२०७७ कात्तिक ५, बुधबार

img-responsive

०७:१२:२७

 

त्रिविमा चुलिंदै बेरुजुको चाङ्ग: वार्षिक बजेटभन्दा बेरुजु बढी 

img-responsive
गोठालो खबर -३ २०७७ असाेज १७, शनिबार,१२:२२:PM  
img-responsive

कीर्तिपुर, १७ असोज। यहि आश्विन १६ गते शुक्रवार त्रिविका रजिष्ट्रार प्रा.डा. पेशल दाहालले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट त्रिवि सभाको बैठकमा प्रस्तुत गर्दा त्रिविको बेरुजुको अवस्था कहालीलाग्दो रहेको स्वीकार गरेका छन् । उनले बजेट वक्तव्यमा नै बेरुजु बढ्ने प्रवृत्ति खरायोको चालमा र बेरुजु घट्ने प्रवृत्ति कछुवाको चालमा रहेको समेत उल्लेख गरेका छन् । रजिष्ट्रार दाहाल गत वर्ष पौषमा त्रिवि रजिष्ट्रार नियुक्ति भएका हुन् भने यो उनको पहिलो बजेट वक्तव्य हो । यसबाट त्रिविमा बेरुजुको चाङ्ग दिनप्रतिदिन बढ्दै गएको र वित्तिय अनुशासन घट्दै गएको प्रष्ट देखिन्छ । भाषणमा त्रिविभित्र सुधारका राम्रा कामहरु भएको लेखिएको भएता पनि त्रिविभित्र सुशासनको स्थापना र स्वायत्त संस्थाको रुपमा सुधार गर्ने विषय भाषणमा मात्र सिमित छ भन्ने संकेत गरेको छ । 

हरेक वर्ष चुलिँदै बेरुजुको चाङ्ग

त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको त्रिवि सभाको बैठकमा रजिष्ट्रार दाहालले प्रस्तुत गरेको बजेट वक्तव्यमा महालेखापरीक्षकको ५६ औं र ५७ औं वार्षिक प्रतिवेदनको बेरुजुलाई तुलना गरिएको छ । महालेखाको ५६ आौं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७४/०७५ सम्मको कुल बेरुजु रु.२१ अरब १२ करोड ७२ लाख ३१ हजार कायम भएकोमा गत आर्थिक वर्षमा त्यसमध्ये ८९ करोड ६६ लाख ८१ हजार सम्परीक्षणबाट फछ्र्यौट गराएको बताइएको छ भने फछ्र्यौट हुन बाँकी रहेको २० अरब २३ करोड ५ लाख ५० हजार रहेकोमा महालेखापरीक्षकको ५७ औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५/०७६ को थप ८ अरब ४४ करोड १३ लाख ९९ हजार बेरुजु कायम भई त्रिविको हालसम्मको कुल बेरुजु अंक २८ अरब ६७ करोड १९ लाख ४९ हजार कायम भएको बताइएको छ । उता त्रिविले चालु आर्थिक वर्षको लागि अनुमानित वार्षिक बजेट २१अर्ब ८६ करोड ४५ लाख २२ हजार विनियोजन गरेको छ । यसबाट त्रिविको वार्षिक बजेटभन्दा बेरुजुको अंक बढि रहेको प्रष्ट हुन्छ । यद्धपी रजिष्ट्रार दाहालले विश्वविद्यालयको नयाँ नेतृत्व बेरुजुका सम्बन्धमा अत्यन्तै गम्भीर रहेको र बेरुजुको न्यूनीकरणका लागि त्रि.वि.ले संस्थागत बेरुजुलाई न्यूनीकरण गर्न नयाँ रणनीति अख्तियार गर्ने व्यवस्था मिलाएको भाषणमा उल्लेख गरेका छन् । उनले बेरुजुको लगतलाई व्यवस्थित गर्न एकिकृत प्रविधि (सप्mटवेयर) को प्रयोगलाई जोड दिइनेछ र बेरुजु शून्य गराउने संस्थालाई प्रोत्साहन (पुरस्कार) दिने नीति अवलम्बन गर्दै आएको र सबै प्रकृयाबाट बेरुजुको लगतलाई व्यवस्थित गर्न र बेरुजु फर्छौट प्रकृया सम्पन्न गर्न सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पेश्की बेरुजुलाई कम गराउन बेरुजु फछ्र्यौटमा लाग्ने ब्याजमा पचास प्रतिशत छुटको व्यवस्था ल्याएको पनि उल्लेख गरेका छन् । 

लेखा परीक्षण नै नभएका १२६ इकाइहरु  

विगत तीन आर्थिक वर्षको महालेखापरीक्षकको प्रतिवेदनबाट लेखा परीक्षण नै नभएका त्रिवि अन्तरगतका निकायहरुको संख्या क्रमशः घट्दै गएको बताइएको छ । महालेखाको ५४ औं, ५५ औं र ५६ औं प्रतिवेदन अनुसार लेखापरीक्षण हुन वक्यौता रहेको संख्या घट्दै गएको हो । ५४ औं प्रतिवेदन अनुसार वक्यौताको संख्या ३८० रहेकोमा ५६ औं मा पुग्दा घटेर २१३ हुन पुगेको थियो । ती मध्ये फरफारकको प्रक्रियामा रहेका ११८ इकाइ रहेको र ८७ इकाइको लेखा परीक्षण सम्पन्न भइसकेको र बाँकी इकाइको पनि चालु आर्थिक वर्षमा लेखा परीक्षण सम्पन्न गराउने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ । 

पेश्की फछ्र्यौटमा ब्याज छुटको सुविधा 

पेश्की फछ्र्यौट तर्फ आ.व.२०७५/०७६ मा रु. १ अरब १६ करोड ७७ लाख ०९ हजार १ सय ७६ रुपैया ७३ पैसा पेश्की बेरुजुलाई असुल गरिएको जानकारी गराइएको छ । आ.व.२०७५/०७६ को एकीकृत वासलात अनुसार पेश्की रकम रु.१ अरब ३२ करोड १२ लाख १० हजार ६ सय १ रुपैया ४१ पैसा रहेको छ । विगतको तुलनामा आ.व.२०७५/०७६ मा विकास निर्माणका कार्य थप भएको र परियोजना पूरा भएर हस्तान्तरण नभएसम्म निर्माण व्यवसायीलाई दिएको रकम पनि पेश्कीको रुपमा रहेकोले आ.व.२०७५/०७६ मा केही पेश्की रकम वृद्धि हुन गएको छ । आ.व.२०७२/०७३ सालसम्म कायम भएको व्यक्तिगत पेश्की फागुन मसान्तसम्म बुझाएमा पेश्की रकममा लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष २० करोड ३७ लाख बढी पेश्की असुल भएको कुरालाई मध्यनजर गरी २०७८ साल जेष्ठ मसान्तभित्र पेश्की फछ्र्यौट गरेमा सो पेश्कीमा लाग्ने ब्याजमा विगतमा दिइएको ५० प्रतिशत छुटको व्यवस्थालाई यो बजेटमार्फत पनि निरन्तरता दिएको बताइएको छ । आगामी दिनमा कार्ययोजना बनाई पेश्की फछ्र्यौटको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बजेटको उद्देश्य र नीति

शिक्षा क्षेत्रमा भएका विविधीकरणलाई दृष्टिगत गरी समग्र सामाजिक तथा आर्थिक उन्नयनको लागि सक्षम, नेतृत्वदायी, प्रतिस्पर्धी र उद्यमशील मानव संसाधन विकास गर्ने, उच्च शिक्षामा अध्ययन एवं अनुसन्धानका अवसरहरु वृद्धि गरी सान्दर्भिक, उपयोगी, गुणस्तरीय, एवं अन्तर्राष्ट्रिय परिवेश अनुकूल प्रतिस्पर्धी वनाउने, नेपाल सरकार राष्ट्रिय योजना आयोगसँग निकट सम्बन्ध स्थापित गरी राष्ट्रिय आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्ने, व्यवस्थापनमा मितव्ययिता अपनाई पारदर्शी र चुस्त बनाउँदै आधुनिक प्रविधिको उच्चतम प्रयोगलाई प्रोत्साहन गर्ने विशिष्ट उद्देश्य रहेको छ । 

यसैगरी त्रि.वि.का नीति तथा कार्यनीतिहरु प्राज्ञिक उत्कृष्टता एवं अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि गुणस्तर सुनिश्चितता तथा प्रत्यायनलाई सुदृढीकरण गर्दै पाठ्यक्रम तथा शैक्षिक प्रणाली एवं व्यवस्थापनलाई समय सापेक्ष बनाउने, त्रि.वि.बाट उत्पादित जनशक्ति उपयोग गर्ने मुख्य सरोकारवालाहरु सरकार, समुदाय र निजी क्षेत्रसँग अन्र्तक्रिया गरी प्राप्त पृष्टपोषणको आधारमा पाठ्यक्रमलाई परिमार्जन गरिने, सेमेष्टर प्रणालीलाई सवलीकरण गर्नुका साथै सुदृढीकरण गर्दै क्रमिक रुपमा विस्तार गरिने, पठन–पाठनमा प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखी सवै अध्ययन संस्थान र संकायहरुमा व्यावसायिक एवं व्यवहारिक सीपमूलक शैक्षिक कार्यक्रम विकास र विस्तारमा जोड दिइने, शैक्षिक पात्रोलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, विश्वविद्यालयलाई अन्तर्राष्ट्रियकरण तर्फ प्राथमिकताका साथ अघि बढाउने, रोजगारमूलक, व्यवसायिक शिक्षा विकासको लागि प्रदेश तथा स्थानीय सरकार, निजी र गैरनाफामूलक क्षेत्रसँग सहकार्य गरिने तथा अनुसन्धान कार्यका लागि निर्माण भएको अनुसन्धान विकास कोष वृद्घि गर्दै लाने र प्राप्त ब्याजलाई परिचालन गरी अनुसन्धान गर्ने कार्यलाई निरन्तरता दिइने रहेको बजेटमा उल्लेख गरिएको छ । 

