उजाड पाखो बन्यो फलफूलको बगैँचा

गलेश्वर, २० साउन । म्याग्दी सदरमुकाम बेनीको कालीपुलमा व्यवसाय गर्दै आउनुभएका खेम केसीले पर्वतको जलजला–७ केराबारीको ढुङ्गे पाखोलाई खनिखोस्री मलजल गरेर पाखैभरि केराखेती गर्नुभएको छ ।

नाम केराबारी भए पनि भिरालो जमिनमा चट्टानै चट्टान रहेको पाखोलाई सम्याएर उहाँले दुई हजार ५०० भन्दाबढी केराका बिरुवा लगाउनुभएको छ । आजभन्दा करिब चार वर्ष अगाडि २०७५ साल फागुन महिनामा बेनी नगरपालिका– २ खबराबाट प्रतिबिरुवा ६० रुपैयाँका दरले ४०० केराका बोट लिएर केराखेती सुरु गर्नुभएको थियो ।

चार वर्षको अवधिमा केसीले केराखेती विस्तार गरी अहिले ३० रोपनी आफ्नो जग्गामा दुई हजार ५०० केराका बिरुवा लगाउनुभएको छ । उहाँले पाखैभरि हजारे, मुग्रे, धुर्से प्रजातिका केरा तथा अन्य फलफूलखेती लगाएपछि उजाड पाखा अहिले फलफूलको बगैँचामा परिणत भएको छ ।

एल्भिन फलफूल फर्म दर्ता गरी व्यावसायिकरुपमा केराखेती सुरु गर्नुभएका केसीको फर्ममा हाल कागती, एभोकाडो, अम्बा, आँप, लिचीलगायत गरी ५०० फलफूलका बिरुवा हुर्किरहेका छन् । मौरीपालन पनि गरेका उहाँको फर्ममा ५० मौरीका घारसमेत छन् । करिब एक हजार ५०० केराका बोटले फल दिन थालेको जनाइएको छ ।

काँचो केरा बोटबाटै एक दर्जनलाई एक सय रुपैयाँमा बिक्री हुने गरेको छ । एक हजार ५०० बोटको केराबाट मासिक रु ५० हजारभन्दा बढी कमाइ हुने गरेको कृषक केसीले बताउनुभयो । एक घारीमा दुई सयदेखि दुईसय ५० वटासम्म केरा हुन्छ अरु सबै केरा पनि राम्रोसँग सप्रिएका छन् । उहाँले भन्नुभयो, “अघिल्लो वर्षदेखि मासिक ५० हजार त केरा बेचेर मात्रै कमाइ भएको छ, साँच्चै भन्नुपर्दा मलाई केराखेती फापेको छ ।”

केरामात्रै होइन केसीको फार्मबाट केराका बिरुवासमेत विक्री हुने गरेको छ । यो वर्ष म्याग्दीको राखु, पर्वतको बाँसखर्क, लस्टीलगायतका स्थानमा करिब दुई हजार वटा बिरुवाप्रति बिरुवा एक सयका दरले बिक्री भएको उहाँको भनाइ छ ।

रु तीन लाख लगानीबाट सुरु गर्नुभएको उहाँको फार्ममा अहिले रु १२ लाख लगानी पुगको छ । धानखेतीयोग्य जमिनमा समेत बीचबीचमा केरा लगाउनुभएका केसीले केही पनि उब्जनी नहुने पाखालाई समेत केराबारीमा परिणत गर्नुभएको छ।

कहिलेकाहीँ परिवार तथा साथीसङ्गी गएर बस्नका लागि कटेजसमेत निर्माण गर्नुभएका केसीको फार्ममा पुग्दा वरिपरिको शान्त र सुन्दर वातावरणले मनलाई आनन्दित तुल्याउने गर्दछ । बेनीको कालिपुलमा केवि अटोपार्टस होण्डा स्वरुमसमेत सञ्चालन गर्दै आउनुभएका ४६ वर्षीय केसीलाई श्रीमती सपना केसीले पनि कृषि खेतीमा राम्रो साथ दिनुभएको छ । फार्ममा फर्सी, घिरौँला, भेन्टा, तितेकरेला, हरियो खुर्सानीलगायत अन्य तरकारी पनि राम्रोसँग उत्पादन हुने गरेको छ ।

हिजोआज उहाँको धेरैजसो समय पसलतिर ग्राहकसँगभन्दा पनि केराबारीको केरासँगै बित्ने गरेको छ । केरा पसायो पसाएन, पकाउन राख्ने वा बेच्ने बेला भयो भएन, हेर्नका लागि पनि प्रत्येक दिनजसो उहाँ केराबारीमा पुग्नुहुन्छ ।

Nalgad Municipality


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको