२०७७ कात्तिक १२, बुधबार

img-responsive

१०:५४:२४

 

कविता:मेरो प्रेम नजर

img-responsive
गोठालो खबर -३ २०७७ भदाै २६, शुक्रबार,०८:०५:PM  
img-responsive

कविता
(निर्मला घिमिरे पराजुली)

मेरो प्रेम नजर

लेख्छु अनि मेट्छु
मेट्छु अनि फेरि त्यसैलाई लेख्छु
सिँगार्न खोज्छु बुट्टा भर्न खोज्छु
जति सिगारे  पनि यता नमिले जस्तो उता नमिले जस्तो
गाँठा परेको छ मन
पोको परेको छ जीवन 
प्यारालाइसिस भए जस्तै
परीक्षाको बेला किचिमिची पारेर 
नबज्ने ढङ्गले डल्लो पारेको चिट जस्तै
अत्यन्त सावधानीका साथ
फुकाल्न खोज्दा पनि च्यातिजाने
बिग्रिजाने
खै के नमिलेको नमिलेको
छाला अलिक गोरो भए हुन्थ्यो
आँखा अलि बाटुला
निधार अलि  चौडा भए झन् कस्तो हुन्थ्यो होला
नाक टक्क मिलेको भए
म कपाल मिलाउन खोज्छु
म हातका औलालाई नियाल्छु
नियाल्छु ओठ बाहिर निस्केका दाँतलाई
देख्छु कतै कहीँ पनि नमिलेको जस्तो
लाग्छ खै कता के नमिलेको नमिलेको
जीउ हल्का पातलो भए हुन्थ्यो
उचाइ हल्का कद मिलेको
पेट  पनि छ्याप्प बसेको भए त 
कति हिस्सी देखिन्थ्यो होला
त्यसै माथि बोलीमा  पनि उस्तै मिठास भएको भए
म बोलाएर हेर्छु
उसका आँखामा आँखा जुधाएर हेर्छु
अझै लाग्छ खै के नमिलेको नमिलेको
सास उसमा नि छ 
जीवनको रस उसमा  नि छ
नियाल्ने हो भने गहिरो प्रेमको आभास उसमा नि  छ

के गर्छ त्यो मिलेको हातले
के गर्छ त्यो मिलेको नाकले
के गर्छ त्यो शिरको चौडा निधारले
र के गर्छ त्यो मिलेको कदले
म अनेक सोच्छु अनेक बिचार गर्छु
नजिकै गएर हेर्छु
छाम्छु बोलाउँछु र सुँघ्छु
 अनि उसको मायाको बाहु पास भित्र लुक्न खोज्छु
त्यसपछि मलाई  लाग्छ
सबै मिलेको छ
 सबै चिटिक्कै छ रिमिक्कै छ
अहा कति मिठो कति राम्रो मेरो मन
मेरो मनको चित्र, मेरो माया, मेरो संसार
कति स्वादिलो यो विश्व प्रेम

निर्मला घिमिरे पराजुली
 शारदा मा. बि. देउराली
ष.न.पा. (११, भोजपुर)

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com