कविता: प्रश्नै प्रश्न

प्रश्नै प्रश्न

हेलो
सागर बसन्ते कृष्णे
तँहरू कहाँ छस्???
तेरो साथी एक्लै भइसक्यो
देशमा बेतिथि मौलाउँदा
देश लुटिदा, कुटिँदा
तँहरू बोल्न पर्दैन???

गाउँको जमिन बाँझै छोडेर
बिच बाटो मै यात्रा मोडेर
तँहरू कता भागिरहेको छस्??
कतै पब्जी, फ्रिफायर क्याण्डीक्रस मै त अल्झिएको छैनस् ??
कि छोडेर देश परदेशी भइस् ??
आफैलाई बेचेर गुमनाम त पक्कै भइनस् होला
तेरा बा आमा बुढाबुढी भइसके
घर आँगन परदेश भइसको
ए सागर बसन्ते कृष्णे
तँहरू कहाँ छस्???
तेरो साथी हैरान हैरान भइसक्यो ।

तेरो भाउजू बिधुवा भइसकिन्
तेरी बहिनी बलात्कृत भइसकी
श्रीमानले न्याय पैसामा बेचिसके
विदेशले देश चलाउन थालिसक्यो
तैँले भोट हालेर जिताएका छिमेकी दाइ
महाराज भइसक्यो
छिमेकी काका सत्ताकै भागमा रमाइसक्यो
ए सागर बसन्ते कृष्णे
तँहरू कहाँ छस् ।
तेरो साथी बिचारले आगो आगो भइसको ।

तेरै रगत पसिना बेचेर
तेरै समय सपना बेचेर
सहर पसेकाहरू
स्वाभिमान बेच्ने भइसके
देश बेच्ने भइसके
तँहरू अझै पनि लुकेर
कसको स्वार्थको भर्याङ्ग बनिरहेको छस्???

अब त अति भो
आइज अब त अनुहार देखा
फोड्नलाई बेतिथिको जन्जाल
जोस जाँगर शक्ति देखा
विचारको आगो ओकल्दे
एकताको शक्ति जुटाइदे
र भनी दे
हामीहरू यहाँ छौ ।

अब त अति पनि अति भो
हेर्न सक्दैनौ कति पनि-
नालीमा बगिरहेको देश
चारैतिरबाट लुटिरहेको देश
र यो पनि भनी दे-
नालायकहरूबाट खोस्नलाई देश
हामी देश विकासको सुन्दर मार्ग चित्र कोरेर
देश निर्माणको यात्रामा छौ ।

-सुबास बिभास (भोजपुर)

Nalgad Municipality


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको