२०७७ मङ्सिर १७, बुधबार

img-responsive

१२:१५:५०

 

बडादशैंको अवसरमा ‘शिष्टाचार घर’ निर्माणको घोषणा

img-responsive
गोठालो खबर -३ २०७७ कात्तिक ११, मङ्गलबार,०२:५८:PM  
img-responsive

अमेरिका, ११ कार्तिक। यस वर्षको विजया दशमीको अवसर पारेर शिष्टाचार ‘जीवन, जगत र जिम्मेवारी’ लाई मुख्य नारा बनाई यस विषयमा प्रशिक्षण सञ्चालनका लागि शिष्टाचार घर निर्माणको घोषणा गरिएको छ । शिष्टाचार अभियान नेपालका संस्थापक अध्यक्ष सुमन दाहालले अमेरिकाबाट फेसबुकमार्फत उक्त घोषणा गर्नुभएको हो । 

शिष्टाचार अभियान नेपालको खुशी र आग्रह भन्दै उहाँले फेसबुक स्टाटसमा लेख्नु भएको छ : ‘हामीलाई ठूलो जग्गा चाहिएन । ठुला ठुला भवनहरु चाहिएन । हाम्रो उद्देश्य ठुलो छँदैछ । देश, विदेशमा हुनुुहुने लाखौं नेपाली मनहरुले हामीलाई र हाम्रो कार्यप्रति ऐक्यबद्धता जनाउन भएको छ । हाम्रो सम्पत्ति यहि हो ।’

स्टाटसमा अगाडि भनिएको छ : ‘शिष्टाचार अभियान नेपालको कार्य समितिको निर्णय अनुसार हामीले सानै जग्गामा सानो ‘शिष्टाचार घर’ बनाउने निर्णय गर्यौं । संस्थाको कोषबाट १० लाखमा एक रोपनी जग्गा किनेर पनि लगभग ३ लाख बच्ने भएको छ । लगभग १८-२० लाखमा हामी भूकम्प प्रतिरोधी घर बनाउने सफल हुन्छौं भन्नेमा विश्वस्त छौं । शिष्टाचार घरमा संस्थाको केन्द्रीय कार्यालय र प्रशिक्षण केन्द्र हुनेछ ।’

कसरी पुग्न सकिन्छ कुशादेवी? 

शिष्टाचार घर निर्माण हुन लागेको स्थान भने काठमाडौ उपत्यकाभन्दा बाहिर रहेको छ । काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं. २ (साविक कुशादेवी वडा नं. ८) मा रहेको जग्गामा उक्त घर निर्माण गर्न लागिएको हो । काभ्रे जिल्लाको सदरमुकाम धुलिखेल बजार र त्यहाँबाट उत्तरतर्फ देखिने हिमालहरुको रमणीय दृष्यावलोकन गर्दै प्रकृतिसंग साक्षात्कार गर्न सकिने अत्यन्त रमणीय, शान्त र शालीन ठाउँ भएकोले शिष्टाचार घर निर्माण गर्न कुशादेवी क्षेत्र छनौट गरिएको अध्यक्ष दाहालले बताउनु भयो । काठमाडौबाट करिब २५ किलोमिटर टाढा रहेको यस क्षेत्रमा पुग्न काठमाडौको ग्वार्कोबाट लुभु हुँदै लाकुरीभञ्ज्याङ्गबाट जान सकिन्छ भने भक्तपुरको सूर्यबिनायकबाट डोलेश्वरको डाँडाहुँदै समेत पुग्न सकिन्छ । भक्तपुर र काभ्रेको सिमाना साँगा भञ्ज्याङ्ग र काभ्रेको बनेपा तथा  पनौतीबाट समेत कुशादेवी पुग्न सकिन्छ । यो क्षेत्र मध्यपहाडी लोकमार्गको बनेपा-पनौती-ग्वार्को खण्डमा रहेको छ ।


स्वेच्छिक सहयोग र साथ दिन आग्रह 

कोभिड १९ को कारणले अधिकाँश शुभेच्छुकहरु अहिले आर्थिक संकटमा हुनुभएकोले शिष्टाचार घर निर्माणका लागि सहयोग माग्नु यो समयमा त्यति उपयुक्त नहुने दाहालले उल्लेख गर्नुभएको छ । तथापी आफुलाई खान पुगेर यस्तो पवित्र कार्यमा स्वेच्छिक सहयोग गर्न पुग्छ भने संस्थाको तर्फबाट सहयोग ग्रहण गर्न आफुहरु तयार रहेको समेत उहाँले उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ : ‘हामी सहयोग दिनु भनेर भन्दैनौं, मात्र आग्रह गर्दछौं । दिन नसक्ने अवस्था भए शुभच्छा समेत पनि हामीलाई लाख दिए बराबर हुन्छ । हामीलाई आशा छ; सक्नेले ‘साथ’ दिनुहोला र नसक्नेले पनि ‘साथ’ चाहिं नछोडिदिनुहोला ।’ शिष्टाचार अभियानका संस्थापक अध्यक्ष दाहाल हाल अमेरिकामा बस्दै आउनु भएको छ । अमेरिकाबाट फर्केर नेपालमा शिष्टाचार अभियानलाई निरन्तरता दिने दीर्घकालीन लक्ष्यका साथ शिष्टाचार घरको परिकल्पना गरिएको र सबैको साथ सहयोगबाट यसलाई सार्थक बनाउने उहाँले बताउनु भयो ।

