प्रमाणित गराएर राख्नुपर्ने पनि सूचनामा जनाइएको छ ।  

फारम भर्न कति लाग्छ शुल्क? 
दीक्षान्त समारोहमा सहभागी हुन चाहने विद्यार्थीहरुले दीक्षान्त तथा प्रमाणपत्र शुल्क र गाउन, दीक्षान्त क्याप, स्कार्फ धरौटी एकमुष्ठ बुझाउनुपर्ने हुन्छ । स्नातक तहका विद्यार्थीहरुले दीक्षान्त तथा प्रमाणपत्र शुल्क २ हजार २ सय र धरौटीबापत १ हजार ५ सय गरी कुल ३ हजार ७ सय बुझाउनुपर्दछ भने स्नातकोत्तर तथा एम.फिल.सकेका विद्यार्थीको लागि दीक्षान्त तथा प्रमाणपत्र शुल्क २ हजार ७ सय र धरौटी १ हजार ५ सय गरी कुल ४ हजार २ सय तोकिएको छ । यसैगरी विद्यावारिधी अर्थात पिएच.डी. सकेका विद्यार्थीहरुले दीक्षान्त तथा प्रमाणपत्र शुल्क ३ हजार २ सय र धरौटी १ हजार ५ सय गरी कुल ४ हजार ७ सय एकमुष्ठ बुझाउनु पर्ने हुन्छ । दीक्षान्त समारोहमा २ जनासम्म अभिभावक सहभागी गराउने सकिने व्यवस्था गरिएकोछ । जसको लागि हरेक विद्यार्थीले स्वेच्छिक रुपमा प्रति अभिभावक ३ सयका दरले थप शुल्क बुझाउनुपर्ने छ । धरौटीबापत लिइएको १ हजार पाँच सयमध्ये गाउन, स्कार्प,दीक्षान्त क्यापको मर्मत शुल्क भनी तीन सय रुपैयाँ कट्टा गरिने सूचनामा उल्लेख गरिएको छ । 

कुन बैंकमा कहाँ तिर्ने शुल्क? 
नेपाल बैंक लिमिटेडको जुनसुकै शाखाबाट त्रिवि परीक्षा नियन्त्रण कार्यालयको नाममा कीर्तिपुर शाखामा रहेको खाता नं. ०४५००१०००९९११०००००१६ मा रकम जम्मा गर्न सकिनेछ । साथै ग्लोबल आइएमई बैंक लिमिटेडको जुनसुकै शाखामार्फत उक्त बैंकको कीर्तिपुर शाखामा रहेको त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुको खाता नं. ०५०१०१००००३८९ मा समेत शुल्क बुझाउन सकिने सूचनामा जनाइएको छ । यसरी रकम जम्मा गर्दा आफ्नो त्रिवि रजिष्ट्रेशन नम्बर र ग्रेस लिस्टमा रहेको ग्रेस नम्बर (ग्रेस नम्बर पत्ता लगाउन यहाँ क्लिक गर्नुहोस्) अनिवार्य बैंक भौचरमा समावेश गर्नुपर्ने बताइएको छ । बैंकमा रकम बुझाईसकेपछि बैंकले उपलब्ध गराउने कारोवार आईडी प्रविष्ट गरेपछि मात्र दीक्षान्त फारमको पूरा विवरण भर्न सकिने समेत कार्यालयले जनाएको छ । दीक्षान्त समारोह भएपश्चात एक वर्षभित्र प्रमाणपत्र लिइसक्नुपर्ने अन्यथा जरिवाना तिर्नुपर्ने समेत त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जानकारी गराएको छ । 

विगत वर्षहरुमा परीक्षा नियन्त्रण कार्यालय परिसर बल्खुमा दीक्षान्तको लागि फारम भर्ने विद्यार्थीहरुको लामो लाइन हुने गरेको थियो भने परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीहरुको सहजता र सेवालाई प्रविधिमैत्री बनाउन भन्दै गत वर्षदेखि अनलाइनमार्फत फारम संकलनको कार्य गर्दै आएको छ । अनलाइन प्रविधिको प्रयोगसंग विद्यार्थीहरुले घरैमा बसी बसी फारम भर्न सक्ने र दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरुको संख्या समेत वृद्धि हुने अपेक्षा परीक्षा नियन्त्रण कार्यालयले गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com