२०७७ मङ्सिर १४, आइतबार

img-responsive

१०:२८:०३

 

उपकुलपतिको चार वर्षे कार्यकाल : एक वर्ष पुरा;  त्रिविमा सुशासनको आधार वर्ष कहिले घोषणा होला? 

img-responsive
गोठालो खबर -३ २०७७ कात्तिक १७, साेमबार,०८:३२:AM  
img-responsive

-नोदनाथ त्रिताल 

कीर्तिपुर, १७ कार्त्तिक। गत वर्ष त्रिवि उपकुलपतिमा प्रा.डा. धर्मकान्त बाँस्कोटा नियुक्त हुनुभएको यहि कार्तिक १७ गते एक वर्ष पुरा भएको छ । उहाँले नियुक्ती पाएर गत वर्ष कार्तिक १८ गते पदभार ग्रहण गर्दै दीक्षान्त समारोह मूल आयोजक समिति गठनको टिप्पणी स्वीकृत गरी कार्य प्रारम्भ गर्नुभएको थियो । गत वर्षको भाद्र ६ गते तत्कालीन उपकुलपति प्रा.डा. तीर्थराज खनियाँ नेतृत्वको चार वर्षे कार्यकाल समाप्त भएसंगै शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले दुई महिना दश दिन निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्नुभएको थियो । उपकुलपति नियुक्तिमा ढिलाई हुँदा त्रिविमा दुई महिनाभन्दा बढी संक्रमणकालीन अवस्था सिर्जना भएको थियो । 

उपकुलपति नियुक्ति भएलगत्तै उहाँले केन्द्रीय कार्यालय अन्तरगतका महाशाखा प्रमुखहरु, केन्द्रका कार्यकारी निर्देशकहरु, विभागका विभागीय प्रमुखहरु, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशकहरुसंग अलग अलग कार्ययोजनासहित भेटघाट छलफल गर्नुभएको थियो । गत वर्षकै कार्तिक २९ गते विद्यार्थी संघ संगठनहरुसंगको पहिलो छलफलमा त्रिविमा १३ बुँदे सुधारका कार्ययोजना सार्बजनिक गर्नुभएको थियो । त्यसलगत्तै गत वर्ष मंसीर १३ गते सम्पन्न भएको त्रिवि सभा बैठकमा उपकुलपति बाँस्कोटाले त्रिविमा आफ्नो कार्यकालभित्र गर्ने १५ बुँदे सुधारका कार्ययोजनाहरु प्रस्तुत गर्नुभएको थियो । ती सुधारका कार्ययोजनाहरु कतिको कार्यान्वयनमा आए वा आउँदैछन् भनेर अहिले सार्बजनिक रुपमा सरोकारवाला माझ खुल्ला बहस र समिक्षा हुनु जरुरी छ । 

उपकुलपतिका १५ बुँदे कार्ययोजना

त्रिविका उपकुलपतिले त्रिवि सभामा प्रस्तुत गर्नुभएका १५ बुँदे कार्ययोजनाहरु यस्ता थिए : 

१. त्रिभुवन विश्वविद्यालयको भौतिक पूर्वाधारमा सुधारः त्रिभुवन विश्वविद्यालयको भौतिक पूर्वाधारमा व्यापक सुधार गर्नका लागि त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा Compound Wall देखि हरेक कलेजमा राम्रो कक्षा कोठा, भवनमा जाने पक्की सडक, सुन्दर बगैँचा, व्यवस्थित पुस्तकालय र चमेनागृह निर्माण, भवनको रंग रोगन, कक्षा कोठामा Multimedia को प्रयोग,  नियमित सरसफाइ र शौचालयको व्यवस्था गर्ने, 

२. प्रविधि मैत्री विश्वविद्यालयः त्रिभुवन विश्वविद्यालय हाताभित्र Internet को व्यवस्था, प्रशासनिक र आर्थिक क्रियाकलापमा प्रविधिको विस्तार, शिक्षक, कर्मचारी, विद्यार्थी तथा त्रिभुवन विश्वविद्यालयको सम्पत्तिको लगत अद्यावधिक गर्ने,

३. अनुसन्धानकार्यलाई प्राथमिकताः त्रिभुवन विश्वविद्यालय मूलत शिक्षण विश्वविद्यालयको रूपमा रहेको छ । अब यसलाई Research University को रूपमा विकसित गर्ने प्रयास गरिनेछ । यसका लागि चारै अनुसन्धान केन्द्रहरूलाई उचित बजेटको व्यवस्था गरी अनुसन्धानमा क्रियाशील गर्ने र नेपाल सरकार तथा मन्त्रालयहरूले गर्ने गरेको अनुसन्धान कार्यहरू हाम्रा अनुसन्धान केन्द्रहरूमार्फत गर्न सरकार समक्ष अनुरोध गर्ने र भविष्यमा यी अनुसन्धान केन्द्रहरूलाई सरकारको Think Tank को रुपमा विकास गर्ने, 

४. निश्चित शैक्षिक पात्रो (Academic Calendar) को व्यवस्था र त्यसको कडाइका साथ पालनाः  आवश्यकतानुसार नयाँ क्षेत्रको विस्तार र विश्वमा बढ्दै गएको Interdisciplinary courses को  अपर्याप्तता र Flexible Academic Calendar को कारण उच्च शिक्षा अध्ययनका लागि विदेशिनेको सङ्ख्या वार्षिक करीब ७८,००० देखिन्छ । त्यसैले Academic Calendar कडाइका साथ लागु गर्ने र नयाँ क्षेत्रको विस्तार गरी यो सङ्ख्या घटाउने तर्फ पहल गर्ने,   

५. परीक्षा प्रणालीमा व्यापक सुधार तथा विकेन्द्रीकरणः परीक्षा प्रणालीमा सूचना प्रविधिको विस्तार गर्ने, प्रादेशिक परीक्षा नियन्त्रण कार्यालयको व्यवस्था गर्ने, CC TV सहितको Megha Hall निर्माण गरी सकेसम्म कम परीक्षा केन्द्रको व्यवस्था गर्ने, सकेसम्म तीन महिना भित्रै परीक्षाको नतिजा प्रकाशनको व्यवस्था गर्ने,  

६. बजारमुखी, स्वरोजगारमूलक तथा देशको आवश्यकताअनुसारको जनशक्ति उत्पादनः राष्ट्रका लागि कुन कुन विधाका, कति वर्षमा कति कति उच्च दक्षतायुक्त जनशक्ति आवश्यक छ नेपाल सरकारसँगको समन्वयमा जानकारी लिई सोही अनुसारका कार्यक्रमहरू सञ्चालन गर्ने, यसका साथै नेपालको विकास निर्माणका लागि अति आवश्यक Tunnel Engineering, Mining Engineering, Gemology, Seismology जस्ता विषयका शैक्षिक कार्यक्रम शुरु गर्ने र उद्यमशीलता विकास गर्ने प्रक्रिया अघि बढाउने,

७. प्राध्यापकहरूको क्षमता अभिवृद्धि गरी पेशा प्रति उत्प्रेरणा जगाउने कामको थालनीः त्रिविमा कार्यरत प्राध्यापकहरूलाई अनुसन्धानमा सरिक गराई विदेशी विश्वविद्यालयहरूमा प्राध्यापकहरूको Exchange Program को व्यवस्थाको पहल गर्ने साथै  निरन्तर व्यावसायिक उन्नयनको Package तयार गरी लागु गर्ने तर्फ अगाडि बढ्ने,

८. आङ्गिक तथा सम्बन्धन प्राप्त कलेहरूको प्रभावकारी नियमनः सबै सम्बन्धन प्राप्त कलेजहरूको नियमित नवीकरण गराउने, नवीकरण नगर्ने कलेजको सम्बन्धन खारेजीको प्रकृया अगाडि बढाउने, न्यून विद्यार्थी भएका विषयलाई मर्जरमा लाने,

९. सरकार तथा उपभोक्ताहरूसँग समन्वय गरी पाठ्यक्रम परिमार्जन गर्दै जानेः राष्ट्रिय योजना आयोग र त्रि.वि.बाट उत्पादित जनशक्ति खपत गर्ने संघ संस्थाहरूको समन्वय र उनीहरूको पृष्ठपोषण लिएर सोही आधारमा त्रि.वि.को शैक्षिक कार्यक्रमहरू र तिनका पाठ्यक्रमलाई समयानुकुल परिमार्जन गर्दै जाने,

१०. उच्च शिक्षा तर्फ अन्तर्राष्ट्रियकरण गर्दै लैजानेः Credit Transfer को व्यवस्था मिलाई विदेशबाट नेपालमा अध्ययन गर्न आउने वा नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूको समस्यालाई सहजीकरण गर्दै जाने, 

११. कलेजमा खेलकुदको व्यवस्था र १० प्रतिशत छात्रवृत्ति कोटा कार्यान्वयनः विद्यार्थी वर्गको लागि कलेजमा खेलकुदको व्यवस्था गर्ने र सम्बन्धन प्राप्त कलेजहरूले उपलब्ध गराउनु पर्ने १० प्रतिशत छात्रवृत्तिको कोटालाई कडाइका साथ कार्यान्वयनमा ल्याउने, 

१२. सम्पत्तिको पहिचान र संरक्षणः त्रिभुवन विश्वविद्यालयको सम्पत्तिको पहिचान गर्ने, नियमन गर्ने, संरक्षण गर्ने र संस्थागत हितमा अधिकतम उपयोग गर्ने,

१३. त्रि.वि. एलुम्नाईलाई विश्वविद्यालयको हितमा प्रयोग गर्नेः (क) देश भित्रबाट : विज्ञताअनुसारको सहयोग प्राप्त गर्ने, ख) देशबाहिरबाटः (अ) शिक्षकहरूको आदान प्रदान, (आ) अनुसन्धानात्मक सहयोगको विस्तार गर्ने,

१४. सु–शासनमा जोड दिनेः त्रि.वि. सञ्चालनको क्रममा नीति निर्माण, निर्णय कार्यान्वयन, आर्थिक लगायत सबै क्षेत्रमा पारदर्शिता कायम गर्ने, शिक्षकहरुको कृति मूल्याङ्कनका लागि निरन्तर मूल्याङ्कन गर्ने व्यवस्थाका लागि एक एकाइको स्थापना गर्ने, त्रि.वि.मा लामो समयदेखि फछ्र्यौट हुन बाँकी बेरुजु फछ्र्यौट गर्न विशेष कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउने, त्रि.वि.मा अभिलेखीकरण कमजोर छ भन्ने आम गुनासो रहेकोले यसलाई व्यवस्थित गर्ने र अभिलेखीकरणमा विशेष जोड दिने, त्रि.वि.बाट निवृत्त हुनु भएका विद्वानहरूको सल्लाहकार समूह गठन गरी नियमित रूपमा सुझाव तथा सल्लाह लिने,

१५. ऐन, नियम एवम् विनियमहरूको समय सापेक्ष परिमार्जन तथा संशोधनः त्रि.वि. ऐन, नियम एवं विनियमहरूको समय सापेक्ष परिमार्जन तथा संशोधन गर्दै कानुनी रुपमा विश्वविद्यालयलाई सबल बनाउने,

उहाँको चार वर्षे कार्यकालको पहिलो एक वर्ष बितेको छ । यो पहिलो वर्षभित्र उल्लेखित १५ बुँदे कार्ययोजना कति कार्यान्वयनमा आए, के कस्ता उपलब्धीहरु भए भनेर पक्कै पनि विश्वविद्यालयले संस्थागत समिक्षा गर्ला नै । विश्वव्यापी कोरोना महामारी रोकथामका लागि लामो समय देशमा लकडाउन र निशेधाज्ञा गरिएकोले यो एक वर्षमा सोचे अनुरुप काम गर्न नपाए पनि विश्वविद्यालयले यस वर्ष अनुसन्धान केन्द्रको प्रकाशन कोरोना विशेष जर्नलको रुपमा प्रकाशन गरेर अनुसन्धानको क्षेत्रमा समेत योगदान दिने प्रयत्न गरेको देखिन्छ । पक्कै पनि उहाँको पहिलो वर्षको कार्यकालमा यी योजनाहरु कार्यान्वयनको ठोस खाका तयार भएको हुनुपर्दछ र आगामी तीन वर्षमा यसले पूर्ण कार्यान्वयनको चरण पार गर्ने विश्वास गर्न सकिन्छ । 

सुशासनको आधारभुत मापदण्ड पूरा गर्न ४१ बुँदे सुझाव

लामो समयदेखि त्रिविभित्र विकृति, विसंगति र बेथितिले जरा गाडेर बसेको, आम जनगुनासो व्यवस्थापनका लागि त्रिवि र अन्तरगतका निकायहरुमा भरपर्दो संयन्त्र निर्माण हुन नसकेको, सुशासनका लागि चाहिने आधारभुत मापदण्डहरु खडा गर्न नसकेको विषयहरु सार्बजनिक भइरहँदा उपकुलपतिको कार्यकालको पहिलो वर्षलाई सुशासनको आधार वर्ष बनाउन मद्दत पुगोस् भनेर व्यक्तिगत रुपमा नवनियुक्त उपकुलपतिसमक्ष ४१ बुँदे सुझावहरु प्रस्तुत गरिएको थियो । व्यक्तिगत अनुभवका आधारमा के कारणले यी सुझावहरु कार्यान्वयन गर्नुपर्ने भन्ने कारणसहित यी ४१ बुँदे सूझावहरु गत वर्ष कार्तिक २९ गते उपकुलपतिसमक्ष प्रत्यक्ष भेटमा राखिएको थियो । उपकुलपतिको १५ बुँदे कार्ययोजनाको १४ नम्बर बुँदामा समेत सुशासनमा जोड दिने नीति देखिएकोले धेरै सुझावहरु कार्यान्वयन भएकोमा आशावादी हुन सकिन्छ । ती सुझावहरु उपकुलपतिको कार्यालयका प्रमुख र त्रिवि कार्यकारी परिषद्को सचिवालयका प्रमुखसमक्ष समेत जानकारी गराइएको थियो । उपकुलपतिको कार्यकालको पहिलो वर्ष पुरा हुँदा एक पटक सुशासनसंग सम्बन्धित निम्न ४१ बुँदे सुझावहरु सार्बजनिक गर्दै यो लेखमार्फत सुशासनका लागि बहसको थालनी गर्ने प्रयास गरिएको हो :  

१. सुशासन ऐन बमोजिम त्रिविका सबै निकायहरुमा नागरिक वडापत्र राख्ने र सबै निकायको नागरिक वडापत्रको संग्रह गरेर पुस्तिका प्रकाशन गर्ने । यो ऐन अन्तरगत त्रिविको प्रवक्ता र सह–प्रवक्ता तोकेर जिम्मेवारी दिन सकिने ।

२. सूचनाको हकसम्बन्धी काुनन बमोजिम सूचनाको हकको कार्यान्वयन गर्ने व्यवस्था गर्ने । सूचना प्रवाह गर्ने कार्यविधि बनाउने  । त्रिवि र अन्तरगतका सम्पूर्ण निकायहरुमा सूचना अधिकारी तोकी सक्रिय बनाउने ।

३. परीक्षाका सम्पूर्ण आवेदन फारमहरु अनलाइन गर्ने । बल्खुमा हुने विद्यार्थीहरुको लाइन, उनीहरुले पाउने सास्तीलाई पूर्ण रुपमा जिरो बनाउने ।

४. रिटोटलिङ्गसंगै उत्तरपुस्तिकाको प्रतिलिपी पाउने नियममा नै व्यवस्था गर्ने । उत्तरपुस्तिकाको प्रतिलिपी उपलब्ध गराउन पनिकामा छुट्टै सूचना शाखा स्थापना गर्ने । 

५. लेखा प्रणालीलाई एकल खाता प्रणाली (टि.एस.ए.) बनाउने । सबै निकायहरुको दैनिक खर्च विवरण केन्द्रीय कार्यालयको नियन्त्रण सुपरीवेक्षणमा सञ्चालन हुने व्यवस्था गर्ने । 

६. आन्तरिक लेखा परीक्षणलाई प्रभावकारी बनाउन त्यसको कार्यविधि बनाउने । आन्तरिक लेखापरीक्षण गर्दा बेरुजु फछ्र्यौट समितिहरुलाई सक्रिय पार्न तालिम दिने व्यवस्था मिलाउने ।

७. प्रत्येक निकायको सामाजिक परीक्षण गर्न कार्यविधि बनाउने

८. वेवसाइटमार्फत अनलाइन र इमेलबाट नै द्रुत पत्रव्यवहार गर्ने व्यवस्था गर्ने

९. सबै निकायहरुलाई वेवसाइट बनाउन लगाउने ।

१०. सबै निकायहरुको भुक्तानी प्रक्रिया इसेवा/आइएमई पे जस्ता अनलाइन भुक्तानी प्रणालीहरुमा आबद्ध गराउने

११. कर्मचारीहरुलाई पोशाक भत्ता उपलब्ध गराई अनिवार्य कार्यालय समयमा पोशाक लगाउने नियम कडाइका साथ लागु गर्ने

१२. शिक्षकहरुलाई पढाउन कक्षामा आउँदा पोशाक लगाउने र परिचय पत्र भिरेर पढाउनु पर्ने व्यवस्था गर्ने

१३. त्रिविका सबै ऐन नियम, निर्देशिका, कार्यविधिहरु, त्रिविको इतिहास पुस्तक, दीक्षान्त भाषणहरुको संग्रह पुस्तक लगायत महत्वपूर्ण प्रकाशनहरु वेवसाइटमा राख्ने व्यवस्था गर्ने

१४. त्रिवि सेवा आयोगको फारमहरु अनलाईन प्रणालीमा भर्ने व्यवस्था गर्ने, प्रवेश पत्र अनलाइनबाटै डाउनलोड गर्न व्यवस्था गर्ने र भुक्तानी पनि अनलाइनबाट हुने गरी व्यवस्था मिलाउने । परीक्षाशुल्क महँँगो भएको गुनासो सम्बोधन गर्ने ।

१५. विश्वविद्यालयलाई संघीयताको मोडालिटीमा समय सापेक्ष बनाउन के गर्न सकिन्छ? भनेर त्रिविको उच्च स्तरीय अध्ययन टोली बनाउने र त्रिवि एलुम्नाई एशोसिएशनमार्फत सात प्रदेशमा दुई दिने कार्यशाला राखी सम्बन्धित प्रदेशका क्याम्पस कार्यालयका प्रमुखहरु, प्रशासन प्रमुखहरु र लेखा प्रमुखहरुसमेतबाट सुझावहरु संकलन गर्ने ।

१६. कर्मचारी सरुवा र काज सरुवाको मापदण्ड निर्देशिका स्पष्ट बनाई सबैले थाहा पाउने गरी वेवसाइटमा राख्ने र प्रभावकारी रुपमा कार्यान्वयन गर्ने

१७. पाठ्यक्रम विकास केन्द्रबाट प्रदान गरिने शैक्षिक योग्यताको समकक्षताको प्रमाणपत्र लिन विद्यार्थीले लामो समयसम्म कुर्नुपर्ने समस्यालाई समाधान गर्न अनलाईनबाट फारमहरु भर्ने व्यवस्था गर्ने, समकक्षता प्राप्त गर्ने निर्णय भएकोमा जानकारी इमेल वा एसएमएसबाट गराउने र निर्णयहरु वेवसाइटमार्फत सार्बजनिक गर्दै प्रक्रियालाई छिटो छरितो बनाउने ।

१८. योजना निर्देशनालयमा डिजिटल अभिलेख शाखा बनाई सम्पूर्ण सूचनाहरुको उत्पादन र अभिलेख गर्ने र आवश्यकता अनुसार सूचना महाशाखामार्फत तथ्याँकमा आधारित सूचना प्रवाह गर्ने ।

१९. कुनै एक वा दुई क्याम्पस वा कार्यालयलाई नमूना निकाय बनाउन काम गर्ने इच्छाशक्ति भएका प्रशासन, लेखा, स्टोर, पुस्तकालय, खरिद शाखाहरुमा अनुभव भएका कर्मचारीहरुको टिम नै बनाएर परिचालन गर्ने र अन्य निकायहरुलाई पनि सोहि अनुरुप क्रमशः विस्तार गर्दै जाने ।

२०. त्रिवि भिजन २०२०–३० को कार्यान्वयनको लागि कार्यदल बनाई सातै प्रदेशमा यो विषयमा छलफल कार्यशालाहरु आयोजना गर्ने र प्राप्त पृष्ठपोषणबाट सोको प्रभावकारी कार्यान्वयन गर्ने ।

२१. त्रिविका अनुसन्धान केन्द्रहरु र एलुम्नाई एशोसिएशनमार्फत देशभर रहेका आँगिक क्याम्पसका उपप्राध्यापकहरुलाई अनुसन्धानसम्बन्धी अभिमुखीकरण र कर्मचारीहरुलाई क्षमता विकास र प्रविधिसम्बन्धी तालिमहरुको व्यवस्था सातै प्रदेशमा गर्ने गराउने ।

२२. विद्यार्थीका होस्टलहरु र शिक्षक कर्मचारीका क्वाटरहरुको अनुगमन गरी तिनीहरुको मर्मत सम्भार, सञ्चालन कार्यविधि समेतको तर्जुमा गरी अवस्था सुधार गर्ने गराउने  । होस्टल क्वाटरहरुभित्र हुने निःशुल्क अत्याधिक बिजुली खपतलाई सिमा तोक्ने ।

२३. नेपाल सरकारको भिजिट नेपाल २०२० अभियानमा आउने पर्यटकहरुले एक पटक त्रिवि भ्रमण गर्न लायक हुने गरी विश्वविद्यालय क्याम्पस परिसरको सम्पूर्ण सरसफाई गरी गार्डेन र फुलबारीमा विकास गर्ने,

२४. परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा नागरिक वडापत्र, हेल्प डेक्स राख्ने र त्यहाँ आउने सेवाग्राहीहरुसंग नागरिक रिपोर्ट कार्ड सर्वेक्षण गरी सुधारका लागि तत्काल शुरुवात गर्ने ।

२५. परीक्षामा हुने गोप्य शाखा सबै हटाउने र नाम परिवर्तन गरी अभिलेख शाखा राख्ने । अनियमितता रोक्नका लागि गोप्य शाखा भनिएको अध्याँरो कोठाहरु परिवर्तन गरी उज्यालो, पारदर्शी कोठाहरु निर्माण गरी व्यवस्थित गर्ने ।

२६. त्रिवि कार्यकारी परिषद्, त्रिवि प्राज्ञिक परिषद् र डीन कार्यालयहरुमा हुने विषय समितिहरु समेतका निर्णयहरु अनिवार्य रुपमा वेवसाइटमा राख्ने व्यवस्था मिलाउने । स्क्यान गरेर डिजिटल अभिलेख बनाउने ।

२७. त्रिवि पनिकाको क्षेत्रीय कार्यालयहरुलाई प्रदेशको संरचना अनुसार सात प्रदेशमा रहने गरी संरचनाको पुनर्संरचना गराउने

२८. त्रिवि गुणस्तर प्रत्यायन केन्द्रलाई सक्रिय बनाई आँगिक क्याम्पसहरुको क्युएए गराउन कडाइका साथ निर्देशन गर्ने ।

२९. सबै निकायहरुमा डिजिटल हाजिरीको प्रयोगलाई अनिवार्य गर्ने ।

३०. स्नातक र स्नातकोत्तर तहका अनिवार्य विषयहरु (जस्तै : पाठ्यक्रम तथा मुल्याँकन, शिक्षाका आधार, शिक्षा मनोविज्ञान आदि) को प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा बनाउने व्यवस्था गर्ने ।

३१. सबै क्याम्पसहरुमा कालोपाटी र चकमुक्त क्षेत्र घोषणा गरी ह्वाइटबोर्ड र डिजिटल बोर्डको शुरुवात गर्ने ।

३२. सबै क्याम्पसको पुस्तकालयहरुलाई डिजिटलाइज गर्ने । इलाइब्रेरीको अवधारणा लागु गर्ने ।

३३. त्रिविका ऐन, नियम, निर्देशिका, कार्यविधिहरुलाई नयाँ कानुनहरु बमोजिम अध्यावधिक गराउने, परिमार्जन गर्ने र कार्यान्वयनमा लैजाने ।

३४. विगतका उपकुलपतिहरुको कार्यकालमा शुरु भएका राम्रा कामहरुलाई निरन्तरता दिने ।

३५. अनुगमन निर्देशनालयको सक्रियता बढाउन शैक्षिक एवं प्रशासनीक काम कारवाहीको अनुगमन गर्ने कार्यतालिका बनाई कार्य गर्ने व्यवस्था गर्ने ।

३६. केन्द्रीय कार्यालयबाट दैनिक हुने खरिद कारोवारको भुक्तानीसम्बन्धी कार्यको विवरण वेवसाइटमा राख्ने व्यवस्था गरी पारदर्शीताको नमूना प्रंदर्शन गर्ने ।

३७. कर्मचारी प्रशासन महाशाखामा सम्पूर्ण शिक्षक, कर्मचारी, पदाधिकारीहरुको दरबन्दी मिलान, काज र सरुवासम्बन्धी विवरण अध्यावधिक गराउनु पर्ने ।

३८. त्रिवि एलुम्नाई एशोसिएशनको व्यवस्थालाई त्रिवि ऐन नियममा समावेश गर्नुपर्ने ।

३९. विश्वविद्यालय परिसरमा भएका सम्पूर्ण सडकहरु पीच गराउने, खाल्डाखुल्डी टाल्ने व्यवस्था तत्काल गर्ने, बाटोमा थुप्रिएका फोहोरहरु हटाउन ।  

४०. त्रिविमा कार्यरत तल्लो तहका कर्मचारीहरुसंग त्रिविका समस्याहरुबारे सामुहिक छलफल गर्ने । (जस्तैः ड्राइभरहरुसंग, कार्यालय सहयोगीहरुसंग, सहयोगी कर्मचारीहरुसंग) वास्तविक समस्याहरु उनीहरुले अनुभव गरेका हुन्छन् र छन् ।

४१. उपत्यकाभित्र र उपत्यकाबाहिरका क्याम्पस कार्यालयहरुमा भएका संस्थागत समस्याहरु, शिक्षक कर्मचारीका समस्याहरु समेतलाई छुट्टाछुट्टै संकलन गरेर समस्या समाधानको लागि उचित निर्णय लिने ।
त्रिविमा सुशासनको आधारभुत मापदण्डका सूचकहरु निर्माण गर्न सहयोगी हुन् भन्ने अभिप्रायले व्यक्त यी सुझावहरु वर्तमान उपकुलपतिबाट कतिको मनन् भएको छ या छैन, त्यो त जानकारीमा छैन तर कतिपय सुझावहरु कार्यान्वयन हुँदै गएको देखिएको छ भने कतिपय कार्यान्वयनको लागि योजनाहरु बनेका होलान्, तर सार्बजनिक भएका छैनन् । यद्धपी संस्थागत हितको लागि जो कोहिले जुनसुकै ओहदामा रहेर दिने जायज सुझाव र पृष्ठपोषणलाई ग्रहण गर्नु कुनै पनि निकायको नेतृत्वको शालिनता ठहर्नेमा कसैको दुई मत नहोला ।  

(विस्तृत सुझाव पढ्न ४१ बुँदे सुझावहरु डाउनलोड गर्नुहोस्)

पूर्व उपकुलपति नेतृत्वको कार्यकाल समिक्षा : ५१ बुँदे उपलब्धी 

पूर्व उपकुलपतिको कार्यकालको समिक्षाबाट वर्तमान उपकुलपतिलाई काम गर्न महत्वपूर्ण पृष्ठपोषण प्राप्त हुन सक्छ । कुनै पनि नेतृत्वले आफुले गरेको कामलाई सर्वेसर्वा ठान्न उपयुक्त हुँदैन किनभने जबसम्म त्यो अरुले गरेको कामसंग तुलनात्मक रुपमा राम्रो वा नराम्रो मानिन्दैन, तबसम्म त्यसको प्रभाव मापन गर्न सकिन्दैन । त्रिविका तत्कालीन उपकुलपति खनियाँले आफ्नो नेतृत्वको पदाधिकारीहरुसंगको कार्यकालको समिक्षा गर्दै ‘त्रिभुवन विश्वविद्यालयको छ दशक : योगदान, उपलब्धि र सम्भावना’ शीर्षकको पुस्तक प्रकाशन गरी कार्यकालको अन्तिम दिन भाद्र ६ गते सो पुस्तक विमोचन गरेर सार्बजनिक गर्नुभएको थियो । सो पुस्तकभित्र त्रिविमा पहिलो पटक टाइम्स हाइयर एजुकेसनले सन् २०१९ का लागि गरेको सर्वेक्षणमा विश्व विश्वविद्यालयको उत्कृष्टताको स्तर निर्धारण सूचीकरणमा ८०१-१००० भित्र र एसियाका विश्वविद्यालयहरुको स्तर निर्धारणमा २५१-३०० भित्र पर्न सफल भएको, २८ वर्षे उमेरको हद लागु गरी स्ववियू निर्वाचन सम्पन्न गराएर दुई जना सिनेटर मनोनयन भएको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान दिन सक्ने प्राज्ञहरुलाई त्रिविमा सेवा प्रवेशका लागि फास्ट ट्राकको व्यवस्था गरी प्राध्यापक र सहप्राध्यापक नियुक्तिको व्यवस्था गरिएको, प्रोफेसर इमिरेट्स र एड्जङ्ट प्रोफेसरको प्रावधान शुरु गरिएको, त्रिवि केन्द्रीय एलुम्नाई एशोसिएशन नेपाल गठन गरी कार्य प्रारम्भ गरिएको, दीक्षान्त समारोहको शोभायात्रा र कार्यक्रमको पृष्ठभूमिमा दीक्षान्त गीत र सङ्गीतको व्यवस्था गरिएको, दीक्षान्त समारोहका लागि अनलाइन फर्म भर्ने व्यवस्था गरिएको, विश्वस्तरका विश्वविद्यालयहरुको अन्तर्राष्ट्रिय सम्मेलन त्रिविको आफ्नै खर्चमा आयोजना गरिएको, त्रिविमा अन्वेशण र उद्यमशीलताको प्रवद्र्धनका लागि आई.ई.ई. (इन्स्टिच्युट अफ इनोभेशन एण्ड इन्टरप्रिनेयरशिप) को स्थापना गरिएको, त्रिविको पहिलो दीक्षान्त समारोहदेखि त्रिचालिसौं दीक्षान्त समारोहसम्मको दीक्षान्त भाषणहरुको संग्रह प्रकाशन गरिएको, त्रिविको इतिहास (वि.सं. २०१६-२०३९) भाग एकको प्रकाशन गरिएको, त्रिविलाई जग्गा जमिन तथा भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने दाताहरुको पहिलो पटक सम्मान तथा अभिनन्दन कार्यक्रम गरेको, उपकुलपतिबाट देशभरका सबै आङ्गिक क्याम्पसहरुको स्थलगत निरीक्षण गरिएको लगायतलाई उपकुलपतीको चार वर्षे कार्यकालका उल्लेखनीय उपलब्धीको रुपमा समावेश गरिएको छ । यस्तै गरी विगत सात वर्षदेखि अवरुद्ध अन्तर क्याम्पस राष्ट्रिय उपकुलपति कप खेलकुद प्रतियोगिताको प्रारम्भ, लोकबाजा संग्रहालयको व्यवस्था तथा पूर्व उपकुलपति कक्षको स्थापना गरेको विषयलाई पनि उपलब्धीको रुपमा राखिएको छ । विगतका सकारात्मक उपलब्धीहरुको संरक्षण गर्दै आगामी दिनमा त्रिविको गरिमा अझ उच्च राख्न वर्तमान नेतृत्वले हरेक वर्ष आफ्नो कार्यकालको समिक्षा गर्दै जानुपर्दछ र विभिन्न क्षेत्रबाट प्राप्त हुने पृष्ठपोषणलाई आत्मसात गर्दै अगाडि बढ्न सक्नुपर्दछ । यसैगरी कार्यकाल सकेर जाँदाजाँदै गत वर्ष पौषमा रजिष्ट्रार डिल्लीराम उप्रेतीले सार्बजनिक गर्नुभएको ‘त्रिविका समस्या समाधान र सुधारका लागि गरिएका प्रयास र उपलब्धि’ शीर्षकको समिक्षा दस्तावेजमा समावेश मुख्य उपलब्धीका बुँदाहरु निम्न रहेका थिए : 

१. Times Higher Education (THE) द्धारा सन् २०१९ मा गरेको विश्वविद्यालयको स्तर निर्धारण (World University Ranking) वरियतामा त्रिभुवन विश्वविद्यालय ८०१-१००० को Rank भित्र पर्न सफल भएको । 

२. उच्च शिक्षा परियोजना मार्फत त्रिविको भिजन २०२०-३० तयार गरिएको । 

३. त्रिविद्धारा पहिलो पटक उच्च शिक्षाको अन्तराष्ट्रियकरण विषयमा अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरिएको ।

४. त्रि.वि.को आंगिक कृषि क्याम्पस झापाको गौरादहमा स्थापना गर्नुका साथै चितवनको रामपुरमा स्थगन भएको कृषिको अध्ययनलाई खैरहनीमा स्थानान्तरण गरी पठन पाठन सुरु गरिएको । 

५. चितवनमा इन्जिनियरि¨ अध्ययन संस्थानको आंगिक क्याम्पस स्थापना गरी प्राविधिक धारका आंगिक क्याम्पस विस्तार गर्दै पठन पाठन सुरु गरिएको ।  

६. कीर्तिपुरमा मात्र सञ्चालनमा रहेको स्नातकोत्तर तहको सेमेस्टर प्रणालीलाई देशभरीका आंगिक र सम्बधन प्राप्त क्याम्पसहरुमा कार्यान्वयनमा ल्याइएको ।

७. त्रिविको सञ्चयकोषमा जम्मा भएको ५ अर्ब २० करोड रकम २०७३ सालदेखि नेपाल सरकारको कर्मचारी सञ्चयकोषमा स्थानान्तरण गरी त्रिविमा कार्यरत शिक्षक कर्मचारीको सञ्चयकोषको सुरक्षा सुनिश्चितता गरिएको ।

८. शिक्षकलाई अनुसन्धानतर्फ उत्प्रेरित गर्दै लैजान सबै आंगिक क्याम्पसहरुमा इकाइगत रुपमा अनुसन्धान सेलको गठन गर्नुका साथै केन्द्रीय स्तरमा रु. १५ करोडको अनुसन्धान सपोर्ट कोषको स्थापना गरिएको ।

९. दीक्षान्त समारोहको भाषणलाई संकलन गरी २०१७ मा भएको पहिलो दीक्षान्त समारोह देखि २०७४ सालसम्म भएका भाषणहरुको संकलन गरी ऐतिहासिक दस्तावेज प्रकाशन गरिएको । 

१०. त्रि.वि.को इतिहासलाई लिपिबद्ध गर्दै जनसमक्ष ल्याउन वि.सं. २०१६ सालदेखि २०३९ सालसम्मका दस्तावेज संकलन र विश्लेषण गरी ऐतिहासिक दस्तावेजको रुपमा पुस्तक प्रकाशन गरिएको । 

११. लामो समयसम्म निर्वाचन हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थीको २८ वर्षे उमेरको हदवन्दी कायम गरी निर्वाचन सम्पन्न गरिएको । 

१२. त्रिभुवन विश्वविद्यालयले पनि आप्mना लाखौं एलुम्नाइबाट स्रोत साधन परिचालन गरी अनुसन्धान तथा अन्य विकासका कार्यलाई गति दिने उद्देश्यले त्रि.वि. एलुम्नाई एशोसिएशनको गठन गरिएको ।

१३. त्रि.वि. केन्द्रीय परिसर र क्याम्पसहरुका सम्पूर्ण गतिविधिलाई प्रविधि मैत्री बनाउदैं लैजान छुटृै आईटी भवनको निर्माण गर्नुका साथै करिब रुं आठ करोडको लागतमा उपकरण जडान गरी आईंटी सेन्टरको स्थापना गरी कार्यान्वयनको चरणमा पु¥याइएको ।

१४. अनलाइनका माध्यमबाट दीक्षान्त समारोहका आवेदन फाराम संकलन गर्ने कार्यको प्रारम्भ गरिएको र नियमित रुपमा दीक्षान्त समारोह सम्पन्न गरी विद्यार्थीलाई सक्कल प्रमाण पत्र वितरण गर्ने व्यवस्था गर्न सकिएको । सक्कल प्रमाणपत्रको गुणस्तर सुधार गर्दै फोल्डर र सुरक्षण फिचरसहितको प्रमाण पत्र वितरण गर्न प्रारम्भ गरिएको ।

१५. विद्यार्थीलाई Transcript सँगै अस्थायी प्रमाणपत्र (Provisional Certificate) दिने नीतीगत निर्णय गरिएको । 

१६. त्रि.वि.ले विशेष दीक्षान्त समारोहको आयोजना गरी राष्ट्रकवि माधव प्रसाद घिमिरे र वरिष्ठ साहित्यकार इन्द्र वहादुर राईलाई मानार्थ महाविद्यावारिधीको उपाधि प्रदान गरेको । 

१७. त्रिविको आगामी नीति निर्माण र कार्यान्वयनमा पृष्ठपोषण हुने गरी त्रिभुवन विश्वविद्यालयको छ दशक : योगदान, उपलव्धी र सम्भावना नामक चार वर्षे कार्यकालको उपलब्धीलाई समेटेर पुस्तक प्रकाशन गरिएको । 

१८. त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपण गर्ने कार्यको प्रारम्भ गरिएको । चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत रहने गरी जनस्वास्थ्य केन्द्रिय विभागको स्थापना गरी कार्यान्वयनमा ल्याइएको ।

१९. अध्ययनरअध्यापन कार्यमा कक्षा कोठामा प्रोजेक्टर र स्मार्टबोर्डको प्रयोगलाई विस्तार गरिएको । पाठ्यांशमा आधारित विद्यावारिधी तथा दर्शनाचार्य कार्यक्रम (पिएच.डी. र एमफिल कार्यक्रम) प्रारम्भ गरिएको । 

२०. विद्यार्थी कल्याण एवं उपचार कोषलाई व्यवस्थित गरी कार्यान्वयनमा ल्याइएको । यसको लागि मुद्धती खाता खोली करिब ८ करोड सञ्चित गरिएको ।

२१. विद्यार्थी न्युन हुँदै गएका विषयहरुमा संचालित कार्यक्रमको अध्ययन गरी सिफ्ट मर्ज र विषय मर्जको निर्णय गरी प्रक्रियागत रुपमा कार्यान्वयनमा ल्याइएको । 

२२. शिक्षक कर्मचारीको विज्ञापनलाई नियमानुसार अघि बढाउन तिब्रता दिइएको । चार बर्षे अवधिमा करिव सत्र सय उप प्राध्यापकको विज्ञापनबाट पदपुर्ति गरिनुका साथै प्राध्यापक र सह प्राध्यापकको एउटा विज्ञापनको चक्र पुरा गरी पुनः करिव साढे पाँच सय उप प्राध्यापकको विज्ञापन गरिएको । 

२३. अतिरिक्त प्राज्ञिक विशिष्ठताका आधारमा खुल्ला प्रतियोगिताबाट प्राध्यापक र सह प्राध्यापकको नियुक्तिको पहिलो चरणमा ११ जनाको नियुक्ति गरी दोस्रो चरणको नियुक्तिका लागि प्राध्यापक र सह प्राध्यापक गरी ३१ जनाको नियुक्तिका लागि विज्ञापन गरिएको । 

२४. कर्मचारीको न्युनतालाई मध्यनजर गरी पहिले गरिएको एउटा विज्ञापनको केहि पदको नतिजा विवादित भई प्रकाशन नभएको परिप्रेक्षमा समेत थप विभिन्न पदका करिब ८८० कर्मचारीको विज्ञापन अघि बढाइएको ।

२५. चिकित्साशास्त्र अध्ययन संस्थानमा भर्ना र शुल्कका सम्बन्धमा आउने गरेको गुनासाहरुलाई सम्बोधन गर्न मेरिट लिस्टका आधारमा डिन कार्यालयको केन्द्रमा नै केन्द्रीय भर्ना प्रणाली अनुसार भर्ना गर्ने ब्यवस्था कार्यान्वयनमा ल्याइएको ।

२६. शिक्षाशास्त्र संकाय अन्तर्गत शिक्षाशास्त्रको मात्र पिएच.डी. हुने गरेकोमा २०७३ सालदेखि विषयगत रुपमा विद्यावारिधी गर्न पाउने ब्यवस्था गरिएको । 

२७. त्रि.वि.परीक्षा नियन्त्रण कार्यालयका काम कारवाहीलाई प्रविधिमैत्री बनाउने कार्यलाई उच्च प्राथमिकतामा राखी टियुईएमआईएसको निमार्णलाई तीब्रता दिँदै २४ घण्टामा ट्रान्स्क्रिप्ट वितरणको सेवा शुरुवात गरिएको । 

२८. परीक्षा नियन्त्रण कार्यालय, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय र क्याम्पसहरुलाई सुरक्षित तवरमा विद्युतिय माध्यममा जोडी अनलाइन मार्पmत रजिष्ट्रेशन फाराम, परीक्षा आवेदन फाराम भराउने तथा प्रशोधन गर्ने, ट्रान्स्क्रिप्टको आवेदन फाराम, पुनर्योगको फारम, नाम थर संशोधनका लागि निवेदन संकलन गर्ने फाराम भर्न भराउनका लागि पहिलो चरणमा सबै क्षेत्रीय कार्यालयहरुमा भिपिएन प्रविधि जोड्ने कार्यको प्रारम्भ भएको छ ।

२९. अन्वेषण तथा उद्यमी संस्था (Institute of Innovation and Entrepreneurship–IIE) स्थापना गरी कार्यान्वयमा ल्याउन बजेट समेत बिनियोजन गरिएको ।

३०. त्रि.वि. केन्द्रिय कार्यालय र केन्द्रिय पुस्तकालयबाट प्रकाशित हुने प्रतिवेदनहरुको नियमित रुपमा प्रकाशन गर्ने ब्यवस्था गरिएको ।

३१. त्रि.वि.बाट अवकाश प्राप्त दक्ष एवं अनुभवी प्राध्यापकहरुलाई त्रि.वि.का विभिन्न कार्यक्रम तथा अनुसन्धानमूलक कार्यहरुमा सहभागी गराउन Professor Emeritus को ब्यवस्था कार्यान्वयनमा ल्याइएको ।

३२. Credit Transfer का सन्दर्भमा नीतिगत निर्णय गरी कार्यान्वयनका लागि कार्यविधी समेत तर्जुमा गरी लागु गर्ने प्रक्रिया अघि बढाइएको ।

३३. त्रि.वि. अन्तर्गत रहेको सम्पत्तिको यकिन लेखा जोखा गर्न गठित समितिले प्रकृति अनुसारको सम्पत्तिको विवरण संकलन गरी प्रतिवेदन तयार गरिएको । 

३४. त्रि.वि. सेवा आयोग उत्तीर्ण गरी सेवा प्रवेश गर्ने कर्मचारीलाई सेवा प्रवेशको विन्दुमा नै समूहगत रुपमा सेवा प्रवेश तालिम दिने व्यवस्था प्रारभ्भ गरिएको, 

३५. त्रिभुवन विश्वविद्यालयलाई जग्गा र रकम उपलव्ध गराई स्थापनार्थ सहयोग पु¥याउने दाता परिवारका सदस्यहरुको विवरण संकलन गरी सम्मान गरिएको । 

३६. लामो समय देखि स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ र नेपाल प्राध्यापक संघको निर्वाचन सम्पन्न गराइएको । 

३७. त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा क्याम्पसको चाहना र प्रविधि उपलव्धताको आधारमा विद्यार्थीको चाहना र बजारको माग अनुसारको अध्ययन संस्थान र संकायहरुमा दुई दर्जन बढी नयाँ नयाँ विषयहरु पठनपाठनको सम्बन्धन दिएर विस्तार गरिएको । 

३८. त्रि.वि.कार्यकारी परिषदले रजिष्ट्रारको संयोजकत्वमा गठन गरेको आन्तरिक स्रोत परिचालन र ब्यवस्थापनका समितिले अध्ययन गरी दिएको प्रतिवेदनको सुझावलाई कार्यान्वयन गरिएको । 

३९. महालेखा परीक्षकको कार्यालयको ५४ औं बार्षिक प्रतिवेदन अनुसार ३८० इकाइको लेखा परीक्षण गर्न वक्यौता रहेकोमा ५६ औं प्रतिवेदन प्रकाशित हुँदा उक्त बक्यौताको संख्या घटेर २१३ मा झरेको थियो । उक्त इकाई मध्ये अस्तित्वमा नरहेका ११८ इकाई घटाउँदा बाँकी रहन गएका ९५ इकाई मध्ये २०७६ मंसिरसम्ममा ७८ ओटाको आन्तरिक लेखा परीक्षण सम्पन्न भई सकेको छ । 

४०. अस्तित्वमा नरहेका ११८ इकाईको फर फारकको प्रक्रिया अघि बढाईएको, वक्यौता १७ ओटाको मात्रै लेखा परीक्षण गर्न बाँकी रहेकोमा चालु इकाईको २०७४/०७५ को सबै आ.ले.प. सम्पन्न भएको र २०७५/०७६ को पनि २०७६ पौषभित्र सम्पन्न गर्ने गरी कार्य भई रहेको । समग्रतामा उक्त चार बर्षे अवधिमा लेखा परीक्षणको क्षेत्रमा व्यापक सुधार गर्न सकिएको ।

