२०७७ मङ्सिर १५, साेमबार

img-responsive

०२:०७:५८

 

त्रिवि सेवा आयोगले लिने परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि आयो कडा नियम

img-responsive
गोठालो खबर -३ २०७७ कात्तिक ६, बिहीबार,०८:४०:AM  
img-responsive

उत्तरपुस्तिकामा जथाभावी लेखे परीक्षा रद्द हुने, अनियमिता गरे पाँच वर्षसम्म परीक्षामा प्रतिबन्ध

कीर्तिपुर, ०६ कार्तिक। त्रिवि सेवा आयोगले तुरुन्तै लागु हुने गरी गत कार्तिक १ गते ‘त्रिवि सेवा आयोगको उत्तरपुस्तिका प्रयोग तथा परीक्षा नियमनसम्बन्धी कार्यविधि, २०७७’ जारी गरेको छ । सो कार्यविधिले परीक्षार्थीहरुबाट उत्तरपुस्तिकाको प्रयोग कसरी गर्ने भन्ने व्यवस्था गरेको छ । कार्यविधिको परिच्छेद दुईमा उत्तरपुस्तिका प्रयोग गर्दा पालना गर्नुपर्ने कुराहरु समावेश गरिएको छ । जसमा वस्तुगत उत्तरपुस्तिकाको प्रयोग गर्दा पालना गर्नुपर्ने कुराहरु समावेश गरिएको छ । 

कालो मसीको प्रयोग अनिवार्य 

परीक्षार्थीले वस्तुगत उत्तरपुस्तिकामा सर्वोपयुक्त कोठालाई कालो मसी भएको जेल पेनले पूरा भर्नुपर्ने र एकपटक लेखिसकेपछि मेटेमा, केरेमा, पुरा नभरेमा, दोहोरो संकेत गरेमा उक्त उत्तरलाई गलत उत्तर सरह मानिने व्यवस्था कार्यविधिले गरेको छ ।

यसैगरी विषयगत उत्तरपुस्तिका प्रयोग गर्दा पालना गर्नुपर्ने कुराहरुमा परीक्षार्थीले विषयगत उत्तरपुस्तिकामा कालो मसीले मात्र लेख्नुपर्ने व्यवस्था छ । प्रश्नले मागेको ठाउँको उत्तरमा चित्र बनाउनुपर्ने भएमा कालो मसी वा पेन्सील प्रयोग गर्न सकिने, उत्तरपुस्तिकाको दायाँ र बाँयापट्टी कम्तिमा एक इन्च मार्जिन छाडेर लेख्नुपर्ने र प्रश्न नं. अंकमा मात्र स्पष्टसंग लेख्नुपर्ने व्यवस्था गरिएको छ । 
 

नाम, ठेगाना लेख्ने ठाउँमा खाली छोड्नुपर्ने 

यसैगरी कुनै प्रश्नको उत्तरको ढाँचामा नै नाम, ठेगाना राख्नुपर्ने भएमा (जस्तैः पाठ योजना, अनुसन्धान प्रस्ताव) नाम र ठेगानाको ठाउँमा खाली राख्नुपर्ने व्यवस्था गरिएको छ । 
 

उत्तर परीक्षण नगरिने वा अंक नदिइने व्यवस्था 

कार्यविधिको परिच्छेद तीनमा उत्तर परीक्षण नगरिने वा अंक नदिइने व्यवस्था उल्लेख गरिएको छ । प्रश्न नं. उल्लेख नगरी उत्तर मात्र लेखेको वा प्रश्न नं. अस्पष्ट भएको अवस्थामा उक्त उत्तर परीक्षण गरिने छैन भन्ने व्यवस्था राखिएको छ । प्रश्न नं. एउटा तर उत्तर अर्कै प्रश्नको लेखेको पाइएमा उक्त उत्तरलाई गलत उत्तर मानी शुन्य अंक दिइने उल्लेख गरिएको छ ।

उत्तरपुस्तिका रद्द गर्नेसम्बन्धी व्यवस्था 

कार्यविधिको परिच्छेद चारमा उत्तरपुस्तिका रद्द गर्नेसम्बन्धी व्यवस्था गरिएको छ । जसमा उत्तरपुस्तिकाभित्र उत्तरमा कालो मसीबाहेक अन्य मसी र चित्रमा पेन्सील वा कालो मसी बाहेक अन्य जुनसुकै मसी प्रयोग गरेको पाइएमा र उत्तरपुस्तिकामा लेख्दा कालो र निलो मसी मिश्रण गरी लेखेमा उत्तरपुस्तिका रद्द गरिने व्यवस्था रहेको छ । यसैगरी प्रथम उत्तरपुस्तिकाको पहिलो पेजको कभर पेजबाहिरपट्टी निर्दिष्ट गरिएको स्थान बाहेक अन्य ठाउँमा आफ्नो नाम, रोल नं. र हस्ताक्षर गरेको पाइएमा पनि उत्तरपुस्तिका रद्द हुनेछ । साथै थप उत्तरपुस्तिकामा परीक्षामा खटिएका निरीक्षक वा सह केन्द्राध्यक्षको हस्ताक्षर नभएको अवस्थामा समेत उत्तरपुस्तिका रद्द हुने उल्लेख छ । 

यस्तै परीक्षामा सोधिएका प्रश्नले मागेको बाहेक कुनै पनि चिन्ह वा संकेतहरु राखिएके, अनावश्यक वाक्याँशहरु लेखिएको, रेखा वा चित्रहरु कोरिएको आदि पाइएमा त्यस्ता उत्तरपुस्तिकाहरु रद्द गरिने कार्यविधिमा उल्लेख गरिएको छ । साथै उत्तरभित्र नाम, ठेगाना वा असान्दर्भिक वाक्य वा अंक लेखको भएमा पनि उत्तरपुस्तिका रद्द हुने उल्लेख गरिएको छ । 

कार्यविधिमा व्यवस्था भएबमोजिम प्रश्न नं. लेख्दा प्रश्न नं. बाहेक कुनै चिन्ह, गोलो, कोष्ठ, अण्डरलाइन वा अन्य कुनै चिन्ह लेखेको भएमा पनि उत्तरपुस्तिका रद्द हुने जनाइएको छ । त्यसैगरी उत्तरपुस्तिकामा दायाँ बाँया बोर्डर तानेमा वा उत्तरमा अण्डरलाईन गरेको भएमा पनि रद्द हुनेछ । तर कुनै पनि वैज्ञानिक नाममा अन्डरलाइन गर्नुपर्ने भएमा सो मान्य हुने बताइएको छ । उत्तर लेख्दा बुलेट वा स्टार चिन्हहरु प्रयोग गरेमा पनि उत्तरपुस्तिका रद्द हुने जनाइएको छ । 

नेपाली र अंग्रेजी भाषा मिसाएर प्रश्न नं. लेखेमा, उत्तरभित्र असान्दर्भिक लाइन वा चिन्ह लेखेको भएमा र उत्तरको अन्त्यमा आदि, इत्यादि र कापीको अन्त्यमा समाप्त, द इण्ड लगायत अन्य असान्दर्भिक चिन्ह वा वाक्य लेखेको भएमा पनि उत्तरपुस्तिका रद्द गर्ने कार्यविधिले जनाएको छ । 

अनियमितता गरे पाँच वर्ष परीक्षामा सहभागी हुन बन्देज हुने गरी कारवाही 

कुनै पनि परीक्षार्थीले परीक्षा हलमा परीक्षाका लागि खटिएका निरिक्षक, सहायक केन्द्राध्यक्ष, केन्द्राध्यक्ष, पर्यवेक्षक, अनुगमनकर्ता तथा अन्य शिक्षक कर्मचारीलाई परीक्षा केन्द्रभित्र वा बाहिर परीक्षाको समयमा वा परीक्षाको विषयमा केन्द्रित रही अन्य समयमा हातपात गरेमा वा अभद्र व्यवहार गरेमा वा धाक, धम्की देखाएमा उक्त परीक्षार्थीको परीक्षा रद्द गरी कसूरको मात्रा र प्रकृति हेरी एक वर्षदेखि पाँच वर्षसम्म सेवा आयोगबाट लिइने जुनसुकै परीक्षामा सहभागी हुन बन्देज लगाइने व्यवस्था कार्यविधिमा राखिएको छ । साथै परीक्षामा चिट चोरेको वा निषेधित अन्य कार्य गरेको पाइएमा उक्त परीक्षार्थीको परीक्षा रद्द गरी दुई वर्षका लागि सेवा आयोगबाट सञ्चालन हुने जुनसुकै परीक्षामा सहभागी हुन बन्देज लगाइने समेत व्यवस्था गरिएको छ । 

सेवा आयोगले त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ९४(६), ९५(७) र १०५ ले दिएको अधिकार प्रयोग गरी उत्तरपुस्तिका प्रयोग तथा परीक्षा नियमनसम्बन्धी कार्यविधि २०७७ बनाएको हो । 

त्रिवि सेवा आयोगले गत वर्ष मंसीर १५ गते त्रिवि सेवाका विभिन्न पदका करिब छ सयभन्दा बढी रिक्त कर्मचारीको पदपूर्तिको लागि विज्ञापन गरेको थियो । विज्ञापनमा चार प्रकारले पदपूर्ति गर्ने व्यवस्था गरिएको थियो । जसमा जेष्ठताका आधारमा हुने बढुवा सिफारिस र कार्यसम्पादन मूल्याँकनका आधारबाट हुने बढुवा सिफारिसको नतिजा हालै प्रकाशन गरिसकेको छ । त्यसैगरी हालै मात्र गत कार्तिक १ गते आन्तरिक प्रतियोगितात्मक परीक्षाको माध्यमबाट पदपूर्ति गर्ने प्रयोजनको लागि आयोगले आगामी मंसीर १४ गतेदेखि परीक्षा सञ्चालनको कार्यतालिका समेत सार्बजनिक गरिसकेको छ । साथै आन्तरिक प्रतियोगितामा समावेश हुने उमेद्धारहरुको अन्तिम नामावली पनि आयोगले गत आश्विन ३० गते नै प्रकाशन गरिसकेको छ । आन्तरिक प्रतियोगिताको लिखित परीक्षा सकिएपछि खुल्ला प्रतियोगिताको लागि परीक्षा गर्ने अपेक्षा परीक्षार्थीहरुले गरेका छन् । अघिल्लो पटकको विज्ञापनको नतिजा सार्बजनिक भएसंगै आयोगका नतिजामा अनियमिता भएको समाचारहरु बाहिरिएका थिए भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उत्तरपुस्तिकाहरुमा अनियमितता भएको ठहर गर्दै दश जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर समेत गरेको थियो । उक्त मुद्धा अदालतमा विचाराधिन रहेको छ । आयोगको विवादका कारण अघिल्लो पटकको विज्ञापनको पूर्ण नतिजा प्रकाशन गर्न नसकी यस पटकको विज्ञापन गरेको थियो भने यो विज्ञापनमा खुल्लातर्फ करिब १२ हजार उमेद्धारहरुले प्रतिष्पर्धा गर्न अनलाइनमार्फत आवेदन गरेका छन् । 

पूरा कार्यविधि पढ्न यहाँ क्लिक गर्नुहोस् 

 

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com