२०७७ मङ्सिर १४, आइतबार

img-responsive

१०:३२:४२

 

ईश्वरको कृपाले कोरोना भाइरल जितेँ.....!!

img-responsive
गोठालो खबर २०७७ कात्तिक ८, शनिबार,११:२२:PM  
img-responsive

ईश्वरको कृपाले कोरोना भाइरल जितेँ .....!!

कोरोना भाइरलको लक्षणसंग मिल्दोजुल्दो देखिएका दिनदेखि आजसम्म यो बीचमा मनमा धेरै कुरा खेले । सधैं ब्यस्त मान्छे कोठामै थुनिएर बस्न सार्‍है गाह्रो हुंदोरहेछ । लेख- पढ् गर्न खोज्ने मान्छे लेख - पढ् गरेरै समय कटाउने सोचेको थिएं, काठमाडौको नाम चलेको अस्पतालमा केही घन्टा इमर्जेन्सी र तीन दिन सिङ्गल कोठामा बसेपछी र भाइरलका कारण पनि खासै केही लेख्न मन लागेन । अस्पतालमा एकातिर बेड, कोठा, आइ. सी. यु . तथा भेन्टिलेटर नपाइने अर्कोतिर अस्पतालको कमजोर ब्यवस्थापन, चिकित्सक, स्वास्थकर्मी आदिको सेवा सुबिधाका कुरा सुन्दा नेपालमा केही दिन अगाडि मात्र कोरोना भित्रीएको हो, अब हामीलाई भगवान पशुपतिनाथ बाहेक अरु कसैले बचाउन सक्दैन जस्तो पनि लाग्यो । इमर्जेन्सीमा एक जना नर्सले हातको पन्जा नफेरी मलगायत धेरै बिरामीको अक्सिजन, रक्तचाप, तापक्रम लगायत हेर्दै थिइन । उनको पैतालादेखि टाउकोसम्म पुरा ढाकेको थियो, मैले उनलाई यसो नजर लगाएं, आंखा निदार र कान मात्र देखें । सादा जीवन उच्चबिचारको हिमायती म झुस्स कपालदारी पालेको, हापपाइन्ट र सर्ट अझ सर्टको एउटा टाँक नलगाएको, जाडो भएर कसो ज्वाइँको अनुरोधमा पातलो ज्वाइँकै ज्याकेट यसो पहिरेको झुत्रे - झात्रेको कुरा आजको रंगीचंगी र तड्क-भड्को जमानामा उनले किन सुन्ने ? तै पनि मैले भने कम्तीमा एक कोबिद बिरामी छोएपछी पन्जा त फेर्नुस । उनले भनीन् "तपाईहरु सबै कोबिद बिरामी किन फेर्नु पर्‍यो पन्जा ?" हामी सबै एकै प्रकृतिका बिरामी थिएनौं । कोबिद सार्ने माध्यम अस्पतालहरु त हुदैछैनन् ? मलाई लाग्यो, नेपालमा स्वास्थकर्मीहरुको तालिम, अध्ययन, र अनुसन्धानमा कुनै खर्चै गरिदैन । बिचराहरुले कितावी ज्ञानकै भर र पछि सिक्दै, अनुभव बटुलेर काम गर्नुपर्छ । किन कसैका ज्ञानगुनका कुरा सुन्ने ? कोठामा गएपछि भने पैतालादेखि टाउकोसम्म ढाकेका भए पनि नर्सहरुसंग सबै बेलिबिस्तार गर्ने मौका मिलो । चिकित्सकहरुको भने पहिलो दिन अत्तोपत्तो नै भएन । एकै पटक भोलिपल्ट १२/१ बजेतिर दर्शन पाइयो।  चिकित्सकका सल्लाह र बोली वचन भने राम्रो थियो, बिषयको ज्ञान पनि थियो ।

म अस्पतालमा भए पनि सबै हेर्नुपर्ने (अक्सिजन , रक्तचाप, मधुमेह , तापक्रम, अन्य स्वास्थ सूचकांक) आफै आफ्नै मेसिनबाट हेर्दथे । अनि समय समयमा वरिष्ठ चिकित्सक डा. दिनेशचन्द पोखरेलसंग कुरा भइरन्थ्यो । कहिलेकाहिँ जो आफैं भरखरै आफ्नी धर्मपत्नी सरलासहितले कोबिदलाई जितेर आउनु भएका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल, डा. अनिल पोखरेल, डा. सुमन्त बन्जारे, डा. रवी मल्ल, डा. अंकिता सुवेदी र डा. भाष्करजंग कार्की (अमेरीका) आदिसंग समय - समयमा कुरा भइराख्दथ्यो । अस्पतालमा स्वास्थकर्मीका (नर्सहरु) कुरा सुनेर भने दिक्क लाग्द्थ्यो । एक जना नर्स बैनीले मलाई चिनेकी रहिछन । उनको पिताजी र आफन्तको नाम भनेपछि मैले पनि चिनें । उनी हाम्रो आश्रम पनि गएकीरहिछन् । परिवार, आफन्त कोहीले भेट्न नपाउने बेलामा उनी मेरो बोल्ने साहरा बनिन् - कहिलेकाही । बिचरीले जम्मा रु दस हजार मासिक पारिश्रमिक पाउदिरहिछ्न्, त्यो पनि माक्स आदिको पैसा काटेर । हाम्रो दातब्य संस्थाले गाई हेर्नेलाई पनि मागेर भए पनि खान बस्न दिएर मासिक रु पन्ध्र हजार पारिश्रमिक दिदै आएको छ ।

अस्पतालमा काम गर्ने २४ घन्टा कपडा फेर्न नपाएर पसिना - पसिना अनी खानु न पिउनु , ज्यान कै जोखिम मोल्ने स्वास्थकर्मीको यो हालत !! धिक्कार छ, तिमी दुई तिहाईको सरकारलाई । मैले दुई रात अस्पताल बसेको र सामान्य एक्सरे, इसिजी, केही रगतहरुको परिक्षण गरेको रु सत्तरी हजार तिरें । संकट्को बेलामा जस्ले जति लुटे पनि हुन्छ यहाँ ! सरकारलाई मतलब नै छैन । बिचरा सरकार कोरोना भाइरल नेपालमा भित्रीएदेखी आफ्नो सत्ता टिकाउ र पैसाकै खेलोमा छ। अधिकांश अस्पतालहरु यस्तो अति मानवीय संमबेदना र स्वास्थ संकट्को बेलामा पनि पैसाकै पछि लागेको देखेपछि नेपालमा यतिबेला "कालेकाले मिलेर खांउं भाले" भन्दै पापको अलिकति पनि डर नमानेको देखेपछि अरु कुरा लेख्नै झन मन लागेन । नेपालमा कोरोनाको बिरामीमा दुई जना भएदेखि नै लेख्न थालेको सम्बन्धित पक्षले पढ्ने होइन, किन लेख्ने ? त्यसपछि आफू र आफूसंग सम्बन्धि जिम्मेवारी, कर्तव्य र आफ्नै मनका केही कुरा आफ्नै सदस्यहरुलाइ सेयरिङ गर्न मन लाग्यो । तर यी कुरा पनि कति लेख्नु ? परिवारका सदस्य, पदाधिकारी, संचालक, कर्मचारी र आश्रमका आमाबा कसैले मतलब गर्दैनन् । उनीहरूका पनि आफ्नै स्वार्थ कै त कुरा छन । कोरोनाले गलाएको बेला लेखेकोले कोहीले पढ्छन् कि ? कोरोना भाइरल बारेका पनि केही कुरासहित लेख्दै छु । लेख्ने्को काम -लेख्ने न हो, पढुन- नपढुन जो विचार । 

कोरोना भाइरसको बारेमा विकसित देशहरुले सुरुमा नै यसरी प्रचारप्रसार गरे की हामी जस्ता मान्छेलाई सर्‍यो भने ज्यानको ठुलो खतरा नै हुन्छ । मेरो अनुभवमा उनीहरुले भने जस्तो पनि होइन । अनि नेपालका एकथरी अतिबाजीहरुले भने जस्तो सामान्य रुंघा, खोकी, ज्वरो मात्र कोरोना नाथे पनि होइन । दीर्घ रोगी, आत्मवल र इच्छाशक्ति नभएका ब्यक्तिहरुको लागि काल पनि बन्न सक्ने रहेछ- कोरोना । यसलाई पथपरेजमा बसेर स्वास्थ्य सुरक्षाका सबै नियम पालना गर्‍यो भने सामान्यरुपमा नै धेरैलाई निको हुन्छ, आत्तिनु, डराउनु पर्दैन । म भने कोरोना भाइरलका लागि सामान्य रोगी होइन । म सामान्य रोगसंग डराउने मान्छे पनि होइन । तर कोरोना भाइरल कडा भएरै केही दिन थलै परें । अस्पताल पनि बसें। कोरोनाले धेरै च्यापेका बेला म एक छिन मात्र निदाउन खोजें की पितापुर्खा कै थलोमा पुग्द्थें । त्यसैले म भन्छु; आफ्नो धरातल कहिल्यै बिर्सनु हुदैन । अनि मलाई पुनः याद दिलाउथ्यो, मेरा पितापू्र्खाले कसैको एक पैसा पनि बिना श्रम नखान सिकाएर गएको कुरा । मलाई चेतना भएदेखी मैले पनि पिता पुर्खाको नै सिको गर्दै आएको छु । कसैको एक पैसा पनि बिना श्रम आजसम्म खाएको छैन र भविस्यमा पनि खाने छैन । त्यसैले पनि होला मेरो नेतृत्वमा नै नेपालमा जेष्ठनागरिकको क्षेत्रमा सबभन्दा ठुलो संरचनाहरु बन्न र संचालन हुन ईश्वरको कृपाले सफल भएको छ। यस्ता परियोजना बन्न र संचालन हुन ठुलो लगानी, त्याग र तपस्या चाहिन्छ । सजिलो भए सरकारले पनि बनाउथ्यो । अहिलेसम्म सरकारले पनि बनाउन सकेको छैन, ठुलो संङ्घर्षले बनेको हो यो । कोरोनालाई जित्न पनि मैले धेरै संङ्घर्ष गर्नु पर्‍यो । कोरोना भनेको पहिले-पहिलेको कोररोग भन्दा पनि चर्कोरहेछ । कोही पनि छेउछाउ नआउने अछुत भनेपछि डर लाग्दो भाइरल !! त्यसैले कोरोना लाग्नै नदिनु सबभन्दा ठुलो बुद्धिमानी हो ।

म बिज्ञानको विद्यार्थी नभए पनि शरीर बिज्ञानमा रुचि राख्ने र रोगकोको भुक्तभोगीको अनुभवी भएकोले मात्र भन्दैछु । सरकार लगायत कोही पनि जिम्मेवार नभएको यही मौकामा कोरोनालाई गरे जस्तै बेमानी, भ्रष्टाचारी, दुराचारी लोभी, पापी र अत्याचारीहरुलाई अछुत गर्न कोरोनाले सिकाएर सदाका लागि बिदा भएर जाने छ भन्ने आशा पनि गरौं । आध्यात्मिक, नैतिकता र मेहनतकासाथ अरुको भलाईको निम्ति काम गर्ने जोकोही ईमानदार मान्छेलाई भने सदैव ईश्वरकोसाथ रहंदोरहेछ भन्ने पूर्ण विश्वास यस पटक कोरोना भाइरल जितेपछी मैले प्रत्यक्ष अनुभूती गरेको छु । आजसम्म मैले जानेर र शास्त्रले गर्नुहुदैन भनेका कुनै पनि पाप कर्म गरेको छैन । त्यसैले पनि होला कोरोना मात्र होइन । ठुला- ठुला रोगलाई पनि जित्तै आएको छु । ठुला साना गरि मेरा चार वटा त अप्रेसन नै भइसके। मैले जन्मजात लिएर आएका र पछी त्यसबाट सिर्जित रोगलाई भगवानको कृपाले जित्दै आएको हुँ । मृर्गौला प्रत्यारोपण गरेपछिको सम्पूर्ण बोनस जीवन लोककल्याणकारी (परहित) काममा मात्र समर्पण गर्ने संकल्पकासाथ केही लोककल्याणकारी परियोजनाहरु (त्यस बेला धेरैका नजरमा पागलपन) घोषणा गरेको थिए । जसमध्ये पहिलो चरणमा नेपाल सरकारको निजी साझेदारी कार्यक्रम अन्तरगत एवम् सेनाको कल्याणकारीकोष र धेरै दाताहरुको सहयोगमा सानाठुला गरी ३३ वटा भवन तथा कुटी एवं त्यस अन्तर्गत धेरै भौतिक पूर्वधारहरुको काम विभिन्न आरोह / अवरोह खेप्दै प्रतिष्ठानले आफ्नै नाममा जग्गा किनी निर्माण सकी सम्माननीय राष्ट्रपति, प्रधानमन्त्रीलगायत देशका बिशिष्ट ब्याक्तित्वहरुबाट उद्घाटन गरि संचालन गर्न सफल बनेका छौ । आफुले संकल्प गरे मध्येको जिम्मेवारी आफ्नै नेतृत्वमा पुरा भएकोमा खुशीको अनुभुत गरेको छु । अरु केही महत्वपूर्ण कामहरु पब्लिक पाट्नरसीपमा गर्ने योजना अनुसार केही सुरुवात्को चरणमा छन। केही जग्गाको एकीकृत, साँध, सीमाना, सट्टा - पट्टा, किन-बेच (जग्गा दलाल हरुको बिगबिगी आदि) गर्ने जस्ता काम अझै बांकीनै रहनु , स्थानीयस्तरमा जनचेतनाको अभाव, भिरालो खोल्सा-खाल्सी, गरा-गरा जग्गा, कामदारहरुको समस्या, रकमको अभाव, अधिकांश मान्छेहरुमा सामूहिक भन्दा ब्यक्तिगत लोभ, र स्वार्थ अत्त्याधिक, कमजोर, सुबिधाभोगी र सहरप्रिय मानसिकता तथा आफ्नै काममा ब्यस्त यो परियोजनालाई (रुचि भए र पनि) कम प्राथमिकतामा पार्ने समूह अनि राजधानीबाट टाढा हुनुको साथै, सडक, संचार, आदिको असुबिधा अनि यही बीचमा भुकम्प, नाकाबन्दी र मुलुक संघीयतामा गएका कारण र अहिले कोरोना महामारी आदिले गर्दा पनि कामहरु तीव्र गतिमामा हुन सकेका छैनन् । आफूले कुनै त्याग, समर्पण, सहकार्य र सहभागिता बिना नै सानो रकम आफ्नो नाममा जग्गामा खरिदमा लगानी गर्नसाथ आफ्नो निजी घर बनी हाल्छ भन्ने केहि पदाधिकारी तथा नमुना गाउँ निर्माण समिति कै केही सदस्यहरुको गलत सोचाइले पनि कामलाई पर धकेल्यो । कुनै पनि सामूहिक काम त्यही बेला सबै लागेर समयमा नै झ्याप - झुप्प गरिहाल्यो भने सबै काम भैहाल्ने रहेछ । त्यस बेलाको त्यस्तो विकट ठाउँमा मागेर त यति ठुलो संरचनाहरु तयार भए भने जग्गा किनेकै थियो, आफ्नै घर बनाउन आफैले लगानी गर्ने हो भने किन बन्दैन ? गारौँ भन्ने सकारात्मक सोच राखेर सबै जना त्यस बेला लागेको भए त्यहीँ बेला सबै काम हुन सक्थे । यसो हुन सकेको थियोे भने नेपालको मात्र होइन, विश्वकै एउटा जेष्ठ नागरिकको क्षेत्रमा नमुना परियोजना बन्ने थियो । मागेर यति ठुलो परोपकारी काम हुँदा ब्यक्तिहरुको निजी काम हुन सकेन । यसले के प्रमाणित गर्‍यो कि; पैसा मात्र भएर हुदैन पहिला ईमानदार काम गर्ने ब्यक्तिहरुको समुह नै चाहिनेरहेछ । एउटा असल मिसन र भिजनमा समाबेश हुने केही ब्यक्तिरुले आफ्नो नाममा जग्गा किनेको लगानीलाई पनि नाफा र नोक्सानको तराजुमा तौलिने मानसिकता बनाएपछि कसरी बन्छ परियोजना ? यो कुरालाई अझै पनि धेरैले महसुश गरेका छैन । जिम्मेवारीको "बोझ" आफन्तको चिन्तन र धनको खोजमा हिडेका केही मान्छेहरुलाई थाहा हुनु पर्‍यो नि ? शक्ति आर्जन गर्न, मान-सम्मान पाउन धन कमाउन अनि सम्बन्ध बनाउन सजिलो छ । तर त्यसलाई टिकाउन अति गार्‍हो छ। त्यसैले निजी स्वार्थका कुरामा लोककल्याणकारी संस्थालाई जोड्नु कति न्यायोचित छ ? त्यसै नेपाललाई सतीले सरापेको देश भनेको होइन रहेछ। सामूहिक स्वार्थमा कमै मान्छे लाग्दा रहेछ्न । सबैको भलाई हुने साझा हाम्रो काम भन्दा मेरै काम सबैलाई प्रिय हुने रहेछ ।

म पुरा परोपकार काममा लागें । हुन पनि एक जनाले कति काम भ्याउने ? काम बाँकी राखेपछि बाँकीको बाँकी नै रहनेरहेछ । नेपालमा सुरुमा आफैंले सानो बिकासको काम सुरु गर्‍यो कि साँध-सीमाना मिलाउन संस्थाले जमिन बढेको मात्र होइन, उस्तैपरे हावा बढेको समेत मूल्य तिर्नुपर्ने, अर्थात आफ्नो जग्गाको फलामको जस्तो मुल्य हुने । अरुको जग्गाको लागि सुनको भाउ दिनुपर्ने । लामो समयसम्म प्रयत्न गर्दा पनि अधिकांश मान्छेको लोककल्याणकारी काममा रुचि नदेखाएपछि दिक्क भएर आफू कल्याणकारी काममा नै लाग्ने, तर अरुलाई नाफामुलक काममा समन्वयकारी भूमिकामा रहि बाँकी कामलाई अब चुस्त, बिश्वासिलो र निस्वार्थ टिम बनाएर काम अगाडि बढाउने कामको सूचि बनाएर लकडाउनको सदुपयोग गर्दै मनको सिरानीमुनी योजना राखेर सोच मग्न थिएँ । यही बेला विश्वव्यापी फैलिएको कोरोना महामारीले जति नै स्वास्थ्य सतर्कता अपनाउँदा-अपनाउँदै पनि म संक्रमित बनें । बिगत तीन दशकदेखि चिसो पानी पिउदिनथें, बिगत १२ बर्षदेखि तातो पदार्थ मात्रै खाने, चिसो खानपिन नगर्ने सबै खाने भाँडाकुँडा तातोपानीले सफा गर्ने अनि मात्र खाने, सकेसम्म घर बाहिर केही नखाने र हरेक दिन सुगर, रक्तचाप, अक्सिजन, हार्टविट, तापक्रम आदि नियमित नापजाँच गर्दै आएको थिएँ । कोरोना भाइरल नेपालमा भित्रेपछि सकेसम्म सामाजिक दुरी कायम गर्ने, घरबाट बाहिर जाँदा कतै पनि मास्क नखोल्ने, बाहिर केही नखाने, बेलाबेलामा साबुन पानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने, अनि बेलुका एक पटक माउथ वासले मुख सफा गर्ने गर्दा पनि कताबाट कसरी कोरोनाले डेरा जमायो पत्तै पाउन सकिन !! हुने हुनामी टारेर टार्न नसकिने नै रहेछ। धेरै जना घरमै बस भन्छन् । मेरो लागि यो सम्भव कुरा होइन । निस्वार्थ सेवा गर्ने कर्मवीरहरु आफ्नो कर्तब्य र जिम्मेवारी बिर्सिएर कहाँ कोठामा थुनिएर एउटा आफ्नो मात्र ज्यानको मायाँ गरेर बस्न सक्छन् र ? मैले पनि यो लकडाउनको अबधिमा आफ्नो जीवनलाई भन्दा कर्तव्य र जिम्मेवारीलाई नै पहिलो प्रार्थमिकतामा चाहिँ राखेंकै हुँ । अरुले प्रचार गरे । मैले प्रचार नगरी सुरक्षित तवरले असहाय, गरीबदुखीकै सेवामा सकेसम्म आफूलाई समर्पण गरें । यसमा मेरा धेरै साथीहरू सहयोगीको भूमिकामा छ्न् । यही बेला आफ्नो ब्यक्तिगत स्वार्थलाई प्रधानता देख्ने कतिपय सदस्यहरु घररुपी दुलाभित्र पसेर बसें । काम नभएपछि नकारात्मक कुरा काटेर बस्नेहरूको पनि जमात बन्यो । अरुको नकारात्मक कुरा गर्न आफुले अलिकति भए पनि काम गरेर देखाउनसक्नु पर्छ । त्यसो नगरी बिरोध गर्नु पाप गर्नु सरह हो । पापको डर नै नभएकालाइ के भन्नु ?

२०६५, कार्तिक ४ गते मृर्गौला प्रत्यारोपण गरेपछि त्यसको निम्ति र जन्मजात उच्चरक्तचाप, कलेजो, मधुमेह, मुटु, प्याङकृयाज, र पायल्स आदि जस्ता रोगको लागि पनि नियमित औषधि प्रयोग गरिरहेको दीर्घरोगी ब्यक्ति अनि छ विसको डिलमा पुगेको मान्छेलाई पोजेटिभ देखिएपछि डराउनु स्वभाविकै थियो । कोरोना हटाउन रोगप्रतिरोधी क्षमता बढाउनु पर्ने थियो । तर मैले मृर्गौला प्रत्यारोपण गरेकोले रोगप्रतिरोधी क्षमता कम गर्ने दबाई खानु पर्ने कस्तो संङकट ? कोनोनाको व्यवस्थापन गर्ने कि झाडा-पखाला, ज्वरो, सुगर, मुटुको चाल (घटबढ) आदिको व्यवस्थापन गर्ने ? म जस्ता रोगीको लागि कोरोनालाई जित्नु सजिलो बिषय थिएन । डराएर हुनेवाला पनि केही थिएन । यति धेरै जिम्मेवारीको च्याङ्गका च्याङ्गमा सुतेको मान्छेले डराउनै भएन। मर्ने कुरा जन्मदै लिएर आएको हुन्छ । मृत्यु रहस्यमा छ । त्यसैले काल कुनै पनि बेला आउन सक्छ । जीवनको ब्यवस्थापन भोलिका लागि होइन आजको लागि गरेर बाँच्ने हो। त्यसैले मृत्युसंग डाराउनै हुदैन भन्ने मान्यता राख्ने मान्छे "म" । उच्चमनोबल, तीव्र इच्छाशक्ति र कृयासिलताकासाथ बस्दा पनि काल आइहाल्यो भने अहिले गरिरहेका दैनिक नगरी नहुने न्यूनतम आधारभूत आवश्यकताका केही काम र दीर्घकालीन कामको जिम्मेवारी पुरा गर्न सक्ने कि अर्को मान्छे दिनु पर्‍यो कि मलाई नै आफ्नो जिम्मेवारी र कर्तव्य पुरा गर्न केही बर्ष बोनसको रूपमा समय पाउनका लागि कालसंग कामको सूची थमाई दिने निर्णयमा पुगेको थिएँ। नभन्दै कोरोनाले च्याप्दै जान थाल्यो । सपनाहरू पनि नराम्रा देख्न थालें ज्वोतिषीहरुले पनि यो बर्ष कडा खड्गो छ भन्थे। यसै पनि बिरामी भएको बेला मान्छेले नराम्रै सपनाहरु बढी देख्छन् । सपनामा मलाई लिन काल पनि आएकै थियो । तर म सपनाहरुमा त्यति धेरै बिश्वास गर्दिन । र पनि परिवारका सदस्य डराउछन भनेर हाँसेर ठीक्क छ - भन्नै पर्‍यो । अनि जति कोरोनाले पेल्दै जान्छ, आफ्नो जिम्मेवारी र कर्तव्यको सूचि त्यति नै बढ्न थाले । भन्न त भनिन्छ - राजा मरेर राज्य त चल्छ । हाम्रो परिवार, आश्रम कसरी चल्दैन होला ? आजसम्म सबै संसार कुमालेको चक्र जसरी चलेकै छ । वंश पनि चलेको चलै छन । जसरी चले पनि देश पनि चले कै छ । तर पनि आफ्नो कर्तव्य र जिम्मेवारीलाई सर्वश्रेष्ठ ठान्ने ब्यक्ति आफुले संकल्प गरेका कामहरु आफै पुरा गर्न खोज्दोरहेछ । मैले मपाइत्वको कुरा गरेको होइन । अहिले कतिपय यस्ता काम छन-अहिलेको लोभी, पापी र ब्यक्तिगत स्वार्थलाई नै सर्बोपरी ठान्ने जमानामा जोकोहीले गर्न असम्भव पनि केही काम छ ? बजारको उधारो तिरोभरो, कर्जा, सापटी, व्यक्तिगत ॠण र अन्य दायित्व अध्यक्षकै (अध्यक्षको जिम्मेवारी छोड्न पनि भरपर्दो उत्तराधिकारी तयार भईनसकेको अवस्था छ। अरु सबैले रिस उठे रिसको झोंक देखाउन र जिम्मेवारीबाट भाग्न पनि पाउछन्, कति जना भागी पनि सके।) छ ।

घरजग्गा श्रीसम्पत्ति सबै संस्थाको अर्थात सरकारको । दायित्व एक जना ब्यक्तिको मात्र काँधमा। यति ठुलो दायित्व आजको जमानामा लिइ दिने ब्यक्ति कसरी पाउने ? त्यस्तै मेरै आडभरोसा समेतमा घरपरिवार सबै छोडेर आएको कृष्णदाइ, आश्रमनै आफ्नो घर ठान्ने बिजयदाइ, अनि आफन्त सबै छोडेर आश्रमलाई नै आफ्नो नियतिको कर्मथलो बनाउने नारायण भाइ तथा शान्ति बैनी, आश्रम नै जीवनको आश्रय बनेको मैयाँ, बिनिता, बिष्णु , अनि भोज कुमारी । अनि कुनै पनि बाँच्ने आश्रम बाहेक अरु आधार नभएका बरालबा र ९२ बर्षकी भवानी आमा। त्यसपछि केयर होमहरु नाफामुखी भएको बेला निशुल्क, जतिछ त्यति, र सकेको जति सेवा शुल्क तिरेर आत्मस्वाभिमानपुर्वक मैत्रीसेवा आश्रममा अल्पकालीन र दीर्घकालीनरुपमा बस्ने अरु धेरै आमा-बाहरुको आशाको त्यान्द्रो बनेको मलाई कहाँ काल अहिले नै आउन पाउछ र ? मलाई मर्न फुर्सद छ ? काललाई मैले नगरी नहुने कामको अरु पनि सूचि दिएपछि कालले लाने हिम्मत गरेन । तर केही सदस्यहरका भने अचम्म-अचम्मका कुरा छन् । अरबौ-अरब बैंक खातामा रकम भएका राष्ट्रिय गौरवका आयोजनाहरु (बुढिगण्डकी, मेलम्चीआदि) समयमा बन्न नसकेको नेपालको परिवेशमा उनीहरू कै परिभाषामा मगन्ते तथा दातब्य संस्थाले मागेको भरमा यति धेरै काम गरेको बिर्सिए जस्तो गर्ने र छिटै बिना लगानी आफ्नो निजी स्वार्थ पूरा गर्न एक जना व्यक्तिलाई मात्र दवाब दिएको कुराप्रती कालले पनि उचित ठानेन। अहिले कोरोना बढेकोबढैछ । यस्तो बेलामा आफ्ना निजी स्वार्थका कुरा गर्ने होइन । सबैले आत्मबिश्वास, इच्छाशक्ति, ईश्वरप्रति बिश्वास, र कालप्रतिको भरोसा राख्नु पर्ने बेला हो यो । जहिले पनि सत्यको नै बिजय हुन्छ । म सत्यपथमा छु। त्यसैले सत्य लेख्न र बोल्न डराउदिन । सत्यपथ अंगाल्ने र अरु धेरैको भलाईको निम्ति आफ्नो सम्पूर्ण जीवन समर्पित ममा कुनै पनि लोभ, डर, त्रास र आश भए नभएको समेत कालले सपनामा परीक्षण गरेको थियो । यस्तो बेलामा पनि निजी स्वार्थको लागि केहीको अधैर्यता देखेर म मात्र होइन काल पनि अचम्मित बनेको छ। काललाई दिनुपर्ने अरु पनि थुप्रै सूचि मसंग थिए, मलाई अहिले नै कालले लग्यो भने धेरै लोभीपापीको लागि म न्याउरी मारी पछुतो जस्तै हुने थियोे। सबैको भरोसाको केन्द्रबिन्दु - बिचराहरुको पनि काम गरिदिने अरु कोहि छैन । हुन त यी बिचरा ब्यक्तिहरुको के कुरा गर्नु ? सबैको अभिभावक सरकार नै गैरजिम्मेवार छ, सबैका पूजनीय आमा-बाहरुको काम उसको प्राथमिकतामा परेको छैन ।

सत्ता टिकाउन सर्प ब्यापार पहिलो प्राथमिकतामा छ। सेनाको कल्याणकारीले पनि आफ्नो अनुदानमा बनेका कुटीहरुको संचालन गर्न उद्घाटनको धेरै बर्ष भइसक्दा पनि नाफामुलुक संस्थामा लगानी गरे जसरी नाफा - घाटाको तराजुमा तौलिदैछ। हुन त जस्ले गर्न सक्छ उसैलाई धेरै पेलेर पिना बनाउदा पनि हुनेरहेछ । केही ६/७ बीस काटेकाहरुलाई अहिले नै कहिले काहीं भए पनि बस्न त्यहा मैत्रीसेवा आश्रमको होइन आफनै मेरो कुटि चाहीएकोछ। कालले मलाई सुटुक्क भन्दै थियो - बनाई दिन पाए त राम्रै हुन्थ्यो । अनि रजतस्तम्भमा संस्थापक लगायत अहिलेसम्म नेतृत्व गर्ने नेतृत्वकर्ता सबै र दाताहरुको दानको खुला र पारदर्शी अभिलेख, एकीकृत जेष्ठनागरिकग्राम, मैत्रीसेवा-आश्रमको बाँकी निर्माण, अनि मैत्रीसेवा आश्रमको दीर्घकालीन संचालनको कोष।आफ्ना केही पारिवारिक जिम्मेवारी र कर्तव्य पनि कालले यस पटक थाहा पाएरै फिर्ता गयो । बास्तविकरुपमै छोरा र छोरी बराबर ठान्ने इमानदार पीताबारे पनि कालले जानकारी लिन भ्याएको कुरा छास्स-छुस्स सपनामा देख्दै थिएँ। समाजमा नराम्रोसंग झाँङिएको कुसंस्कार, परम्परा, देखासेखी, भड्किलो र, तडकभडक अनि रंगिन बिबाहको विरुद्ध मितव्ययि बिबाह गर्न आजको जमानामा राजी हुने उच्चशिक्षाको डिग्रीप्राप्त छोरीप्रतिको कर्तव्य पनि त बाँकी नै थियोे । बैंक, बित्तीय संस्था तथा ब्याक्तिगत कर्जा तिरी बाँकी धनसम्पत्तिलाई श्रीमती, छोराछोरीहरुको भाग छुट्याएपछी आफ्नो भाग परसेवामा नै लगाउने पबित्र सोच बुझेर काल झन पुलङकित बन्यो । त्यस्तै छिटै बिबाह बन्धनमा बाँधिन लागेको कनिष्ठ पुत्र, अनि अर्को करिब आधा घन्टाले मात्र जेष्ठ हुन पुगेको पुत्रको पिएचडी (डाक्टरी उपाधी) पछि मात्र बिबाह गर्ने अडानले गर्दा थप जिम्मेवारी बाँकी नै रहेको पनि काललाई न्यायचित नै लाग्यो । मान्छेहरु नातिनातीनाको पनि जिम्मेवारी र कर्तव्य पुरा गर्नु छ भन्छ, त्यो गलत हो भन्ने मेरो मान्यताले पनि काल दंग पर्‍यो । सबै काम हजुरआमाबाले पुरा गरेपछि आफ्ना छोराछोरीले गर्ने के? मायाँ उँधो बगे पनि यो अति नै हो। सधैं छोराछोरी भन्दाभन्दै आफ्नो जिन्दगी सकिएको पत्त्यो नहुने आमाबाहरुलाई ? त्यसपछि मलाई आफ्नो मृर्गौला दान गर्ने महादानी दाजु र अरु दाजुभाइ अनि दिदी । ठुल्दाजुको परिभाषामा मृमिर्गौला दानगर्ने र नगर्नेहरुको पनि चित्त ठुलो बनाउन बाँकी नै थियोे । मातापिताले केही गर्न अर्थ्याएको दाजुलाई खासै केही गर्नु नपरे पनि परिवारको एक मात्रै सुकुम्बासीको ब्यवस्थापन गर्न दानी भाइको योजनामा होस्टेमा हैसे गर्ने कुरा लक्डाउन कै बेलामा भाइले चलाको थियोे, उनको त्यो पबित्र काम पुरा गर्न बाँकी नै थियो । मन पनि धन पनि भएका परिवारका सबैका लागि मनकारी ठानिएका एक मात्र भाइको काँधमा कालले मेरो कुरा नसुनेको भए मेरोसमेत जिम्मेवारी उनैमा जान्थ्यो ।

दर्विलो मन, उच्चइच्छाशक्ति, र प्रवल आत्मबल नबनाएका कारण र उनको कमजोर स्वास्थ्यस्थितिसमेतले काललाई पछाडि फर्किन बाध्य बनायो। के गर्ने परिवारमा उनी बाहेक यो भवसागर थाम्ने अर्को हुटिट्याउ छैन । यो बीचमा मेरो मैत्रीसेवा आश्रम बाहेक अरुकेही प्राथमिकतामा पर्दैपरेनन।अब सबै जिम्मेवारी पुरा गरि आफू ब्राह्मणचार्य, ग्रह्स्तपछिको बांणप्रस्थान आश्रमलाई छोडेर सिधै सन्यासआश्रमको तयारीमा रहेकोे सोचले आफ्नो लागि एक कुटी आश्रममा नै बन्नु इमानदारीको अर्को प्रमाण कालले देख्दा पनि उसलाई बुझाउन ३० दिन लाग्यो। उसको निष्कर्षमा मेरो आफ्नो निजी केही स्वार्थ नदेखेपछी मलाई यस पटकलाई जति नै जोखिमबर्गमा परे पनि कोरोनालाई लान नदिने निर्णयमा काल पुगेकोले म कोरोना नामक भाइरललाई जित्न सफल भएको छु। भगवानको असिम निगाहबाट फेरि कति समयका लागि हो लोककल्याणकारी काम गर्ने अर्को शु-अवसर प्राप्त भएको छ। यसका लागि कालप्रति कृतज्ञता व्यक्त गर्दै यो समयको पनि अधिकतम सदुपयोग गर्ने प्रण गरेको छु। रोगको लक्षण देखिनासाथ उच्च सतर्क अपनाई ईश्वरकोसमेतको कृपाले आफ्नो चालक बाहेक (त्यो पनि म नै हो भन्ने निश्चित छैन) श्रीमती, छोराछोरी आफन्तजन साथीभाइ कसैलाई पनि कोरोना भाइरस सार्ने माध्यम मलाई नबनाई दिएकोमा ईश्वरप्रति पुनः कोटीकोटी नमन गर्द्छु।

अन्तमा कोरोनाको शंका लागेका दिनदेखि नै मेरो स्वास्थ्यस्थिति बारे गम्भीर बनि दैनिक जसो फोनबाट मेरो उपचार गर्ने मेरा मित्र वरिष्ठ चिकित्सक डा. दिनेशचन्द पोखरेल, दैनिक सेवामा समर्पित धर्मपत्नी सकुन्तला छोराछोरी, ज्वाइँ दाजुभाइ कुलकुटुम्ब साथीभाइ ईष्टमित्र र मेरो स्वास्थप्रति चासो राख्ने अरु सबैप्रति कृतज्ञ छु।

यस अनुभवका लेखक : मित्रसेन दाहालसंग  अनुमति  लिएर निजको फेसबुक स्टाटसबाट साभार ।  उनी जे.पी. प्रतिष्ठान (मैत्रीसेवाश्रम) का सस्थापक अध्यक्ष हुन् भने सामाजिक कार्यमा पनि उनको त्यतिकै भूमिका रहेको छ।  

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com