फेसबुकबाटै साथ र सहयोगको प्रतिबद्धता 

फेसबुकबाट शिष्टाचार घर निर्माण गर्ने र प्रशिक्षण केन्द्र स्थापना गर्ने घोषणा भएसंगै विभिन्न क्षेत्रका महानुभावहरुबाट साथ र सहयोगको प्रतिबद्धता निरन्तर आउन थालेका छन् । संस्थाका कार्यसमिति सदस्यहरु र आजीवन सदस्यहरुको प्रतिबद्धतासंगै शुभेच्छुक महानुभावहरुले पनि स्वेच्छिक सहयोग गरी सहभागिता जनाउने प्रतिबद्धताहरु व्यक्त गरिरहनु भएको छ । 

भोजपुरका समाजसेवी फविन्द्र प्रधानले लेख्नुभएको छ : यहाँहरुको अभियानले पूर्णता पावस् । निकै गाह्रो तर अति आवश्यक काम थाल्नु भएको छ, यसका लागि सधै धेरै सबै सक्ने सहयोग गर्न पर्ने हो तर विभिन्न समस्याले नैतिक समर्थन मात्र गर्दै थोरै आर्थिक सहयोग गर्ने मन भयो, स्वीकार भए पवित्र कार्यमा सहभागिता हुने अवसर प्रदान गर्नु होला । 

अनिल पोखरेलले फेसबुकमा प्रतिक्रिया दिँदै लेख्नु भएको छ : गर्व छ मलाई शिष्टाचार अभियानको एक सिपाही हुन पाएकोमा ।

अनि दिनेश गदालले लेख्नुहुन्छ : हामीलाई बधाई छ हाम्रो अभियान निरन्तर जुझारुका साथ चल्नेछ । हामी सबैको सहयोग र समर्थन जुट्नेछ । जय शिष्टाचार अभियान नेपाल ।

यसैगरी ईश्वर सापकोटाले लेख्नुभएको छ : शिष्टाचार अभियानमा मेरो साथ थियो, छ र हुनेछ । हामी सबैलाई आफ्नै माटो भएकोमा बधाई ।

जि.आर. दाहालले पनि शिष्टाचार अभियानमा आफ्नो साथ हुने उल्लेख गर्नुभएको छ । श्रीकृष्ण सुवेदीले पनि प्रतिक्रिया दिँदै भन्नु भएको छ : शुभ कार्यक्रममा सरिक हुने ईच्छा पहिले देखि को नै हो अब पुरा हुन लागेको म हर्षले गद्गद् छु, धेरै धनले नसके पनि तन, मन, वचन र कर्मले सहयोग गर्नुछु । 

 फेसबुकमै कुमार राज सुवेदीले लेख्नु भएको छ  : साह्रै सुखद समाचार । शिष्टाचार घर चाँडै निर्माण होस्, सकेको होस्टेमा हैंसे अवश्य हुनेछ । यस्तैगरी वसन्त राजवंशीले लेख्नु भएको छ : अति सुन्दर एवम् गजबको कुरो आदरणीय सुमन सर...अवश्य पनि शुभ अवसरमा जोडिने प्रयास गर्छु सर । यस्तै विष्णुदेव राईले दाजु, म हजुरको पथप्रदर्शक हुँ । यहि नै मेरो सौभाग्य हो । म त हरेक एङ्गलबाट कम्जोर भए नि केहि सहयोग गर्न उत्सुक छु । उता मिनकुमार दाहालले म पनि एउटा ईंटा जोड्न चाहन्छु भनेर प्रतिक्रिया दिनुभएको छ । यसैगरी शिवजी खड्का लेख्नुहुन्छ  : ‘स्वस्थ शरीर, स्वस्थ मन, यो नै जीवनको अमूल्य धन’ भन्ने मान्छे चाहिँ यिनै सुमन दाहाल हुन्, यस्तो पवित्र कार्यमा मेरो धेर थोर सहयोग रहनेछ । गोकुल खड्काले आफ्नो नाम दर्ता गरिदिन आग्रह गर्नुभएको छ । यसैगरी रुक्मणी लिम्बुले हृदयदेखि नै ठुलो कार्य हुन लागेको बताउनुहुँदै ठुलो भवन भन्दा पनि भव्य सोच रहेको बताउनु भएको छ । यता राजन विडारीले हाम्रो अर्थात जीवन्त शिक्षा, स्वयम्सेवी शैक्षिक अभियानको हरदम साथ सहयोग निरन्तर रहिरहने प्रतिबद्धता व्यक्त गर्दै शिष्टाचार हर सभ्य समाजको लागि अभिन्न अङ्ग बन्नु अति जरुरी छ भन्नु भएको छ । त्यस्तै चन्द्र पुनले पनि अत्यन्त सुखद खबर भन्दै हामी सबैको साथ र सहयोग निरन्तर रहनेछ भन्दै बधाई एवम् मिसन सफलताको शुभकामना व्यक्त गर्नूभएको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com