४१. त्रि.वि. कार्यकारी परिषद्को मिति २०७५/०३/२५ को बैठकको निर्णय नं. १९४६ मा शिक्षक दरवन्दी व्यवस्थापन गर्न नीतिगत निर्णय गरिएको । त्यसपछि भएको उप प्राध्यापकको विज्ञापनमा विद्यार्थी घट्दै गएको क्षेत्रका शिक्षकका दरवन्दीलाई नयाँ विषय र क्षेत्रमा दरवन्दी परिवर्तन गरी नयाँ विषयमा शिक्षकको विज्ञापन गरी शिक्षक व्यवस्थापन गर्ने कार्य प्रारम्भ गरिएको ।

४२. यस अवधिमा केन्द्रीय खाद्य प्रविधि क्याम्पस धरानमा संचालित प्राविधिक बिषय र गौरादहमा स्थापना गरिएको गौरादह कृषि क्याम्पसका लागि केहि शिक्षक र कर्मचारीको दरबन्दी सरकारबाट प्राप्त गर्न सकिएको ।

४३. त्रि.वि. केन्द्रीय पुस्तकालयलाई ई-पुस्तकालयका रुपमा विकास गर्ने कार्य प्रारम्भ गरिएको जस अन्तर्गत यस अवधिमा ४८० वटा थेसिस र आइएसबिएन अन्तर्गत पाँच हजार पुस्तकको अभिलेखलाई कम्प्युटर डाटा बेसमा परिणत गरी विद्युतीय उपकरणका माध्यमबाट प्रयोग गर्न सक्ने बनाईएको छ ।

४४. विगत १/२ बर्ष देखि स्थगन हुँदै आएको शिक्षक÷कर्मचारीलाई प्रदान गर्ने दीर्घ सेवा पदक प्रदान गर्ने कार्यलाई नियमित गरिएको ।

४५. त्रिविभित्र विभिन्न समारोहपछि आयोजना गर्ने भोजभतेरलाई निरुत्साहित गर्न सबै निकायमा निर्देशन दिइएको, दीक्षान्त समारोहको दिन हुने दीक्षान्त डिनर राष्ट्रपति कार्यालयबाट गराउने शुरुवात गरिएको ।

४६. त्रिभुवन विश्वविद्यालयले अघि बढाएको स्वायत्तताको कार्यक्रम अन्तर्गत यस अबधिमा ३ वटा क्याम्पसलाई संस्थागत स्वायत्तता प्रदान गर्नुका साथै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा १० वटा कार्यक्रमलाई प्राज्ञिक स्वायत्तता अन्तर्गत कार्यक्रम सञ्चालन गर्न स्विकृती दिइएको ।

४७. त्रि.वि.मा कार्यरत शिक्षकरकर्मचारीले स्विकृति लिएर अन्यन्त्र काम गर्ने परिपाटीमा रहेको अस्तब्यस्ततालाई न्यूनिकरण गर्न कार्यरत निकायबाट प्राप्त विबरणका आधारमा आफुले काम गर्ने सिफ्टमा असर नपर्ने गरी फरक एक सिफ्टमा मात्र अतिरिक्त काम गर्न स्विकृती दिने ब्यवस्था मिलाईको ।

४८. नेपाल सरकारको सडक विभागसंग सम्बन्धन गरी त्रि.वि.कीर्तिपुरको मुल गेटदेखि तीनकुने सम्मको सडक कालो पत्रे गर्न सकिएको ।

४९. त्रि.वि. नियममा उल्लेख भए अनुसार प्रसाशनिक तर्फका अधिकृत स्तरका कर्मचारीहरुलाई त्रि.वि. अन्तर्गतका अन्य निकायहरुमा सरुवारकाजको ब्यवस्था गर्ने कार्यको प्रारम्भ गरिएको ।

५०. मितव्ययिता कायम गर्न त्रि.वि.बाट बार्षिक रुपमा छपाउने गरिएको (दशै तिहार, नव बर्ष जस्ता) शुभकामना कार्डको छपाई बन्द गरिएको साथै त्रिविका सबै निकायमा भौतिक सम्पत्तिको उपयोगमा आउन सक्ने पुराना सामान र फर्निचर मर्मत गरी संचालनमा ल्याउने गरिएको ।    

५१. २०७२ सालको महाभुकम्पले क्षतिग्रस्त पूर्वाधारहरु पुनःनिर्माणको कार्य गरिएको । त्रिवि उपकुलपतिको कार्यालय र शिक्षाध्यक्षको कार्यालय भवन निर्माण करिब २५ करोड लागतमा यहि अवधिमा सम्पन्न गरिएको र रजिष्ट्रार कार्यालयसहित अन्य विभिन्न ३१ जिल्लाका क्याम्पस कार्यालयका भवनहरु नेपाल सरकार, पुनःर्निर्माण प्राधिकरण लगायतसंगको सहकार्यमा निर्माणाधिन अवस्थामा रहेको ।

यसरी नै त्रिविको प्रतिष्ठा र गरिमा अभिवृद्धि गराउँदै वर्तमान पदाधिकारीहरुको कार्यकालमा पनि सकारात्मक कार्यहरुको थालनी भई ऐतिहासिक रुपमा महत्वपूर्ण उपलब्धीहरुको लामो सूची बन्न सकोस् भन्ने आम सरोकारवालाको अपेक्षा रहेको पाइन्छ । यसको लागि पहिलो शर्त सुशासन हो र सुशासनका आधारभुत मापदण्डहरु पुरा गर्नु त्रिवि नेतृत्वमा रहनुहुन सबै तहका पदाधिकारीहरुको पहिलो जिम्मेवारी पनि हो । व्यक्ति जोसुकै भए पनि अहिलेको परिप्रेक्ष्यमा त्रिविलाई विश्वसामु प्राज्ञिक उत्कृष्टताको केन्द्र बनाउनु नेतृत्वको मुख्य जिम्मेवारी हो ।

अन्त्यमा, हाम्रो अपेक्षा यति मात्र हो कि त्रिविमा अहिलेको विषम परिस्थितिका बाबजुद पनि संस्थागत रुपमा सबैलाई सूचनाको हक प्रदान गर्दै सुशासनको अनुभुति दिलाउनका लागि नेतृत्वले काम गर्न चाहेमा सरोकारवाला सबै क्षेत्रबाट साथ दिन तयार छौं । आगामी दिनमा नेतृत्वले आफ्नो कार्यकाल सफलतापुर्वक पुरा गर्न विकेन्द्रीकरणको मर्मलाई आत्मसात गर्दै सबै निकायहरुमा काम र जिम्मेवारी बाँडफाँड तथा योग्य शिक्षक कर्मचारीलाई संस्थागत कामको उचित जिम्मेवारी दिन कन्ज्युस्याईं गर्न भएन । 

noda.trital@tu.edu.np

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com