स्वदेशी तथा विदेशी (सरकार, गैरसरकारी संस्था तथा निजी) संस्थाको सहकार्यमा अनुसन्धान गर्न
प्रोत्साहित गरिने, शैक्षिक जर्नललाई गुणस्तरीय बनाउनुका साथै यसको प्रकाशनलाई नियमित बनाइने, संगठनात्मक संरचनालाई कार्य बोझ र कार्य प्रकृतिका आधारमा पुनः संरचना गरिने, प्राज्ञिक एवं प्रशासनिक मर्यादा कायम गर्दै निकायहरुमा आवश्यक शिक्षक र कर्मचारीहरुको दरबन्दीको स्थानान्तरण र समायोजनको लागि आधार तयार गरिने, भौतिक पूर्वाधारको निर्माण तथा विस्तारलाई प्राथमिकता साथ अघि बढाइने, सूचना प्रविधि नव प्रवर्तन केन्द्रलाई सुदृढीकरण गर्दै यसको प्रयोगलाई विस्तार गरिने तथा सूचना प्रविधिको पहुँचमा विस्तार गर्दै कक्षा कोठामा हुने शिक्षण सिकाइमा विद्युतीय माध्यमको उच्चतम प्रयोग गर्न प्रोत्साहित गरिने आदि नीति तथा कार्यनीति रहेको बजेट वक्तव्यमा उल्लेख गरिएको छ। 

बजेटको प्राथमिकता

बजेट वक्तव्यमार्फत त्रिविको बजेटका प्राथमिकता शिक्षण सिकाई र प्रशासनिक क्षेत्रमा सूचना प्रविधिको प्रयोग एवं विस्तार, नवनिर्माण÷पुनर्निर्माणलाई निरन्तरता, सेमेष्टर प्रणालीको सुदृढीकरण, अनुसन्धानमा जोड, प्राविधिक शिक्षाको सुधार र विस्तार, पाठ्यक्रमलाई समय सापेक्ष रुपमा परिमार्जन, शैक्षिक क्यालेण्डरलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने, संगठनात्मक संरचनामा सुधार एवं मानव संसाधनको क्षमता अभिबृद्धि,परीक्षाको नतिजा प्रकाशन तथा समुच्चा व्यवस्थामा सुधार एवं सरलीकरण गर्ने गराउने कार्यमा केन्द्रीत रहेको औंल्याइएको छ । 

यसरी प्राथमिकताको आधारमा बजेटलाई विनियोजन गर्ने क्रममा आ.व.२०७७/०७८ का लागि वैदेशिक सहयोग अन्तर्गत उच्च शिक्षा सुधार परियोजना मार्फत त्रि.वि.का लागि रु. ४४ करोड ८५ लाख रकम विनियोजन गरिएको छ । उक्त रकमलाई गुणस्तर सुधार, स्रोत परिचालन, संस्थागत तथा प्राज्ञिक स्वायत्तता, सेमेष्टर प्रणाली सुदृढीकरण, पाठ्यक्रम परिमार्जन, शैक्षिक क्यालेण्डरको कार्यान्वयन, प्राज्ञिक उत्कृष्टताका आधारमा प्राध्यापक नियुक्ति र अनलाइन कक्षाहरुमा खर्च गर्ने गरी रकम छुट्याइएको छ । जसमध्ये १४ वटा विभाग र २७ वटा क्याम्पसले कार्य सम्पादनका आधारमा रु.१६ करोड रकम प्राप्त गर्न सक्ने छन् । संस्थागत तथा प्राज्ञिक स्वायत्तताका कार्यक्रम अन्तर्गतका क्याम्पसहरुले रु. ८ करोड अनुदान प्राप्त गर्न सक्ने छन् । शैक्षिक क्यालेण्डर र परीक्षा सुधारका लागि उक्त परियोजनाबाट रु.५० लाख विनियोजन गरिएको छ । त्यसै गरी पाठ्यक्रम परिमार्जन तथा सेमेष्टर प्रणालीको सुदृढीकरणका लागि रु.२ करोड, अनुसन्धान विशिष्ठता अन्तर्गत नियुक्त प्राध्यापकहरुलाई अनुसन्धान सहयोग र उक्त प्रक्रिया सम्पन्न गरेवापत त्रि.वि. सेवा आयोगलाई समेत गरी रु.२ करोड ५० लाख रकम विनियोजन गरिएको छ । त्यस्तै केन्द्रीय विभागहरु, आंगिक क्याम्पसहरु एवं केन्द्रीय कार्यालयलाई अनलाइन कक्षा संचालनका लागि रु.१४ करोड ६५ लाख रकम विनियोजन गरिएको छ । परियोजनाका लागि वृद्धि हुने संचालन खर्च वापत रु.१ करोड २० लाख विनियोजन गरिएको छ । 

मानव संसाधनको वृत्ति विकासलाई बजेट 

जनशक्तिलाई प्रविधिमैत्री बनाउन तालिम, सेमिनार तथा गोष्ठीका लागि रु. ६ करोड ६५ लाख विनियोजन गरेको छु । साथै समन्वय महाशाखामार्फत वार्षिक रु.६० लाख मानव संसाधनको वृत्ति विकासका लागि व्यवस्था मिलाइएको छ । यसका लागि कुल रु.७ करोड २५ लाख विनियोजन गरिएको छ । अनुसन्धान तथा विकासका लागि गत आर्थिक वर्ष क्याम्पस इकाई, डीन कार्यालय र केन्द्रीय स्तरबाट छुट्याईएको रकम रु. १६ करोड ७० लाख ७६ हजार रहेकोमा यो वर्ष रु. १८ करोड ०४ लाख ७६ हजार छुट्याईएको छ । आन्तरिक स्रोतबाट हुने आम्दानी रकमको बजेटको सीमा भन्दा बढी खर्च गर्नु पर्दा सम्बन्धित निकायहरुले केन्द्रीय कार्यालयबाट अनिवार्य रुपमा स्वीकृत लिनु पर्नेछ नीति अख्तियार गरेको छ ।

खर्च कटौतीको नीति घोषणा 

यो वर्ष विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण समग्र राष्ट्रको नै आर्थिक क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्न नेपाल सरकारले अंगिकार गरेको खर्च कटौतिको नीतिलाई अवलम्बन गरी त्रि.वि.मा पनि पूर्ण मितव्ययिता अपनाएर सन्तुलित आम्दानी खर्चको व्यवस्थापन गरिने उल्लेख छ । यसको लागि क्याम्पसहरुमा एउटै कार्यक्रम एक भन्दा बढी सिफ्टमा चलेका भए विद्यार्थी संख्याका आधारमा एक सिफ्टमा मात्र सञ्चालनका लागि कार्य प्रारम्भ गरिनेछ । कुनै विषयमा १० जना भन्दा कम विद्यार्थी भर्ना भएको अवस्थामा र अतिरिक्त व्ययभार व्यहोरी त्यस्तो कक्षा संचालन गर्नु पर्ने भएमा उक्त विषयको कक्षा स्थगित गर्ने र यस्ता विद्यार्थीको आवश्यकतालाई ध्यानमा राखी एकीकृत/केन्द्रीकृत रूपमा विद्युतीय कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइने नीति बनाइएको छ । त्रि.वि. सेवा आयोगबाट गरिने नियमित विज्ञापन बाहेक अन्य कुनै पनि प्रकारले नयाँ भर्ना गर्ने गरी शिक्षक कर्मचारी भर्ना गर्ने व्यवस्था स्थगित गरी मौजुदा जनशक्तिलाई अधिकतम परिचालन गरी कार्य सम्पादन गर्ने व्यवस्था मिलाइने बताइएको छ । अतिरिक्त समयमा काम गरे वापत खाजा खर्च÷मासिक प्रोत्साहन (इन्सेन्टिभ) वा यस्तै प्रकारका अन्य मासिक रुपमा प्रदान गरिदै आएको रकममा कटौति गरेको छु । अतिरिक्त पारिश्रमिक प्रदान गर्ने गरी काममा लगाउन आवश्यक परेमा रजिष्ट्रारबाट स्वीकृति लिनु पर्ने व्यवस्था मिलाएको उल्लेख गरिएको छ । स्वीकृति नलिई अतिरिक्त समयमा काममा लगाई भुक्तानी दिएमा त्यस्तो भुक्तानी रकम असुल उपर गरिने नीति पनि राखिएको छ । बैठक भत्ता र खाजामा गरिने खर्चको रकममा कटौति गरेको छु । ऐन, नियम, विनियममा स्पष्ट उल्लेख भएको व्यवस्था बाहेक कामको सिलसिलामा अन्य समितिहरु गठन गरेर बैठक भत्ता र खाजामा खर्च गर्नु पूर्व रजिष्ट्रारबाट स्वीकृति लिनु पर्ने व्यवस्था गरेको छु । स्वीकृति नलिई गरिएका यस किसिमका (ऐन, नियम, विनियममा स्पष्ट उल्लेख भएको व्यवस्था बाहेकका समितिहरुको बैठक भत्ता र खाजामा गरिएको खर्च रकम असुल उपर गरिने नीति अख्तियार गरिने बताइएको छ । सामान्य कामको सिलसिलामा पनि दैनिक भ्रमण भत्ता सहित काजमा विश्वविद्यालयको विभिन्न निकायमा आवत–जावत गर्ने कार्यलाई निरुत्साहित गरिनेछ । यसलाई सहजीकरण गर्न विद्युतीय संचारको प्रयोगलाई प्रोत्साहित गरिनेछ नीति ल्याइएको छ । आर्थिक वर्ष २०७७/०७८ मा विश्वविद्यालयको आर्थिक व्ययभार पर्ने गरी कुनै पनि बैदेशिक (विदेश) भ्रमण नहुने व्यवस्था मिलाइएको उल्लेख छ । अत्यावश्यक कार्यका लागि बाहेक अन्य कार्यका लागि सवारी साधन खरिद जस्ता सुविधाका लागि प्रयोग हुने अन्य सामान खरिद कार्यलाई निरुत्साहित गरिने नीतिमा उल्लेख छ । एकै प्रकृतिका केन्द्रीय विभागहरुको प्रशासनिक खर्च कटौति गर्न विभिन्न विभागलाई समायोजन गरी स्कूलको अवधारणामा जाने नीति विश्वविद्यालयले अंगिकार गरिसकेको सन्दर्भमा त्यसलाई कार्यान्वयनमा ल्याउन ठोस कदम चालिने उल्लेख छ । समय सापेक्ष विद्यार्थी संख्या र आवश्यकताका आधारमा दरवन्दी पुनरावलोकन सम्बन्धी नीतिगत व्यवस्थालाई कार्यान्वयन गरी शिक्षण जनशक्ति व्यवस्थापनको कार्य प्रारम्भ गरिएको छ । यसलाई व्यवस्थित गर्न अतिरिक्त कक्षा सञ्चालन निर्देशिका बनाई लागू गरिएको जनाइएको छ ।

शुल्क मिनाहाको व्यवस्था 

दृष्टिबिहिन, अपाङ्ग, सहिद परिवार एवं जनआन्दोलनका घाइते विद्यार्थीहरुलाई त्रि.वि.ले आंगिक क्याम्पस तथा विभागबाट विगत देखि शुल्क मिनाहा गरी भर्ना लिंदै आएको कुरालाई पूर्व व्यवस्था अनुसार नै हुने गरी निरन्तरता दिइएको उल्लेख छ । महिला, आदिबासी, जनजाति, दलित, सामाजिक, शैक्षिक र आर्थिक रुपमा पिछडिएका वर्गहरुको उच्च शिक्षामा सहभागिता वृद्धि गर्न गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने कार्यलाई निरन्तरता दिइएको छ । यो कार्यक्रम त्रि.वि.का आंगिक क्याम्पसका साथै सम्बन्धन प्राप्त क्याम्पसमा पनि १० प्रतिशत पूर्ण निःशुल्क छात्रवृत्तिको व्यवस्था गरिएको छ । आ.व.२०७३/०७४ बाट त्रि.वि.ले विद्यार्थीहरुको स्वास्थ्य उपचार कोष स्थापना गरी कार्यविधिको आधारमा कार्यान्वयनमा ल्याएको कार्यलाई निरन्तरता दिएको बताइएको छ । अतिरिक्त क्रियाकलाप अन्तर्गत फुटबल प्रतियोगिता, उपकुलपति कप, क्याम्पस र अन्तर क्याम्पस स्तरीय विभिन्न खेलकुद जस्तै भलिबल, टेबुलटेनिस, ब्याडमिन्टन, बास्केटबल, चेस, दौड आदि विविध प्रकारका विगतका खेलकुद क्रियाकलापलाई निरन्तरता दिने प्रस्ताव गरेको छु ।

त्रिविभित्र सुधारका नीतिहरु 

विद्यमान चुनौतिहरुलाई सामना गर्न त्रिविबाट विभिन्न सुधारका प्रयासहरु प्रारम्भ गरिएको बताइएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय परिसर र मातहतमा रहेका क्याम्पस÷निकायको नाममा रहेको भौतिक सम्पत्ति मुख्य गरी जग्गाको विवरण संकलन गर्ने कार्य सम्पन्न गरेको, संकलित विवरणमध्ये भोगाधिकारका रुपमा मात्र रहेका जग्गाहरु त्रिभुवन विश्वविद्यालयको नाममा ल्याउन सम्बन्धित निकाय मार्फत आवश्यक प्रक्रिया अगाडि बढाईएको जानकारी दिइएको छ । एकै प्रकृतिका केन्द्रीय विभागहरुको प्रशासनिक खर्च कटौती गर्न विभिन्न विभागलाई समायोजन गरी स्कुलको अवधारण कार्यान्वयनमा ल्याउन लागिएको जनाइएको छ । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण त्रि.वि.अन्तर्गत सञ्चालित सम्पूर्ण तहको पठन–पाठन बन्द भएको अवस्थामा प्रत्यक्ष कक्षा सञ्चालन गर्न असम्भव भएकोले विद्यार्थीहरुको शैक्षिक वर्षमा असर नपरोस् भन्ने ध्येयले विद्युतीय माध्यमबाट समेत अध्ययन अध्यापन गर्न शुरु गरिएको र शिक्षण क्रियाकलापमा प्रविधिको प्रयोगमा वृद्धि गराउन त्रिभुवन विश्वविद्यालयका सबै निकायहरु, पदाधिकारी, शिक्षक, कर्मचारी र आंगिक क्याम्पसका विद्यार्थीहरुलाई त्रिभुवन विश्वविद्यालयको पहिचान खुल्ने आधिकारिक इमेल ठेगाना उपलब्ध गराई अनलाईन शिक्षण सिकाई कार्य र विद्युतीय प्रशासनको सञ्चालनमा सहजीकरण गरिएको कुरा सुधारको सूचीमा राखिएको छ । यसैगरी त्रिवि केन्द्रीय पुस्तकालयलाई ई–पुस्तकालयका रुपमा विकास गरिनुका साथै अटोमेशनमा लाने कार्यको थालनी गरिएको छ । यस अन्तर्गत १४५० वटा थेसिस विद्युतीय माध्यम (अनलाइन) बाट प्रयोग गर्न सक्ने बनाइएको छ र क्ष्क्द्यल् आइएसबिएन अन्तर्गत ४४ हजार पुस्तकको अभिलेखलाई कम्प्यूटर डाटावेसमा परिणत गरिएको छ । यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने छ । यसबाट विद्युतीय पुस्तकालयको अवधारणा कार्यान्वयनमा ल्याउन सहज हुने बताइएको छ । त्रिविको आधिकारिक इमेलमार्फत त्रि.वि. केन्द्रीय पुस्तकालय मार्फत् अन्तर्राष्ट्रिय अनलाइन जर्नलहरुको अध्ययनमा सहज पहुँचको व्यवस्था मिलाइने पनि उल्लेख गरिएको छ । खुल्ला तथा दूर शिक्षा सिकाई ९इम्ी० मार्फत भइरहेका कक्षा सञ्चालनलाई केन्द्रीकृत रुपमा थप अन्य विषयमा पनि कक्षा सञ्चालन गर्ने नीति बनाई कार्यान्वयनमा ल्याइने उल्लेख छ । त्रिवि केन्द्रीय कार्यालयमा रहेको केन्द्रीय सूचना प्रविधि नव प्रवर्तन केन्द्रमार्फत त्रिविका सबै इकाइहरुलाई अन्तरसम्बन्धित बनाई त्रिभुवन विश्वविद्यालय शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली –टियुइएमआईएस) को पूर्ण रुपमा कार्यान्वयन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 

शैक्षिक क्यालेण्डरलाई व्यवस्थित गर्न र परीक्षाफल समयमा प्रकाशित गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको र परीक्षा नियन्त्रण कार्यालयमा सूचना प्रविधिको पहुँच विस्तार गर्न सफ्टवेयरको निर्माण कार्यलाई निरन्तरता दिइएको बताइएको छ भने चालु वर्षदेखि सबै परीक्षा फारामहरु अनलाइन् भर्ने भराउने व्यवस्था मिलाइने नीतिमा उल्लेख गरिएको छ । 

प्राविधिक शिक्षा विस्तारको योजना 

प्राविधिक शिक्षाको थप विस्तारको क्रममा आर्थिक वर्ष २०७६/०७७ मा मन्त्रीस्तरीय निर्णय अनुसार प्रदेश नम्बर २ को गौशला, प्रदेश नम्बर ५ को घोराहि दाङ र प्रदेश नम्बर ७ को डोटी सिलगढिमा इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गत आंगिक क्याम्पस स्थापना गर्न आएको प्रस्तावलाई कार्यान्वयनमा ल्याउन विस्तृत परियोजना प्रस्ताव तयार गर्न गठित कमिटीले सोको अध्ययन कार्य अघि वढाएको उल्लेख छ । तर प्राविधिक धारका आंगिक क्याम्पसहरु विस्तारका लागि आवश्यक पूर्वाधारहरुको अभाव भएकोले त्यसका लागि आवश्यक रकम उपलब्ध हुन सकेको अवस्थामा कार्यक्रम अगाडि बढाउन सकिने नीतिमा उल्लेख गरिएको छ । 

सेमेष्टर प्रणालीको वार्षिक क्यालेण्डर तर्जुमा गरिने 

सेमेष्टर प्रणाली अन्तर्गत संचालित कार्यक्रमहरुको वार्षिक शैक्षिक क्यालेण्डर तर्जुमा गरी कार्यान्वयनमा ल्याउनुका साथै पाठ्यक्रमलाई समय सापेक्ष परिवर्तन गर्ने कार्य प्रारम्भ गरी पाठ्यक्रम परिमार्जन नभएका विषयहरुको परिमार्जनको कार्यलाई निरन्तरता दिइने नीति अगाडि सारिएको छ । यसका अतिरिक्त नयाँ विषय र क्षेत्रका कार्यक्रम सञ्चालनका लागि प्राथमिकता दिइने उल्लेख छ । यसैगरी वर्तमान विश्व परिवेशमा गुणस्तरीय उच्च शिक्षाका लागि उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणको आवश्यकता रहेको कुरालाई मध्यनजर गरी त्रि.वि.ले जुन २०१९ मा अन्तर्राष्ट्रिय सम्मेलन समेत आयोजना गरेको र यसलाई कार्यान्वयनमा ल्याउन यसै वर्षबाट स्वदेशी तथा विदेशीहरुलाई सहज रुपले त्रि.वि.मा अध्ययन गर्ने व्यवस्थाका लागि क्रेडिट ट्रान्सफरको व्यवस्था कार्यान्वयनमा ल्याइने नीति रहेको उल्लेख छ ।

त्रिविका प्रमुख चुनौति 

त्रिभुवन विश्वविद्यालयले समयानुकुल योजनाबद्ध रुपमा नीति तथा कार्यक्रम तर्जुमा गरी अघि बढिरहेको भए तापनि संस्था संचालन गर्ने क्रममा धेरै चुनौतिहरुको सामना गर्नु परिरहेको रजिष्ट्रारले औंल्याएका छन् । सञ्चालित कार्यक्रम र उपलव्ध स्रोत एवं साधन बीचमा ठूलो अन्तर, नवनिर्माण र पुनर्निर्माणको गतिशीलतामा कमी, शैक्षिक तथा प्रशासनिक क्रियाकलापमा आधुनिक प्रविधिको न्यून उपयोग, प्राविधिक मानव संशाधनको कमि, अवकाशपछि शिक्षक कर्मचारीलाई अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने विदा, औषधी उपचार खर्च र उपदान एवं निवृत्तिभरणको दिगो र नियमित कोष नहुनु, बढ्दो बेरुजू र पेश्की फछ्र्यौटमा सोचे अनुरुप प्रगति हुन नसक्नु, प्राविधिक शिक्षाको विस्तारमा कमी, शैक्षिक क्यालेण्डरको व्यवस्थापनमा जटिलता, परीक्षाको नतिजा प्रकाशनमा ढिलाई जस्ता चुनौतीले त्रिविलाई थला पाएको अवस्था छ । समयानुकुल संस्था पुनःर्संरचना हुन नसक्दा त्रिविमा चुनौतीहरुको समेत चाङ्ग लाग्दै आएको छ । 

उपदान तथा निवृत्तिभरणको व्यवस्थापनमा चुनौती

बजेट वक्तव्यमार्फत अवकाशपछि शिक्षक कर्मचारीलाई अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने त्रिविमा उपदान तथा निवृत्तिभरणको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको औंल्याइएको छ । सेवा निवृत्त शिक्षक कर्मचारीहरुको संख्यामा दिनानुदिन वृद्धि हुँदै गइरहेकोले साविकमा झैं केन्द्रीय कोषबाट मासिक निवृत्तिभरण भुक्तानी सम्भब नदेखिएको कुरा महशुस गरी कार्यकारी परिषद्ले आ.व.२०७०/०७१ मा स्वायत्त उपदान तथा निवृत्तिभरण कोष स्थापना गरेको कुरा उल्लेख छ । सो कोषमा जम्मा गर्नु पर्ने रकमको सम्बन्धमा विगतको निर्देशनलाई निरन्तरता दिंदै कोष वृद्धि तर्फ ध्यान दिइएको बताइएको छ । आ.व. २०७५/०७६ को आषाढ मसान्तमा उक्त कोषमा मुद्दती र चालु खातामा गरी जम्मा रकम रु.२ अरब ४५ करोड ९१ लाख ५२ हजार २६ रुपैंया रहेकोमा आ.व.२०७६/०७७ को असार मसान्तसम्ममा उक्त कोषमा रकम वृद्धि भई रु.३ अरब ५ करोड पुगेको छ । आ.व.०७५/०७६ को यथार्थ खर्च निवृत्तिभरण र उपदानका लागि जम्मा रु.१ अरब ६१ करोड २ लाख ४ हजार १ सय ८५ रुपैंया, औषधी उपचारका लागि रु.२९ करोड १ लाख ९३ हजार २५ रुपैंया ०४ पैसा, र सञ्चित बिदाका लागि रु.४० करोड १४ लाख ७५ हजार ९ सय ३० रुपैया गरी जम्मा रु. २ अरब ३० करोड १८ लाख ७३ हजार १ सय ४० रुपैंया ०४ पैसा खर्च भएको छ । यो खर्च आ.व.०७६/०७७ संशोधितमा उक्त शीर्षकहरुमा जम्मा रु. ३ अरब ०६ करोड ८० लाख रहेको छ । यो भार बढेर आ.व.२०७७/०७८ मा उक्त शीर्षकहरुमा जम्मा रु.३ अरब ६७ करोड लाग्ने अनुमान गरिएको छ । उपदान तथा निवृत्तिभरण, संचित बिदा र औषधी उपचार खर्च जस्ता शीर्षकमा नेपाल सरकारबाट बजेट प्राप्त नभएको कारणले आन्तरिक स्रोतबाट उठेको रकम नै खर्च गर्नु परेको हुँदा विश्वविद्यालयको ज्यादै महत्वपूर्ण क्षेत्र प्राज्ञिक तथा अनुसन्धानमूलक कार्य अगाडि बढाउन ठूलो आर्थिक अभाव रहेको औंल्याइएको छ । 

त्रिविले नेपालको उच्च शिक्षाको ८०% भार ओगट्दै आएको छ भने त्रिविमा हाल आंगिक र सम्वन्धनप्राप्त क्याम्पसहरुमा गरी चार लाख १५ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् । हालै बेलायतस्थित टाइम्स हाइयर एजुकेशन संस्थाले गरेको विश्वविद्यालयहरुको उत्कृष्टताको वरियता सूचीमा त्रिवि विश्वका उत्कृष्ट ८०१–१००० भित्र पर्न सफल भएको छ भने एसियाका उत्कृष्ट २५१–३०० भित्र परेको छ । हाल त्रिभुवन विश्वविद्यालय अन्र्तगत ५ अध्ययन संस्थान, ४ संकाय, ४ अनुसन्धान केन्द्र, ४० केन्द्रीय विभाग, ४ ग्राजुयट स्कूल, ६२ वटा आंगिक क्याम्पस, डीन कार्यालय अन्तर्गत संचालित विभाग र कार्यक्रमहरुका साथै १०६२ सम्बन्धन प्राप्त कलेजहरुले मुलुकका ७६ जिल्लाबाट विभिन्न विधाहरुमा अध्ययन अध्यापन कार्य संचालन गर्दै आएका छन् । गत वर्ष मात्र आर्थिक वर्ष २०७६/०७७ को ५८ औं ग्रेसलिष्ट अनुसार कुल उत्तीर्ण विद्यार्थी संख्या ५६ हजार ७ सय १३ रहेको छ । त्रिविमा हाल करिब आठ हजार शिक्षक र सोहि संख्यामा कर्मचारीहरु कार्यरत रहेका छन् । त्रिविले विभिन्न ३० देशका १५० भन्दा बढि विश्वविद्यालयहरुसँग शैक्षिक सहकार्यका लागि सम्झौता गरेको छ । नेपालको सर्वाङ्गीण विकासको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न, स्तरयुक्त उच्च शिक्षा प्रदान गर्न, विविध पक्षमा अध्ययन अनुसन्धान गर्न, राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण र विकास गर्न, कला, विज्ञान, प्रविधि तथा व्यवसायिक क्षेत्रको ज्ञान र अनुसन्धानलाई व्यापक एवं व्यवहारिक र समय सापेक्ष बनाउने मूल ध्येयका साथ विक्रम सम्वत् २०१६ सालमा स्थापना भएको हो । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com