स्थानीय तह निर्वाचन: लोकतन्त्रको जीत

- के निर्वाचनको चिन्ह आदर्शको प्रतीक हो ?

यो निर्वाचन के हो?

जसले जे भने पनि यो निर्वाचन संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता मान्ने वा नमान्ने ? अथवा लोकतान्त्रिक गणतन्त्र मान्ने वा नमान्ने ? करिब सात दशकको त्याग तपस्या, हजारौँको बलिदान, लाखौँको त्याग, करोडौँको तपस्या मान्ने कि नमान्ने ? विश्व जनमतले स्वीकार्दै परिष्कृत गर्दै आएको लोकतन्त्रको मूल मर्मलाई आत्मसाथ गर्ने कि लोकतन्त्रको कार्यान्वयनमा देखापरेका एकाध कमीकमजोरीहरूलाई आधार बनाउँदै पुरातन अधिनायकवाद लागू गर्ने भन्नेबीचको भीषण महासङ्ग्राम हो ।

गठबन्धनले लोकतन्त्रलाई पर्याय मान्नेहरूको मात्र होइन लोकतन्त्रको ओठे रटान गर्दै लोकतन्त्रको गला घोट्नेहरूको पनि छ ।ईमान्दारीताका साथ लोकतन्त्र प्राप्ति वा यसको संरक्षण र सम्बर्धनप्रति आफ्नो रगत पसिना बगाउनेहरूको घोषित गठबन्धन छ भने । लोकतन्त्र प्राप्ति, यसको संरक्षण र सम्बर्धनप्रति कुनै चासो नभएका तर यसको उपलब्धिप्रती केवल गिद्देदृष्टि मात्र भएकाहरूको अघोषित गठबन्धन छ ।

लोकतन्त्रको मर्म जोगाउन चाहानेहरुको देश र जनताको अधिकार सुनिश्चितताको निम्ति यसको संरक्षण र संवर्द्धनको निम्ति बहुआयामिक नीति योजना र कार्यक्रमहरू छन् भने लोकतन्त्रको सर्वनाश चाहानेहरुको पनि त्यसको काउन्टर योजनाहरू छ । त्यसैले यो निर्वाचन केवल विगतको जस्तो जनताले जनताका प्रतिनिधि छान्ने सिधा र सरल परिभाषामा केन्द्रित छैन, बल्की लोकतन्त्रको बहुआयामिकता देश र जनताको निम्ति प्रयोग गर्ने कि देश र जनताको विरुद्ध दुरुपयोग गर्ने भन्नेबीचको महासङ्ग्राम हो । ७० वर्षको बलिदानीपूर्ण संघर्षको प्रतिफलको रक्षा गर्ने कि नगर्ने भन्ने सवालको मत संग्रह हो ।

लोकतन्त्रको समृद्दीकरणले तमाम देशवासीहरूको जुगौंदेखिको सामूहिक, सामुदायीक अपहरित हितहरूको रक्षा गर्छ । त्यस्तै लोकतन्त्रको भ्रष्टीकरणले देशवासीहरूको भविष्य अन्धकारमय बनाउँछ । तर छेउटुप्पा गाँसेर गोलमटोल पारिएका उत्तेजनात्मक तर्कहरूमा आएका ताली वा गालीहरूलाई मात्र आधार मान्दा भावी सन्ततिहरूको भविष्य अन्धकारमय बन्ने तथ्य नविर्सौ ।

के निर्वाचनको चिन्ह आदर्शको प्रतीक हो ?

काँग्रेस र कम्युनिष्ट भिन्न आदर्श स्थापित गर्न जन्मिएको फरक पार्टीहरू भएपनि २०४६ को आन्दोलन देखि नै उनीहरुको भिन्न सिद्धान्त वा आदर्श प्रयोग गरेको कतै पुष्टी गर्दैन । कुको कुन कमजोरीले आआफ्नो आदर्श स्थापित गर्नबाट चुके त्यसको समीक्षा उपर्युक्त समयमा गरौँला तर हाल बिस्मृत आदर्शहरूको खण्डित पार्टीहरूका तत्कालीक लक्ष र योजनाहरूको सेरोफेरोमै केन्द्रित गरौँ ।

विपक्षीहरूको अघोषित गठबन्धनमा साझा एजेण्डाकै संघीयता, समावेशी समानुपातिकता, धर्मनिरपेक्षता, जस्ता लोकतान्त्रिक उपलब्धि खारेज गर्ने प्रष्ट भाषामा लेखिएका छन् । एमाले, नेमकिपा, राप्रपा, लगायत विप्लव देखि स्वतन्त्र भनिएका एकाध उम्मेदवारहरुको घोषणापत्रहरूमा समेत यी कुरा भिन्न भाषामा समान कुरा लेखिएका छन् । त्यसैले उम्मेदवारहरुको मुख हेर्ने, उनको योग्यता, क्षमता, वा व्यक्तिगत ईमान्दारीताको नाममा प्रतिगमनकारी शक्तिलाई मत दिँदा सामाजिक अग्रगति दुर्गतिमा परिणत हुने र पछुताउँनुको विकल्प रहँदैन ।

अर्को कुरा पार्टीहरू आफै पनि आफूभन्दा भिन्न सिद्धान्त र आदर्शहरू आफू भित्रै समाहित भएको बताउन लालायित भएको बेलामा चिन्हको मायाको नाममा पार्टी घेराको सङ्कीर्णता बोक्दा पार्टीकै तत्कालीक लक्षबाट च्यूत हुन पुग्छौँ । जब पार्टीको तत्कालीक लक्षबाट टाढा पुग्नेगरि गरिएको पार्टी वा चिन्हप्रतिको ममता पार्टी नीतिकै बर्खिलापको सङ्कीर्णता हो । यद्यपी प्रतिगामी कित्ताका नेताहरू सिद्धान्त निष्ठाको कसीमा घोटेर मतदाताहरूलाई अप्रासाँगिक रूपमा भ्रमित बनाउने प्रयत्न गरिरहेका छन् । मानौँ उनीहरू जीवन र जगत् पुस्त्यौनी रूपको निर्वाचन चिन्हमै बाँच्ने मर्ने कसम खाएझैं इमान्दारीता र नैतिकताको मियोको रूपमा निर्वाचन चिन्हलाई व्याख्या गरिरहेका छन् ।

गठबन्धन रहर कि बाध्यता ?

लोकतन्त्रमा बिचारको विविधतालाई सौन्दर्यको रूपमा हेरिन्छ र यसैको माध्यमबाट फरक भूगोल, फरक समुदाय वा फरक वर्ग, फरक तथ्यको उजागर सामूहिक रूपमा गर्नको निम्ति पार्टीहरूको जन्म भएको हो । लोकतन्त्रले समान बिचरहरुको मात्र होइन असमान चिन्तनप्रकृयाको अस्तित्वपनि स्वीकार्छ । समान समानहरूको अस्तित्व बलिहठ बनाउन समूह, सङ्गठन, र पार्टी र मोर्चा बन्छ भने असमानहरुकोपनि समान आधारमा कार्यनैतिक र तत्कालीक मोर्चाहरूको अस्तित्व स्विकार्छ । तर यो गठबन्धनको सामूहिक मर्मलाई प्रहार गर्न अमूक रूपमा सिद्धान्त र अमूक वादको बहसमा होइन तत्कालीन लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ कार्यनैतिक योजनामा केन्द्रित छ । किनकि यदि लोकतन्त्र बाँच्यो भने बिचारको बहसको लागि भोलिको समय उपयोगी हुन सक्छ ।

अर्को तथ्य के हो भने नेपाली समाज श्रमशील कुमारको अस्तित्व लुप्त बनाउन गणेश जस्ता नरपशुलाई देवत्वकरण संस्कारबाट संस्कारित छ । सद्भावको सौन्दर्य जनाउन समकालिकमा हात मिलाइन्छ, सामान्य आदरभाव जनाउन नमस्कार गरिन्छ, बरिष्ठताको रोलक्रममा आदरार्थी भाव जनाउँदै ढोगभेट र गला मिलाउने गरिन्छ । तर हिन्दू संस्कारले जिउँदो होइन मरेको वा अस्तित्वमै नरहेका शिवको गन्हाउने ठाउँमा ढोग्न सिकाउने आदर्शवादबाट प्रशिक्षित छौँ । बाँचेका विश्वकर्मालाई दलित भन्दै काल्पनिक विश्वकर्मालाई पूजा गर्ने, बाँचुञ्जेल माता पितालाई अवहेलना गरेर मरेपछि श्रद्दा गर्ने संस्कृति त्यसैको परिणति हो । त्यसैको राजनीतिक अनुकरणको रूपमा लोकतान्त्रिक गणतन्त्र लगायत हजारौँ उपलब्धिहरूको वास्तविक जननीलाई पाखा लगाउँदै उनको कमाइको उपलब्धिमाथि रजाइँ गर्न लालायित दलाल तथा नोकरशाही पुँजीवादका प्रतिनिधिहरू सामन्तवादका नाइकेहरू तथा तमाम बुर्जुवा वर्गहरूका प्रतिनिधिहरू जसको विश्वव्यापी हैसियत अझै राम्रै छ तिनीहरू एक ढिक्का भएर विगतको योगदानको कदर र लोकतान्त्रिक गणतन्त्रका उपलब्धिहरूको तेजोबोध गर्न उल्टो सुल्टो व्याख्या गर्दै नागरिकहरूमा भ्रमको व्यापार गर्दै डिलमा बसेर कथ्यौरीहरुका डिङ्ग हाँक्ने कामचोरहरूलाई देवत्वकरण गर्दै रजाइँ गर्ने अवसर प्रदान गर्ने गरेका छन् यहाँका नागरिकहरूले ।

यो तथ्य पौराणीक रूपमा पनि पुष्टी गर्न सक्छौं । बुद्धको अहिंसात्मक आदर्शको खण्डन बाँचुञ्जेल गर्न नसकेपछि मरेपछि अतिवादी हिन्दूहरुले उनैलाई आफ्नो नवौँ अवतारको रूपमा प्रचारित गरेर उनको मूर्तिपूजा विरोधी आदर्शको हत्या गरे ! जब कि मूर्ति पूजा विरोधी बुद्धकै मूर्ति संसारका सबै भन्दा बढी बनाउने संस्कृति नै चलाइदिए । त्यो बुद्धको आदर्श संस्थागत गर्न वा त्यसको सकारात्मकताको अनुकरण गर्नको निम्ति होइन मूर्ति पूजालाई संस्थागत गर्न र मूर्ति पूजा माने भगवानलाई समेत घुस दिएर स्वार्थ सिद्ध गर्ने कुरीतिलाई संस्थागत गर्न ।

त्यस्ले ७० वर्षदेखिको त्याग तपस्या र बलिदानीपूर्ण आन्दोलनको उपलब्धिमाथि कब्जा जमाउन आन्दोलनमा कुनै रगत र पसिना नबगेका अवसरवादीहरू हजारौँ जालझेल र प्रपञ्च गर्दै विभिन्न आक्षेप लाउँदै शिशुलाई मातृत्वबाट मुक्त गराउने र नक्कली आमाले बालकको स्याहार सुरार गर्ने नाममा त्यसको बध गर्ने भित्री रणनीतिका साथ प्रतिकृयावादीहरु अगाडि आइरहेका छन् ।

यसरी आम नेपालीलाई साँस्कृतिक रूपमा नै काम जान्नेलाई दाश र कुरा जान्ने लाई देव बनाउने काम जान्नेको योगदानको मूल्यको केवल अवमूल्यन गर्दा साँस्कृतिक रूपमा नै बिषक्त र बैगुनी संस्कृतिको विकाश हुने गरेको छ । त्यसैको परिणाम आज माओवादी र त्यसका नेताहरूलाई राष्ट्रघाती, जनघाती, वा भ्रष्टाचारी भन्न कुनै प्रमाणको खाँचो पर्दैन तर साँच्चीकै भ्रष्टाचारी, दूराचारी, प्रतिगामी शक्तिको जस्तोसुकै अत्याचारको प्रमाण भएपनि नागरिकले पुरै नजरअन्दाज गर्दछन्, किन ? किनकि बैगुनी बनाउने साँचोबाट हामी संस्कारीत छौँ ।

तमाम प्रगति उन्मुख शक्ति देश र जनताको नयाँ निकासको निम्ति प्रतिगामीहरूलाई निर्णायक परास्त नगरी देशले साँचो निकास नपाउने तथ्य बुझ्दछन् । त्यसैले आफूमाथि जतिसुकै जायज नाजायज सत्तोसराप ओइरिएपनि देशप्रतिको दायित्व निर्वाह गर्न पछि नपर्ने उद्देश्यले प्रेरित भएर नै गठबन्धन समेतको बीजारोपण भएको छ । कुन शक्तिले कति सिट ल्याउने र रजाइँ गर्ने भन्ने कोणबाट होइन । अथवा एक्ला एक्लै लड्न डराएर होइन । बल्की अलग अलग लड्दा अप्रासंगिक रूपमा समान बिचार हार्ने र प्रतिगामी शक्तिलाई मौका मिल्न जाने र अग्रगमन र प्रतिगमनबीचको सङ्क्रमणकालीन खिचातानीको समयावधि बढ्न गई प्रशव वेदनाको दुष्परिणाम नागरिकले भोग्न नपरोस् भन्ने पवित्र उद्देश्यले प्रेरित भएको मान्न सकिन्छ ।

यदि गठबन्धन नभएमा लोकतन्त्र संरक्षण र संवर्द्धन गर्ने समान योजना र कार्यक्रम बोकेका शक्तिहरुबीचमै प्रतिस्पर्धा भएर लोकतन्त्रको हत्याको मौका पर्खेकाहरूलाई जनाधिकार प्राप्त हुन जाने र समान योजनाकारहरु शक्तिहीन हुँदै उनको अत्याचारले आफूले जन्माएको लोकतन्त्रको हत्या क्रमशः हुँदै गरेको टुलुटुलु हेर्नुको विकल्प हुँदैन भन्ने विचारहरुले समेत ठाउँ पाएको छ । त्यसैलेपनि गठबन्धन कसैको रहरको होइन देश र जनताको जनाधिकार रक्षाको सवालले बाध्यताले भएको हो भन्नेहरुपनि कम छैन ।

राष्ट्रनिर्माणको दायित्व कसको ?

हामी चोर औँला तेर्साउँदै अमुक पक्षमाथि हजारौँ आरोप प्रत्यारोपको सत्तोसराप त गर्न सक्छौं नै । तर आफैमाथि आआफ्नो दायित्व र भूमिका निर्वाह गर्न सक्षम वा असक्षमताको समीक्षा कसैले गर्न सकेका छौँ ? पुलिस प्रशासन, कर्मचारी संयन्त्र, कूटनीतिक नियोग, राजनीतिक पार्टी लगायत आ-आफ्नो ठाउँमा कुन-कुन गछ र दक्षताकासाथ ईमान्दारीताको प्रदर्शन गरिरहेका छौँ ? राज्यका कुन निकायको कुन अर्थमा कमजोरी भएर कसको कुन दलबाट भ्रष्टाचार माफियातन्त्र, काला बजारिया मौलाइरहेको छ ? कुन कुन छिद्रबाट राजनीतिक अस्थिरता, नीतिगत अराजकता, आर्थिक अनैतिकता हुर्किरहेको छ ? त्यसको उपचारमा सच्चा नागरिकहरूको तर्फबाट ककसले कुन कुन ठाउँबाट कस्तो कस्तो भूमिका निर्वाह गरिरहेका छौँ ? इमान्दार समीक्षा गर्न सक्छौं ? एकपटक छातीमा हात राखेर समीक्षा गरौँ ! त्यसैले देश नबनेकोमा नेताले प्रशासकलाई प्रशासकले नेता वा सुरक्षा संयन्त्रलाई सुरक्षा संयन्त्रले न्यायालय वा नीतिगत निर्णय गर्ने ठाउँलाई दोष दिएर आआफ्नो भागको दोष निवारण गरौँ देश बन्छ । आफ्नो ठाउँ बनाउन सक्ने असल व्यक्तिलाई निर्धक्कसँग मत दिउँ, नत्र भोलि संक्रमणकालको घनचक्करमा परेर देशको दूर्दशाकोको बखान गर्ने अधिकारबाट समेत बञ्चित हुन नपरोस् ।

त्यसैले राष्ट्रनिर्माण कुनै अमुक नेता, कार्यकर्ता वा शासक प्रशासकको व्यक्तिगत बहादुरी वा कला कौशलले भरिएको जादुगरीको उपज होइन । न त यो कुनै आलौकिक दुनियाँको आलंकारिक चमत्कार नै हो । यो लोकतन्त्रको सुन्दर प्रतिफल खोज्ने सहि समय हो । त्यसैलेपनि लोकतन्त्रको रक्षा र संवर्द्धन गर्ने दायित्व कुनै आग्रह पूर्वाग्रह बिना जनताहरुकै हुन्छ र हुनुपर्छ ।

र अन्तमा

हामी अग्रगमन र प्रतिगमनबीचको महासंग्राममा छौँ । अग्रगामी शक्तिहरूले समूहगत, गुटगत वा पार्टीगत सङ्कीर्णता त्याग्न नसक्ने हो भने देश पुन:सामन्तवादी अर्थ राजनीतिको चंगुलमा देश फस्ने, र विश्व मानचित्रमा नेपाल फेरीपनि युगौँसम्म धस्सिने अवस्था नआओस् ।
पार्टी, निर्वाचन चिन्ह, केवल साधन मात्र हो साध्य देशको सम्मुन्नती र स्वाधीनता नै हो, त्यसकोलागि लोकतान्त्रिक गणतन्त्रको जीवन्तताको अपरिहार्यता छ । त्यसलाई सतही रूपमा मात्र नभई भित्री गहिराइमा बुझौैं र प्रतिकृयावादी भ्रमहरूलाई चिर्दै असल यक्तिलाई जिताऊँ । किनकि असल यक्तिको जित केवल केही व्यक्ति वा अमूक पार्टीहरुकोमात्र जित होइन यो लोकतन्त्रको जितको रूपमा बुझौँ ।

दुनियाँको प्रगति श्रमको सन्मानमा छ, तर हामीकहाँ श्रमको जति धेरै अपमान गर्न सकियो त्यति नै आफूलाई ठालु ठान्ने अपसंस्कृति हाबी छ, जसको कारणले सिप र श्रमले होइन असत्य कूतर्कहरूले ठाउँ लिँदै गरेको छ । जसको कारणले भविष्यमा समेत नवनिर्माण र नयाँ सिर्जनाको निम्ति श्रमिकहरूमा ऊर्जको बन्ध्याकरण हुने दुष्परिणाम देखा पर्न सक्छ, त्यसलाई बेलैमा निवारण नगरिएमा देशको दुर्गति कसैले रोक्न सक्दैन ।

धन्यवाद !

-श्रीराम खाईजु

(भक्तपुर)

(प्रकाशित लेख: लेखकको निजी विचार हो। )

Nalgad Municipality


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको