२०७७ कात्तिक ५, बुधबार

img-responsive

०८:०४:४३

 

त्रिवि शिक्षण अस्पतालमा कोभिड १९ का बिरामीलाई सास्ती

img-responsive
गोठालो खबर २०७७ भदाै २७, शनिबार,०८:२७:AM  
img-responsive

भाद्र २७, काठमाण्डौ 

गत वर्ष डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोभिड १९ महामारीले अहिले संसारभर अदृष्य भाइरस युद्धको तहल्का मच्चाउँदै २ सयभन्दा बढी मुलुकहरुलाई संकटग्रस्त बनाइरहेको छ । सम्पन्न मुलुकहरुले जनताको जीउज्यानको सुरक्षाका लागि सबै उपाय अपनाउँदै अधिकतम् स्वास्थ्य सेवा प्रदान गर्दा समेत महामारी नियन्त्रणमा आउन हम्मेहम्मे परिरहेको छ भने अल्पविकसित मुलुकहरुमा यो महामारीले दिनप्रतिदिन जोखिम बढाइरहेको छ । नेपालमा पनि पछिल्ला महिनाहरुमा भाइरस संक्रमणको दर पनि वृद्धि भइरहेको छ भने मृत्युदर पनि बढेर अहिले ३ सयबढीको मृत्यु भइसकेको छ । जनतालाई जागरुक बनाउनुपर्ने, स्वास्थ्य संस्थाहरुको पूर्वाधार निर्माण गरी उपचार व्यवस्थापन सहज र राम्रो गर्नुपर्ने सरकारी दायित्वबाट सरकार चुक्दै गइरहेको जनताले महसुस गरिरहेका छन् । अहिलेको समयमा कोरोना संक्रमणको शंका लागेर तपाईं उपचारार्थ नेपालको सरकारी स्वास्थ्य संस्थामा जाँदै हुनुुहुन्छ भने होस् गर्नुहोस् तपाईंलाई ठुलै आपत आइलाग्न सक्छ । ठुलो अपराध गरेर अस्पताल पुगेको जस्तो व्यवहार तपाईंले चिकित्सक र नर्सहरुबाट पाउनु हुनेछ । सरकारी अस्पतालमै बिरामीले उपचारमा चिकित्सक र नर्सहरुबाट राम्रो व्यवहार पाउँदैनन् भने अरु नीजि अस्पताल र चिकित्सकहरुले कस्तो व्यवहार गरिरहेका होलान्? सहजै अनुमान लगाउन सकिन्छ । अस्पतालमा बिरामी र आफन्तहरुसंग चिकित्सक र नर्सहरुद्धारा गरिने व्यवहारले बिरामीको मनोबल दरो बनाउने कि झन् निराशा र हतोत्साही गरेर तल गिराउने भन्ने निर्धारण भइरहेको हुन्छ । उपचारको क्रममा अस्पतालभित्रको व्यवहार र लापरवाहीले बिरामीको मनोबल गिर्न पुग्यो भने जीउधनको ठुलो मुल्य चुकाउनु पर्ने हुनसक्छ । सरकारी अस्पतालमा झर्किफर्कि गर्दै बडो करकापका साथ उपचारमा संलग्न डाक्टर र नर्सहरु उहि बिरामीलाई प्राईभेट अस्पतालमा भने ठिक एक सय असी डिग्रीको फरकमा पाईने उनको मिठास र उनको ब्यवहार भगवानको अवतारमा नै रुपान्तरित हुनु कम रोचक छैन। आम सर्बसाधारणको विश्वास र भरोसाको सरकारी अस्पताल त्रिवि शिक्षण अस्पतालमा पछिल्ला दिनमा घटेका केहि प्रतिनिधिमुलक घटना हेरौं;

घटना १: गत भाद्र २४ गते बेलुका इमरजेन्सी वार्डमा कोरानाको स्वाव संकलन र उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुगेका र हाल अस्पतालभित्र रहेको गणेशमान भवनमा बनाइएको कोभिड उपचार केन्द्रमा आफ्नी आमा उषा अधिकारीलाई उपचार गराइरहेका लमजुङका लविकान्त अधिकारीले पाएको सास्ती बताउँदै अस्पतालमा चरम लापरवाही भएको बताए । उपचारको क्रममा आउने चिकित्सक र नर्सहरुले गर्ने रुखो व्यवहार तल्लो स्तरको रहेको उनले बताए । कोरोना भाइरससंग लडिरहेका संक्रमितहरुलाई हौसला र उत्प्रेरणा दिनुपर्ने दायित्व भएका स्वास्थ्यकर्मीको अपमानजनक व्यवहारले बिरामीहरु र बिरामीका आफन्त वाक्कदिक्क भइसकेको उनको अनुभव छ । उनले आफुले तिरेको करबाट तलबभत्ता खाने चिकित्सकहरुले आफन्तलाई गर्ने गरेको व्यवहार, हप्कीदप्कीले अस्पतालपरिसरमै नराम्रो लागेको बताए । उनले प्रश्न गर्दै भने : एक जना सचेत नागरिकले त अस्पतालमा यस्तो तल्लो स्तरको व्यवहार व्यहोर्नु पर्दछ भने दुरदराजबाट आउने सर्वसाधारण, गरिब, निमुखा जनताले कसरी सेवा लिइरहेको होलान्? 

घटना २: गत भाद्र २४ गते नै भोजपुर घर भई रामकोट बस्ने सुमन तामाङ श्रीमति मञ्जु तामाङको स्वाव संकलन र परीक्षण गराउनको लागि अस्पताल आएकामा उनको गुनासो पनि अधिकारीको जस्तै छ । सरकारले कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्छ भन्ने सुनेको तर आफुले पिसिआर परीक्षण समेतको पैसा तिर्नुपरेको गुनासो गरे । चिकित्सक र नर्सहरुको व्यवहार अपमानजनक भएको भन्दै उनले बिरामीप्रति वेवास्ता धेरै हुने बताए । अस्पतालको अव्यवस्थाका कारण अकालमा ज्यान सक्ने बताउँदै उनले स्वास्थ्यकर्मीहरुको रुखो व्यवहार देखेर बिरामीहरु हतोत्साही हुने गरेको बताए । अस्पतालमा आएर अपमानजनक व्यवहार सहेर उपचार गराउनुभन्दा घरमै बसेर घरेलु उपचार गर्नु राम्रो हुने उनले बताए । 

घटना ३ः लालबन्दी, सर्लाहीका कमलेश कुमार सिंह पनि अस्पतालमा उपचार सेवा लिन आएको तर उल्टै पीडित हुनुपरेको गुनासो गर्छन् । आफ्ना बुबा ब्रम्हदेव महतोको रगतको खराबी आएकोले परीक्षणको लागि त्रिवि शिक्षण अस्पताल आएका उनलाई औषधी खरिदमै ठगेको उनको गुनासो छ । आफुले चिनेको फार्मेसीमा कम्तिमा पनि दश प्रतिशतसम्म छुटमा औषधी पाइने हुँदा आफु औषधि लिन जाने भन्दा बाहिरबाट औषधि ल्याउन मिल्दैन, यहिँ भित्रकै प्राइभेट फार्मेसीमा किन्नुपर्दछ भन्दै छुट पनि नदिई अस्पतालको फार्मेसीमा समेत जान नदिई प्राईभेट फार्मेशी बाट औषधि भिडाउने काम भइरहेको छ। औषधी किन्न जाँदा अस्पतालकै स्टाफलाई पछि लगाएर पठाइन्छ र औषधी उनीहरुले बोकेर भित्र लैजान्छन्, आफुले पैसा मात्र तिर्नुपर्दछ । अनि औषधी खरिद गरेको बील पनि दिँदैनन् । मेरो ३ हजार ८ सय ७५ बराबरको औषधीको बील अहिलेसम्म पाएको छैन । दिन्छन कि भन्ने आशामा छु। 

यस्तै परिचय नखुलाइदिने शर्तमा अर्का एक बिरामी कुरुवाको गुनासो पनि उस्तै छ । त्रिवि शिक्षण अस्पतालमा अहिले कार्यरत तीन चौथाई चिकित्सक र नर्सहरुको व्यवहार रुखो र अमानवीय भएको बताउँछन् । बिरामी कुरुवाहरुलाई समेत केहि नबुझ्न पशुको झैं व्यवहार देखाउने गरेको उनको गुनासो छ । कुनै पनि सरकारी अस्पतालहरुमा आफुलाई चित्त नबुझेको कुरा गुनासो राख्ने ठाउँ वा निकाय आफुले अहिलेसम्म नभेटेको गुनासो उनले गरे । सरकारी मान्छेले सर्वसाधारणलाई गर्ने व्यवहार अत्यन्तै अमानवीय रहेको गुनासो गर्दै उनले भने: विवाद गरौं, गुनासो गरौं, आफ्नो बिरामीलाई वेवास्ता गरी तलमाथि हुने हो कि भन्ने चिन्ताले प्रायः चुपचाप सहेर बस्नुपरिरहेको छ । जति रिस उठे पनि, जतिसुकै अन्याय भए पनि गुनासो गर्ने निकाय नभएपछि सहेर चुप बस्नुको विकल्पै रहेन । बिरामीलाई केहि साह्रो गाह्रो भयो भने उनीहरुलाई भन्न, सहयोग माग्न पनि डराई डराई बोल्नुपर्ने अवस्था छ, यसको अन्त्य कसले कहिले गर्ला? हजारौं लाखौं खर्च गरेर नीजि अस्पतालमा उपचार गराउन नसक्ने सर्बसाधारण जनताको आशा र भरोसाको केन्द्रको रुपमा रहेको त्रिवि शिक्षण अस्पतालमा नै बिरामीले यस्तो सास्ती पाइरहेका छन् भने अरु अस्पताल र दुरदराजका स्वास्थ्य संस्थाहरुमा बिरामीहरुको अवस्था के होला? नागरिकलाई स्वास्थ्य अधिकार र स्वास्थ्य सेवामा पहुँचको सुनिश्चितता कहिले र कसरी होला? कोभिड १९ महामारीको समयमा नै हामी सबैले बहस गर्ने बेला भएको छ ।

 

नेपालको सरकार र सरकारी निकायहरुमा नियम कानुन र संस्थागत सिस्टम केहि पनि व्यवस्थित छैन । खराब सिस्टमकै कारण जताततै अव्यवस्था र बेथिति देख्न सकिन्छ । त्रिवि शिक्षण अस्पताललाई पनि कोभिड अस्पताल बनाएको छ तर अस्पतालको वातावरण हेर्दा जोखिमयुक्त देखिन्छ । अस्पतालका ट्वाइलेटहरु साह्रै फोहोर छन्, दुर्गन्धित छन् र प्रयोगयोग्य छँदैछैनन् । अनि शौचालयको ढोकामा चुकुल नभएपछि महिला, अशक्त, बिरामीले खुला शौचालय कसरी प्रयोग गर्न सक्लान्? यस्तो संवेदनशील अस्पताल क्षेत्रमा बिरामी राख्ने वेडहरुमा स्यानिटाइजर समेत राखेको पाइन्दैन । सर्बसाधारणको स्वास्थ्यमाथि खेलवाड गर्ने अस्पताल प्रशासनको लाचारीपन होइन र यो? 

यी त अस्पतालभित्र सर्बसाधारणले पाएको सास्तीका केहि प्रतिनिधि घटनाा मात्र हुन् । नेपालमा महामारी शुरु भएपछि काठमाण्डौ उपत्यकाको अवस्थालाई मात्र नियाल्ने हो भने पनि हामी नेपालीहरु अझै सभ्यताको युगमा प्रवेश गर्न नसकोको प्रष्ट हुन्छ । जहाँ भर्खरै मात्र नयाँ बानेश्वरमा डाक्टर तथा नर्सहरुलाई स्थानीयहरुले लखेट्ने अभिप्रायले जुनप्रकारको अमानवीय व्यवभार प्रदर्शन गरे, वास्तवमा त्यो क्षमायोग्य घटना थिएन । आफैले अपमान कस्तो हुन्छ भन्ने स्वाद पाई सकेको डाक्टर र नर्सहरुले बिरामी र बिरामी कुरुवाहरुलाई उहि तल्लो स्तरको व्याभार हुनु विडम्बना बनेको छ । चितवनमा जनप्रतिनिधिहरुकै अगुवाइमा कोरोना संक्रमितको घरको गेटमा कालो ब्यानर टाँस्ने जुन काम भयो, त्यो पनि सभ्य समाजको पहिचान पक्कै होइन । कोरोना विरुद्धको यो लडाईमा जोखिम मोलेर अग्रपंक्तिमा उभिएका डाक्टरहरु, नर्सहरु र सूरक्षाकर्मीहरुलाई अहिले उच्च मनोवलका साथ काम गर्ने वातावरण र उचित सम्मानको खाँचो छ । कोरोनाको यो लडाई जित्नलाई सरकार, सरकारी निकाय र आम नागरिकको पारस्पारिक सहयोग र समन्वयले मात्र सम्भब हुने देखिएको छ तर पछिल्लो चरणमा सरकारले नागरिकहरुलाई कुनै विकल्प नदिईकन एकोहोरो लकडाउन र निषेधाज्ञा जारी गरिनुले नेपाली नागरिकहरु रोगले भन्दा भोकले मर्ने संभावना बढ्दै गएको अवस्था छ । समय समयमा स्वतःस्फुर्त रुपमा नागरिकहरुबाट हुने अवज्ञा र आक्रोशका भीडहरु सडकमा देख्न सकिन्छ । यो रोगको कारण नागरिकमा के कस्तो प्रभाव परेको छ भन्ने अझैसम्म राज्यको तर्फबाट पर्याप्त अध्ययन समेत गरिएको छैन । केहि छिटफुट आत्माहत्याको घटना, कीर्तिपुरमा भोकले मरेका शेर बाहादुर तामाङ, क्वारिनटिनमा वेवास्ताका कारण उपचार नपाई तड्पीतड्पी मर्न बाध्य राजु सधा, एक छाक खान र एक मुठी ज्यान अल्झाउन दिनभर साधारण खानको लागि रत्नपार्कमा घाम पानी नभनी कुर्नेहरुका दुर्दशाले नेपालको अहिलेको वास्तविक अवस्था, सरकारको लाचरीपना र उसको संयन्त्रहरुको कर्यक्षमतामा नै प्रश्न चिन्ह खडा भएको छ । 

