२०७७ कात्तिक १०, साेमबार

img-responsive

०६:५५:१०

 

पहिलो पटक भित्रियो चौबिसेको कुरुले तेनुपा र मुढेवासमा एम्बुलेन्स, जनताले स्थानीय सरकारलाई गरे एम्बुलेन्स हस्तान्तरण

img-responsive
गोठालो खबर २०७७ कात्तिक १, शनिबार,०२:०१:PM  
img-responsive

धनकुटा, ३० असोज ।
धनकुटा जिल्ला सदरमुकामबाट एघार कोष टाढा रहेको दुर्गम मानिने चौबिसे गाउँपालिकाको वडा नं. २, ३ र ४ मा पर्ने साविक कुरुले तेनुपा गाविस र मुढेवास गाविसका जनतालाई स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गराउने लक्ष्यका साथ स्थानीय नागरिकहरुको अगुवाईमा जनताको तर्फबाट स्थानीय सरकारलाई निःशुल्क एम्बुलेन्स हस्तान्तरण गरिएको छ । करिब ४२ लाख बजारमुल्य रहेको एम्बुलेन्स सरकारले भन्सार छुट गरिदिएपछि करिब १२ लाख ५० हजार मुल्यमा व्यक्तिहरुले नै खरिद गरी ल्याउन सफल भएको दाता पूर्णबहादुर लिम्बुले जानकारी दिनुभयो । 

 

कुरुले तेनुपा स्थायी घर भई धनकुटा जिल्लाबाट संविधान सभा सदस्य निर्वाचित हेमराज भण्डारी, कुरुले तेनुपा स्थायी घर हुने पूर्ण लिम्बु, दोलखा गौरीशंकर गाउँपालिका स्थायी घर हुने दिलिपध्वोज बराइली र कोपिलागढी गाउँपालिका खोटाँग स्थायी घर हुने यादव राईले संयुक्त रुपमा एम्बुलेन्स खरिद गरी गाउँपालिकालाई हस्तान्तरण गर्नुभएको हो । 

 

शुक्रवार एम्बुलेन्स सेवा सञ्चालन समिति, चौबिसे गाउँपालिका, वडा कार्यालयहरु र कुरुले तेनुपा र मुढेवासका स्थानीय स्वास्थ्य चौकीहरुको आयोजनामा शुक्रवारे बजारमा दाताहरुलाई भव्य सम्मान गरिएको छ । सम्मान कार्यक्रममा बोल्नुहुँदै संविधान सभाका सदस्य, नेकपा धनकुटा जिल्ला इञ्चार्ज एवम् नेकपा केन्द्रीय सदस्य हेमराज भण्डारीले भौगोलिक रुपमा दुर्गम मानिएको कुरुले तेनुपा र मुढेवास क्षेत्रका जनताको स्वास्थ्य सेवा पाउने अधिकारको सुनिश्चितताका लागि एम्बुलेन्स खरिद गरी स्थानीय सरकारलाई सहयोग गरेको बताउनु भयो । उहाँले नेपालमा नै पहिलो पटक जनताले किनेर सरकारलाई निःशुल्क एम्बुलेन्स हस्तान्तरण गरेको यो कार्यले सरकारको एम्बुलेन्ससम्बन्धी कार्यविधि नै परिवर्तन भएको बताउनु भयो । यस क्षेत्रका जनताले बिरामी हुँदा स्वास्थ्य उपचारको लागि अस्पतालसम्म पुग्न सार्बजनिक यातायात चढेर समयमा पुग्न नसक्ने भौगोलिक विकटता भएकोले एम्बुलेन्सको आवश्यकता रहेको धारणा व्यक्त गर्नुहुँदै आगामी दिनमा समेत स्वास्थ्य सेवामा जनताको पहुँचको लागि निरन्तर पहल गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई र उपाध्यक्ष यज्ञकुमारी रुचालले गाउँपालिकाभर रहेका स्वास्थ्य संस्थाहरुको स्तरोन्नती र स्वास्थ्य सेवामा जनताको पहुँच अभिवृद्धिको लागि गाउँपालिकाले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनु भयो । एम्बुलेन्स खरिद गरी गाउँपालिकालाई हस्तान्तरण गर्नुभएकोमा दाताहरुलाई धन्यवाद व्यक्त गर्नुहुँदै उहाँहरुले एम्बुलेन्स सेवा नियमित सञ्चालनका लागि गठित समितिलाई गाउँपालिकाबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नूभएको थियो । 

एम्बुलेन्स सेवा सञ्चालन उपसमितिका संयोजक एवं चौबिसे गाउपालिका वडा नं. २ का वडाध्यक्ष ममिन्द्र लिम्बुले एम्बुलेन्स दाताहरुलाई धन्यवाद व्यक्त गर्दै इमान्दारिताका साथ पारदर्शी रुपमा एम्बुलेन्स सेवा प्रदान गरी जनतालाई सेवा दिन प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

स्थानीय राजनीतिक दलहरुको तर्फबाट बोल्नुहुँदै नेकपा जिल्ला कमिटिका नैन रुचालले जनताका प्रतिनिधिहरुको पहलमा एम्बुलेन्स व्यक्तिहरुले मिलेर खरिद गरी स्थानीय सरकारलाई हस्तान्तरण गर्ने दाताहरुप्रति धन्यवाद दिनुहुँदै यो कार्य सबैको लागि अनुकरणीय भएको बताउनु भयो । उहाँले चौबिसे गाउँपालिकाको स्वास्थ्य सेवा अभिवृद्धिको लागि सबै राजनीतिक दलहरुले एक भएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै नेपाली काँग्रेसको स्थानीय समितिको तर्फबाट चिन्तामणी पौडेलले एम्बुलेन्स सेवा आएकोमा खुशी व्यक्त गर्नुहुँदै एम्बुलेन्स सञ्चालनको लागि राजनीतिक दलहरुको तर्फबाट सबै मिलेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कुरुले तेनुपाका स्थानीय लोकेन्द्र याखाले गाउँघरमा एम्बुलेन्स सेवा आइपुग्नु खुशीको कुरा रहेको बताउनुहुँदै एम्बुुलेन्स सेवा सञ्चालनको क्रममा दुरुपयोग गर्न नहुनेतर्फ सचेत गराउनु भएको थियो । बिरामी बोक्ने एम्बुलेन्सले रक्तचन्दन, गाँजा, चरेस जस्ता प्रतिबन्धित वस्तु ओसारपसार गरेर दुरुपयोग गरेका समाचारहरु बाहिर आउने गरेको उल्लेख गर्नुुहुँदै उहाँले आफ्नो गाउँमा आएको सुविधालाई त्यसरी दुरुपयोग गर्न र बद्नाम हुन नदिन गाउँपालिकाका जनप्रतिनिधिहरु र सञ्चालक समितिलाई आग्रह गर्नुभएको थियो । 

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा चौबिसे गाउँपालिका वडा नं. ३ कुरुलेतेनुपाका वडाध्यक्ष हेमचन्द्र तुम्साले एम्बुलेन्स प्रदान गर्ने दाता महानुभावहरुलाई धन्यवाद दिनुहुँदै सम्पूर्णमा स्वागत मन्तव्य व्यक्त गर्नूभएको थियो । कार्यक्रममा वडा कार्यालयमा कार्यरत कर्मचारीहरु, स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरु, कुरुले तेनुपा उच्च माविका पूर्व प्रअ भक्तकुमार सुब्बा, कुरुले नेपाल गाविसका पूर्व उपाध्यक्ष टेकप्रसाद भण्डारी, नेकपा नेता ऋषिराम ढुँगाना लगायतको सहभागिता रहेको थियो । 

दाताहरुलाई गाउँपालिकाको सम्मान 
काठमाडौबाट एम्बुलेन्स लिएर पुगेका दाताहरुलाई गाउँपालिकाले राजारानीमा एक कार्यक्रमको आयोजना गरी भव्य सम्मान गरेको छ । कुरुले तेनुपा स्थायी घर भई धनकुटा जिल्लाबाट संविधान सभा सदस्य निर्वाचित हेमराज भण्डारी, कुरुले तेनुपा स्थायी घर हुने पूर्ण लिम्बु, दोलखा गौरीशंकर गाउँपालिका स्थायी घर हुने दिलिपध्वोज बराइली र कोपिलागढी गाउँपालिका खोटाँग स्थायी घर हुने यादव राई गरी चार जना दाताहरुलाई गाउँपालिकाले सम्मान गरेको हो । दाताहरुलाई गाउँपालिका अध्यक्ष खजिन्द्र राई र उपाध्यक्ष यज्ञकुमारी रुचालले सम्मान पत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

एम्बुलेन्स खरिद गरी हस्तान्तरण गर्ने तीन वर्ष अगाडिदेखिको सपना अहिले आएर पुरा भएको एम्बुलेन्स दातामध्ये कुरुले तेनुपा निवासी पूर्णबहादुर लिम्बुले बताउनु भयो । उहाँले यस कार्यमा थप सहयोग गर्नुहुने चौबिसे गाउँपालिकाका जनप्रतिनिधिहरु, स्थानीय लोकेन्द्र याखा, शुकबहादुर लिम्बु, एकल दुमी, धनबहादुर कार्की, प्रविन कुस्मा, एनआइसी भुजिसिस् हाउजिँग, प्रा.लि.का सम्पूर्ण सहयात्री साथीभाइहरुलाई पनि सहयोगको लागि हृदयदेखि नै धन्यवाद व्यक्त गर्नुभएको छ । 

कुरुलेतेनुपा र मुढेवासमा केहि समय अघिसम्म उपस्वास्थ्य चौकी मात्र रहेकोमा नेपाल सरकारले उपस्वास्थ्य चौकी आवश्यक पूर्वाधार सहित स्वास्थ्य चौकीमा परिणत गर्ने निर्णय गरेसंगै स्वास्थ्य चौकीमा रुपान्तरण भएका थिए । ती उपस्वास्थ्य चौकीहरु नै अहिले स्तरोन्नती भएर स्वास्थ्य चौकीहरु निर्माण भएका हुन् । त्यस अघिसम्म कुरुले तेनुपा र मुढेवासका जनताले सामान्य बिरामी हुँदा समेत मौनाबुधुक प्राथमिक स्वास्थ्य केन्द्र र अठारसय स्वास्थ्य चौकीबाट सेवा लिनुपर्ने बाध्यता रहेको थियो । एम्बुलेन्स सेवा सुचारु भएपछि त्यस क्षेत्रका जनताहरु बिरामी हुँदा धनकुटा जिल्ला अस्पताल र धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म चार पाँच घण्टाभित्र पुग्न सक्ने गरी स्वास्थ्य सेवाको पहुँच पुग्ने देखिएको छ । 

हेर्नुहोस् फोटो फिचर (फोटो सौजन्यः पूर्ण लिम्बुको फेसबुकबाट)


 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com