नेपालमा सरकार चलाउनेहरु सर्वहारा, गरिबी मूक्तिका लागि बनेका पार्टी हाल सत्तामा विराजमान छन् । अहिले जनताका पीरमर्का सुन्नुभन्दा सत्ता समिकरण, जोड घटाउनमा ज्यान दिएर लागि परेका छन् । पछिल्लो पटक भएको निर्वाचनबाट अत्याधिक बहुमत ल्याएर ठुलो पाटी बनेका नेकपा अहिलेको सरकारमा आएदेखि नै नागरिकहरु धेरै आशावादी र गरीबहरुको मुक्क्ति हेर्ने उत्सुकतामा थिए । तर देशमा आज के के भईरहेको छ सबैले प्रत्यक्ष हेर्न, देख्न र भोग्न मज्जाले पाएका छन् । कोरोनाको यो कहरमा सरकारको कौशलता, उसको क्षमता र सर्वाहारको पक्षमा कति काम गर्न सके भनेर जनताले मुल्यांकन गरिरहेका छन् । विश्वव्यापी महामारीको बेला नेपालभित्र भने लाखौं करोडौंको ठेक्कापट्टामा भ्रष्टाचारको खेल भइरहँदा सरकार कति नाङ्गिएको छ, छर्लङ्गै भईसकेको छ । स्वास्थ्य सामग्री खरिद काण्ड, मल काण्ड लगायत काण्डैकाण्डले कम्युनिष्ट सरकारलाई जनतासामु उदाँगो पारिदिएको छ । सरकार आमनागरिकको अभिभाबक हो र उसले आफ्ना नागरिकहरुको सूरक्षाको लागि सधै तत्पर हुनुपर्दछ । असहज र चरम संकट कै बेला राज्यको उपस्थिति देखाउनु पर्ने हो, तर अधिकांश संकटको समयमा सरकार लाचार रहेको, नेपाली नागरिकहरु भगवान् भरोसामा बाँच्नु परिरहेको यथार्थ हामीसामु छ । योभन्दा विडम्बना देशमा अरु के होला? 

हामी सबैले बुझ्नै पर्ने कुरा के हो भने तपाईं हामी जोकोहिलाई पनि हुन सक्छ कोरोना संक्रमण । अहिले नेपालमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या पनि बढ्दै गइरहेको छ । पछिल्लो तथ्याँक अनुसार ५१ हजारभन्दा बढी संक्रमित पहिचान भइसकेका छन् भने मृत्यु पनि ३ सय २० भन्दा माथि पुगेको छ । यो अदृष्य भाइरस तपाई हामी जोकोहिलाई पनि हुन सक्छ, त्यसैले चाहे अस्पतालमा होस् या समुदायमा, कोराना संक्रमितहरुलाई घृणाको दृष्टिले हेरिनु हुन्न र उनीहरुलाई सबैले मायाँ, सद्भाव, सहयोगी भावनाले हौसला प्रदान गर्नुपर्दछ । आत्मबल बलियो बनाउन उनीहरुलाई परिवार, स्वास्थ्यकर्मी, समाज, आफन्त सबैको प्रेरणा र सद्भावको आवश्यकता पर्दछ । तर यहाँ त अस्पतालदेखि घर, परिवार र समुदाय जताततै उल्टो भइरहेको देख्न, सुन्न र भोग्न पाइन्छ । यसबाट बिरामीको मनोबल गिर्न सक्छ भन्ने सबैले हेक्का राख्न जरुरी छ । आशा गरौं, यो महामारीबाट नेपालले मात्र होइन, यो रोगविरुद्धको खोप पत्ता लगाई उपचार पद्धतीको विकास चाँडै गरेर विश्वले नै यसबाट छुटकारा पाउन सफल होस् । 
..........................

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com